शिवप्रसाद शिवाकोटीको कर्मथलो झापाको शनिश्चरे सालबारी स्थानीय जनताको आशा, भरोसा र भविष्य राख्ने ठाउँका रूपमा रूपान्तर हुन थालेको थियो । शनिश्चरे भन्नु अर्जुनधारा महानगरपालिकाभित्र पर्छ र सालबारी शनिश्चरेको एउटा शाखा गाउँ मानिन्छ । सालबारी भन्नु कम्युनिस्टको अखडा मात्र थिएन; वरिपरि घना जङ्गलले बेरेर माझमा गाउँबस्ती भएको सुन्दर हरियाली, रसिलो र मनोरम ठाउँ नै मानिन्थ्यो । त्यो मेरो सालबारीको क्षेत्र कत्रो थियो भने— जङ्गलको कापैकाप हिँडेर त्यो ठाउँको वरिपरि छिचोल्दा झन्डै डेढ घण्टा लाग्न सक्थ्यो । त्यस ठाउँमा मैले २०५५ सालपछि आफ्नो पाइला राखेको छैन । अनि मेरी आमाको निधन भएपछि अर्थात् २०६८ सालपछि त्यस ठाउँबाट मेरो नाता नै पनि समाप्त भयो । वास्तवमा मेरो घरको अंश मद्वारा नै गराएको थिएँ । तर मैले भने पैत्रिक सम्पत्तिका हकमा एक चप्परी माटो र एक पैसा नै पनि लिन चाहिनँ र लिइनँ पनि । यसबारे मेरी गुरुदेवी इन्दिरा प्रसाईकृत ‘मेरी सासू’ (भागीरथा प्रसाईको आकृति : २०६५) मा लेखिएको छ र मैले लेखेको जीवनी कृति ‘मेरी आमा भागीरथा प्रसाई’ (२०७६) मा पनि आबद्ध छ । तर आमाको शेषपछि अंशियारहरूले त्यहाँको सबै घरजग्गा बेचिदिए । अब त झन् त्यस ठाउँसँग हाम्रो नातामा नै बुझो लागिहाल्यो ।
म भएको झापाको रमणीय सालबारीमा कहिले मनमोहन अधिकारीलाई भेटिन्थ्यो, कहिले मोहनचन्द्र अधिकारीलाई देखिन्थ्यो र कहिले खड्गप्रसाद वलीसँग बात मार्न पाइन्थ्यो । त्यहाँ सीपी मैनाली हामीलाई नीति निर्देशन दिन आइरहन्थे । उनी हाम्रा आदर्श नेता थिए । साथै आरके मैनाली पनि घरीघरी सालबारी नै धाइरहन्थे । त्यस गाउँभित्र तिनीहरू शिवप्रसाद शिवाकोटीलाई नै भेट्न भनेर आउँथे । खास गरेर झापामा जनक्रान्ति गर्ने अभियानको शिवप्रसाद शिवाकोटीले नेतृत्व गर्न थालेपछि त्यस ठाउँमा नेता, बुद्धिजीवी र लडाकू योद्धाहरूको क्रमशः भीड लाग्न थालेको थियो ।
शिवप्रसाद शिवाकोटी आफ्नो कर्मउपर सधैँ जागरुक थिए । उनी बौद्धिक पनि थिए र लडाकू पनि थिए । उनी आफूभन्दा पूर्वज नेताको जयजयकार गर्ने अनुशासित, मर्यादित र आज्ञाकारी क्रान्तिकारी थिए । त्यस बखतसम्म उनले मानेका र पत्याएका शिखर कम्युनिस्टमध्ये तीन भाइ अर्थात् पुष्पलाल, मनमोहन अधिकारी र मोहनचन्द्र अधिकारी मात्रै थिए । अनि नेपालको राजनीतिमा पछिल्ला दिनहरूमा देखा परेका अरू प्रायः सबै उनका सहयोद्धा, सहयोगी र चेला मात्र थिए । आजको राजनीतिको शिखर ओहोदा र चर्चित नाउँमा टेकेका कम्युनिस्टका उनीप्रतिको दृष्टिकोण उच्च कोटिको पाइन्छ ।
शिवप्रसाद शिवाकोटीको कार्यउपर उनको राजनीतिक सिद्धान्तका प्रतिद्वन्दीको पनि सकारात्मक धारणा आइरहन्थ्यो । झापा विद्रोहबारे राजनेता विश्वेश्वरप्रसाद कोइरालाले पनि आफ्नो मत राखेका थिए । कोइरालाको भनाइलाई यसरी लेखिएको छ— ‘झापा विद्रोहमा झापाली युवाहरूको त्याग र बलिदानको उच्च प्रशंसा गर्दै त्यस सङ्घर्षको राजनीतिक मूल्याङ्कन हुनुपर्छ ।’ (‘शिवप्रसाद शिवाकोटी : झापा विद्रोहका कमान्डर’ (१९७ पृ.) ।
शिवप्रसाद शिवाकोटी निष्ठावादी योद्धा थिए । राजनीतिप्रति उनको समर्पण जनउत्थानमा नै केन्द्रित थियो । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले उनलाई भविष्यको नेपालका होनहार मान्थे । साथै अधिकारीकै सारथी र विश्वासपात्र अर्का राजनेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनलाई ‘आफ्नै पौरख र गौरवमा बाँच्ने योद्धा’ मान्थे । ‘निस्वार्थ भावना, आन्दोलनप्रतिको निष्ठा र राष्ट्र र समाजलाई परिवर्तन र रूपान्तरणको महान् सपनालाई साकार पार्ने प्रेरक शक्तिका रूपमा’ नेपालले उनलाई उभ्याएका थिए । वास्तवमा शिवाकोटी कम्युनिस्टको झापा विद्रोहका एउटा सशक्त पहरा नै थिए ।
शिवाकोटीले धेरैलाई ज्ञान दिए, शक्ति दिए र आडभरोसा दिए । त्यसैले उनको नेतृत्वको शक्तिशाली वैशाखी टेक्नेहरूको कहिले पनि अनिकाल लागेन । वास्तवमा उनी झापा विद्रोहका एउटा बलियो, दरिलो र ओजिलो खम्बा थिए । त्यस खम्बाको वरिपरि धेरै कमरेडहरूले परिक्रमा गरेका थिए । त्यही परिवेशमा पूर्वप्रधानमन्त्री खड्काप्रसाद वलीले उनलाई ‘आफ्नो भरोसा’ पनि ठान्थे र मियो पनि मान्थे । साथै उनी शिवाकोटीका भरपर्दो चेला पनि थिए । उनले आफ्नो संरक्षकका रूपमा पछिल्ला दिनमा पनि शिवाकोटीलाई अघि सारिरहे । शिवप्रसाद शिवाकोटीबारे वलीले भनेका थिए— ‘झापा आन्दोलन सुरु गर्नुभन्दा अघिदेखि नै शिवप्रसाद शिवाकोटी आन्दोलनका एक चर्चित नेता हुनुहुन्थ्यो । उहाँ लडाकू स्वभाव र निडर व्यक्ति हुनुहुन्थ्यो । त्यस कारण आन्दोलनमा उहाँ हुनुहुन्छ भनेपछि साथीहरू एउटा भरोसाको स्थितिमा आउँथे । पहिलेपहिले म पनि उहाँमाथि भरोसाको स्थितिमा हुन्थेँ । शिवप्रसाद शिवाकोटी झापा आन्दोलनको मियोका रूपमा हुनुहुन्थ्यो ।’ हो, २०२५ सालतिर नै शिवाकोटी वलीहरूका नेताका रूपमा स्थापित भइसकेका थिए । वलीका शब्दलाई दोहोर्याएर भन्नुपर्दा शिवाकोटी झापाली वामराजनीतिका मियो नै थिए ।
शिवप्रसाद शिवाकोटी नभएको भए झापा विद्रोह पनि सायद हुँदैनथ्यो । त्यो कठोर, अपत्यारिलो र कहालीलाग्दो विद्रोहको सुरुवात गर्ने नै शिवाकोटी थिए । यसै परिवेशमा उनका सहयोद्धा मोहनचन्द्र अधिकारीले भनेका थिए— ‘झापा विद्रोहका कमान्डर शिवप्रसाद शिवाकोटी नै थिए’ । अधिकारीले झापा विद्रोहमा शिवाकोटीलाई आडभरोसा पनि दिए र आडभरोसा पनि लिए । उनी शिवाकोटीबारे बराबर सम्मान गरेर पनि भन्ने गर्थे— ‘शिवप्रसाद शिवाकोटी जनताका आँखाका नानी थिए ।’ साथै देशको अवस्था खतराको बिन्दुमा पुगेको स्थितिमा अथवा भनौँ, संसद्मा दुईतिहाई ल्याएर विजय भएको शासन व्यवस्था पतन भएको कम्युनिस्टका बारेमा पनि अधिकारीले भनेका थिए— ‘आज पनि शिवप्रसाद हुँदा हुन् त कम्तीमा पनि उनको र मेरो आवाजले आज निदाएकाहरूलाई ब्यूँताउन सकिन्थ्यो कि भन्ने मलाई लागिरहेको छ ।’
शिवप्रसाद शिवाकोटीको जीवनी− १७ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीबारे उनका सहयोद्धाको उद्घोष’— २ पढ्नुहोला ।