सालबारीको गोरु काण्डदेखि शिवप्रसाद शिवाकोटीका लागि प्रहरी प्रशासनको डरलाग्दो गस्ती सुरु हुन थालेको थियो । त्यतिखेर झापामा त्यस्तो स्थितिसँग सामना गर्न सम्बन्धित पात्रलाई सजिलो थिएन । अनि त्यतिखेर शिवप्रसाद शिवाकोटीले आफ्नो जीवन रक्षाका लागि बाटो खोज्नैपर्ने अवस्थाको सिर्जना भएको थियो । त्यस बेला प्रहरी प्रशासनका आँखामा शिवप्रसादसिवाय अरू विद्रोही देखिएका थिएनन् । सालबारीबाट नजिक पर्ने जस्तै— भारतको पानीट्याङ्की, नक्सल, बागडुग्रा, सिलिगुढी र खरसाङ, कालेबुङ, दार्जिलिङ आदि ठाउँमा समेत नेपालका प्रहरीको सुराकी पुगिसकेको थियो । त्यसपछि शिवाकोटीले लामो यात्रा समाउनुपर्ने बाध्यताले उनलाई घचघच्चाएको थियो । त्यसैले उनी सरासर भारतको आसाम पुगेका थिए ।
झापा हत्याकाण्ड भएपछि झापामा धेरै मान्छे जन्मकैदका सिकार भएका थिए । तीमध्ये मोहनचन्द्र अधिकारी, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, खड्गप्रसाद वली, अम्बरबहादुर कार्की, अम्बरबहादुर अधिकारी, मनकुमार गौतम, गौरा प्रसाई आदिलाई जन्मकैद गर्ने मुद्धा लगाइएको थियो । शिवप्रसाद शिवाकोटीका जेठा छोरा भीष्मराज शर्माका अनुसार झापा विद्रोहमा २५—३० जना प्रमुख नेतृत्वलाई जन्मकैद गर्नेबारेको जानकारी सुनाइएको थियो । त्यसै फेरोमा शिवप्रसादले रातोरात निर्वासित हुनुपरेको थियो ।
झापा विद्रोहका प्रसङ्गमा सरकारी पक्षले अति कठोर नीति लिएको थियो । त्यसै परिवेशमा शिवप्रसाद शिवाकोटीलाई पनि प्रशासनले डरलाग्दो स्थितिमा प्रस्तुत गरेको थियो । उनलाई पनि जन्मकैद हुने फैसलामा लगिएको थियो । उनलाई त्यस घडी राजकाज, जनहत्या, डाँका आदि विषयको मुद्दासमेत पनि भिराइएको थियो । उनको सर्वस्व जफत गर्ने पनि फैसला भएपछि उनका लागि आफ्नो माटोले पनि त्यहाँ नबस्न निर्देश गरिरहेको थियो । त्यति मात्र होइन, ‘शिवप्रसादलाई जहाँ भेटे पनि गोली हान्ने’ प्रहरीले निर्देशन पाइसकेका थिए । ती सबै कारण जोडिएर नै उनी रातारात भारतको जलपाईगुडी हुँदै आसाम पुगेका थिए ।
आसाम पुगेपछि शिवप्रसादले नेपालबारे गहिरो चिन्तन गरे । तर त्यतिन्जेलसम्ममा उनले नेपाल फर्कनु भनेको आत्महत्या गरेझैँ हुने परिस्थितिको सिर्जना भएको थियो । त्यसैले उनले भारतमा नै आफ्नो निर्वासित जीवन बिताउने निणर्य गरेका थिए । साथै उनले क्रमशः आफ्ना सन्तानलाई आफू बसेको आसाममा ओसार्ने प्रबन्ध गरे । त्यहीअनुरूप २०३० सालमा उनले जेठा छोरा भीष्मराजलाई आसाम बेलाएका थिए । त्यतिखेर भीष्म सात वर्षका थिए ।
शिवप्रसादले आसाममा बसेका बेला इलममा नै बाँधिने निधो गरे । सोहीअनुरूप उनले आफ्नी ठूलीआमाकी छोरी जानुका प्रसाईको खेतमध्ये केही जग्गा मागेर खेती गर्न थाले । उनले त्यहाँ धानखेती गर्न थाले र सुनपाटको पनि खेती सुरु गरे । त्यस काममा उनी सफल पनि भए । तर पनि त्यस ठाउँबाट आफ्ना सन्ततिको भविष्य त्यति उज्जल नहुने सम्भावना देखेर उनी शिवसागर जिल्लाको बोकाखाटमा सरे । त्यसै बेला उनले आफ्नी आमालाई झापाबाट त्यस ठाउँमा झिकाएका थिए । तर उनकी आमा त्यहाँ धेरै दिन अडिन सकिनन् र झापा नै फिरिन् ।
बोकाखाटमा पनि शिवप्रसादको वाम राजनीति सुरु भएको थियो । बोकाखाट भारतीय कम्युनिस्ट पार्टीको फराकिलो विस्तार देखेर नै उनी त्यस ठाउँमा बसाइँ सरेका थिए । केही वर्षसम्म त्यस ठाउँमा उनी कम्युनिस्ट पार्टीकै कार्यमा समर्पित थिए । अनि पार्टीमा उनको निष्ठाका कारण कम्युनिस्ट पार्टीले उनलाई सदस्यता पनि प्रदान गरेको थियो ।
शिवप्रसादलाई लामो समयसम्म आसामको बोकाखाटमा बस्न जुरेन । उनी त्यहाँ एक वर्ष मात्र बसे । त्यसपछि उनी धेमाजी जिल्लाको गोगामुख बसाइँ सरे । त्यस ठाउँलाई चाहिँ उनको मनले खाएको थियो । अनि घरसल्लाहले शिवप्रसादले ससुरालीको सहयोगमा त्यहाँ तीन बिघा जमिन किने । त्यसैताक अर्थात् २०३० सालको कुरा हो— उनकी आमा झापामा नै स्वर्गीय भइन् । आफ्नी आमा बितेको पैँतालिस दिनपछि मात्र उनले समाचार पाएका थिए । आमाको निधनपछि उनले पत्नी र छोराछोरीलाई झापाबाट गोगामुखमा स्थानान्तरण गराएका थिए ।
धेमाजी कम्युनिस्टहरूको बोलवाला भएको जिल्ला थियो । त्यस ठाउँमा पनि शिवप्रसादको राजीनीति फस्टाउन थालेको थियो । त्यस बेला उनले त्यहाँ स्थानीय राजनीतिमा आपूmलाई प्रस्ट देखाउन थालिसकेका थिए । त्यसैले पनि उनका लागि धेमाजी कर्मभूमिका रूपमा अनुवाद भएको थियो ।
शिवप्रसाद धेमाजीको खेती किसानमा मात्र सीमित भएनन् । उनले त्यहाँ विविध व्यापार गर्ने मनसाय पनि राखे । परिणामस्वरूप उनले त्यहाँ कपडा दोकान र लुगा सिलाउने कारखाना खोले । त्यस ठाउँमा त्यो स्तरको थानथान कटराइज, टेलरिङ र उलनको कपडा पसल र रेडिमेड कपडा पसल सदरमुकामबाहेक अन्त थिएन । उनले पसल खोलेपछि त्यस ठाउँमा सुट लगाउनेको पनि जनसङ्ख्यामा बढोत्तरी हुन थालेको थियो । धेरैले पैसा तिरेर लगाए अनि धेरैले बाँकीमा पनि सुट लगाए । खास गरेर कम्युनिस्ट भन्नेहरूले चाहिँ उनको पसलबाट सुट उधारो लान थाले । अनि उनको पसलको नाउँ नै उधारो पसलमा परिणत हुन थाल्यो । नाफामा चलेको उनको पसल क्रमशः घाटैघाटामा जान थाल्यो । अन्ततः आफ्नै सैद्धान्तिक साथीहरूका कारण शिवाकोटी टाट पल्टे र केही सीपै नलागेपछि उनले पसल बन्द गरिदिए ।
शिवप्रसादको पसल हटेपछि उनले अर्को व्यवसाय सुर गरे । अथवा भनौँ, उनले त्यसै ठाउँमा फलफूल खेती गर्न थाले । त्यस व्यवसायबाट उस्किन उनले रातोदिन प्रयास गरे । उनको पसिनाको कमाइमा उनी पास पनि हुन थाले । भनौँ, फलफूल खेतीबाट उनी क्रमशः उस्किन थाले ।
(शिवप्रसाद शिवाकोटीको जीवनी− २० अन्तर्गत आगामी शनिबार ‘‘शिवप्रसाद शिवाकोटीको निर्वासित जीवन—२’ पढ्नुहोला । )