२०२९ असार २७ गते राति खोपबाडी बस्ने समाजसेवी विष्णुप्रसाद विमली र उनका काकाससुरा ईश्वरीप्रसाद चुडालको हत्या गरिएको थियो । यी दुवै जना परोपकारी तथा धार्मिक प्रवृत्तिका थिए । अनि विमलीचाहिँ नेपाली काङ्ग्रेसका समर्थक थिए । त्यस हत्याबारेको पूर्वकथाचाहिँ के थियो भने— विमलीले आफ्नो छिमेकीका रूपमा एउटा असल मानिस भइदिए हुन्थ्यो भन्ने भावना राखेका थिए । त्यसैताका जग्गा किन्न खोज्दै हिँडेका कृष्णप्रसाद सङ्ग्रौला विमलीका घरमा पुगेका थिए । सङ्ग्रौलाका विषयमा खोजिनिती गर्दा उनी पाँचथर जिल्ला पञ्चायत उपसभापति भइसकेका व्यक्ति भएको टुङ्गो लागेको थियो । त्यसैले विमलीले केही भाउ घटाएर भए पनि सङ्ग्रौलालाई आफ्नै खेतको साँधमा बाह्र बिघा जग्गा बेचेका थिए । तर सङ्ग्रौलाले चाहिँ चौध बिघा खेत आफ्नो भागमा पारेर सिमाना बाँधेका थिए । ‘मेरो दुई बिघा खेत पनि तपाईंपट्टि नै परेछस त्यो मलाई नै फिर्ता गरिदिनुपर्यो’ भनेर विमलीले सङ्ग्रौलासँग भन्ने गरेका थिए तर सङ्ग्रौलाले खेत फिर्ता दिन चाहेनन् । त्यसैले जग्गा खरिदबिक्री भएको नौ वर्षपछि सङ्ग्रौला र विमलीमाझ त्यही दुई बिघा जग्गाका विषयलाई लिएर झगडा हुन थालेको थियो । अनि त्यसै झगडालाई साम्य पार्न विमलीको आग्रहमा गाउँलेले असार २९ गते पञ्चभलाद्मीको छलफल राखेका थिए ।
असार २७ गते सोमबार विष्णुप्रसाद विमलीचाहिँ बिरामी ईश्वरीप्रसाद चुडालको औषधी गर्न भद्रपुर गएका थिए । भद्रपुरबाट घर फर्कने क्रममा उनीहरू पर्सि हुने कचहरीका बारे छलफल गर्न गरामुनीछेउ भुसाबाडीमा टीकाप्रसाद प्रसाईका घरमा पुगेका थिए । उनीहरूले साँझको खाना प्रसाईकै घरमा खाए । त्यसै बेला प्रसाईले ‘आज यतै बसौ न’ भन्ने प्रस्ताव राखेका थिए तर विमलीले आफ्नो घरै जाने निणर्य सुनाएका थिए । त्यसपछि लालटिन बालेर विमली र चुडाल दुवै जना विमलीनिवास खोपबाडीतिर लागेका थिए । उनीहरू घर जाने क्रममा मियाबारी पुगेपछि उनीहरूलाई ढुकेर बसेका विद्रोहीले घेराबन्दी गरेका थिए । त्यसै घडी ती दुवैलाई विद्रोहीका खुकुरीले काटेर मारिएको थियो । चुडालचाहिँ त्यस घडी निकै बिरामी थिए । उनी ताप्लेजुङको नेशमबाट अल्सरको उपचारका लागि झापा झरेका थिए । आफू बिरामी भएर औषधि गर्दै गरेको बेहोरा त्यति बेला दुई हात जोडेर चुडालले विद्रोहीलाई भनेका थिए । तर त्यसै मौकामा विद्रोहीद्वारा उनले नमस्कार गरेका अवस्थामा दुवै हातका नारी छिनाइएको थियो । त्यतिले मात्र नपुगेर त्यहाँ उपस्थित सबै विद्रोहीले बाँसले घोचीघोची विमली र चुडालको शरीर क्षतविक्षत पारेका थिए । अनि ती दुवैको रगतको टीका आआफ्ना निधारमा लगाएर उनीहरू त्यहाँबाट हिँडेका थिए ।
ईश्वरी चुडाल भन्नु ताप्लेजुङको नेशमका समाजसेवी थिए । त्यहाँका प्रसिद्ध शिक्षासेवी धनपति चुडालका उनी जन्तरे छोरा थिए । ईश्वरीको गरामुनीमा चार बिघा खेत थियो । तर उनी औषधी उपचार गर्नका लागि केही दिनदेखि ज्वाइँ विष्णुप्रसाद विमलीकै घरमा बस्तै आएका थिए । विमली र चुडालको हत्यामा कृष्णप्रसाद सङ्ग्रौलाका छोरा ईश्वरी सङ्ग्रौला पनि ज्यानमाराका रूपमा कैदी भएका थिए । ईश्वरी पनि झापा विद्रोहका सक्रिय कार्यकर्ता थिए । साथै अन्य दोषीमध्ये नेत्रप्रसाद घिमिरे र उनका भाइ धर्मप्रसाद घिमिरे पनि समावेश भएको बेहोरा खुलेको थियो । नेत्रप्रसादचाहिँ सुखानीमा सरकारद्वारा मारिएपछि उनलाई सजाय नदिने घोषणा भएको थियो । अनि यस काण्डमा नरेश खरेल र हर्कबहादुर खड्कालाई जन्मकैदको फैसला तोकिएको थियो । साथै त्यसै बेलाको घोषणामा शिवप्रसाद शिवाकोटीको सम्पत्ति बेचबिखनमा रोक लगाइएको थियो । खरेल र खड्का गरेर यस काण्डमा कृष्णप्रसाद सेढाइँ, पुण्य शर्मा निरौला, डिल्ली शिवाकोटी, कृष्ण कुइँकेल, टङ्क घिमिरे अर्थात् साइँलो मिस्त्रीलाई पनि जन्मकैदको फैसला सुनाइएको थियो । यस काण्डमा अरू दस जनालाई पनि कारबाहीको सूचीमा राखिएको थियो । विमली र चुडालको हत्याबारेको फैसलाचाहिँ मेची अञ्चलका कायममुकायम न्यायाधीश ऋद्धिमानन्द वज्राचार्यको एक सदस्यीय आयोगले गरेको थियो । त्यो हत्याकाण्डका विषयलाई लिएर झापा आन्दोलनका नायक रामनाथ दाहालले उनका प्रमुख सल्लाहकार जयप्रसाद यूकेलाई भनेका थिए— ‘नक्सलाइट आन्दोलन निकै अघि बढ्ने भयो ।’ त्यतिखेर यूकेले चाहिँ आफ्नो विचार राखेका थिए— ‘व्यक्तिहत्याले कुनै पनि जनक्रान्ति फस्टाउन सक्तैन । यसले बरु अराजकता बढाउँछ । विमली र चुडाललाई अनाहक मारियो । उनीहरूले समाजमा के बिराएका थिए र रु’
रामनाथ दाहाल र विष्णुप्रसाद विमलीको एउटा घुमाउरो नाता पनि थियो । कुरा के हो भने— हत्या गरिएका विमलीका छोरा गणेश विमलीकी साली विश्वेश्वरा दाहालचाहिँ झापा आन्दोलनका नायक रामनाथ दाहालकी कान्छी श्रीमती थिइन् । अर्को कुरा गणेश विमलीले आफ्नो जग्गा भोग गर्न पाऊँ भनेर प्रशासनसमक्ष निवेदन दिएका थिए । त्यसपछि अर्थात् २०३२ सालमा जिल्ला प्रशासनले उक्त जग्गाको जाँचपास गराई कृष्णप्रसाद सङ्ग्रौलाबाट दुई बिघा खेत विमलीलाई नै फिर्ता दिलाइएको थियो । विमली २०७० सालमा नेपाली काङ्ग्रेसका तर्फबाट सांसद पनि भए ।
२०२९ मङ्सिर २३ गते गरामुनीका उद्रकान्त राजवंशीलाई शरीर चिरैचिरा पारी काटेर मारिएको थियो । उनी गाई पालेर दूध बेची खाने साधारण किसान थिए । विद्रोही पक्षद्वारा राजवंशीलाई मार्न भारतका एक जना बङ्गालीलाई पनि समावेश गराइएको थियो । तर उक्त बङ्गालीलाई झापामा राजवंशी बनाइएको थियो र उनको नाउँ भोगेन राजवंशी राखिएको थियो । उनी नक्सलाइट आन्दोलनबाट खारिएका लडाकू थिए । निज बङ्गालीबाट झापा विद्रोहीले शत्रुको विनाश गर्नेबारेको प्रशिक्षण पनि लिने गरेका थिए ।
उद्रकान्त राजवंशीको हत्याकाण्डमा खड्गप्रसाद शर्मा वलीसहित अठार जनाजतिलाई ज्यानसम्बन्धीको मुद्धा लागेको थियो । साथै उनीहरूलाई डाँका मुद्दा र नगद जरिवानाको सजायको फैसलासमेत सुनाइएको थियो ।
शिवप्रसाद शिवाकोटीको जीवनी− १५ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटी, झापा विद्रोह र गणतन्त्र– ३’ पढ्नुहोला ।