शिवप्रसाद शिवाकोटीको राप, नाप र कापमा नपरेका कम्युनिस्ट झापामा बिरलै थिए । त्यसैले टाढाटाढाबाट पनि उनलाई भेट्न सालबारीमा कम्युनिस्टहरूको लस्कर लाग्थ्यो । यही क्रममा पूर्वाञ्चलीय कम्युनिस्टको सशक्त योद्धा नन्दकुमार प्रसाई पनि केही जान्न र केही जनाउन सालबारी पुग्ने गर्थे । अनि पछिल्ला दिनमा उनले भन्ने पनि गरे— ‘शिवप्रसाद शिवाकोटी स्वयम् एउटा आन्दोलन हुनुहुन्थ्यो । झापा काण्डको प्रथम भ्रूणको पिता नै शिवप्रसाद शिवाकोटी हुनुहुन्थ्यो ।’ उनी ‘भ्रूणको पिता’ भएपछि सम्पूर्ण कम्युनिस्ट नै त्यति बेला शिवाकोटीको थाप्लोमा उभिनु स्वाभाविकै पनि थियो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि शिवप्रसाद शिवाकोटीलाई खुबै आदर गरे । खनाल भन्नु कम्युनिस्ट सिद्धान्तका अर्का एक जना शिखर चिन्तक मानिन्छन् र तिनै विचारकले शिवाकोटीबारे भनि पनि रहे— ‘शिवाकोटीले आफूलाई सधैँ एउटा निष्ठावान् र नैतिकवान् नेताको रूपमा प्रस्तुत गर्नुभयो । उहाँ अविरल पार्टी, क्रान्ति, देश र जनताप्रति अनि माक्र्सवाद, लेनिनवादप्रति दृढ रहनुभयो । उहाँले पार्टीको विकास, निर्माण र विस्तार तथा जनसङ्घर्षको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुभयो ।’
झापा आन्दोलनका अर्का सक्रिय योद्धा राधाकृष्ण मैनाली पनि थिए । हो, पछिल्ला दिनका उनीमा सैद्धान्तिक विचलन पनि आएको थियो । उनी पुष्पलालीय कम्युनिस्टभित्रै जन्मे, हुर्के र बढे । तर पछिल्लो राजनीतिमा उनी सफलै पनि भए र मन्त्रीसम्म भए । त्यस कालखण्डमा उनीसँग शिवाकोटीको भेटघाट भयो तर उनले शिवाकोटीलाई चिनेनन् । त्यही प्रसङ्गमा शिवाकोटीले नरेन्द्रराज प्रसाईलाई भनेका थिए— ‘हामीले ज्यान फालेर ल्याएको बहुदलीय व्यवस्था त राजसी भएछ । आज म मन्त्री मैनाली भेट्न गएको थिएँ तर उनले त मेरो मतलबै गरेनन् । उनको कम्युनिस्ट सिद्धान्त उनीबाट निख्रिसकेछ ।’ वास्तवमा त्यसपछि पनि मैनाली गुलियोमा भुल्लिएर राजाको नेतृत्वमा पनि मन्त्री खान पुगेका थिए । उनले राजसेवा गरिरहेकै बेला राजतन्त्रको टिकट पनि काटियो । त्यसपछि फेरि उनी आफ्नै कम्युनिस्ट जिन्दाबाद भन्न थाले । तर नेपाल कम्युनिस्ट पार्टीले उनलाई खिसीटिउरी र घोर अपमान गरेपछि उनी त्यहाँ टिक्न भने सकेनन् । त्यसपछि उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी’मा टाँस्सिन पुगे । त्यहाँबाट पनि उनले अपमानको ठूलै भारी बोक्नु पर्यो । त्यस ठाउँको पनि सिकार भएपछि उनी फेरि आफ्नै पार्टीमा फिरे । त्यतिखेर पनि आफ्नो पार्टीमा खड्गप्रसाद वलीकै बोलवालाले शिखर चुमिरहेको थियो । अनि वलीले पनि उनलाई चाटुकार भनेर एक रत्ती पनि गनेनन् । त्यसपछि उनले वलीलाई सहिदपत्नी ताक्ने भनेर तथा नाउँको आरोपमा बेइज्जत गर्न थाले । कतिसम्म भने राष्ट्रप्रमुख भइसकेकी एउटी नारीका नाउँसँग पनि मैनालीले वलीलाई घिसार्न छाडेनन् । तर पनि उनले झापा विद्रोहचाहिँ भुलेका थिएनन् । यसै क्रममा उनले भनेका थिए— ‘शिवप्रसाद शिवाकोटीलाई म झापा आन्दोलनअगाडिकै हस्तीका रूपमा सम्झन्छु । शिवजीलगायतले बनाएको साहसिलो जगमा झापा आन्दोलन उठेको हो ।’
झापा क्रान्ति ऐतिहासिक थियो । त्यस क्रान्तिले एकातिर पाँच जनालाई सहिद बनाएको थियो भने एक जनाले प्रधानमन्त्रीको ओहोदामा पनि विराजमान हुने मौका पाएका थिए । अनि त्यस पार्श्व भूमिकामा पनि शिवप्रसाद शिवाकोटी नै मानिन्थे । उनको कृत्यले नेपाल राष्ट्र नै हल्लिएको थियो । त्यसै बेलाको रापले अझैसम्म पनि कम्पन गरिरहेको छ । झापा विद्रोहको रौनक कस्तो थियो भने पूर्वाञ्चलबाट राजधानी आएका कम्युनिस्टहरूको चुरीफुरी नै शिवप्रसाद शिवाकोटीको बिम्ब थियो । यसैबारेको तथ्यलाई प्रकाश पार्दै पूर्वकार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले लेखे— ‘झापा सङ्घर्ष व्यापक र सशक्त रूपमा फैलियो । यस आन्दोलनले शिवप्रसाद शिवाकोटीलाई नेताका रूपमा अगाडि बढायो । ।।। शिवप्रसादले आह्वान गरेपछि हजारौँ निशस्त्र फौज तयार हुन्थ्यो । उहाँको कमान्डमा फौजले मार्च पास गरेजस्तै देखिन्थ्यो । ।।। झापामा शिवजीले भनेअनुसारै कामकुरा लागू हुन्थ्यो ।’ वास्तवमा शिवप्रसाद शिवाकोटी झापा विद्रोहका एक जना अलौकिक कमान्डर थिए ।
शिवप्रसाद शिवाकोटीलाई जान्ने, बुझ्ने र आदर गर्ने अर्का कम्युनिस्ट नेताको नाउँ हो— चन्द्रप्रकाश मैनाली । उनी पछिल्ला दिनमा उपप्रधानमन्त्री पनि भए । झापा आन्दोलनताका नै उनको शिवप्रसाद शिवाकोटीसँग कार्यगत एकता भएको थियो । त्यस पछाडि पनि मैनालीले शिवाकोटीको गुणलाई सदैव हृदयमा टाँसिरहे । अनि उनले भनि पनि रहे— ‘शिवप्रसाद शिवाकोटी झापा विद्रोहका जगढुङ्गा हुन् ।’ त्यति मात्र होइन, मैनालीले शिवाकोटीको झापा क्रान्तिको महिमा गान गाउन पनि छाडेनन् । उनले यसबारे लेखे पनि— ‘शिवप्रसाद शिवाकोटी झापा विद्रोहका एक अविस्मरणीय नायक हुनुहुन्थ्यो । उहाँ नायक मात्र नभएर त्यस विद्रोही संरचनाको जगढुङ्गा पनि हुनुहुन्थ्यो । उहाँजस्तो जगढुङ्गाबिना झापा विद्रोहको स्थापना हुन सक्ने थिएन ।’ अनि झापा विद्रोहका अर्का सैद्धान्तिक बौद्धिक र सङ्गठनको मियोको नाउँ नै सीपी मैनाली पनि थियो । तिनै मैनाली शिवप्रसाद शिवाकोटीको योगदानबाट थप प्रेरित थिए ।
नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालपछाडिको सशक्त आन्दोलन झापा आन्दोलन थियो । त्यही आन्दोलनको झिल्कोले नेपाली कम्युनिस्ट आन्दोलनका अनेक राजमार्ग, गोरेटो, गल्लीहरूमा विविध प्रकारको बीजारोपण पनि भएको थियो । तर झापा विद्रोहचाहिँ सुखानीमा गएर सेलाएको थियो । पछिल्ला दिनमा नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी’ कम्युनिस्ट आन्दोलनको महसुर भएर पनि देखा पर्यो । जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । अन्ततः त्यही दलको गुदी, रस र बोक्रा ग्रहण गरेर राजाको विरोधमा अरू दलहरू पनि गणतान्त्रिक आन्दोलनमा खनिएका थिए । अन्ततः त्यही दलको भरमा भारतलगायत अन्य केही देशसमेत लागेर नेपालमा राजतन्त्र उखेलिएको थियो । अनि यसको भित्री श्रेय रामनाथ दाहालदेखि शिवप्रसाद शिवाकोटीसम्मलाई पनि दिनुपर्ने भयो । अथवा भनौँ, पुष्पलालदेखि मदन भण्डारीको छाता ओढ्ने सम्पूर्ण कमरेडहरूलाई दाहाल र शिवाकोटीको नाउँको आवश्यकता खट्कियो । साथै अहिलेसम्म पनि रामनाथ दाहालदेखि शिवप्रसाद शिवाकोटीसम्मले यही बेहोराको अगुवाइमा आफूहरूको नाउँ लेखाइरहेका छन् । यसबारे नेपाल कम्युनिस्ट पार्टी एमालेका विशिष्ट नेता, चिन्तक, विचारक र पूर्वमन्त्री प्रदीप नेपालले भने— ‘अहिलेको नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को मूल २०२७ सालदेखि २०३० सालसम्मको झापा सङ्घर्ष नै हो ।’ वास्तवमा झापा विद्रोहको रौनक नै चुम्बकीय थियो । कतिसम्म भने रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी एमालेका आदर्श नै पनि मानिए । अनि कतारका लागि नेपाली राजदूत डा।नारदनाथ भारद्वाज र सोमनाथ दाहालको सम्पादनमा प्रकाशित ‘शिवप्रसाद शिवाकोटी स् झापा विद्रोहका एक कमान्डर’नामक ग्रन्थले पनि यसै बेहोराको सग्लो रूपमा पुष्टि गरेको पनि पाइन्छ ।
-शिवप्रसाद शिवाकोटीको जीवनी− १८ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीलाई सुखानी हत्याको झड्का’ पढ्नुहोला ।