शिवप्रसाद शिवाकोटीलाई सुखानी हत्याको झड्का

शिवप्रसाद शिवाकोटीलाई सुखानी हत्याको झड्का

  • शनिबार, भदौ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । शिव दाइहरू त्यस बेलासम्ममा नक्सलाइट कम्युनिस्टको शीर्षकमा कहलिन थालिसकेका थिए । त्यसै फेरोमा झापा आन्दोलनका मुख्य नायक मानिएका रामनाथ दाहाल पनि पक्राउ परेका थिए । उनी बुटन चौधरी मारिएको सात महिनापछि समातिएका थिए । अथवा भनौँ, उनी २०२९ मङ्सिर २८ गते उनकै घरछेउमा पक्राउ परेका थिए । रामनाथ दाहाललाई पक्राउ गरेपछि प्रहरी प्रशासनले उनलाई दानवीय व्यवहार देखाएको थियो । कतिसम्म भने तीन महिनासम्म उनलाई पिट्तै रगत छदाउँदै र अस्पताल लगेर उपचार गर्दै र फेरि पिट्तै, रगत छदाउँदै गरेर पुलिस प्रशासनले जेलमा राखेका थिए ।
राजा महेन्द्रको निधनपछि राजा वीरेन्द्रलाई नवचाकरीदारहरूले खेलाउन थालेको बुझिन्थ्यो । त्यसैले त्यस कालमा नेपालमा न्याय र अन्यायबारे अप्ठ्यारो अवस्थाको सिर्जना हुन थालेको थियो । राजनैतिक कुराहरू वार्ताबाट समाधान हुनुपर्ने या जनताको पीरमर्का बुझेर प्रशासनले न्याय दिन सक्ने भन्ने कुराले त्यति अर्थ राख्न सकिरहेको थिएन । राजा वीरेन्द्रको शासनकालमा जनहत्यामा क्रमशः बडोत्तरी हुने कारण नै राजाका चाकरीदार र कर्मचारीहरूको हाबी नै प्रमुख तत्त्व मानिन्थ्यो । त्यसैले झापामा त्यति ठूलो डँडेलो लाग्दा पनि सरकारी पक्षबाट सुरुमा त्यतिसारो चासो देखाएको पाइँदैन थियो । भनौँ, झापा आन्दोलनका एउटा नायक रामनाथ दाहालदेखि झापा विद्रोहका अर्का एउटा नायक शिवप्रसाद शिवाकोटीसम्मको वार्तामा आएर मध्यस्थता गर्ने सरकारका तर्फबाट जिल्ला, अञ्चल र केन्द्रबाट कुनै मान्छे देखा परेका थिएनन् । अनि क्रमशः देशमा दुःखद घटनाहरू पनि दोहोरिरहेका थिए ।

२०२९ फागुन २० गतेको कुरा हो— झापा जेलबाट इलाम जेल सार्ने बहानामा शनिश्चरे बजारको बाटोबाट बेलुका ४ बजेतिर रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पुलिसले डोर्‍याएर लगिरहेका थिए । त्यस बेला उनीहरूका हात फलामका चुराले बाँधिएका थिए । पाराखोपीको पुलबाट म घर फर्कंदै गरेको अवस्थामा मैले अपर्झट त्यो दृश्य देखेको थिएँ । त्यसै घडी राम दाइका आँखामा मेरा आँखा जुध्न गएका थिए । त्यस बखत हामी एकअर्कालाई केही सेकेन्ड टुलुटुलु हेरिरहेका थियौँ । उनी पुलिसको डोरीको डोर्‍याइमा सरासर हिँडिरहे ।
त्यस दिन म सालबारी नगएर शनिश्चरे बजारमा नै बसेको थिएँ । २१ गते बिहानै हामीले थाहा पाएका थियौँ— उनीहरूलाई सुखानी जङ्गलमा पुर्‍याएर गोली ठोकेर मारिएको रहेछ । अर्थात् २०२९ फागुन २१ गते बिहानको सूर्योदयसँगै मेरा दाजु रामनाथ दाहाललाई इलाम जाने मूलबाटैको सुखानीको जङ्गलमा गोली हानेर मारिएको थियो । त्यतिखेर मैले त्यो दृश्य पनि सुखानीमा नै पुगेर हेरेको थिएँ । त्यतिखेर म सुखानी पुग्नुपर्ने कारण के थियो भने— मेरा दाजु विष्णुभक्त प्रसाईको झापाको शनिश्चरेमा हाङपाङ फोटो स्टुडियो थियो । मेची अञ्चलका एसपी पद्मबहादुर मानन्धर सरासर हाम्रो घरमा आएर मेरा दाजुलाई क्यामरासहित उनी चढेकै जिपमा बस्ने उनको आग्रह भयो । जिपभरि प्रहरी थिए । त्यहाँ बस्ने सिट पनि थिएन । तर पनि म मेरो दाजु बसेको मोटरको पछाडि झुन्डिएर नै भए पनि सुखानी पुगेको थिएँ । सुखानी पुगेपछि मैले अकल्पनीय र हृदयविदारक दृश्य देखेँ र मन थाम्न नसकेर म त्यहीँ रोएको थिएँ ।
हामी सुखानी पुग्नुअघि घटनास्थलमा मान्छेलाई हिँड्न पुलिसले प्रतिबन्ध लगाएको रहेछ । त्यस ठाउँमा झन्डै पन्ध्र जनाजति प्रहरी बन्दुक बोकेर उभिएका देखिन्थे । तर घटनास्थल वारि र पारि मान्छेको कुँडुलो थियो । एकातिर त्यो इलाम झापाको मूलबाटो थियो र अर्कातिर पाँच जनालाई गोली ठोकेर मारेको समाचारले त्यो क्षेत्रमा कोलाहल मच्चिइसकेको थियो । घटनास्थल पुगेपछि एसपीको मोटरबाट हामी सबै ओर्लियौँ । त्यति बेला एउटा प्रहरी आएर एसपी पद्मबहादुरसमक्ष सलाम हान्दै बोलेको थियो— ‘रामनाथ माओ त्सेतुङ भनेर जोडले करायो, अरूले जिन्दाबाद भने ।’ अनि एसपी मानन्धरले त्यसै बेला कड्केर पुलिसलाई भनेका थिए— ‘नबोल्, चुप लाग् ।’ हामी सुखानी पुगेको केही बेरमा नै इलामबाट पनि प्रहरीको एउटा जिप त्यहीँ आएर अडिएको थियो । त्यस जिपमा प्रहरी निरीक्षक त्रैलोक्यनाथ वली र जिपभरि प्रहरीहरू थिए ।
केही समयपछि त्यहाँ बाटो हिँड्नेका लागि निषेध हटाइएको थियो । अनि त्यो कहालीलाग्दो ठाउँमा मान्छेहरूको भीड बढ्ने क्रम जारी भयो । रामनाथ दाइ इलाम जाने मोटरको बाटैको कापमा रगतको आहालमा उत्तानो परेर सुतिरहेका थिए । त्यहाँ मारिएका अरू क्रान्तिकारीहरूको मृत शरीर पनि त्यस्तै बीभत्स, दर्दनाक र हेरिनसक्नुको थियो । त्यो ठाउँ कतै रगतको दह, रक्ताम्मे र रगतकै टाटैटाटाले ढाकिएको थियो ।
रामनाथ दाइका कम्मरमा चाहिँ झन्डै २० फुटको लामो डोरीले बाँधिएको थियो । अरूहरूका पनि कसैका खुट्टा, कसैका कम्मरमा त्यस्तै लामालामा डोरी बाँधिएका थिए । तर सबैका हातमा हतकडी नै पनि छँदै थिए ।
रामनाथ दाइका छातीमा गोलीका तीनवटा ठूलाठूला दुला परेका थिए । उनलाई गोली हान्दा उनी यताउति दौडिएका थिए, सायद । किनभने उनी ढलेको वरिपरिका रूखबिरुवाका बुटा सोत्तरझैँ माडिएका थिए । सबै क्रान्तिकारीहरूलाई एकअर्काको आठदेखि दस फुटसम्मको हाराहारीमा बाँधिएको थियो । उनीहरू बाँधिएका वरिपरि सबैतिरका बुटा र झारहरू माडिएका थिए । त्यहाँ कसैका टाउकामा गोली हानिएको थियो, कसैका भुँडीमा र कसैको गुप्ताङ्गमा नै गोली लागेको थियो । एक जना कमरेडको टाउकाको खबटा उछिट्टिएर नौदस फुटजति टाढा देखिन्थ्यो । एक जनाको भुँडी फोरिएर छ्यालब्याल भएको थियो । मैले त्यहाँ रामनाथ दाइ र नेत्र घिमिरेलाई मात्र चिनेको थिएँ । घिमिरेचाहिँ झाडीको बुटोकै फेदमा ढलेका थिए । अनि त्यतिखेर उनलाई देखाउँदै एउटा पुलिस हाँस्तै बोलेको थियो— ‘यस मान्छेको त परिवार नियोजन नै भयो नि ।’ घिमिरेका छाती र गुप्ताङ्गमा गोली लागेको भ्वाङ देखिन्थ्यो ।
त्यस घडीको त्यो दृश्य हेरेर रुँदै म त्यस साँझ घर फर्केको थिएँ । अनि सुखानीको सबै बेलीबिस्तार मैले मेरी आमालाई सुनाएको थिएँ । त्यतिखेर मैले मेरी आमालाई पनि मसँगसँगै रुवाएको थिएँ । सुखानीको त्यो रक्तकुण्डको डरलाग्दो इतिहास त्यसै दिन मैले मेरो डायरीमा पनि कोरेको थिएँ ।

सुखानी काण्डपछि झापा विद्रोहमा समर्पित सम्पूर्ण क्रान्तिकारीहरूको भावनामा डरलाग्दो ठेस लागेको थियो । त्यस घटनाले शिव दाइको जीवनमा ठूलो धक्का लागेको थियो । भनौँ, त्यस बेलाको दुःखद अवस्थाका कारणले उनलाई राजनीति र व्यक्तिगत रूपमा भयङ्कर क्षति पुगेको थियो । त्यस घडी उनले जहाज डुब्दाको सर्वस्व अनुभूत गरेका थिए । वास्तवमा रामनाथ दाइको जीवनलीला टुङ्गिएपछि शिव दाइ पानीबिनाको माछाजस्तैको अवस्थामा पुगिसकेका थिए । त्यसपछि प्रशासनले उनको झन् सारो खोजीनिती गर्न थालेको थियो । शिव दाइलाई जहाँ भेट्यो त्यहीँ गोली हान्ने भन्ने हल्लाले झापा जिल्लालाई छोपेको थियो । त्यसपछि केही सीप नलागी उनी रातिराति झापा आउन पनि छाडेका थिए । अनि उनी सरासर भारतको आसाम पुगेका थिए । तर उनी आसाम पुगेको बेहोरा हामीले पनि धेरैपछि मात्र थाहा पाएका थियौँ ।
रामनाथ दाइहरूको हत्या गरिएपछि जयप्रसाद यूके पनि राजनीतिमा सक्रिय भएको मैले चाल पाइनँ । यूके दाइजस्तै अरू पनि विद्रोहीहरूमध्ये केही आआफ्नो खेतीकिसानीमा लागे भने केही विद्रोही र राजनीतिज्ञहरू कम्युनिस्ट सिद्धान्तका विविध स्वरूपमा भित्रभित्रै सङ्गठनमा मौजुद थिए । खास गरेर रामनाथ दाइहरूलाई सहिद बनाएपछि राज्यले झापाका लागि कठोरभन्दा कठोर सुरक्षाका उपायहरू अपनाएको थियो । त्यसपछि क्रमशः र क्रमशः रूपमा झापा विद्रोहचाहिँ सुस्ताएर नै गएको थियो, हराएर नै गएको थियो र छोपिएर नै गएको थियो ।

शिवप्रसाद शिवाकोटीको जीवनी− १९ अन्तर्गत आगामी शनिबार ‘‘शिवप्रसाद शिवाकोटीको निर्वासित जीवन’ पढ्नुहोला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी