इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

  • शुक्रबार, अशोज ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ८ असोज  । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले सो जानकारी दिनुभएको हो ।

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ । छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन । विभागका महानिर्देशक काफ्लेले भन्नुभयो, “कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराउन सकिनेछ ।”

विभागले इजरायल जान चाहने परीक्षार्थीलाई अन्तवार्ता निष्पक्ष गराउनका लागि फरक दिन फरक व्यक्तिलाई जिम्मेवारी दिएको महानिर्देशक दिपक काफ्लेले बताउनुभयो । आठ वटा समूहमा ५२ जनाले अन्तवार्ता लिइरहेका छन् । एक दिन लिने व्यक्ति अर्काे दिन नदोहोरिने गरी मिलाइएको उहाँले बताउनुभयो । अन्तवार्ता लिने व्यक्तिलाई पनि १२ घण्टा पहिले मात्रै जानकारी गराइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गोलाप्रथाका आधारमा छानिने भएकाले तीन जनाको समूहमा को व्यक्ति कुन समूहमा पर्ने थाहा हुँदैन ।”

इजरायल रोजगारीका लागि आवेदन खुलाइएपछि इच्छुक व्यक्ति आफैँले शैक्षिक योग्यता, उचाइ, तौललगायतका जानकारी भर्न लगाइएको थियो । नौ हजार ६९९ जनाले फाराम भरेकामा दुई हजार ७९० जनाको कागजात नपुगेको महानिर्देशक काफ्लेले बताउनुभयो । विभागलाई कतिपय आवेदनका विवरण गलत हो कि भन्ने शङ्का लागेर पुनरावलोकन गर्दा कागजात नपुगेको पाइएको थियो । उहाँले भन्नुभयो, “हामीले रद्द गरे पनि अहिलेसम्म पनि किन रद्द भयो बुझ्न नआएकाले त्यो गलत नै हो भन्ने लागेको छ ।”

विभागले परीक्षा सञ्चालन गर्दा छ हजार ३१७ सहभागी भएका थिए । उत्तर पुस्तिका जाँच गर्दा उपकरणबाट जाँच भएकाले एक रातभरमा सकिएको महानिर्देशक काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो दिन लिएको परीक्षाको नतिजा हामीले अर्काे दिन ११ बजे प्रकाशित गरेका थियौँ ।”

परीक्षार्थी आफैँले तौल र उचाइको स्वघोषणा गरेपछि विभागले पछि नापतौल तथा गुणस्तर विभागबाट प्रमाणित पाँच उपकरण ल्याएर उत्तर पुस्तिका परीक्षण गरेको महानिर्देशक काफ्लेले बताउनुभयो । परीक्षार्थीको उचाइ कम्तीमा पाँच फिट र तौल कम्तीमा ४५ किलो हुनुपर्ने व्यवस्था थियो । लिखित परीक्षामा उत्तीर्ण १८६ जनाको तौल र उचाइ नपुगेको विभागले जनाएको छ ।

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति (जि टु जि) सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । पहिले उसले ५०० जना मात्रै परीक्षा लिएर लैजान चाहेको भए पनि त्यसलाई बढाएर एक हजार बनाइएको थियो । अहिले परीक्षा निष्पक्ष गर्न खोजिएको सो मन्त्रालयका सचिव गौतमले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “पास भएर गएकालाई उता पुगेपछि समस्या नआओस् भनेर ध्यान दिइएको छ ।” सरकारले ‘जि टु जि’ सम्झौतामार्फत अहिलेसम्म दक्षिण कोरीया र इजरायलमा रोजगारीका लागि पठाएको छ भने जापानमा पठाउने विषय प्रक्रियामै छ । वैदेशिक रोजगारीका लागि जान चाहने नागरिकले सम्बन्धित देशस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न लामो समय लागेकाले नागरिकले दुःख पाइरेहको सचिव गौतमले बताउनुभयो । नागरिकले कम्तीमा १५ दिनभित्र अनुमति पाउने गरी निर्णय दिनुपर्नेमा उहाँको जोड छ । केही वर्षयता धेरै नागरिक भिजिट भिसामा गएर उतै बस्ने प्रवृत्ति बढेको छ । उहाँले भन्नुभयो, “यो गुनासो आइरहेकाले त्यसमा ध्यान दिनुपर्छ ।”

सरकारले सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुवै ठगिएको सचिव गौतमले बताउनुभयो । सरकारलाई तोकिएको रकम कागजातमा देखाइने गरिए पनि त्योभन्दा बढी रकम लिइरहेका छन् । एकातिर देखाउने रकम कम भएकाले राजस्वमा कमी हुने र अर्कातिर नागरिकसँग प्रमाण नहुने हुँदा आफू मर्कामा पर्दासमेत न्याय पाउन गाह्रो भएको छ । उहाँले भन्नुभयो, “अरु कतिपय देशमा जस्तै श्रमिकको एक महिनाको तलब सेवा शुल्क लिने गर्दा ठीक हुनेछ ।”

बैठकमा वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष मेघनाथ भुर्तेलले सरकार आफैँले व्यवसायी भएर वैदेशिक रोजगारमिा नागरिक पठाउन नहुने बताउनुभयो । सङ्घका उपाध्यक्ष ईश्वर केसीले बन्दाबन्दी पहिले ‘भिजिट भिसा’मा गएका नागरिक अहिले अलपत्र परिरहेको जानकारीदिनुभयो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले भिजिट भिसामा पठाएर त्यहाँ अलपत्र परेका नागरिकका गुनासो समितिसमक्ष आइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी