२०४६ सालको कुरा हो:त्यतिखेर राजाको प्रत्यक्ष नेतृत्वमा परिचालित पञ्चायत व्यवस्था खतम पार्न देशीविदेशी शक्तिहरू लागिरहेका थिए । त्यसै घडी शिव दाइ आफ्ना बौद्धिक साथीहरू लिएर आसामबाट दिल्ली पुगेका थिए । त्यतिखेर पञ्चायतको विरुद्धमा भइरहेको आन्दोलनलाई थप मलजल गर्ने अभिप्रायको शक्ति बढाउन उनी पनि दिल्लीबाट नै सक्रिय थिए । बहुदलवादीहरूको सङ्घर्ष भइरहेकै अवस्थामा नेपालमा राजाले बहुदलीय व्यवस्था दिने घोषणा पनि गरे ।
रामनाथ दाइदेखि शिव दाइहरूसम्मको सिद्धान्त, लक्ष्य र योजना बहुदलीय व्यवस्थाको फेरबदल मात्रमा सीमित थिएन । नेपालमा उनीहरू गणतन्त्रको सपना देख्थे तर त्यतिखेर उनीहरूको सपनालाई दिवास्वप्न भन्नेहरू नै धेरै, धेरै र धेरै थिए । वास्तवमा २०४६ सालपछिको राजनैतिक परिवर्तनले विद्रोहीहरूका लागि दिवास्वप्न नै साबित गरिदिएको थियो । त्यति मात्र पनि होइन, नेपालमा गणतान्त्रिक व्यवस्था आउँदासमेत पनि सुखानीका ती सहिदहरूलगायत शिव दाइको सपनाको कदर गर्न सकेको देखिएन । नेताहरूको निजी स्वार्थका कारण उनीहरूका प्रायः हरेक कृत्यमा कैफियत नै देखिन्थ्यो । पराई देशको उठबसमा लागेर समेत उनीहरूको छवि विकृत हुन थालेको थियो । राष्ट्रलाई नै सकेसम्म भताभुङ्ग गरी उनीहरूले गणतन्त्रलाई नै गन्हाउने पारेका थिए ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको आगमनपछि राजनीतिमा लागेकाहरूउपर राजाले आममाफीको घोषणा गरिदिए । त्यसपछि प्रायः निर्वासित नेपालीहरूको स्वदेश फर्कने लहर चलेको थियो । त्यही क्रममा शिव दाइ पनि नेपाल भित्रिएका थिए । नेपाल आएर उनी आफ्नो साला प्रेम दाहालकै घर झापाको सुरुङ्गामा बसेका थिए । त्यसैताक उनकी पत्नी कृष्णा शिवाकोटीलाई ब्रेन क्यान्सर भइसकेको थियो । अन्ततः वीराङ्गना कृष्णा भाउजूको नेपालमा नै स्वर्गारोहण भयो ।
भाउजूको शेषपछि शिव दाइ पीडादायी अवस्थामा रुमल्लिएका थिए । त्यसपछि उनले आफ्ना लागि नेपालमा कुनै स्थान देख्न सकेका थिएनन् । यति हुँदाहुँदै पनि उनका पाँचै जना छोराहरू भीष्मराज शर्मा, कृष्णराज शर्मा, युवराज शर्मा, द्वीराज शर्मा र गोविन्दराज शर्माले भने नेपाल राष्ट्रमा नै सम्पूर्ण रूपमा आ-आफ्ना खुट्टा टेकिसकेका थिए ।
‘भाइ १ हामीले जनउत्थान र देशको समृद्धिका लागि ज्यानको बाजी लगायौँ, माटो गुमायौँ र जनधन नै पनि गुमायौँ । २०४६ साल आउँदा मैले त केही न केही रूपमा जनताको शासन आयो भन्ठानेको थिएँ तर होइन रहेछ । कमरेड ठानिएकाहरूलाई पैसा, पद र कुर्सी मात्र नै चाहिएको रहेछ । शिर ठाडो पारेर हिँडेको कम्युनिस्टको सिद्धान्तलाई २०४६ सालपछि मूर्छित पारिएको रहेछ । अब त मलाई कम्युनिस्ट हुन पनि ग्लानि हुने भयो । तिमीले बेलैमा कम्युनिस्टको सिद्धान्त छाडेर मुक्ति लिएछौ ।
झापा क्रान्ति भनौँ या विद्रोह भनौँ, अथवा शिव दाइ र रामनाथ दाइका कारण झापातिरका दोषी र निर्दोषी धेरै मान्छेहरू तीन वर्षदेखि बीस वर्षसम्म जेल बसेका थिए । तीमध्ये पनि कति जना बेपत्ता भए, मरे र मारिए । त्यसरी फसेका र फसाइएका मान्छेहरूका आफन्तले शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालका कारण यस्तो घटना भयो भने र भन्न पनि छाडेनन् । अनि कतिकति मान्छेहरू शिव दाइ र रामनाथ दाइको तालिम पाएर या उनीहरूको नाउँको पुच्छर या शिर समाएर या उनीहरूको राजनीतिक बाटो पछ्याएर नेपाल सरकारको शिरसम्म पनि पुगे । तर तिनीहरूले चाहिँ रामनाथ दाइ र शिव दाइका कारणले आज म यहाँ यसरी उभिएको छु भन्ने औपचारिक घोषणा गरेको चाहिँ कसैले पनि पढ्न, सुन्न र देख्न पाएनन् ।
२०५१ सालको कुरा हो— शिव दाइ फेरि नेपाल आएका थिए । त्यतिखेर झापा विद्रोहका सहयोगीहरूबाट उनी छक्क परे । संसदीय व्यवस्थामा प्रायः सबैको राजसी हाजिरी देखेर उनी तीन छक्कै परे । त्यति मात्र होइन, नेपालको राजनीतिमा उनी स्तरको कुनै झिनोमसिनो उनको ठाउँ पनि रहेको उनले देखेनन् । त्यतिन्जेलसम्ममा उनका कार्यकर्ता र सहकर्मीहरू शासन व्यवस्थाका ठाउँठाउँमा आबद्ध भइसकेका थिए । त्यसै बेला शिव दाइ म ( नरेन्द्रराज प्रसाई ) को घर घट्टेकुलोमा आएर कमरेडहरूको चालामालाका बारे कुरा गर्दै रोएका थिए । त्यस बेला उनले मलाई भनेका थिए— ‘भाइ १ हामीले जनउत्थान र देशको समृद्धिका लागि ज्यानको बाजी लगायौँ, माटो गुमायौँ र जनधन नै पनि गुमायौँ । २०४६ साल आउँदा मैले त केही न केही रूपमा जनताको शासन आयो भन्ठानेको थिएँ तर होइन रहेछ । कमरेड ठानिएकाहरूलाई पैसा, पद र कुर्सी मात्र नै चाहिएको रहेछ । शिर ठाडो पारेर हिँडेको कम्युनिस्टको सिद्धान्तलाई २०४६ सालपछि मूर्छित पारिएको रहेछ । अब त मलाई कम्युनिस्ट हुन पनि ग्लानि हुने भयो । तिमीले बेलैमा कम्युनिस्टको सिद्धान्त छाडेर मुक्ति लिएछौ । मैले पहिला गरेको कृत्यउपर मलाई पछुतो र लाज हुने काम यिनीहरूको चालचलनले पारिदिएको छ । तर पनि मेरो मनभित्र एउटा झिनो आशा भने टाँस्सिएकै छ— कुनै दिन मेरो सिद्धान्तको कम्युनिस्ट बहुरिएर पनि आउन सक्ला ! ’
अन्ततः आफ्ना सारा सपना अधुरै छाडेर शिव दाइ चिरनिद्रामा आरोहित भए । अनि हामी रोएको त्यो दिन थियो— २०५३ चैत ९ गते शनिबार । उनी त्यसै दिन बिहानै ३ बजे भारत आसामको नलबारी जिल्लाको कुमारीकटा गाउँमा स्वर्गीय भएका थिए ।
-झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी (जीवनी) समाप्त भयो ।