प्रेमको चौतारी

प्रेमको चौतारी

  • शनिबार, कार्तिक ६, २०७८
  • प्रथा

  • 8K
    SHARES

टुङ्नाको तार रेटेर
तिमीले नै बजाइदिएका हौ
मेरो ह्रदयमा रहरहरूको पहिलो धुन !
टोटलाको फूल टिपेर
तिमीले नै लेखिदिएका हौ
मेरा आँखाहरूमा सपनाको मीठो गीत !
र यो मन भिजाएर
तिमीले नै सल्काइदिएका हौ
मेरा विश्वासका यी सहस्र छ्योमेहरू पनि !

हो च्याङ्बा !
दुस्खहरू सिलाएर
तिमीले नै टालिदिएका हौ
खुसीको जून उदाउने मेरो मनको आकाश !
आशाहरू जगाएर
तिमीले नै बनाइदिएका हौ
सागर तैरिँदै गरेको मेरो जिन्दगीको डुङ्गा !
र कपाल सुमसुम्याएर
तिमी नै त सिकाइदिएका हौ
यो जीवनमा पिरतीको पहिलो बाह्रखरी पनि !

पातको शोलीभरि
कट्मिरे काफलका दाना टिपेर
फिरफिरे घुमाउँदै
कटुसे खोलाको किनारै-किनार
सँगसँगै दौडिएर पुग्थ्यौं— माझीगाउँको हटिया !
बयरबुङ होलीमा
एकाविहानै दुवाली छेकेर
माछा समात्न कुरभित्र सँगै हात हालेका थियौं !
शैलुङे डाँडामा
दिनभरि गट्टी खेलेर
गाईवस्तुले छिमेकीको फापर ढुट्याएपछि
आँखेले सिर्कना हानेर
लखेटेको त्यो साँझ पनि सँगसँगै रोएका थियौं !

कोदो पिसेर
पानीघट्टबाट फर्किदै गर्दा
उतिसको अग्लो रूखमा चढेर
तिमीले भनेथ्यौ
ऊ त्यो ठुलो याम्बु शहरमा गएर
एक थान थाक्रो र काइँयो
म तिमीलाई किनी ल्याइदि‌न्छु, है मैच्या़ङ !
थाहा छ, च्याङ्बा ?
त्यति नै खेर मलाई लागेथ्यो
सेतो घोडामा चढेर
मतिरै आइरहेछ— मेरो राजकुमार
र बिस्तारै भनिरहेछ
जाउँ पियारी ऊ माथि बादलपारिको देशमा !

यतिखेर म सम्झिरहेछु !
झगडा गरेर
नबोली(नबोली भारी घचेडिदिएको ढिस्को !
हलेसोका बचेरा भेटेपछि
मलाई बोकेर तिमी दौडिएको आरूबारी !
गिँझरी घाँस काटेर
पाखर झोडाबाट घर फर्किदै गर्दा
अररी काँडाले दफारेर
कसरी बगेको थियो— पिँडुलामा रगतको भेल ?
र मैले फ्रकको फेरो च्यातेर
तिम्रो नलीखुट्टामा बाँधिदिएको त्यो पट्टी
जति बिर्सन खोजे पनि
म कसरी बिर्सिन सक्छु र— मेरो च्याङ्बा ?

अनुहारभरि
तिम्रै सम्झनाका रङहरू पोतेर
यतिखेर म,
तिमीले एक्लै छोडेर
उदास बनेको भीरमा गुराँस फुलेकी छु !
यो उमेर नुहाएर
वैंसका सुरिला डालीहरूबाट
एकाएक झरिरहेछन्
तिम्रै यादहरू फिर्फिराउने मायालु पातहरू !
आऊ च्याङ्बा !
म तिम्रैलागि फुलेकी हुँ
आखिर फूल आफ्नोलागि कहाँ फुल्छ र ?

हो च्याङबा १
चाँपको बोट खोपेर
तिमीले लेखेका हाम्रा नामहरू
वर्षौपछि पनि,
अहँ, मेटिएका छैनन्— उस्ताको उस्तै छन् !
विश्वासको त्यही डोरो समाएर
म त हिँडिरहेकी छु
तिम्रै जोवनका सुनसान बाटाहरू !
भन न च्याङ्बा !
कहाँनेर छ
हाम्रो जिन्दगी बिसाउने प्रेमको चौतारी ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी