पूर्वीय साहित्य पुराणादि ग्रन्थमा देवता र राक्षस बीच भयङ्कर युद्धहरुको चर्चा गरिएको पाइन्छ । द्वापर युगको अन्त्य तिर महाभारतको युद्धमा समेत अर्जुनद्वारा दिव्यास्त्रहरुको अध्ययन स्वर्गका देवता इन्द्रद्वारा गराइएको पाइन्छ । हिन्दु धर्मानुसार भगवानका रुपमा पुजिने ब्र⋲मा , विष्णु , महेश्वर समेतका केही त्यस्ता विशेष शस्त्र–अस्त्रहरुको प्रयोगद्वारा राक्षसहरुको संहार गरिएको वर्णन पाइन्छ ।
आजको युगमा पश्चिमाहरुद्वारा आधुनिक हात–हतियार निर्माण गर्ने र शक्तिशाली बन्ने होडबाजी चलिरहदा पूर्वीय सभ्यतामा प्रचलित शस्त्रास्त्र र प्रयोग गरिने विधिको पनि अध्ययन गर्नु आवश्यक छ । पश्चिमाहरुद्वारा निर्माण गरिएको अणु बम देखि लिएर अन्य ग्रहहरुको परिक्षण सम्मको तुलनात्मक रुपमा अध्ययन गरी खोज अनुसन्धान गर्नु आवश्यक छ । पुष्पक विमान , शौभ विमान , वैहायस विमान देखि लिएर हजारौ घोडाहरुद्वारा एकसाथ कुद्््ने रथ र युद्धमा प्रयोग गरिएका विमान , घोडा , रथ आदिको बारेमा पनि अध्ययन–खोज गर्न जरुरी छ ।
आजको युगले कथा सुनेर अथवा सुनाएर मात्र पत्याउने स्थिति छैन । आजको युग प्रमाण सहित पुष्टि भएर व्यवहारतः लागु भएको कुरामा नै विश्वास गर्ने गर्छ । पूर्वीय सभ्यतामा सबै कुराहरु रहेको र त्यसलाई पश्चिमाहरुद्वारा चोरिएको र अध्ययन गरी नयाँ नयाँ विकासहरु भइरहेको भन्दै हामीसँग उपलब्ध ग्रन्थहरुको अध्ययन नगरी चुप–चाप बस्ने छुट हामी कसैलाई छैन । यसबाट पन्छिन खोजे पूर्वीय सभ्यता , संस्कृति , दर्शन देखि लिएर हरेक क्षेत्रमा हामी आफैले हाम्रो सभ्यतालाई मृततुल्य बनाउदै लैजानु हुनेछ ।
पूर्वीय सभ्यतामा विकसित शस्त्र–अस्त्रका बारेमा केही चर्चा गर्ने प्र्रयत्न गरिन्छ । जो शस्त्रास्त्र सम्बन्धी विषय उठान मात्र हुनेछ । यसले भविष्यमा शस्त्रास्त्र सम्बन्धी अध्ययन–अध्यापनको निम्ति चिन्तन गर्न मार्ग निर्माण गरोस् भन्ने उद्देश्य रहेको छ ।
धनुर्वेद नै त्यस्तो ग्रन्थ हो जसले शस्त्रास्त्र सम्बन्धी प्रयोगको विधिहरुबारे चर्चा भएको र सैन्यविज्ञानका रुपमा यस ग्रन्थलाई लिने गरिएको छ । यो ग्रन्थ हाल पुस्तक संग्रहालयमा मात्र पाइन्छ ।
शस्त्र र अस्त्रमा फरक –
युद्धका निम्ति प्रयोग गरिने विभिन्न हतियारहरु नै शस्त्रास्त्र हुन् । येन करधृतेन हन्यते तत् शस्त्रम् । संस्कृतमा हातमा नै राखेर प्रयोग गरी मार्न वा घाइते बनाउन सकिने हतियारलाई शस्त्र भनेको पाइन्छ । त्यस्तै येन क्षिप्तेन हन्यते तदस्त्रम् । दिव्यशक्तिद्वारा अथवा मन्त्रद्वारा अभिमन्त्रित प्रयोग गरिने हतियारलाई अस्त्र भनेको पाइन्छ । दिव्यशक्ति अथवा मन्त्र भन्नाले विभिन्न प्रयोग, खोज र निरन्तर गरिने साधना भन्ने बुझ्नु पर्दछ ।
केही शस्त्रहरुका नाम–
संस्कृत नेपाली
खड्ग तलवार
मुद््गल,घन मुङ््ग्रो
ईली खुँडो
भिन्दिपलः घुँयेत्रो
कुठारः,परशु वञ्चरो
शस्त्री खुकुरी
छुरिका छुरी
शल्यम्,शङ्कु सुइरो
प्रासः,कुन्तः भाला
फलकः,चर्मः ढाल
गदा गदा
भुशुण्डी बन्दुक
शतघ्नी तोप
अन्य :पट्टीश , परिघ , उल्मुकः , नालिक , नाराच , तोमर , भल्ल आदि थुप्रै शस्त्रहरुको उल्लेख पाइन्छ । बृहत् रुपमा जसको खोज अनुसन्धान गर्न आवश्यक छ । बन्दुक र तोपलाई अस्त्रकै प्रकारमा गणना गरिएको पाइएता पनि यँहा भने शस्त्रकै प्रकारमा गणना गरिएको छ ।
केही अस्त्रका नामहरु–
पाशुपतास्त्र (शिवद्वारा धारण गरिएको अस्त्र )
वारुणास्त्र (जलवर्षक अस्त्र )
शरवर्षास्त्र ( निरन्तर वाणवर्षा गर्ने अस्त्र )
अश्मवर्ष ( पत्थरको वर्षा गर्ने अस्त्र )
शलभास्त्र (असंख्य वाणहरुद्वारा आकाश ढाकेर शत्रुमाथि आक्रमण गर्ने अस्त्र )
दण्डास्त्र (यमराजद्वारा धारण गरिएको अस्त्र)
अन्तर्धानास्त्र ( कुवेरद्वारा धारण गरिएको अस्त्र )
वज्रास्त्र ( इन्द्रद्वारा धारण गरिएको एवं प्रियास्त्र )
पाशास्त्र ( वरुणद्वारा धारण गरिएको अस्त्र )
माधवास्त्र (इन्द्रको परम् प्रिय अस्त्र )
प्रस्वापास्त्र (विश्वकर्माद्वारा आविस्कार गरिएको)
भार्गवास्त्र (परशुरामद्वारा निर्मित र कर्णलाई दिएको )
आग्नेयास्त्र ( अग्निवर्षक अस्त्र )
गु⋲यकास्त्र
वायव्यास्त्र
नारायणास्त्र
स्थुणाकर्ण
ब्रह्मास्त्र
विशेषणास्त्र
महेन्द्रास्त्र
शैलास्त्र
सम्बोधनास्त्र
नागास्त्र
गरुढास्त्र
पर्जन्यास्त्र
रुद्रास्त्र
ब्रह्माण्ड अस्त्र
वैष्णवास्त्र
यमास्त्र
मानवास्त्र
गन्धर्वास्त्र
भीष्म र परशुरामको युद्धमा गुह्यकास्त्र , वायव्यास्त्र , आग्नेयास्त्र , वारुणास्त्र , प्रस्वापास्त्र , सम्बोधनास्त्रको प्रयोग भएको उल्लेख महाभारतको अम्बोपाख्यानपर्वको १८० र १८३ अध्यायमा पाइन्छ ।
पाशुपतास्त्रको शक्ति र प्रयोग
भगवान् शिवले अर्जुनलाई पाशुपतास्त्र दिदै गर्दा सामान्य अल्पशक्ति योद्धा माथि आक्रमण नगर्न भनिएको प्रसङ्ग र तीनै लोकका मानिस यस अस्त्रको प्रयोगले बाँच्न नसक्ने प्रसङ्गले पनि यसको शक्तिबारे जान्न सकिन्छ । त्यस्तै पाशुपतास्त्रको प्रयोग गर्ने वीर पुरुष उसको मानसिक संकल्प ,दृष्टि र वाणीद्वारा पनि आक्रमण गर्न सक्ने उल्लेख गरिएको छ भने धनुष वाणद्वारा पनि यसको प्रयोग गरी शत्रुको नाश गर्न सकिने कुराको उल्लेख गरिएको छ ।
न त्वेतत् सहसा पार्थ मोक्तव्यं पुरुषे क्वचित्
जगद् विनाशयेत् सर्वमल्पतेजसि पातितम् ।।१७ ।।
अवध्यो नाम नास्त्यस्त्र त्रैलोक्ये सचराचरे ।
मनषा चक्षुषा वाचा धनुषा च निपातयेत् ।। १८ ।। महाभारत, कैरातपर्व अध्याय ४० )
शिवजीले अर्जुनलाई आफ्नो पाशुपतास्त्र दिदै सामान्य मानिसमाथि यसको प्रयोग गर्न नहुने , अल्पशक्ति माथि यसको प्रयोग गरिएको खण्डमा विश्व नै ध्वस्त हुने प्रसङ्ग उल्लेख छ । त्यस्तै शत्रुको आक्रमणबाट बाँच्न आत्मरक्षाका लागि र शत्रुका अस्त्रहरुको नाश गर्न मात्र यसको प्रयोग गर्नु पर्ने बताइको प्रसङ्ग भेटिन्छ ।
न प्रयोज्यं भवेदेतन्मानुषेषु कथञ्चनः ।। ५२ ।।
जगद् विनिर्दहेदेवमल्पतेजसि पातितम् ।
पीड्यमानेन बलवत् प्रयोज्यं स्यात् धनञ्जय ।। ५३ ।।
अस्त्राणां प्रतिघाते च सर्वथैव प्रयोजयेत् ।। ५४ ।। ( महाभारत निवातकवचयुद्धपर्व अध्याय १६७ )
अस्त्रका ज्ञाताहरु
महाभारतको युद्धमा कौरवहरुको पक्षबाट लडाइका निम्ति तयार भएका भूरिश्रवा , शल , जलसन्ध , भीष्म , द्रोण , कर्ण , अश्वत्थामा , दुर्योधन , धृतराष्ट्र लगायत अस्त्रहरुबारे जानकार रहेको उल्लेख पाइन्छ ।
भूरिश्रवाः शलश्चैव जलसंधश्च वीर्यवान् ।
भीष्मो द्रोणश्च कर्णश्च द्र्रोणपुत्रश्च वीर्यवान् ।। ९ ।।
धार्तराष्ट्रा दुराधर्षा दुर्योधनपुरोगमाः।
सर्व एव कृतास्त्राश्च सततं चाततायिनः ।। १० ।। ( महाभारत, अर्जुनाभिगमनपर्व अध्याय ३६)
त्यस्तै इन्द्रले वायु , अग्नि , वसु , वरुण , मरुद््गण , साध्यगण , ब्र्््ह्मा , गन्धर्वगण , नाग , राक्षस , विष्णु , निर्ऋतिक , का अस्त्रहरुको ज्ञान लिन अर्जुनलाई आदेश दिएको प्रसङ्गले वायु , अग्नि , वसु लगायत अस्त्र विद्यामा निपूर्ण रहेको प्रमाणित हुन्छ ।
शिक्षा मे भवनं गत्वा सर्वाण्यस्त्राणि भारत ।
वायोरग्नेर्वसुभ्योऽपि वरुणात्् समरुद््गणात्् ।। २९ ।।
साध्यं पैतामहं चैव गन्धर्वोरगराक्षसाम््् ।
वैष्णवानि च सर्वाणि नैर्ऋतानि तथैव च ।। ३० ।।
मद्््गतानि च जानीहि सर्वास्त्राणि कुरुद्््वह ।
एवमुक्त्वा तु मां शक्रस्तत्रैवान्तरधीयत ।। ३१ ।। ( महाभारत, निवातकवचयुद्धपर्व अध्याय १६८ )
त्यस्तै एक प्रसङ्गमा व्यासजीले युधिष्ठिरलाई उपदेश दिदै देवराज इन्द्र , रुद्र , वरुण , कुबेर र धर्मराजको मा अर्जुनलाई अस्त्रकम निम्ति जानको लागि गरिएको उपदेशले इन्द्र , रुद्र लगायत अस्त्र विद्यामा निपूर्ण रहेको पुष्टि हुन्छ ।
यामवाप्य महाबाहुरर्जुनः साधयिष्यति ।
अस्त्रहेतोर्महेन्द्रं च रुद्रं चैवाभिगच्छतु ।। ३१ ।।
वरुणं च कुबेरं च धर्मराजं च पाण्डवः ।
शक्तो ह्येष सुरान् द्रष्टुं तपसा विक्रमेण च ।।३२ ।। (महाभारत, अर्जुनाभिगमनपर्व अध्याय ३६ )
अर्को एक प्रसङ्गमा सम्पूर्ण दिव्य अस्त्रहरुको बारेमा देवराज इन्द्र ज्ञात रहेको उल्लेख पाइन्छ । यसबाट के बुझ्न सकिन्छ भने सम्पूर्ण अस्त्र विद्याबारे इन्द्रलाई ज्ञान प्राप्त थियो । त्यसैले अस्त्र विद्याको गुरु इन्द्रलाई मान्न सकिन्छ ।
इन्द्रे ह्यस्त्राणि दिव्यानि समस्तानि धनञ्जय ।
वृत्राद् भीतैर्बलं देवैस्तदा शक्रे समर्पितम् ।। १४ ।। (महाभारत, अर्जुनाभिगमनपर्व अध्याय ३७ )
अस्त्र सम्बन्धी ३ पद्धतिको चर्चा
विभिन्न शस्त्रास्त्रहरुको प्रयोग र कला बारे अध्ययन गर्ने वेद भनेको धर्नुवेद नै हो । महाभारतको अर्जुनाभिगमनपर्वमा अस्त्रका तीन पद्धतिका बारेमा उल्लेख भएको पाइन्छ । महाभारतको युद्धमा कौरवहरुको पक्षमा भएका भीष्म पितामह , द्रोणाचार्य , कृपाचार्य , कर्ण र अश्वत्थामा चार पाउमा सुसज्जित धनुर्वेदको जानकार रहेको र दैव , ब्राह्म र मानुष तीन पद्धति अनुसार सम्पूर्ण अस्त्रहरुको प्रयोेगमा निपूर्ण रहेको कुरा उल्लेख गरिएको छ । साथै शत्रुद्वारा प्रयोग गरिएको अस्त्रको निवारण गर्ने उपायका बारेमा पनि जानकार रहेको उल्लेख पाइन्छ ।
दैवं ब्र्राह्मं मानुषं च सयत्नं सचिकित्सितम््् ।
सर्वास्त्राणां प्रयोगं च अभिजानन्ति कृत्श्नश ।। ५ ।। ( महाभारत, अर्जुुनाभिगमनपर्व अध्याय ३७ )
यी तीन पद्धतिको मीहिन ढङ्गले खोज अनुसन्धान गर्न आवश्यक छ । हाल पश्चिमा राष्ट्रहरुले एक देशको युद्ध विमान अर्को देशको सिमाना नजिक पुग्दा नपुग्दै आकाश मार्गमा नै ध्वस्त बनाएको समाचारहरु हामीले पढ्ने सुन्ने गरेका छौ तर हाम्रा पूर्खाहरुले हजारौं वर्ष अघि शत्रुद्वारा प्रहार गरिएको हतियारलाई निवारण गर्ने क्षमताको विकास भइसकेको कुरालाई पत्याउन तयार भएनौं । जबकि हामी परापूर्वकालमा विकसित शस्त्र–अस्त्र , युद्धका नियम र विधि ,अस्त्रहरुको प्रयोगका सन्दर्भमा भएका उपलब्धिहरुको रक्षा र थप विकास गर्ने चरणमा पुग्नु पर्ने थियो । तर हामी यति धेरै अल्मलियौं कि पूर्वीय दर्शन , पूर्वीय परम्परा ,पूर्वीय संस्कृतिमा युद्ध र हतियार भन्ने शब्दलाई घृणा मात्र गरि रह्यौं ।
अस्त्रका पाँच विधिहरुको चर्चा
पूर्वीय वाङ्मयमा युद्धहरुको कथा प्रसङ्गमा विभिन्न दिव्यास्त्रहरुको चर्चा परिचर्चाका साथै अस्त्रहरुको शक्तिका बारेमा पनि उल्लेख पाइन्छ भने अस्त्रहरुको प्रयोग गर्ने विधिका बारेमा पनि वर्णन गरेको पाइन्छ । पूर्वीय सभ्यताले युद्ध भित्र पनि शिष्टताको पाठ सिकाइ रहेको हुन्छ भन्ने गतिलो प्रमाण ५ विधिहरुको वर्णनले थप पुष्टि गर्दछ । महाभारतको निवातकवचयुद्धपर्वको १६८ अध्यायमा प्रयोग , उपसंहार , आवृत्ति , प्रायश्चित्त र प्रतिघात गरी पाँच अस्त्र प्रयोगका विधिहरुको उल्लेख पाइन्छ । यी पाँच विधिहरुलाई निम्न ढंगले बुझ्न सकिन्छ :
( १ं ) प्रयोग = अस्त्रको प्रयोग गरी शत्रुलाई घाइते बनाउने ।
( २ ) उपसंहार = अस्त्रको प्रयोग गरी शत्रुलाई नाश गर्ने ।
(३ ) आवृत्ति = अस्त्रको प्रयोग गरी शत्रुलाई पुनः पुनः नाश गर्ने ।
(४ ) प्रायश्चित्तः = निर्दोष प्राणीको नाश भएको खण्डमा पुनः जीवित गर्ने विद्या ।
(५ ) प्रतिघात = शत्रुको अस्त्र देखि पराभव प्राप्त भएको आफ्नो हतियारलाई पुनः शक्तिशाली बनाउनु ।
प्रयोगमुपसंहारमावृत्तिं च धनञ्जय ।। ६७ ।।
प्रायश्चित्तं च वेत्थ त्वं प्रतिघातं च सर्वशः ।। ६८ ।। ( महाभारत, निवातकवचयुद्धपर्व अध्याय १६८)
यसरी हेर्दा युद्घ संसार ध्वस्त गर्न कि शान्ति र कल्याणका निम्ति भन्ने प्रश्नको हल पूर्वीय दर्शनले प्रष्ट्याएको छ । आजको हात–हतियार होडबाजीको युग र शक्तिशाली राष्ट्र बन्ने नाममा मानिसको मात्र नभएर प्रकृतिलाइ नै ध्वस्त पार्ने गरी अस्त्रहरुको विकास र अनावश्यक प्रयोग भइरहदा यो विपत्तिबाट मुक्ति पाउन पूर्वीय दर्शन र हतियारको प्रयोग सम्बन्धी विधिलाइ आममा लान सक्नु ,बुझ्नु र बुझाउन प्रयत्न गर्नु हाम्रो कर्तव्य हुन जान्छ ।