नेपाल भूमिका लागि लोकमानसिंह कार्की अनौठो र अपरिचित नाउँ होइन । नेपालको प्रशासकीय क्षेत्रमा उहाँको परिचय विशाल कार्यगत अनुष्ठानका कारण उहाँको नाउँ प्रायः जसो हरेक चेतनशील नेपालीका लागि परिचित छ र प्रख्यात पनि छ । भरखरै मात्र नेपाली भाषामा ‘लोकगीता’ नामक ७०८ पृष्ठको विशालकाय पुस्तक प्रकाशित भएको छ । यस पटक नेपाली भाषासाहित्यको अध्यात्म क्षेत्रमा ‘लोकगीता’को कायाकल्पले नै पुनः लोकमानसिंह कार्कीको सर्वोच्चता प्रदर्शित गरेको छ ।
‘लोकगीता’को पन्ना पल्टाएर भित्रको गुदी रसास्वादन गर्नुअघि यसको आवरण देखेपछि नै मित्र जगतले ‘लोकगीता’सँगको साक्षात्कारका कारण आफूमा धन्यभाव महसुस गर्दै लेखकप्रति गौरवी अनुभूत गर्ने छन् भने ‘लोकगीता’ कै कारण शत्रुजगतको मुटुमा चाहिँ वेदनाको गाँठोले पिरोल्दै अचाक्ली सकसमा पार्ने निश्चित छ । तर यसो भन्नुको पनि म आफैँ खासै औचित्य देखिरहेकी छैन । किनकी यस ‘लोकगीता’को लेखन गरिसक्नुभएका लोकमानसिंह कार्की अजात शत्रुको सुरक्षित परिधिभित्र प्रवेश गरिसक्नुभएको छ । फलस्वरूप ‘हात्ती आफ्नो विशालकाय चालमा हिँडिरहने र कुकुरहरू भुकिरहने’ उक्ति पुष्टि गर्न लोकमानसिंह कार्कीको ‘लोकगीता’ समर्थ भइसकेको छ ।
अतुलनीय धैर्य र अथक मिहेनत तथा विराट लगानीस्वरूप आएको ‘लोकगीता’ उच्च प्रशासकका रूपमा रिपुहरूको मुटु हल्लाउन सफल भएको छ । त्यसैले ‘लोकगीता’द्वारा बेगल अस्तित्व निर्माण गरिसकेका कारण आदरणीय श्री कार्कीलाई नेपालमा छ्यास्छ्यास्ती पाइने उच्च प्रशासकहरूको समूहमा टाढैबाट चिन्न सकिने भएको छ ।
अर्को कुरा कुनै पनि व्यक्ति गुण र दोषबाट पर हुन सक्तैन । त्यसो त कुनै एक व्यक्तिप्रति हरेकको दृष्टान्त फरक हुन सक्छ । तर व्यक्तिको निर्मितिका अघि व्यक्ति गौँण हुन्छ । यसर्थ व्यक्तिद्वारा निर्मित बस्तु नै उसको यथार्थ पहिचायक बन्न सक्छ । अर्थात् अतुलनीय धैर्य र अथक मिहेनत तथा विराट लगानीस्वरूप आएको ‘लोकगीता’ उच्च प्रशासकका रूपमा रिपुहरूको मुटु हल्लाउन सफल भएको छ । त्यसैले ‘लोकगीता’द्वारा बेगल अस्तित्व निर्माण गरिसकेका कारण आदरणीय श्री कार्कीलाई नेपालमा छ्यास्छ्यास्ती पाइने उच्च प्रशासकहरूको समूहमा टाढैबाट चिन्न सकिने भएको छ ।
वास्तवमा ‘लोकगीता’ नेपालको मात्र नभएर समग्र वैदिक सनातनी समाजका लागि नै विशेष उपलब्धिपूर्णको कर्म र प्राप्तिका रूपमा मैले बुझेकी छु । लोकमानसिँह कार्कीको उच्च प्रशासनिक कर्मका कारण उहाँप्रति प्रतिशोधात्मक भाव रहेकाहरूले समेत लेखकको नाउँ छोपेर ‘लोकगीता’ एकपटक मात्र पारायण गर्ने हो भने ती महामनाहरूको चिन्तनमा पनि सकारात्मक प्रभाव पर्ने विषयमा म ढुक्क छु । यसर्थ यस्तो कर्मद्वारा चुलिनुभएका लोकमानसिंह कार्कीको म अन्तरहृदयबाटै अभिनन्दन गर्न चाहन्छु । असामान्य विशालकाय शारीरिकरूपले सज्जित लोकमानसिँह कार्कीलाई ‘लोकगीता’ जस्तो असामान्य ग्रन्थ निर्माण गराउने उनै परमात्माप्रति पनि म कृतज्ञता चढाउँछु ।
श्री कार्की ओशोको गीतादर्शनको नियमित श्रोता हुनुभएको र ओशोकै प्रेरणास्वरूप ‘लोकगीता’ लेखिएको ईमान्दार स्वीकारोक्तिद्वारा यस ग्रन्थको प्रारम्भ हुनु नै सर्वप्रथम विशेष महत्वको छ । प्रथम अध्याय अर्थात् विषादयोगबाट शुरू भएको ‘लोकगीता’ अन्य गीताका पुस्तकसरह नै क्रमिक रूपबाट सबै अध्याय पार गर्दै अन्तिम अध्याय मोक्षसन्यासयोगसम्म पुगेर टुङ्गिनु यसको सामान्य परिचय हो । ‘लोकगीता’ मा विशेषतः गीतालाई वैज्ञानिक किसिमले उत्खनन् गर्दै समयसापेक्ष विवेचना गरिएको छ ।
- गीता मनोविज्ञान र मनस्शास्त्र हो ।
- अध्यात्म निर्विचारको अनुभव हो ।
- गीता मौनतामा घटेको अन्तरसंवाद हुनुपर्छ ।
- स्वर्ग र नर्क भौगोलिक स्थान होइनन्, ती मानसिक दशा हुन् ।
- अर्जुनको सारा पीडाको मूल कारण नै आत्म-अज्ञान हो ।
- गीता अप्रकट अनादि हुनाले सम्पूर्ण अभिव्यक्तिपछि पनि शेष रहन्छ ।
- गीता अनेकार्थक हो ।
युद्ध विचारहिन व्यक्तिले गर्छन् । विचारवान र संसयी व्यक्तिले युद्ध गर्न सक्तैनन् । विचारहीन र निर्विचार व्यक्तिले मात्र युद्ध गर्न सक्छ । मद्भगवद् गीतामा अर्जुन विचारवान, दुर्योधन र भीमआदि व्यक्ति विचारहीन र श्रीकृष्ण निर्विचार व्यक्तिका रूपमा प्रस्तुत भएका छन् । तर्क सम्राट् ओशोको गीता विश्लेषणलाई नै साक्षात मानिएको प्रस्तुत ‘लोकगीता’मा आम मानवका रूपमा अर्जुन र प्रथम मनोवैज्ञानिकका रूपमा वा मनोविज्ञानका पिताका रूपमा श्रीकृष्णलाई उद्घोष गरिएको छ । विषादयोगःले मुख्यतः यसबारेको किटानी जाहेरी गरेर गीताजगतमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको छ ।
वास्तवमा समग्र मानव जातिकै लागि अथवा वैदिक सनातनी मानवका लागि संसारकै पुरातन प्राप्तिका रूपमा अङ्गिकार गरिएको प्रख्यात गीतालाई विश्वकै विविध भाषामा अनुवाद, व्याख्या, विश्लेषण गरिँदै आइएको कुरा पनि सुधी पाठकका लागि नयाँ नौलो कुरा होइन नै ।
उपरोक्त प्रकारका विविध विशिष्ट वाक्यहरूद्वारा ‘लोकगीता’को पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्म सिँगारिएको छ । ओशोद्वारा गीतालाई वैज्ञानिकरूपले विश्लेषण गरिएको छ । ओशोकै अनुकम्पाका कारण ‘लोकगीता’ पनि मनोविज्ञानपूर्ण अन्वेषणात्मक वैज्ञानिकताले ओतप्रोत छ । त्यसैले ‘लोकगीता’ आधुनिकताले सुसज्जित छ । वास्तवमा समग्र मानव जातिकै लागि अथवा वैदिक सनातनी मानवका लागि संसारकै पुरातन प्राप्तिका रूपमा अङ्गिकार गरिएको प्रख्यात गीतालाई विश्वकै विविध भाषामा अनुवाद, व्याख्या, विश्लेषण गरिँदै आइएको कुरा पनि सुधी पाठकका लागि नयाँ नौलो कुरा होइन नै । वास्तवमा ’गीता’ भनेको समुद्रको अथाह पानी जस्तै अपरम्पार विचारहरूको सुक्तिसङ्ग्रह हो । जसरी व्यक्तिद्वारा समुद्रबाट आफूसँग जुन औकातको भाँडो छ त्यति नै पानी बोकेर आफ्ना घरमा ल्याउन सकिन्छ त्यसरी नै आआफ्नो मानसिक र वौद्धिक क्षमता अनुरूप ‘गीता’को पनि व्याख्या र विश्लेषण गर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।

हामी नइका मानस बुबा जनरल भूपालमानसिंह कार्कीसँग धार्मिक र अनुसन्धानात्मक यात्रामा भारत गएको बखतमा २०५३ सालमा हिन्दी भाषामा स्वामी रामसुखदासद्वारा विश्लेषणात्मक अनुवाद गरिएको गीताप्रेस गोरखपुरबाट विशालग्रन्थका रूपमा प्रकाशित गरिएको गीताको पुस्तक मैले प्राप्त गर्ने अवसर पाएकी थिएँ । संस्कृत भाषामा मात्रै भएको गीतासँग भने वाल्यकालमै मेरा जन्मपिता गणेशप्रसाद शर्माद्वारा प्राप्त गर्ने र पारायणप्रति अभिप्रेरित हुने अवसर पाएकी मलाई छोरी अनुकृतिकाले उनको विद्यालयबाट भारतमा शैक्षिक भ्रमण गर्न गएका बखतमा गीताप्रेसबाट नै प्रकाशित अत्यन्त सूक्ष्म आकारको गीता उपहार स्वरूप ल्याएर दिँदा हामी नइ अचम्ममा परेका थियौँ । त्यसपछि नेपाली कवितात्मक विधालाई नै सम्मानीत गर्ने गरी विशाल महाकाव्य ‘प्रभासगीता’ (२०६६) लेखन गर्ने विद्वान स्रष्टा दाजु आरडी प्रभास चटौतको पुस्तक पनि नइ प्रकाशनले प्रकाशन गर्ने अवसर पाएको थियो ।
वैदिक सनातनी तथा ज्योतिष परम्परासँग आबद्ध नेपाल कुलमै जन्म लिने सुयोगका कारण पनि ‘गीता’ मेरा लागि अनौठो कुरा रहेन । ‘जीवनमा सफल हुन चाहने व्यक्तिले गीताको आदर्शमा रहनुपर्छ ।’ मेरा जन्मदाता पिताद्वारा गरिएको मार्गदर्शनले संस्कृतका श्लोक कन्ठ गरे तापनि ती कठोरतम शब्दहरूका बोक्रा छोडाउन नसक्दा ‘गीता’ मेरा लागि बालखले हाडे ओखर खेलाएजस्तो हुने गर्थ्यो । निकैपछि कोमलनाथ अधिकारीको ‘कोमलगीता’ भेटेपछि भने गीतालाई फुकाउन मलाई केही सहज भएको थियो । साथै स्वामी रामसुखदास पढेपछि भने ‘गीता’ले मभित्र निकै उज्यालो छर्न खोजेको हो । तर पनि कतिपय विचारहरूसँग भित्रैदेखि सन्तुष्ट हुन नसकेको अवस्था भने मेरा मानसमा पनि सल्बलाइरहेको थियो । युट्युबमा ओशोका गीता दर्शनका च्यानलहरू सहजै प्राप्त हुन थालेपछि भने गीता दर्शनका नवीनतम र वैज्ञानिक किसिमका अर्थहरूको पहाडै मेरो मानसको वास्तविक धरातलमा पस्किदिएको अनुभूति मैले पनि गर्दै आएकी थिएँ । तर ‘लोकगीता’को भूमिका खण्डमा आदरणीय लोकमानसिह कार्कीले साक्षात्कार गराउनु भएको जस्तै ग्राहस्थ्य मानवका लागि समग्र ओशो गीता सुनेर बस्ने समय र धैर्य दुवै प्राप्त हुन मेरा लागि पनि कठीन प्रायः रह्यो । मेरो यसै गीतासन्दर्भको श्रृङ्खलामा मेरा लागि पनि तर्क सम्राट्का रूपमा आराध्य विचारक ओशो रजनीशको ‘ओशो गीता’ नेपाली भाषामा ‘लोकगीता’का रूपमा प्राप्त भएको छ । त्यसैले ‘लोकगीता’ पढ्न पाउनुलाई मैले सुगन्धित र स्निग्ध आल्हादको पोखरीमा पौडिन पाएको अनुभूतिका रूपमा सँगालेकी छु । ओशो गीतामालाकै समग्र एकाकार नेपाली स्वरूप ‘लोकगीता’ एकपटक पढेर मात्र हुँदैन । यो बृहत् ग्रन्थ हतारहतार पढेर पनि हुँदैन । गाइबस्तुले घाँस खाएर अघ्राएजस्तै नेपाली अक्षरसँग सप्रेम नाता भएका कुनै पनि मानवले ‘लोकगीता’को एक पाना पढेपछि उसको मानस घण्टौँ अघ्राउन सक्ने वौद्धिक खुराकका रूपमा पनि मैले यस ग्रन्थलाई ग्रहण गरेँ ।
नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो स्पष्ट छविद्वारा चुलिनुभएका र अदम्य प्रशासकका रूपमा समेत ख्याति आर्जन गरिसक्नुभएका लोकमानसिँह कार्कीको ‘लोकगीता’ विशाल स्वरूपमा मात्र नभएर विशिष्ट व्याख्याका साथ आउनु नेपालीभाषाकै लागि गौरवमय कृत्य भएको मैले महसुस गरेकी छु । ‘लोकगीता’का बारेमा व्याख्या र विश्लेषण गर्ने क्षमता कमसेकम मसँग छैन भन्दा मलाई लघुताभास हुँदैन बरू आफूले इमानी वक्तव्य जारी गरेको यथार्थले मलाई हार्दिक प्रसन्नता नै दिएको छ । यसको प्रमुख कारण चाहिँ ‘लोकगीता’ स्वयम् नै गीता विश्लेषण हो । विराट विश्लेषणको पनि विश्लेषण भनेको एउटा आकाशले नपुगेर अर्को आकाश निर्माणमा लाग्नु सरह हो । एउटै आकाशको पल्लो छेउ नदेखेकी मैले अर्को आकाश निर्माण गर्न सक्ने कुरा पनि भएन ।
‘लोकगीता’ वैदिक सनातन हिन्दु धर्मलाई धरोसायी गर्न अग्रसर कुतत्वहरूलाई निरुत्साहित गर्नका लागि महत्वपूर्ण संयत्र समेत भएको खुलासा पनि मलाई गर्न मन लागेको छ ।
गीता के हो ? किन हो ? केका लागि हो ? कसका लागि हो ? यी यावत प्रश्नको जवाफ नै ‘लोकगीता’ हो । भीमकाय ‘लोकगीता’को सारांश प्रस्तुत गर्नुको कुनै अर्थ र औचित्यै छैन । किनभने पाठकले शब्दशब्द र वाक्यवाक्य पारायण गरेर रसास्वादन गर्नै पर्ने ग्रन्थका रूपमा ‘लोकगीता’ आएको छ । लेखकप्रति पूर्वाग्रह नराखी पारायण गर्ने कुनै पनि सदगुणी पाठकले ‘लोकगीता’ एकपटक होइन बारम्बार पारायण गर्ने कुरामा समेत म विश्वस्त छु । किनभने मन, वचन र कर्म शुद्ध राखेर निष्ठापूर्वक पारायण गर्ने कुनै पनि व्यक्तिका लागि हरेक प्रश्नको जवाफ राखिएको मनचिन्ते बाकसजस्तो भएर ’लोकगीता’ आएको छ भन्ने कुराको पनि म ठोकुवा नै गर्नसक्छु ।
‘लोकगीता’का सन्दर्भमा मेरा केही मान्यता प्रस्तुत गर्न चाहान्छु :
१. यो ‘लोकगीता’ अङ्ग्रेजी भाषामा अनुवाद गराउन सके यसले विश्वका गीता प्रेमीको गीता प्यास मेटाउन मद्धत गर्ने छ । अझ असङ्ख्य दिग्भ्रिमित युवाहरूका लागि ‘लोकगीता’ मार्ग निर्देशक नै हुनसक्छ ।
२. हाम्रो केन्द्रीय शिक्षा प्रणालीका माध्यमिक विद्यालयस्तरमा, उच्च माध्यमिक विद्यालयस्तरमा र विश्वविद्यालयमा समेत ‘लोकगीता’ अनिवार्य पठन सामाग्रीका रूपमा प्रस्तुत गरिनुपर्छ ।
३. नेपालका सरकारी, गैरसरकारी र कुनै पनि सार्वजनिक पुस्तकालयहरूमा ‘लोकगीता’ पढ्नका लागि उपलब्ध गराइनुपर्छ ।
४. प्रत्येक व्यक्तिले कुनै पूर्वाग्रह नराखी ‘लोकगीता’ पढ्नैपर्छ । आफूले पढेपछि हरेक मातापिताले आफ्ना सन्तानलाई ‘लोकगीता’ पढ्न प्रेरित गर्न सके युवापुस्तामा आएको विचलनमा न्युनता आउने छ । साथै नयाँ पुस्ताले ‘लोकगीता’ पढ्न सके विश्रृङ्ल हुँदै गएको हाम्रो नेपाली समाज व्यवस्था श्रृङ्खलामा आउने संभावना पनि मैले देखेकी छु ।
५. यो ‘लोकगीता’ समयसापेक्ष पारिनका लागि यसको भिडियो निर्माण गरेर युट्युबबाट प्रशारण गरिनुपर्छ । जसले गर्दा निरक्षर व्यक्ति अथवा बेफुर्सदिला व्यक्तिका पहुँचमा पनि ‘लोकगीता’ सहजै पुग्न सकोस् ।
‘लोकगीता’ जस्तो विशिष्ट कोटीको ग्रन्थ लेखेर लोकमानिसिँह कार्कीले नेपाल, नेपालीभाषा र समग्र तत्वज्ञानीहरूका लागि ठूलो गुन लाउनुभएको छ । कार्कीजस्ता विचार, भावना, मन र यथार्थ जगतका धनाढ्यद्वारा नै मात्र यस्तो कार्य सम्भव हुन्छ । मेरा पिताकै समयदेखि पारिवारिक सम्बन्धले पनि नजिक रहँदै सधैँ माइतीको एउटा बलियो छहारी पाउँदै आएको आदरणीय लोकमान दाइबाटै यस्तो समाजोपयोगी कार्य सम्पन्न भएको देखेर मेरो भावना हर्षले चुलिने र गौरवले झँङ्गिने मौका पाएको छ । ‘लोकगीता’ वैदिक सनातन हिन्दु धर्मलाई धरोसायी गर्न अग्रसर कुतत्वहरूलाई निरुत्साहित गर्नका लागि महत्वपूर्ण संयत्र समेत भएको खुलासा पनि मलाई गर्न मन लागेको छ । यस्तो स्तुत्य कर्मका लागि ‘लोकगीता’का लेखक लोकमानसिँह कार्कीज्यूमा म समग्र सनातनी मानवका तर्फबाट समेत अमीट श्रद्धा अभिव्यक्त गर्छु ।
वास्तवमा ‘लोकगीता’को कायाकल्प र ओजश्विताका विषयमा चर्चा गर्दा यो ग्रन्थको लेखन र प्रकाशन जसतसले गर्न सक्ने खालको पनि देखिँदैन । ‘लोकगीता ’लोकमानसिंह कार्कीबाटै लेखिनुपर्ने ग्रन्थ हो भनेर म किटानी नै दिन चाहान्छु ।
‘लोकगीता’का लेखक कार्कीज्यूले ग्रन्थको भूमिका खण्डमा उहाँकी धर्मपत्नी तथा यस ‘लोकगीता’का सम्पादक सुनितासिंह कार्कीप्रति अभिव्यक्त भाव पनि निकै सह्राहनीय छ । वास्तवमा यो ग्रन्थ लेखनदेखि प्रकाशनसम्मको दुरुह यात्रामा श्रीमती कार्कीद्वारा पतिप्रतिको भक्ति मात्र नभएर श्रीमती कार्की स्वयम् नेपाली भाषासाहित्यका साधक हुनुभएकाले उहाँको भाषासाहित्यप्रतिको अनन्य प्रेम पनि ‘लोकगीता’मा सँगसँगै गाँसिएर आएको पाइन्छ । म मेरी विदुषी भाउजू श्रीमती कार्कीको सम्पादन कलाले सिँगारिँदा ‘लोकगीता’को थप ओजिलो बनेको विषयलाई हृदङ्गम गर्दै उहाँप्रति पनि आभार प्रकट गर्दछु ।
हाम्रो मुलुकको विशिष्टतहमा रहेर राष्ट्र सेवाको सशक्त तथा दरिलो अडान र पहिचान स्थापित गरिसक्नुभएका श्री लोकमानसिँह कार्कीलाई विगतमा निकै ठूलो दाउपेच र ‘ग्याङ’को चलखेलले राष्ट्रव्यापी भ्रष्टाचार परिशोधनको कामबाट विमुख गरिएको थियो । राष्ट्र सेवामा समर्पित नेपाल आमाका सपूत श्रीकार्कीज्यूले फिरङ्गी मिसिएका रङ्गीहरूले दिएको अपमानको घुँट्को निल्नुपरेको थियो । तर महादेवले कालकुट विष पिए झैँ श्रीकार्कीज्यूले पनि विष पिउनुभयो र परिणामस्वरूप ‘लोकगीता’ जन्माउनु भयो । कर्मवीरले जस्तो कर्म गरेर आफ्नो शिलालेख आफैँ कसरी निर्माण गर्नुपर्ने हो, सोही कर्म श्री कार्कीज्यूले गर्नुभएको छ । उहाँले अथक मिहेनत गरेर हाम्रो दिग्भ्रमित समाजलाई दिग्दर्शन दिनुभएको छ । वास्तवमा ‘लोकगीता’को कायाकल्प र ओजश्विताका विषयमा चर्चा गर्दा यो ग्रन्थको लेखन र प्रकाशन जसतसले गर्न सक्ने खालको पनि देखिँदैन । ‘लोकगीता ’लोकमानसिंह कार्कीबाटै लेखिनुपर्ने ग्रन्थ हो भनेर म किटानी नै दिन चाहान्छु । यस्तो सुकर्मका कारण श्री कार्कीले आफ्नो अमरत्वको अमर गाथा पनि स्वयम् कथ्नुभएको छ । जसको फलस्वरूप नेपाली भाषा साहित्यको आध्यात्मिक फाँटका लागि उहाँले उर्जावान र उल्लेखनीय ग्रन्थ उपहारका रूपमा प्रदान गर्नुभएको छ । यस्तो महान कार्य सम्पन्न गर्ने आदरणीय लोकमानसिंह कार्कीज्यूमा समग्र समाजका तर्फबाट जति आभार प्रकट गर्दा पनि अपुग हुने मैले देखेकी छु ।