वनदेशको कथा

वनदेशको कथा

  • शनिबार, भदौ १२, २०७८
  • प्रथा

  • 11.2K
    SHARES

……………….
वसन्त खसेर
जब मुस्कुराउन थाल्छन्
फूलका ओठहरू
तब बिस्तारै मेटिदै जान्छ
उदासीले निलेर
रोइरहेको खडेरीग्रस्त वनको कथा !
कथाहरू कथा मात्र हुँदैनन्
कथाभित्रै हुन्छन्
आँसुका नुनिला गीतहरू
दुस्खका धुले पहिराहरू
विभेदका अजङ्ग ग्रेटवालहरू
र इतिहास मेटिदै गरेका मनका शिलालेखहरू !

……
वन हेर्दा पो घनाजस्तो छ
कसलाई थाहा र
वनभित्र रूनेहरू को को छन् ?

यही वनलाई साक्षी राखेर
बगेर जान्छ
देहुनिया खोलाको पानी समुद्रसम्म !
यही वनको भोकले कुल्चिएर
लस्करै जान्छन्
आदिवासीका हुलहरू खाडीको पठारसम्म !
यही वनको छायाँ ओढाएर
पुर्याइएका हुन्
झोडेनी कान्छीहरू अँध्यारा कोठीहरूसम्म !
र यही वनको धुलेबाटो डोर्याउँदै
अस्ति आइपुगेको हो
समुद्री डाकुजस्तो सरकार हाम्रो घरसम्म !

…..
हिजोजस्तै लाग्छ लुकानी !
टाँक झरेर
चोली अल्झाएको पिनसियोले
कुर्कुच्चा खोपेर
तिमीले झिकिदिएको मैदाल काँडा !
तर आज म,
फुर्लुङमा डलर बोकेर
लिबर्टी स्ट्याचुको छायाँमुन्तिर
प्रेमीकालाई पर्खिरहेछु
सायद,
यतै कतै उनी दौडिरहेकी होलिन् !

…..
अहँ १ थाहा छैन
यो अनुभूतिको इन्द्रधनुषभरि
कसले हालिदियो होला
संवेदनाका यी फरक(फरक रङहरू ?

….
मेरी लुकानी !
मेटेर पनि नमेटिँदोरहेछ
ह्रदयमा कोरिएको सम्झनाको वर्णमाला !
वन छोडेर
कहाँ पुग्दा हुन्— यी वनचरीका बथानहरू ?
म आज,
समर होलिडे मनाउन
नाटालियासँगै वयस्क वीच पुगेको छु !
वाटर जेटमा चढेर
सेक्सी समुद्रमा डाइभ हान्दा पनि
किन होला
त्यो वालापनकै इन्द्रेणी याद आइरहन्छ ?

……
भदौरे धान गोडेर
दोपहरमा मेलो सकी फर्केपछि
खुट्टामा गाम्चा बाँधेर
सँगसँगै झ्वाम्म हाम फालेको डिही सम्झिरहेछु १
होलीमा निगुरो टिप्दै गर्दा
तिमीले दिएको गलेनी दानाको स्वाद
आजसम्म पनि
अहँ ! यो जिब्रोले पटक्कै बिर्सिन सकेको छैन !
साँच्चै लुकानी !
चङ्गा जतिसुकै माथि उडे पनि
लटाई नै हुँदोरहेछ
चङ्गाको अन्तिम गन्तव्यको सिमा निर्धारक !

….
हो लुकानी !
यो बिरानो ठाउँ छोडेर
अब म फर्किन्छु
त्यही वनको आफ्नै संसार
जहाँ मुस्कुराउने गर्छन्
जीवनका आदिम वनेली लयहरू !
हो अब म,
तिनै लयमा आवाज भरेर
तिम्रो प्रेमको कोरस जुनीभर गाउन चाहन्छु !

…..
कुनै एकदिन,
झ्वाप्प साँझ खसेर
एकलास भूगोलको किनाराछेऊ
हिँड्दै गरेको बाटो
अकस्मात् टुङ्गियो भने
वन छोडी उडेका सहस्र वनचरीहरूले
इन्द्रेणीको कुन रङमा
अपनत्वको घनत्व बढी महसूस गर्दा हुन् ?

…..
वन फगत वनमात्र होइन !
यही वनमा छ
तिम्रो श्वासको पहिलो लघुतम् सर्को
यही वनमा छ
तिम्रो नामको पहिलो वर्ण अक्षर
यही वनमा छ
तिम्रो पाइतालाको पहिलो पदचिन्ह
र यही वनमा छ
तिमीले गाएको त्यो गीतको अन्तरा पनि !


सायद,
वन भन्नु नै देश हो !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी