कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका

कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका

  • सोमवार, अशोज २५, २०७८
  • बासुदेव नाथ

  • 11.3K
    SHARES

विश्वव्यापी रुपमा फैलिरहेको महामारी रोग कोरोना भाइरस (COVID-19) तथा सार्स -२ को नामबाट परिचित भैरहेको छ ।यो भाइरस सर्व प्रथम सन २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको हुबेइ प्रान्तको बुहान शहरमा देखा परी हाल विश्वभर तिब्र रुपमा फैलिइ रहेको छ ।गत वर्ष यो रोग विश्वका २१० देशमा फैलिएको र यस वर्ष पनि भाइरसले विभिन्न रुप परिवर्तन गरी नयाँ नयाँ प्रकार/ भेरियन्टहरुको रुपमा निरन्तर फैलिइरहेको छ अझै पनि यो रोगको फैलावटको तिब्रता निरन्तर नै रहेको छ ।यसै परिणामले विश्वमा बन्दाबन्दी (Lock Down ) निरन्तरता पनि बढ्दै गइरहेको छ ।विश्वमा विभिन्न समयमा महामारी देखा पर्दै आएकको भएता पनि पछिल्लो समयमा कोभिड १९को महामारी देखा परेको छ ।हाल विश्व व्यापीरुपमा
कोरोना भाइरस, कोभिड १९, क्वारेन्टाइन, होमक्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र बन्दाबन्दी तथा लकडाउनले व्यापक रुपमा जन जिब्रोको बोली भइ रहेको छ। यसको पछाडि हाल विश्वव्यापीरुपमा फैलिएको महामारी नै हो।विश्व अहिले नयाँ खालको नोवेल कोरोना भाइरस (COVID-19)महामारीले आक्रान्त बनेको छ । सन २०१९ डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तको बुहान शहरमा सर्वप्रथम देखा परी हाल विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ । हालसम्म सबै भन्दा बढी मृत्यु हुने देशमा अमेरिका, ब्राजिल, भारत मेक्सिको र रस्सिया रहेका
छन ।
भाइरसले निरन्तर रुपमा आफ्नो स्वरुप परिवर्तन गरी रहन्छ ।सामान्यतया भाइरसमा सानो र ठुलो मात्रामा जैविक परिवर्तन भइ रहन्छ र नयाँ प्रजाति उत्पन्न हुन सक्छ ।जसलाई जैविक पुन: संरचना भनिन्छ । जव कुनै मानिस वा जनावरमा दुई किसिमका भाइरस एकै पटक आक्रमण गर्दछ भने दुबै प्रकारका गुण मिसिएर नयाँ प्रजातिको उत्पन्न हुन्छ भने यसलाई नै नोवेल (Nobel) भनिन्छ ।
इन्फ्लुएन्जा भाइरसले निरन्तर आफ्नो जैविक स्वभाव परिवर्तन गरी रहन्छ । यो दुई तरिकाले जैविक संरचनामा परिवर्तन हुन सक्छ ।एन्टिजेनिक ड्रिफ्ट (Antigenic Drift): यस प्रकृयामा इन्फ्लुएन्जा भाइरसमा ए, बी र सी  तीन वटै प्रकारका भाइरस हुन सक्छन्।यस प्रकृयामा कुनै एक प्रजातिको भाइरस समयक्रममा जैविक उत्परिवर्तन (Mutation) भई आफ्नो जैविक संरचना परिवर्तन भई नयाँ प्रजातिमा परिवर्तन हुन सक्छ ।यस प्रकृयाले धेरै लामो समय लिने गर्छ ।यो मौसमी इन्फ्लुएन्जा हो ।

एन्टिजेनिक सिफ्ट (Antigenic Shift): यस प्रकृयामा इन्फ्लुएन्जा भाइरस 'ए'मा मात्र हुने गर्छ । यस प्रकृयामा इन्फ्लुएन्जा भाइरस एक वा फरक दुई फरक फरक प्रजातिहरु मिलेर तेस्रो फरक प्रकारको प्रजाति बन्छ ।जसको गुण अघिल्लो दुईवटा भन्दा फरक हुन्छ ।यो महामारी इन्फ्लुएन्जा हो ।
यसकारण यी भाइरसहरुले मानिसबाट मानिसमा छिटो छरितो सर्न सक्ने क्षमता विकास गरी विश्वव्यापी रुपमा एकै चोटि धेरै मानिसहरु मर्न सक्ने (Pandemic) खतरा रहेको हुन्छ ।मौसमी इन्फ्लुएन्जा वर्षभरी हुन्छ भने महामारी इन्फ्लुएन्जा बिरलै हुन्छ । विगतमा भएको मौसमी इन्फ्लुएन्जाले मानिसहरुमा प्रतिरोध क्षमताको विकास भएको छ भने महामारी इन्फ्लुएन्जाको लागि कुनै प्रतिरोध क्षमता विकास भएको छैन ।
महामारी भन्नाले एकै साथ धेरै मानिसहरुलाई प्रभावित गर्ने संक्रमक रोगलाई जनाउदछ । महामारी यस्तो रोगको प्रकोप हो जुन रोगको प्रकोप अस्वभाविक रुपमा एउटा क्षेत्र भरी वा संसार भरी नै फैलिन्छ । महामारी इन्फ्लुएन्जा मानिसको फोक्सोमा लाग्ने अत्यन्त संक्रामक रोग हो र यो खास गरी शुरुमा नयाँ उपप्रजातिको इन्फ्लुएन्जा भाइरस उत्पन्न हुन्छ ।त्यस भाइरसले व्यापक र गम्भीर रुपमा एकै पटक धेरै मानिसहरुलाई रोगलाग्ने गरी संक्रमण गर्छ ।त्यो भाइरस मानिसबाट मानिसमा सजिलै फैलिन सक्छ र धेरै मानिसको मृत्यु हुन्छ।अहिले देखा परेको नोवेल कोरोना भाइरस पनि यसै किसिमको भाइरस संग मिल्दो जुल्दो रहेको देखिन्छ ।
विगतमा महामारीले विश्वभर धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।सन १९१८/१९ को स्पेनिस फ्लु (H1N1) ले करिब ४ करोड मानिसको मृत्यु भएको थियो । सन १९६८/६९ को हङकङ फ्लु (H3N2) ले करिब ७ लाख मानिसको मृत्यु भएको थियो । सन २०१९/२० को नोवेल कोरोना भाइरस(COVID 19) ले आजकादिन सम्म मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।
महामारीले अनपेक्षित र अप्रत्यासित विपत्ति निम्त्याउने भएकोले यसबाट प्रभावित व्यक्ति र समाजले सबैको सहयोग सान्त्वना उपचार र सक्रिय भूमिकाको अपेक्षा गरेको हुन्छ । राष्ट्रसेवक कर्मचारीको शासकीय क्षमताको परिपूरक तथा राज्यको जनसमक्ष उपस्थित हुनसक्ने वैधानिक माध्यमको चालकको रुपमा रहेकोले यसको स्थान प्रभाव र भूमिका अपरिहार्य रहेकोछ ।
कोरोना भाइरस(COVID 19) संक्रमणका मुख्य लक्षणहरु
पहिलो चरणमा देखापर्ने लक्षणहरु
 ज्वरो १००.४डिग्री फरेनहाइट भन्दा बढी (१०२ – १०४ डिग्री फरेनहाइट ) आउनु ।
 सुख्खा र लहरे खोकी लाग्नु ।
 घाँटी र टाउको दुख्नु ।
 स्वास प्रश्वासमा अत्यधिक समस्या आउनु ।
 थकाइ लाग्नु ।
दोस्रो चरणमा देखापर्ने लक्षणहरु
 आराम गर्दा पनि सास छोटो भए जस्तो लाग्नु ।

 पल्टिएर सुत्दा पनि सास फेर्न गाह्रो हुनु ।
 श्वास प्रश्वासको अफ्ठ्यारोले गर्दा अन्य पुराना रोगहरुले पनि च्याप्दै जानु।
तेस्रो चरणमा देखापर्ने लक्षणहरु
 सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सास फेर्नको लागि संघर्ष गर्नु पर्ने ।
 बोल्न एकदम गाह्रो हुनु ।
 छाती धेरै दुख्नु र बान्ता हुनु ।
 उठ्न निकै गाह्रो हुनु ।
 कुराहरु बिर्सनु अर्थात कन्फ्युज हुनु ।
 बेहोस हुनु ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका उपायहरु
 नियमित रुपले हरेक आधाआधा घण्टामा सावुन पानीले मिचिमिचि हात धुने ।
 ह्याण्ड सेनिटाइजर प्रयोग गर्ने ।
 मास्क प्रयोग गर्ने ।
 भिडभाडमा नजाने ।
 खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्ने ।
 फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने ।
 फ्लु जस्तो लक्षण देखिने जो कोहीको सम्पर्कबाट टाढा रहने ।
 जंगली तथा घरपालुवा पशुपन्छीसंगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
 साग, तरकारी तथा पशुजन्य दूध, मासुर अण्डा राम्ररी पकाएर मात्र खाने ।
नेपाल सरकारले कोभिड नियन्त्रणको लागि गरेका प्रयासहरु
 नेपाल सरकारले कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न
बनेको मापदण्ड,२०७६अनुसार कोरोना भाईरसको संक्रमणबाट लाग्ने रोगबाट नागरिकहरुलाई
सुरक्षित राख्न शङ्कास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा
सुव्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुवैलाई सुरक्षित राख्नको लागि क्वारेन्टाइनको परिभाषा
गरिएको छ ।
 सबै जनाले मास्क अनिवार्य रुपमा लगाउने
 पटक पटक साबुन पानीले राम्ररी हात घुने
 सेनिटाइजरले समय समयमा हात निसंक्रमण गर्ने
 होम आइसोलेसन तथा होम क्वारेन्टाइनमा बस्ने
 सामाजिक तथा भौतिक दुरी कायम राख्ने
 रातह वितरण गरेको

 कोभिड उपचार केन्द्र स्थापना गरी उपचार सेवा प्रभावकारी बनाउने
 कोभिशील्ड, भेरो सेल र जोनसन एण्ड जोन्सन नामक खोप मित्र राष्ट्रहरुबाट सहयोग स्वरुप तथा खरिद गरी खोप लगाउने कार्य भई रहेको छ । हालसम्म नेपालमा करिब २५ लाख मानिसलाई पूर्ण मात्रा र ४५ लाख मानिसलाई पहिलो मात्रा खोप लगाई सकेको छ । सबै मानिसहरुलाई पूर्ण मात्रा खोप लगाउने प्रयास भई रहेको छ। राष्ट्र सेवक कर्मचारी भन्नाले राज्य कोषबाट पारिश्रमिक पाउने गरी नियुक्ति भई जुनसुकै हैसियतमा काम गर्ने
व्यक्तिलाई जनाउदछ ।
कोभिड १९ नियन्त्रणमा राष्ट्रसेवक कर्मचारीको भूमिका आचरण तथा अनुशासन सम्बन्धी राष्ट्र सेवक कर्मचारीको भूमिका

 नेपाल सरकारले कोभिड१९ नियन्त्रणको लागि अवलम्वन गरेको नीति, कार्यक्रम, क्रियाकलाप, मुल्य र मान्यता प्रति सदैव समर्पित रहने,
 आफ्ना सहयोगीहरुको मर्यादा र व्यक्तिगत हकहितको ख्याल राखी परस्परमा सम्मानजनक व्यवहार
एवं पेशागत आचरण र मानवीय मर्यादालाई केन्द्र विन्दुमा राखी आफ्नो कार्य सम्पादन गर्ने,
 लिङ्ग, वर्ग, धर्म, भाषा, जातजाति, राजनीतिक आस्था, शारीरिक अपाङ्गता वा स्थान विशेषका
आधारमा कुनै भेदभाव वा पूर्वाग्रह नराखी निष्पक्षता पूर्वक आफ्नो पदिय दायित्व पुरा गर्ने,
 सरकार व्यवस्थापिका संसद न्यायपालिका संवैधानिक अंगबाट जारी गरिएका आदेश फैसला तथा निर्देशिका एवं मापदण्डको सम्मान एवं पालना गर्ने,
 निष्पक्ष एवं कानूनसम्मत कार्यशैली, मर्यादापूर्ण व्यवहार र विश्वसनीयता आचरणका साथ सेवा प्रदान गर्ने,
 महामारी नियन्त्रणको लागि पदीय कार्य सम्पादनको सिलसिलामा तटस्थताको नीति अवलम्वन गर्दै छिटो छरितो पूर्ण र गुणस्तरीय रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सदा प्रयत्नशील रहने,
 कार्यालय समयमा कार्यालयसंग सम्बन्धित कार्य मात्र गर्ने,
 आफ्नो कर्तव्य र पदीय दायित्वप्रति सदैव सजग एवं क्रियाशील रहने,
 वृद्ध, असक्त, असहाय, अपाङ्ग, सुत्केरी वा गर्भवती महिला र बालवालिकालाई सेवा प्रवाहमा
प्राथमिकता दिने,
 अपाङ्ग, दलित, जनजाति, पिछडिएको वर्ग र महिलाप्रति सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अवलम्वन गर्ने,
 सेवाग्राहीप्रति उचित सम्मान, मर्यादा र शिष्ट व्यवहार गर्ने,
 कार्यालय समयमा तोकिएको पोशाक लगाउने,
 कार्यालय समयमा कार्यालयबाट जारी भएको परिचय पत्र अनिवार्य प्रयोग गर्ने,
 सबै धर्म, संस्कृति, संस्कार, रीतिरिवाज प्रति उचित आदर सम्मान गर्ने,

 नैतिक मुल्य, मानवीय आचरण र शिष्ट तथा सम्मानजनक व्यवहारको सदैव अनुकरण गर्न प्रयत्नशील रहने,
 समय पालना, पदीय मर्यादा र गोपनीयताप्रति सदैव सचेष्ट रहने र कार्यालयसंग सम्बन्धित कुनै पनि किसिमको सूचना वा जानकारी अनधिकृतरुपमा प्रकाशन तथा प्रशासरण वा प्रकट वा सङ्केत नगर्ने,
 कार्यालयसंग असम्बन्धित विषयका सम्बन्धमा कुनै किसिमको छलफल, वहस, टिका टिप्पणी नगर्ने,
 आफ्नो कार्यसम्पादन गर्दा मित्वयीता, आर्थिक अनुशासन, पारदर्शिता एवं औचित्यतालाई सदैव ध्यान दिने,
 आफु र आफ्नो परिवारबाट सार्वजनिक कोष र सम्पत्तिको दुरुपयोग हुन नदिने,
 आफु र आफ्नो परिवारले सरकारलाई तिर्नु पर्ने बुझाउनु पर्ने रकम, कलम, दैदस्तुर, दण्ड जरिवाना
लगायतका शुल्कहरु समयमै बुझाउने,
 कार्यालय भन्दा कुनै पनि कार्यक्रममा सहभागी हुँदा वा नहुँदा आफु कार्यरत कार्यालयको मर्यादा र प्रतिष्टाप्रति सचेत रहने,
 सामाजिक कुरिति जन्य व्यवहारमा संलग्न नरहने,
 निजी जीवनलाई सादा, सरल र मर्यादित बनाई आदर्श नागरिक बन्न प्रयत्नशील रहने,
 समाजको सदस्यको हैसियतले सामाजिक मुल्य र मान्यताप्रति सम्मान गर्दै सामाजिक मर्यादाको खलल र शान्ति भङ्ग हुने कार्यक्रममा संलग्न नरहने,
 प्रचलित कानूनले गर्नु पर्ने र गर्नुनहुने भनि तोकिदिएको व्यवस्था प्रति सदैव सजग रहने ।
कोभिड १९ महामारी नियन्त्रणको पूर्व तयारीमा राष्ट्र सेवकको भूमिका
 कुनै ठाउँमा महामारी रोग फैलिएको सूचना पाउना साथ उक्त महामारीको असरलाई कम गर्ने वा टार्ने उपायहरु अवलम्वन गरिन्छन ।
 यस चरणमा महामारी भित्रिन नदिन उच्च सतर्कता अपनाउदै पूर्व तयारीका लागि आवश्यक नीति, ऐन, कानून निर्माणको लागि राजनीतिक नेतृत्वलाई विज्ञतायुक्त सहयोग पुर्‍याउने, राजनीतिक नेतृत्वबाट नि:सृत निर्देशनहरुलाई कार्यरुपमा उतार्ने, महामारी नियन्त्रणकोलागि चुस्त दुरुस्त संगठनात्मक बन्दोबस्तको लागि तयारी गर्ने, महामारी फैलिन सक्ने सम्भावित क्षेत्रहरु पहिचान तथा नक्शाङ्कन गर्ने लगायतका कार्य गर्ने, महामारी जोखिम न्यूनिकरण गर्न उपयुक्त सूचना प्रवाह महामारी फैलाउने रोगको कारक र यसको जोखिमबाट बच्ने उपायहरुको विषयमा सचेतना अभिवृद्धि कार्यको लागि अग्रसरता देखाउने, महामारी देखापरिहालेमा तुरुन्तै आवश्यक पर्ने औषधि उपचार व्यवस्थापनका सामाग्रीहरुको भण्डारण, अत्यावश्यक स्रोत साधन औजार उपकरणहरुको समुचित व्यवस्था लगायतका
कार्यहरु सम्पादन गर्ने अभिभारा राष्ट्र सेवक कर्मचारीहरुमा रहेको हुन्छ ।

महामारी चरणमा राष्ट्रसेवक कर्मचारीको भूमिका
 नीति निर्माण गर्ने
महामारी नियन्त्रणको लागि स्पष्ट नीति, ऐन कानून, निर्देशिका, मापदण्डको आवश्यकता पर्दछ ।
यसको लागि राष्ट्रसेवक कर्मचारीको विज्ञतायुक्त सेवा प्रदान गर्नुको साथै विगतको विश्लेषण गरी
आगामी कार्यदिशा तय गर्नको लागि आवश्यक सूचना संकलनको लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
 रोग ग्रस्त मानिसको उपचार व्यवस्थापन गर्ने

रोग ग्रस्त मानिसको उपचारको लागि डाक्टर, नर्स लगायतका स्वास्थ्य कर्मीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । महामारीबाट ग्रसित भएका मानिसहरुको पहिचान गर्नुको साथै अरु मानिसमा रोग फैलिन नदिनको लागि सावधानी अपनाउने रोगी मानिसको उपचारको व्यवस्था मिलाउने कार्य डाक्टर लगायत स्वास्थ्य कर्मीहरुको हुन्छ भने यसबाहेकका सहयोगी कार्यहरु सम्पादनमा अन्य राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ ।
 अत्यावश्यक पूर्वाधारको निर्माण गर्ने
महामारीबाट मनिसहरुलाई बचाउनको लागि सुरक्षा मापदण्डको पालना गर्न क्वारेन्टिन, आइसोलेशन स्थानहरुको निर्माण तथा अस्थायी अस्पतालहरु निर्माण गर्ने लगायतका पूर्वाधारहरु निर्माण गर्ने कार्यमा राष्ट्रसेवक कर्मचारीको अग्रसरता आपरिहार्य हुन्छ ।
 कुटनीतिक माध्यमको उपयोग गर्ने
महामारीसंग एक्लै लड्न सकिदैन सबै मित्र राष्ट्रहरुको सहयोग र सदभावको खाँचो पर्दछ । आर्थिक,भौतिक साधन स्रोतहरुको समस्या हुन नदिनको लागि कुटनीतिक माध्यमबाट आर्थिक स्रोत, खोप,औषधि, नविन प्रविधि, दक्ष जनशक्ति, अध्ययन अनुसन्धान तथा रोगको अन्वेक्षणको लागि कुटनीतिकपहलबाट विश्वजगतबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग जुटाउनको लागि राष्ट्रसेवक कर्मचारीले समन्वयात्मक भूमिका वहन गरेको हुन्छ ।
 महामारी सम्बद्ध सूचना व्यवस्थापन
सूचना नै शक्ति हो भन्ने कथनलाई सदा सर्वदा अत्यन्तै संवेदनशील ढंगले उपयोग गर्नु पर्दछ ।तथ्याङ्क तथा सूचना संकलन गर्ने, विश्लेषण गर्ने, प्रतिवेदन गर्ने, सुपरिवेक्षण अनुगमन गर्ने, अभिलेख राख्ने यसको आधारमा योजना तथा रणनीति तर्जुमा गर्ने कार्यको लागि महामारी सम्बद्ध सूचना व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने भएकोले राष्ट्रसेवक कर्मचारीको अहम भूमिका रहन्छ ।
 सबै तहका सरकारको कुशल सहयोगी बन्ने
नेपालमा संघीयताको कार्यान्वयनको सिलसिलामा कोभिड १९ को प्रवेश भएको छ यस अवस्थामा राष्ट्रसेवक कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तहका सरकारलाई कुशलता पूर्वक सहयोगीको भूमिका वहन गर्नु पर्दछ ।तिनै तहको सरकारलाई महामारी नियन्त्रणमा राष्ट्रसेवक कर्मचारीले कुशल सहयोगीको भूमिका वहन गर्नु पर्दछ ।राष्ट्रसेवक कर्मचारीहरुलाई विपद व्यवस्थापनको लामो अनुभव विज्ञता र संस्थागत स्मरण रहेको हुँदा महामारी व्यवस्थापनमा सबै तहको सरकारलाई कुशल सहयोगीको भूमिका वहन गर्नु पर्ने हुन्छ ।
 सेवा प्रवाहमा नियमितता ल्याउने
बन्दाबन्दी वा निशेधाज्ञाको समयमा पनि अत्यावश्यक सेवाको प्रवाहलाई रोक्न मिल्दैन ।आफ्नो र आफ्ना परिवारको ज्यानकोबाजी समेतलाई प्रवाह नगरी राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाह
गरिरहेको कुरा विभिन्न मिडियाको माध्यमबाट हामी सबैले सुनेको देखेको र भोगेको अवस्था छ ।सेवा प्रवाहमा नियमितलाले मात्र पिडित नागरिकलाई राहतको महशुस हुन्छ ।
 सञ्चार एवं समन्वय गर्ने
केन्द्रदेखि स्थानीय तहसम्म राष्ट्रसेवक कर्मचारीहरुले विभिन्न समिति र संरचनामा रहेर महामारी
नियन्त्रणको लागि विशेष जिम्मेवारी तथा पदीय जिम्मेवारी नियमित जिम्मेवारी संगसंगै वहन गर्नुपर्दछ ।आफु कार्यरत रहेको जिम्मेवारी तथा कार्यरत निकायबाट नियमित सञ्चार गर्नु पर्छ ।महामारीको समयमा चुस्त दुरुस्त र प्रभावकारी समन्वयको आवश्यकता पर्दछ ।सञ्चारमा प्रभावकारी समन्वयले मात्र महामारी व्यवस्थापन गर्न सहयोग पर्दछ ।यसमा राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
 उद्धार एवं राहत उपलब्ध गराउने
कोभिड १९ महामारी प्रभावित क्षेत्रका समुदायलाई राहतको व्यवस्था गर्ने राहत सहयोग एवं उपलब्ध स्रोतको वितरणलाई एवद्वार तवरले सञ्चालन गरी निष्पक्षता, पारदर्शीता र समन्यायीकता लगायतका कार्यले राष्ट्रसेवक कर्मचारीले नेतृत्वदायी भूमिका वहन गर्नु पर्दछ । महामारी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि सुरक्षा निकाय चिकित्सक, स्वास्थ्य कर्मी तथा दक्ष जनशक्तिको प्रभावकारी परिचालन गरी श्रोतको कुशल र शीघ्र परिचालन गर्ने तत्परता राष्ट्रसेवक कर्मचारीले प्रदर्शन गर्न सक्नु पर्दछ ।यस समयमा स्वास्थ्य पोषण, खाद्य सुरक्षादेखि लिएर महामारीबाट ज्यान गुमाएका मानिसको शव व्यवस्थापन कार्यमा समेत राष्ट्रसेवक कर्मचारीले अगुवाइ गरि रहेका छन् ।
महामारी पश्चातको चरणमा रहेने भूमिका
कोभिड १९ को महामारीबाट प्रताडित मानिसहरुको जीवनलाई सामान्य अवस्थामा फर्काउन राष्ट्र सेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।महामारी प्रभावितहरुलाई पुरानै अवस्थामा फर्काउन सहजिकरण गर्ने, राज्यको तर्फबाट महामारी पिडितहरुलाई उपलब्ध गराएको राहत, अनुदान, सहायता उपलब्ध गराउने,पिडित मानिस र समुदायलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यस्था मिलाउने, महामारीजन्य रोगको
खोप तथा औषधि उपलब्ध भएमासेवा प्रभावकारी रुपमा गर्ने, महामारी क्षेत्रमा सार्वजनिक सेवा पूर्ववत रुपमा सुचारु गर्ने गराउने दायित्व राष्ट्र सेवक कर्मचारीहरुको रहेको हुन्छ । महामारीले मुलुक भरी नै नकारात्मक प्रभाव देखाउन सक्ने भएकोले पूर्ववत स्थितिमा पुर्‍याउन राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी कार्यसम्पादन गर्ने, विकास साझेदारहरुलाई महामारी पश्चातको चरणमा देशको प्राथमिकता प्राप्त क्षेत्रमा आकर्षित गरी परिचालन गर्ने लगायतका कार्यको लागि राष्ट्र सेवक कर्मचारीको अहम भूमिका रहेको हुन्छ।
क्वारेन्टाइन व्यवस्थापनमा राष्ट्र सेवकको भूमिका
क्वारेण्टाइन शब्द ल्याटिन शब्द क्वारन्टम (Quarantum) बाट आएको हो ।चौधौं शताब्दितिर विश्वमा कलेरा र प्लेगजस्ता रोगको माहामारी थियो । त्यसबेला गतिशिल देशहरुले बाहिरबाट आउने पानीजहाजलाई ४० दिनसम्म रोकेर आफ्नो निगरानीमा राखि संक्रमणमुक्त पाईएमा मात्र प्रवेश दिने गर्दथे । यहि ४० दिनलाई ईटालियन भाषामा quaranta giorni भनिन्छ ।
अन्यत्रबाट आएका वा संक्रामक रोगको संसर्गमा रहेका वा हानिकारक शत्रुजीवहरुको आश्रय हुन सक्ने सम्भावना भएमा मानिस ,पशु तथा बोट बिरुवाहरुलाई अलग राख्ने कार्यलाई क्वारेन्टाईन भनिन्छ। पशुपन्छी र पशुपन्छीजन्य तथा बिरुवा र बिरुवाजन्य उपजहरु आयात निर्यात गर्दा शत्रुजीवहरुको प्रवेश ,स्थापना र फैलावट रोक्न तथा तिनिहरुको प्रभावकारी नियन्त्रणका लागि अवलम्बन गरिने संरक्षणका उपयुक्त कानूनी तरीकाहरु नै क्वारेन्टाइन हो ।

नेपाल सरकारले कोरोना भाइरस(COVID-19) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड,२०७६अनुसार कोरोना भाईरसको संक्रमणबाट लाग्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शङ्कास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुवैलाई सुरक्षित राख्नको लागि क्वारेन्टाइनको परिभाषा गरिए अनुसार क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४(चौध) दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ ।
क्वारेन्टाइनको महत्व्
 देश भित्र एक स्थानबाट अर्को स्थानमा एक देशबाट अर्को देशमा मानिस तथा मालसमानहरु ओसार
पसारगर्दा तिनमा अन्तरनिहित शत्रुजिवहरु नविन ठाँउमा प्रवेश गर्न रोक्छ ।
 सम्बन्धित देशको बोट, बिरुवा, जनावर, मानव स्वास्थ्य तथा समग्र पर्यावरणमा पर्ने नकारात्मक असर रोक्छ।
 विश्वका विभिन्न देशहरुमा बाली, बिरुवा, पशुधन एवं मानिसमा बिभिन्न रोगको संक्रमण हुनगई विश्वको अर्थतन्त्रमा महत्वपूर्ण आर्थिक नोक्सानी हुनबाट रोक्छ ।
 बिश्वव्यापिकरणसँगै प्रभावकारी क्वारेन्टाइनले कानूनी प्रकृयाको अवलम्बन गरी बिरुवा, पशु तथा मानव स्वास्थ्यकालागि हानिकारक हुने रोग, किरा एवं झारपातका आवागमनका बन्देज लगाउने हुँदा गुणस्तरीय वस्तुहको मात्र आवागमन हुन गई राष्ट्रको पर्यावरणको संरक्षणमा टेवा पुग्छ ।
 मानिस, पशुपन्छी र पशुजन्य पदार्थबाट अन्य स्वस्थ पशु वा मानिसमा सर्न सक्ने रोगहरुको नियन्त्रण गर्न सहयोग पुग्छ ।
 खाद्य वस्तुमा हुने मिसावट, शुक्ष्मजीव , पेष्टिसाईड वा एन्टिवायोटिकको हानिकारक असर पार्ने
कमजोर गुणस्तरका वस्तुहरुको प्रवेश गर्नबाट रोक्छ ।
क्वारेन्टाइनको मापदण्ड :
(क) सम्भव भएसम्म घनाबस्तीबाट छुट्टै (टाढा) रहेको,
(ख) सञ्चार,स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको,
(ग) सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको,
(घ) तयारी भौतिक पूर्वाधारलाई प्राथमिकता दिने,
(ङ) सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु जस्तै: होस्टेल, तालिम केन्द्र, होटल,शैक्षिक संस्था, सरकारी संरचना क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने,
(च) खण्ड (ङ) बमोजिमको संरचना उपलब्ध नभएमा खुल्ला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने,
(छ) गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिकालागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने ।

क्वारेन्टाइनस्थलमा हुनु पर्ने भौतिक पूर्वाधार:

(क) क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन वा ब्लक रहेको,
(ख) वन्दोवस्त कार्यमा खटिएका व्यक्ति तथा सुरक्षा टोलीलाई बसोबासको लागि बाहिरी घेरामा स्थान वा संरचना उपलब्ध भएको,
(ग) सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रति कोठा अधिकतम तीन जनाको दरले छ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको,
(घ) विद्युत, पानी लगायतका आधारभूत सेवाको उपलब्धता,
(ङ) न्यूनतम टेलिफोन सेवाको व्यवस्था,
(च) संभावित विपद तथा आगलागीबाट सुरक्षित,
(छ) कोठाको व्यवस्थापन (प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बिच न्यूनतम् दुरी
३.५ फिट हुनुपर्ने )
1. ओढ्ने, ओछ्याउने र आवश्यकतानुसार झुल सहितको खाट ,
2. Personal hygiene kits\ Dignity kits , फोहोर फाल्ने डस्टविन,
3. संभव भएसम्म हावा चल्ने कोठा ।
(ज) नियमित सरसफाई भएको हुनुपर्ने,
(झ) उपलब्ध भएसम्म मनोपरामर्श तथा सकारात्मक सोच सम्बन्धी क्रियाकलाप संचालन गर्नुपर्ने।
अन्तमा,
कोभिड १९ को महामारीमा आवद्ध राष्ट्रसेवक कर्मचारीहरुको प्रभावकारी भूमिका वहन गर्नुको प्रतिविम्ब महामारी रोगबाट प्रताडित नागरिकहरुको मुहार तथा जीवनशैलीमा देखिनु पर्दछ । महामारीको क्षति न्यूनिकरण तथा समयमै नियन्त्रणको लागि सहज, सुलभ र सिघ्र रुपमा आपतकालीन सेवा प्रवाह गर्न सक्नु नै राष्ट्रसेवक कर्मचारीको भूमिकाले सार्थकता पाउनुको साथै राष्ट्रसेवक कर्मचारीको साख समेत उच्च राख्न सकिन्छ ।
कोरोना भाइरसको कहर विश्वमा बढ्दै गएको खुल्लापन, सिमाविहिन र परनिर्भरताले गर्दा भएको कुरामा कुनै दुविधा छैन ।सारा विश्व नै लकडाउन / बन्दाबन्दीमा गएको छ ।मानव भविष्य नै अन्यौलमा देखिएको छ। चीनिया राष्ट्रपति सी जिनपिङले यसलाई "सैतानी हमला" भनेका थिए । एकातिर विश्व नै यस्का बिरुद्ध एकजुट हुनु पर्ने अवस्था आएको छ भने अर्कोतिर राज्यका हरेक संयन्त्रहरु, व्यक्ति, समाज, प्रशासन एकतावद्ध,
मानवीय र विवेकशील हुनु पर्ने वेला आएको छ ।
नोवेल कोरोना लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी (Pandemic ) घोषणा गरिसकेको छ । यस अवस्थामा कुनै एकल प्रयासबाट रोग नियन्त्रण हुनसक्ने कुरा कल्पना पनि गर्न सकिदैन ।यस रोग नियन्त्रणको लागि क्वारेन्टाइनको महत्वपूर्ण भूमिका छ । हाल नेपाल सरकारले कोरोना भाइरस(COVID-19) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड,२०७६को अक्षरस पालना गरौं । विश्व पशु स्वास्थ्य संगठनको दिशानिर्देश (OIE Guideline) र एक स्वास्थ्य रणनीति (One HealthStrategy) अबलम्बन गर्नु
अपरिहार्य छ ।

कोभिड १९ महामारीमा राष्ट्रसेवक कर्मचारीको भूमिका मुलुकको संविधान, ऐन कानून र नीति, नियम लगायतका दस्तावेजहरुले मार्गनिर्देश गरेको छ ।नेपालको संविधानमा सरुवा रोग नियन्त्रण संघको अधिकार सूचीमा रहेको छ । प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्वतयारी उद्धार तथा राहत र पुनर्लाभ संघ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको छ । विपद व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेको छ ।विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन,२०७४ र नियमावली, २०७६, संक्रामक रोग ऐन,२०२०, स्थानीय सरकार सञ्चालन ऐन,२०७४, विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६,स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७५, स्थानीय विपद् जोखिम न्यूनिकरण रणनीतिक
कार्ययोजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७ – २०८०/८१) लगायतका महामारी एवं विपद् व्यवस्थापनसंग प्रत्यक्ष सम्बन्ध राख्ने दर्जनौं कानूनहरु कार्यान्वयनमा रहेका छन् साथै नेपालले विपद् एवं महामारी व्यवस्थापन सम्बद्ध अन्तर्राष्ट्रिय सन्धी, सम्झौता तथा समझदारी गरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ महामारी विरुद्ध लड्नको लागि विभिन्न प्रोटोकल र मापदण्ड जारी गरे अनुसार नेपालले पनि ती प्रोटोकल र मापदण्डहरुको पालना गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको उपचार व्यवस्थापन, अस्पताल व्यवस्थापन, चिकित्सक र स्वास्थ्य कर्मीको व्यवस्थापन लगायत महामारी
व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न विभिन्न निर्देशिक र कार्यविधि निर्माण गरी लागु गरेको छ ।
महामारीजन्य न्यूनिकरण गर्नको लागि सरकारले तर्जुमा गरेका ऐन, कानून,नीति, नियम, निर्देशिका,कार्यविधि, मापदण्ड र सन्धि, सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नको लागि राष्ट्रसेवक कर्मचारीको भूमिका अपरिहार्य रहेको छ । राष्ट्रसेवक कर्मचारीहरुले मुलुकमा हरेक पटक व्यहोरेको विपदमा हातमा हात र काधमा काँध मिलाएर सेवा प्रवाह गरी रहेका हुन्छन । कोभिड १९ को महामारीमा पनि आफु र आफ्ना परिवारको समेत प्रवाह नगरी निरन्तर खटिइ रहेका हुन्छन ।मुलुकमा जुनसुकै विपद् आएपनि राष्ट्रसेवक अग्र पंक्तिमा उभिएर कार्यसम्पादन गरि रहेको भएता पनि समय समयमा जन चाहना अनुरुप गुणस्तरीय र प्रभावकारी सेवा
अझै पनि प्रभाव हुन नसकेको अवस्थामा कोभिड १९ नियन्त्रणको लागि राष्ट्रसेवक कर्मचारीहरुको निरन्तर प्रयास जारी रहनु अपरिहार्य रहेको छ ।

(लेखक बासुदेव नाथ – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडामा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी