तीन हजार बर्षको नेपालको ईतिहासको शुरुवात देखि नै राजतन्त्रात्मक शासन व्यवस्थालाई आत्मसात गरियो । राष्ट्रमा व्यवस्थाको शासक र सुत्रधार राजपरिवार र भाई भारदारहरुले प्रभुत्व जमाएका थिए । लिच्छवी शाासन कालमा “पांचाली” राजनैतिक पद्धति अनुरुप जनतालाई आफ्नो बिचार राख्न छुट दिईएको ईतिहासका केही पुस्तकहरुमा उल्लेख छ । तर स्वर्णकालीन नेपालयुग भनि चित्रित गरिएको नेपालको लिच्छवीकालीन विचार स्वतन्त्रताको हद सम्म छुट अनुमान मात्र भएको ईतिहासकारहरु बताउछन् । लिच्छविकाल पनि परिवारवादमै आधारीत रहेर सत्ता सञ्चालन भएको थियो । लिच्छवि काल अघि किरात वंशको बारेमा भने ठोस प्रामाणिक कुरा देखिदैन । तैपनि ईतिहासकारहरु किवंदंती अनुसार किरात पनि राजतन्त्रमै आधारीत थियो भन्दछन् ।
मल्ल कालमा पनि पूर्ण परिवारवादी राजतन्त्रात्मक शासन पद्धति थियो । महासामन्तहरुको बर्ग बिशेष थियो । राजाको शेषपछि छोरा राजा हुने परम्परा र अधिकारलाई कायम राखे पनि मल्ल राजाहरुलाई ईतिहासमा सुधारवादी राजाहरुको रुपमा चित्रित गरिएको छ ।
मल्ल राजाहरुलाई परास्त गरेपछि पृथ्वी नारायण शाहले पनि नेपाल राज्यको विस्तार सँगै शासन व्यवस्थामा पकड कायम राख्न राजा पछि उनका छोरा स्वतः उत्तराधिकारी हुने परिवारवादी शासन व्यवस्थालाई निरन्तरता दिए ।
पृत्वीनारायण शाहको चौथो पुस्तालाई कोत पर्वका माध्यमबाट नाम मात्रको राजाको रुपमा कैदी सरह राखी राजाहरको हातबाट सत्ता हत्याउन जंग बहादुर राणाले श्री ३ महाराजको रुपमा आफूलाई शासक बनाए र उनले पनि जहानीया राणा शासननै चलाए । संसारमै कहीँ नभएको श्री ३ को मृत्युपछि शासन छोरामा नगई सहोदर भाईहरुमा जाने व्यवस्था जंग बहादुरले गरे । बीर शमसेर लगायत उनका दश भाईहरुले २००७ साल सम्म शासन गरे ।
२००७ सालको क्रान्तिपछि राजतन्त्रको पुनस्थापना भयो । एकतन्त्रीय जहानीया राणा शासन समाप्त भयो । त्यसपछि पहिला कैदी सरह राखिएका राजा त्रिभुवनले फेरी शासन शुरु गरे । फेरी पनि शाह वंशीय परम्परागत परिवारवादी सोच र परम्पराबाट नै अघि बढ्यो । त्यसपछि चार पुस्ता सम्म यो कायम रह्यो ।
४६ सालको राजनीतिक आन्दोलनको बलमा राजाहरुको अधिकार कटौती गरियो । बाँकी केही सुविधाहरु राजामा प्रदान गरियो । यो संवैधानिक व्यवस्था नै गरिए पनि राजतन्त्रात्मक शासन व्यवस्थालाई निरन्तरता दिईयो ।
२००७ सालको क्रान्तिपछि नेपालको राजनीति दरबारको घेराबाट उछिटिएर जनताको घर आगन सम्म पुग्यो । यसपछि जनस्तरमा नेता र जनप्रतिनिधिको शासनमा सहभागीता शुरु भयो । यो परिवर्तनको स्रोत नेपालको राजनीतिमा अग्रपक्तिमा देखा परेका कोईराला परिवारलाई जान्छ । तर नेपाली काँग्रेस पनि शुरु देखि नै परिवारवादी संस्कारमा रमायो । यद्यपि, यो हुकुमी नभएर प्रजातान्त्रिक विचारमा नै आधारीत थियो । तर यो परिवारवादी सोचका कारण नेपालको राजनीतिमा परिवारवादको जन्म भयो ।
हाल देशमा राजतन्त्रको पूर्ण उन्मुलन भई गणतान्त्रिक व्यवस्थामा रुपान्तरण भईसक्दा पनि पिताको शेषपछि छोराको राजनीतिमा हक लाग्ने प्रथा कायमै छ । नेपाली काँग्रेसमा शंसाक कोईराला, शेखर कोईराला,सुजाता कोईराला, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह,महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधि, काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा जस्ता थुप्रै पात्रहरु छन् जसको पारिवारीक पृष्टभूमि परिवारवादी राजनीतिकै रहेको छ । २०१७ सालमा राजा महेन्द्रले सैनिक कु मार्फत स्थापना गरेको पञ्चायती व्यवस्थाका प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जय बहादुर चन्द र सूर्य बहादुर थापाका छोरा सुनिल थापा पनि प्रत्यक्ष राजनीतिमा संलग्न रहेका छन् ।
कम्युनिष्टहरु पनि यो अपवादबाट मुक्त छैनन् । कम्युनिष्टका संस्थापन पुष्पलालकी श्रीमती सहाना प्रधान सत्तामा बसिन् भने मदन भण्डारी पत्नी विद्या देवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति छिन् । दक्षिण एशियामा भारतमा गान्धी परिवारको सत्तामा प्रत्यक्ष अप्रत्यक्ष ५० वर्ष जति संलग्न रहे । नेहरु, राजीव, ईन्दीरा, सञ्जय,मेनका वरुण राहुल, सोनीया गान्धीहरु मध्य कोही प्रत्यक्ष प्रधानमन्त्री भए भने कोही शासन सत्ताका सुत्रधारका रुपमा रहे । पाकिस्तानमा भुट्टो प्रधानमन्त्री भए भने उनको हत्या पछि छोरी वेनेजिर भुट्टो पनि प्रधानमन्त्री भईन् । बंगलादेशमा शेख मुजिबर रहमानको हत्यापछि उनकै छोरी शेख हसिना प्रधानमन्त्री बनिन् । नेपालमा जनयुद्धको सञ्चालक शक्ति माओवादी पनि परिवारबादबाट मुक्त हुन सकेन । संसदीय व्यवस्था स्वीकारेर सत्तामा आएपछि माओवादीले पनि परिवारवादलाई प्रश्रय दियो ।
महत्वपूर्ण कुरा के छ भने राजतन्त्रको प्राचीन पद्धतिलाई ध्वस्त पार्ने कम्युनिष्ट बिचारको आधारमा सत्ता पल्टाउने भन्ने कम्युनिष्ट पनि परिवारवादको घेराबाट उम्किन सकेनन् । चीनका कम्युनिष्ट संस्थापक माओका धर्मपत्नी चियाङ चिङ शासनको सुत्रधारको हैसियतमा सक्रिय रहेको ईतिहास पुरानो भएको छैन । उत्तर कोरीयाको शासनकालमा किम ईल सुङ देखि किम जोङ उन सम्म एउटै परिवारका बाबु छोरा नाति राष्ट्रपति हुने तानाशाही व्यवस्था रहेको पाईन्छ ।
हाल सेनाले नजरबन्दको रुपमा राखेको आङ सान सू चीका पिता पनि म्यानमारमा प्रभावशाली राजनीतिक व्यक्तित्व थिए ।
यस सम्बन्धमा वरिष्ठ ईतिहासकार तथा संसकृतिविद प्रा.डा. जगदीशचन्द्र रेग्मीको भनाई अनुसार राजनीतिमा परिवारवाद एक मनोगत सत्य हो । राजनैतिक संस्कार र परिवेश र राजनीतिक पृष्टभूमिको आधारमा परिवारवादबाट निस्किने नेतृत्वलाई सकारात्मक रुपमा हेर्नु पर्ने रेग्मी बताउनु हुन्छ ।
यसै पृष्टभूमिमा हालै प्रधानमन्त्री शेर बहादुर देउवा पुत्र जयवीर सिंह देउवाले डडेलधुराबाट क्रियाशील सदस्यता ग्रहण गरेको सार्वजनिक भएपछि काँग्रेसमा तरंग पैदा भएको छ । यो समाचार सँगै काँग्रेसमा पनि पुराना नेता कार्यकर्ताको त्याग तपस्या अवमुल्यन भएर नेताका परिवारको हालीमुहाली हुने त हैन भन्ने चिन्ता बढेको असन्तुष्ट काँग्रेसीहरुको तर्क छ । अर्को थरी काँग्रेसी वृतमा पहिलो पुस्ताको अवशान, दोस्रो अवकाश उन्मुख, तेस्रो पुस्ताको नेतृत्वको सवाल विवादीत र अनिर्णित रहेको अवस्थामा बेलायतमा उच्च शिक्षा शिक्षा प्राप्त गरेका २६ वर्षीय देउवा पुत्र जयवीर चौथो पुस्ताको निमित्त आशाको किरण हुन सक्ने बताउछन् । जन्मिदै चाँदीको चम्चा मुखमा लिएर आएका राणा शाह मावली खलकहरु भएको , २६ वर्षको उमेरमा डिस्को डान्समा रम्ने उमेरमा नेपाल जस्तो अर्धसामन्ति सोच प्रधान समाजमा राजनीतिमा लाग्ने कठोर निर्णयले जीवनको खुलापनलाई बन्धनमा राख्नु पर्ने बाध्यता त छँदैनै छ त्यो भन्दा महत्वपूर्ण छ २५ वर्ष पछिको नेपाल सामाजिक, आर्थिक , राजनीतिक, सांस्कृतिक र शैक्षिक रुपान्तरणको निमित्त सोँच र बिचार हुनु त्यति नै महत्वपूर्ण छ ।
जे होस् गणतान्त्रिक शासनमा लोकतान्त्रिक विधि अनुसार नेपालको शक्ति केन्द्र रहेको बालुवाटारको दरबारमा “नवयुवराजहरुको आरोहण” भएको छ । समय र कालखण्डले यसको पुष्टी हुनेनै छ ।