काठमाडौं, ८ कात्तिक । झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाँई केही समय अघि सम्म प्रचण्डलाई परिवार मान्थे । किन भने उनले सो मेडिकल कलेजको स्थापना र लगानीमा माओवादी नेतृत्वको राम्रै सहयोग लिएको बताईन्छ ।
झापा माओवादीका एक नेताका अनुसार प्रसाईले पार्टीको शीर्ष नेतादेखि जिल्लाका वाईसिएल सम्मलाई प्रयोग र परिचालन गर्ने गरेका थिए ।
तर जब उनले त्यो मेडिकल कलेजको सम्बन्धन पाउन सकेनन् । र नेकपा विभाजित भयो । त्यसपछि उनी ओलीसँग नजिक रहन थाले । अहिले त उनी तिनै प्रचण्डलाई गाली गर्न थालेको माओवादी नेताहरु दाबी गर्दछन् । प्रसाईको प्रचण्ड विरोधी अभिव्यक्तिपछि प्रसाई पाखा लागेकोमा कतिपय माओवादी नेता कार्यकर्ता भने खुसी नै भएको सामाजिक सञ्जालमै लेखिरहेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो समय एमालेमा सक्रिय छन् ।
आइतबारै उनी बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । रोचक त के भने विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर पुगेका थिए ।
प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो । सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ । तर, ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो । त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।
भद्रपुर(१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए । बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए ।
अनौपचारिक कुराकानीमा प्रसाईले सञ्चारकर्मीसँग बिर्तामोडमा भने, ‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु । अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ ।’
त्यसो त ओलीको सवारीमा गाडीको लस्कर पनि देख्न सकिन्थ्यो । ल्याण्ड क्रुसर भी ८ वटा गाडी सडकमा लस्करै देखिन्थे, यी दृश्यले चुनावको झल्को दिइरहेको थियो । १६ वटा क्यामेरा र स्याटेलाइटसँग कनेक्ट पनि प्रयोग गरिएको थियो ।