पं.श्यामदास वैष्णव मेरा लागि मात्र होइन उहाँलाई चिन्ने, जान्ने र उहाँसँग सङ्गत गर्ने सबैका लागि ‘श्याम दाइ’ हुनुहुन्थ्यो । मेरै घरमा पनि श्याम दाइभन्दा उमेरले पाँच सात वर्ष जेठी मेरी सासू भागीरथा प्रसाई र श्याम दाइ भन्दा साठीसत्तरी वर्ष साना हाम्रा छोरा डा. कञ्चनजङ्घा र छोरी अनुकृतिकाबाट पनि उहाँ ‘श्याम दाइ’ नै कहलिनु हुन्थ्यो । हाम्रो नेपालभूमीमा पनि कोरोना कोभिडको दोस्रो लहररूपी राक्षसको महामारी फैलिनु केहीअघि नै तिनै श्याम दाइले यस धराधामबाट विदा लिई भाग्यमानी हुनुभएको थियो । विदा हुँदा श्याम दाइ ९८ वर्ष छुन लाग्नु भएको थियो ।
‘श्याम दाइ’ मेरा लागि तथाकथित ‘श्याम दाइ’ मात्र नभएर मैले विताएको एउटा कालखण्डको प्रत्यक्षदर्शी वा साक्षी झैँ पनि हुनुहुन्थ्यो । त्यसैले नै हुनुपर्छ श्याम दाइलाई सशरीर मैले यस धराधाममा अब भेट्न सक्तिन भन्ने अनुभूतिले म यथेष्ठ दुखेकी छु र नै त यति बेला श्याम दाइका विषयमा मसँग भएका धेरै स्मृतिहरू ठेलमठेल गरेर प्रष्फुटित हुने तरखरमा छन् । ती स्मृतिमध्ये धेरैलाई आफैँसँग थाँतीमै राखेर अहिले केही चाहिँ यहाँ प्रस्तुत गर्ने प्रयत्नमा छु ।
वैष्णवको नाउँ वाल्यावस्थादेखि नै सुनेको भए तापनि मैले उहाँलाई २०५१ सालमा मात्र सशरीर भेटेकी हुँ । मेरा प्रियतम नरेन्द्रका अत्यन्त नजिकका स्रष्टा भएकाले श्याम दाइको आवागमन नरेन्द्र निवासमा उहिल्यैदेखि हुने गरेको रहेछ ।
‘श्याम दाइको आर्थिक अवस्था पनि त्यति राम्रो छैन र उहाँ आफ्ना घरमा बसिरहनु पनि हुन्न । त्यसकारण प्रायः जसो उहाँको खानपिनको टुङ्गो पनि हुँदैन । त्यसैले हाम्रा घरमा आउँदा भने उहाँलाई चिया खाजा अनिवार्य खुवाएर मात्र पठाउने गर्नु है । अनि आफूसँग भएका बेला यसो केही हातखर्च पनि उहाँका हातमा हाली दिनुपर्छ ।’ नरेन्द्र गृह प्रवेशको प्रारम्भिक दिनमै श्याम दाइलाई अति सम्मान गर्ने मेरा गुरुदेव नरेन्द्रले श्याम दाइप्रति संवेदनशील हुँदै उहाँबारे मलाई यस्तो पाठ पढाउनु भएको थियो । स्वास्थ्यले साथ दिउञ्जेल नइ गृहमा दैनीकजसो आउनुहुने श्याम दाइप्रति मेरा गुरुदेवको वचनको मान राख्न हामी नइ परिवारले नै सकेका पनि थियौँ ।
‘आज श्याम दाइ किन आउनु भएन र ? ’ नइ गृहमा कुनै बेला यस्तो समय पनि थियो । त्यसताका कुनै दिन श्याम दाइ अनुपस्थित हुनुहुँदा हाम्रा घरका सबै अर्थात् मेरी सासू लगायत हाम्री मानसपुत्री सुमी चौधरीसमेतले अचम्म मानेर सोधीखोजी गर्थे । त्यसताका नइ गृहमा श्याम दाइको दैनिक उपस्थिति अपरिहार्यजस्तै भएको थियो ।

श्यामदास बैष्णव
श्याम दाइ नइ गृहमा आउने समय प्रायः विहानको हुने गर्थ्यो । म विहान कलेजमा पढाउन जाँन थालेपछि घरमा भने मेरो उहाँसँग शनिबारमात्र भेट हुन थालेको थियो । अरूदिन चाहिँ म कलेजबाट लखतरान भएर हतारिएर घर फर्किँदै गर्दा डिल्लीबजार पिपलबोटको सेरोफेरो तिर अल्मलिँदै गरेका श्याम दाइसँग मेरो कहिलेकाहीँ भेट पनि हुने गथ्र्यो । थाकेर हत्तु भएकी म घर छिट्टै आइपुग्ने चाहनाले औपचारिकताका दुई हात जोरेर उहाँबाट उम्किन खोज्थेँ भने उहाँचाहिँ मसँग मज्जैले कुरा गर्ने मुडमा लगत्तै पुग्नुहुन्थ्यो । तर एकथरिले मात्र चाहेर वार्ता कहाँ हुन्छ र ? मैले वार्तालापमा अरूची देखाएपछि मेरो अवस्था बुझेर ओठमा पस्किएको अनौपचारिक फिस्स हाँसो अमनले मतिर हुत्याउँदै मलाई विदा दिनुहुन्थ्यो । यसरी नै कति पटक हामी खासै कुनै कुरै नगरी पनि छुट्टिन्थ्यौँ । श्याम दाइसँग यस धरामा अब सशरीर भेट कहिल्यै हुनसक्तैन भन्ने सत्यसँग साक्षात्कार गरेको बेला भने श्याम दाइका मनबाट ज्वारभाटाको उफान जस्तै भएर मेरा लागि आउन खोजेका वार्ताका खात मैले थाप्न नसकेको पिडा पनि भोग्दै छु म यतिबेला । तर तत्कालीन मेरो थकितगलित अवस्थाको तनमन श्यामदाइका कुनै विचार ग्रहण गर्न सक्ने अवस्थामा पक्कै थिएन । आखिर मानिस भनेको ढुङ्गा वा फलामको प्रतीमा पनि त होइन । र नाटकीय व्यवहार गरेर कसैलाई पनि खुसी पार्न म सधैँ अक्षम छु । त्यसैले त्यसबेला श्याम दाइको इच्छा पूर्ण गर्न नसकेको कुरामा पनि मैले आफैँले आफूलाई क्षमा दिएकी छु ।
खासमा श्याम दाइसँगको प्रत्येक भेटमा मेरा लागि उहाँसँग केही न केही प्रस्तावात्मक सुझाव हुने गर्थ्यो ।

श्यामदास बैष्णवसँग लेखक ईन्दीरा प्रसाई र नरेन्द्रराज प्रसाई
‘अब नेपाली भाषाका पुस्तक मात्र छापेर हुँदैन । अनुवाद गराउनु पर्छ । हाम्रा नेपाली पुस्तकहरूको पनि पर्याप्त अनुवाद हुनुपर्छ ।’ पछिल्लोपटकको मसँगको भेटमा उहाँको प्रस्ताव थियो ।
‘नेपाली भाषाबाट अनुवाद गराउन पहिलेजस्तो विदेशी नै गुहार्नु पर्दैन, नेपालमा पनि अङ्ग्रेजी साहित्य राम्रो जान्ने नेपालीहरू नै अब प्रशस्त भइसकेका छन् । अब नइ प्रकाशनले नेपाली भाषाका राम्राराम्रा पुस्तकहरू अङ्ग्रेजी भाषामा अनुवाद गराउने काम गर्नु पर्छ ।’ हरेक कुरालाई डटेर भन्ने श्याम दाइको शैली मलाई अति मन पर्थ्यो । उहाँको गरिमापूर्णको ओजिलो आवाजको वर्कोले उहाँको वार्धक्यलाई छपक्क छोपिदिन्छ जस्तो मलाई लाग्थ्यो ।
देवकोटा शताब्दी महोत्सवको अवसर, २०६६ सालमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता नारी स्वरमा वाचन’ गर्ने कार्यक्रमको तर्जुमा त्रिमूर्ति निकेतनबाट गरिएको थियो । मेरो भागमा देवकोटाको ’पागल’ कविता परेको थियो । सोही समयमा नइ गृहमा आउनु भएका श्याम दाइ समक्ष मैले उक्त कविता वाचन गरेर सुनाएकी थिएँ । उहाँले त्यतिबेला उक्त कविताका केही विशेष शब्दहरूको सम्प्रेषणबारे मलाई प्रशिक्षण दिनुभएको थियो । जुन प्रशिक्षण मेरा लागि त्यसबेला ’पागल’ कविता वाचनका लागि त महत्त्वको भयो नै तर पछिल्ला दिनमा मेरा अन्य कविता वाचनका लागि पनि महत्त्वपूर्ण हुन गयो । गुरुकुल नाटक घरमा भएको उक्त देवकोटाका कविता वाचन कार्यक्रममा श्याम दाइले मैले ’पागल’ कविता वाचन गरेको सुनेर कार्यक्रमको समापनपछि निकै खुसी प्रकट गर्नु भएको थियो । श्याम दाइबाट प्रशंसा पाउँदा त्यति बेला मलाई ठूलो परीक्षा उत्तीर्ण भएको र ठूलै पुरस्कार पाएको झैँ अनुभूति भएको थियो । त्यतिबेला मैले वाचन गरेको उक्त पागल कविता युट्युबमा पनि राखिएको छ ।
मेरा गुरुदेवद्वारा लेखिएको ’देवकोटाको जीवनशैली’लाई जिवन्तता दिनमा कविवर कञ्चन पुडासैनीका साथै श्याम दाइको पनि महत्त्वपूर्ण भूमिका गाँसिएको थियो । त्यस्तै २०७० सालमा प्रकाशित मेरी आमा दुर्गादेवी नेपालको शोककाव्य ’उनैको माया’मा श्याम दाइको भूमिका सजिनु पनि मेरो जीवनको अर्को उपलब्धि भएको छ ।
२०७२ सालको भूकम्पपछि नइ गृहमा श्याम दाइको आवागमन ठप्पै भयो । त्यसपछि एक दिन हामी नइ श्याम दाइलाई खोज्दै ज्ञानेश्वरस्थित उहाँको निवासमा पुगेका थियौँ । त्यसबेला उहाँको घर अगाडिको सडक विस्तार र निर्माणका लागि सबै भताभुङ्ग पारिएको थियो । भताभुङ्ग सडकबाट हामी नै पनि बल्लतल्ल उहाँको घरसम्म पुगेका थियौँ । ’अहो १ ढलपल गर्दै पनि रगरग हिँडिरहनुपर्ने श्याम दाइ अब यस्तो दुर्दशापूर्णको सडकमा कसरी हिँड्नु होला १’ हामीलाई पिर परेको थियो । हुनपनि श्याम दाइलाई कहिलेकाहीँ पुसमाघको ठिहिरिँदो राति ७–८ बजे पनि त्यही सडकको किनारामा भित्ताभित्ता तिर भएर हिँड्दै गरेको हामीले कतिपटक भेट्ने गरेका थियौँ । त्यतिबेलासम्म घरमै मात्र बस्न श्याम दाइले जान्नुभएकै थिएन ।
उहिले उमेरमा त श्याम दाइ घरमा भात खान र सुत्न पनि कति दिनसम्म आउनु हुन्नथ्यो भन्ने कुरा जगतकुमारी भाउजूले भन्नुहुन्थ्यो ।
वास्तवमा पुनर्निर्माणका लागि घरअघिल्तिरको सडकको दुर्दशाले गर्दा घरै बस्नु परेको अवस्था नै श्याम दाइका लागि थला बस्नुको विषय बनेको थियो । स्वस्थ्य रहनका लागि पैदल हिँड्नुको ठूलो महत्व छ भन्ने कुरा पनि श्याम दाइले नै प्रमाणित गरिदिनुभएको छ । जीवनको पछिल्लो समयमा घर अगाडिको बाटो भत्केर हिँड्नै नपाउनु नै उहाँको अस्वस्थ्यताको मूख्य कारक बनेको थियो । चुपचाप एउटा कोठामा बस्ताबस्तै उहाँलाई मनोरोगले ग्रस्त पार्दै लग्यो ।
२०७४ सालको वैशाख १ गते नयाँ वर्षको दिन अग्रज स्रष्टाहरूसँग आशिष लिन अनुकृतिका र सुमी चौधरीलाई साथै लिएर हामी नइ श्याम दाइको कोठामा पुग्दा उहाँको बेहालै भइसकेको देख्नु परेको थियो । श्याम दाइका अनुहारमा भने उही ओजस्विता भए पनि उहाँको मष्तिष्कले भने सामान्यरूपमा काम गर्न छोडेको हामीलाई त्यस घडी अनुभूत भयो । जीवनभर आफ्नो घरपरिवारलाई बेवास्ता गर्ने श्याम दाइलाई परिवार र छोराछोरीले गरेको शुश्रूषा देखेर हामीलाई श्याम दाइको परिवारप्रति गर्व लागेको थियो । त्यस दिन हामी केहीबेर उहाँसँग बसेपछि उहाँको आशिष लिएर गह्रुङ्गो मन बोक्दै त्यहाँबाट विदा भएका थियौँ ।
श्याम दाइ थला पर्नुभन्दा धेरैअघि नै जीवनी सन्दर्भका १०१ प्रश्न मेरा गुरुदेव नरेन्द्रले श्याम दाइलाई दिनुभएको थियो । तर जति नै ताकेता गर्दा पनि श्याम दाइले ती प्रश्नका उत्तर ‘दिन्छुदिन्छु’ मात्रै भनिरहनु भयो, तर दिनुचाहिँ भएन । त्यसदिन श्याम दाइको त्यस्तो बेहाल देखेपछि भने ’श्याम दाइको मैले चाहेजस्तो जीवनी लेख्न नसक्ने भएँ’ भनेर नरेन्द्र निरास हुनु भएको थियो ।
श्याम दाइ निरपेक्ष साधक भएकाले व्यक्तिगत प्रचार प्रसार वा पुरस्कारसँग कुनै सम्बन्ध राख्नु हुन्न थियो । चाकरी गर्ने कुरा उहाँको नीतिमा थिएन । त्यसैले अरू काम गर्न सहजै मान्ने श्याम दाइले आफ्नो जीवनी सन्दर्भमा रुचि र चासो नै नराख्नु भएको हो जस्तो मलाई लाग्छ ।
’म त फूलमा पनि रमाइदिन्छु, पातमा पनि र काँढामा पनि रमाइदिन्छु । जिन्दगीको कुनै पनि समय रमाएर विताउनु पर्छ । जीवनमा उदासी अपनाउनुको केही अर्थ छैन इन्दिरा १’ श्याम दाइले मेरो उदासी हटाउने क्रममा कुनैबेला मलाई भन्नुभएको थियो । पिडामा थिल्थिलिएको उक्त समयमा त उहाँका अमर वाणी पनि मेरो चेतनाले खासै उपयोगी नमानेर होला ग्रहण गर्न सकेको थिएन । तर जीवनको उत्तरार्धतिर पाइला चाल्दै गरेकी मलाई अहिले भने श्याम दाइको उक्त वाणी सहज जीवन यापनको साँचो झैँ लागेको छ ।
अचम्मको व्यक्तित्व हो ’श्यामदाइ’ । मैले उहाँसँग लगभग दुई दसकसम्म लगातार सङ्गत गर्न पाएँ । उहाँले बोलेका हरेक वाक्य टिप्दै जाने हो भने दर्शनको गतिलो पुस्तक बन्न सक्ने थियो । रचनागत हिसाबले उहाँले बजारीकरण गरिने किसिमका किताबहरू लेख्नु भएन अथवा उहाँ कुनै लेखकीय गुटबाजीमा नलागेकाले वाहवाही कमाउन समर्थ हुनुभएन । नत वर्तमान परिप्रेक्ष्यमा उहाँ कुनै देशी विदेशी शक्तिको दलाली गरेर महान साहित्यकारै ठहरिन समर्थ हुनुभयो । तर साहित्य र साहित्यकारका लागि श्याम दाइले निस्स्वार्थ भावका साथ जुन प्रेरक भूमिका निर्वाह गर्नुहुन्थ्यो त्यसरी गर्ने अर्को मानिस मैले चाहिँ चिनेको छैन ।
श्याम दाइ सिमान्तिकृत र नवप्रतिभाहरूका लागि प्रेरणाका प्रतिमूर्ति नै हुनुहुन्थ्यो । उहाँले कति स्रष्टालाई प्रेरणा दिनुभएको थियो भन्ने सम्पूर्ण तथ्याङ्क त मसँग छैन । तर उहाँ गुमनाम प्रेरक हुनुहुन्थ्यो । अर्को कुरा कसैलाई पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न पनि उहाँ पछि पर्नु हुन्नथ्यो । हो, उहाँसँग धन त थिएन तर उहाँको मन अपरम्पार थियो । उहाँ पीडित महिलाहरूप्रति निकै संवेदनशील हुनुहुन्थ्यो ।
विगतमा म जीवनको निकै अप्ठ्यारो परिस्थितिमा परेको बेला मलाई पनि सकेसम्म उत्साह र उर्जा दिन खोज्ने श्याम दाइको प्रवृत्ति मेरा लागि अविष्मरणीय रहेको छ । ’कुण्ठाले मानिसलाई समाप्त पार्छ, इन्दिराले पनि कुण्ठा पटक्कै नलिनु ।’ उहाँले मेरो समस्याग्रस्त जीवनसन्दर्भबाट बाहिर निकाल्न त्यतिबेला मलाई भन्नुभएको थियो । मेरा घरमा भाँडा माझ्ने र लुगाधुने सहयोगी चाहिएको बेला जमुना नाउँकी एउटी युवा महिला खोजेर पनि उहाँले नै ल्याइदिनु भएको थियो ।
’इन्दिरालाई म कहिलेकाहीँ पुरुषजस्तो देख्छु, कहिले महिलाजस्तो देख्छु । इन्दिराले जस्तो सबै महिलाले जीवन जित्न सक्तैनन् । त्यसैले मैले इन्दिरालाई पुरुषजस्तो देखेको हुनुपर्छ ।’ विगतमा आइपरेका आफ्ना समस्याहरूसँग जुझ्दै आफूलाई सम्हालेर अघि बढ्न खोजेको देखेपछि थप हौसला दिँदै श्याम दाइले मलाई भन्नु भएको थियो ।
रेडियो नेपालको संस्थापना कालदेखि रेडियो नाटकको प्रसिद्धिमा समेत श्याम दाइको ठूलो भूमिका छ । अझ प्रारम्भिक अवस्थामा रेडियो नाटकमा महिलाहरूले भाग लिने अनुमति पनि श्याम दाइले नै आफ्नो जिम्मेवारीमा दरबारबाट लिनु भएको थियो । त्यसै कारण पनि श्याम दाइको धेरै समय तिनै महिला कलाकारहरूलाई उनीहरूका घरबाट ल्याउने पुर्याउने, उनीहरूका लागि सबै व्यवस्थापन गर्ने काम गर्नुहुन्थ्यो । ’’कहिले काहीँ त बुबाले सबै महिला कलाकारलाई घरमा ल्याएर कुबखतमा पनि हामीलाई ’यिनीहरूले कतिदिनदेखि चिउरा मात्र खाएका छन् , भात पकाएर यिनीहरूलाई खुवाओ’ भनेर अह्राउनु हुन्थ्यो“ श्याम दाइकी जेठी छोरीले पुराना कुरा सम्झँदै मलाई भनेकी थिइन् ।
कतिपय पुरुष स्रष्टाहरूले आफ्नो मन बहलाउन र सृजनामा मौलाउनका लागि नारीहरूको प्रयोग गरेर उनीहरूलाई विथोलेर छोडिदिने प्रवृत्तिको उहाँ घोर विरोध गर्नु हुन्थ्यो । पुरुष स्रष्टाहरूले महिला संवेदनासँग खेलेर छोडिदिँदा कतिपय महिलाहरूको हालबेहाल भएका केही महिलाका कथा पनि उहाँले मलाई सुनाउनु भएको थियो । श्याम दाइ स्पष्ट वक्ता हुनुहुन्थ्यो । अन्याय अत्याचारको विरोध गर्नु हुन्थ्यो । सत्यतथ्य कुरा गर्ने, बनावटी कुरा नगर्ने, सुटबुट र टाइ लगाएर नहिँड्ने, साहित्यलाई पेसा नबनाएर साधना मान्ने भएकाले नै हुनुपर्छ श्याम दाइलाई मगज सन्केको भन्न पनि साहित्यकार भनाउँदाहरू नै पनि पछि परेका थिएनन् ।
चौबिसै घण्टा साहित्य, साहित्य र साहित्यकै सेरोफेरोमा रहने श्याम दाइ वास्तविक साहित्यकार हुनुहुन्थ्यो । किशोरवयदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्गत र पछि महाकविका विश्वासपात्र समेत बनेर देवकोटाका गणेश नै बनेका श्याम दाइमा कतिपय प्रवित्ति महाकवि देवकोटाकाजस्तै थिए । ’महाकवि देवकोटाले पनि दीर्घ जीवन पाउँदा श्याम दाइजस्तै हुन्थे होला १’ श्यामदाइको सङ्गतमा कहिलेकाहीँ हामी नइ नै यस्तो पनि ठहर गर्थ्यौँ ।
श्याम दाइ निर्लोभी, निस्वार्थी र स्वाभिमानी प्रवृत्तिका मालिक हुनुहुन्थ्यो । उहाँजस्तो व्यक्ति नेपाली साहित्य परिसरमा मैले चाहिँ अर्को देखेभेटेको छैन भने पनि हुन्छ ।