झापा विद्रोहको कम्पनले नेपाल नै थर्किएको थियो । त्यतिखेर अहिलेको जस्तो सञ्चारको सुविधा थिएन । यति हुँदाहुँदै पनि त्यहाँका घटनाले नेपालका चौधै अञ्चल थर्काएको थियो । त्यति बेला त्यस घटनाले मेची अञ्चल प्रशासनलाई आच्छुआच्छु नै गराएको थियो । त्यसैको राप र तापका कारण नेपालमा माओवादी जनयुद्ध भएको बेहोरा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारेका छन् । यसबारे प्रचण्डले भने— ‘झापा विद्रोहको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको हो ।’ प्रचण्ड भन्नु नेपालमा गणतन्त्र ल्याउने कारक भनौँ या अभियन्ता भनौँ अथवा भनौँ प्रमुख व्यक्तिको नाउँ हो । यति हुँदाहुँदै नेपालको गणतान्त्रिक व्यवस्था ल्याउन भारतलगायतका देशहरूको गुरुयोजनाबाट सम्भव भएको थियो । वास्तवमा नेपाललाई गणतान्त्रिक बनाउन त्यस बेलादेखि यस बेलासम्म पुष्पलालदेखि शिवप्रसाद शिवाकोटी हुँदै प्रचण्डसम्म नै धुरिएका चाहिँ थिए । तर झापा विद्रोहका विषयमा पुष्पलालको धारणा अलग्गै थियो । भनौँ, त्यस विद्रोहमा पुष्पलालको सहमति थिएन । त्यस घटनाबारे उनले आफ्ना शिष्य जयप्रसाद यूकेलाई भनेका थिए— ‘व्यक्ति हत्या गरेर राजनीतिको विजय हुँदैन । वर्गीय रूपमा सञ्चालन गरेर परिवर्तन भएको राजनीतिचाहिँ उपयोगी हुन्छ । कसैलाई मारेर, कसैको जीवनै समाप्त पारेर राजनीतिक परिवर्तन खोज्नु अन्याय हो ।’ यसबारे थपेर उनले आफ्नी छोरी उषा श्रेष्ठलाई पनि भनेका थिए— ‘झापा विद्रोह केवल हिंसाको विद्रोह हो । अबको संसारमा मरेर र मारेर शासनको परिवर्तन खोज्नु हुँदैन ।’ नेपालमा २०६२—०६३ सालको आन्दोलनका प्रसङ्गमा राजा ज्ञानेन्द्रले चाहिँ गृहमन्त्री कमल थापालाई ‘मेरा जनता नमार्नु’ भनेको बेहोरा र पुष्पलालको सिद्धान्त एकै प्रकारको देखिन्थ्यो । अर्थात् जनता मारेर शासनको परिवर्तन गर्न हुँदैन भन्ने उनीहरूको सिद्धान्त थियो । एकातिर राजा खुकुलो हुनु र अर्कातिर विदेशी शक्तिको आडले भनौँ या त्यो शक्ति ओइरिनाले नेपालमा हठात् रूपमा गणतन्त्र आएको सत्य पनि सावित भइसकेको छ ।
झापा विद्रोहको आरम्भ २०२७ सालमा शनिश्चरेको सालबारीबाट भएको थियो । त्यसपछि सामन्तलाई तर्साउनेहेतु कणर्बहादुर गौतमको हत्याभियानमा विद्रोही जत्था लागेका थिए । २०२८ जेठ ३ गतेको घटना हो— ज्यामिरगढी गाउँ पञ्चायत वडा नम्बर ३ का अध्यक्ष कणर्बहादुर गौतमलाई मार्ने उद्धेश्यले विद्रोहीको एउटा जत्था रात परेपछि गौतमको पछि लागेको थियो । गौतमचाहिँ स्थानीय जमिनदार रघुवीर बुढोथोकीका कारबारी थिए । साथै उनी त्यस भेककै हर्ताकर्ता थिए । त्यस दिन गौतम ज्यामिरगढी बजारको विचार्नी हाटबाट आफ्नो घर फर्कँदै थिएँ । त्यतिखेर विद्रोहीले गौतमलाई उनका घर छेउ ढुकिरहेका थिए । अनि फेला पारेपछि उनलाई घेराउ गरिएको थियो । त्यसपछि उनको भुँडीमा विद्रोहीले चुप्पीले रोपेका थिए । त्यसपछि गौतमले आफ्ना दुवै हातले पेटमा थिचिराखे । तर त्यसै घडी उनका हातखुट्टालाई केही विद्रोहीले आआफ्ना खुट्टाले थिचेर गौतमलाई चटपटाउन नै दिएका थिएनन् । त्यसपछि मुला काटेसरि उनका शरीरैभरि खुकुरीको धारले तीखातीखा डाम लगाइएको थियो । अन्त्यमा उनीहरूले खुकुरीको एकै प्रहारमा गौतमको गर्धन छिनाएका थिए ।
गौतमलाई मारेको सुनेपछि घटनास्थलमा कैयौँ मान्छे पुगेका थिए । त्यस बेलाको त्यस घटनाबारे पूर्वमन्त्री केशवकुमार बुढाथोकी र साहित्यकार तथा पत्रकार नकुलकाजीले एकै स्वरमा म नरेन्द्रराज प्रसाईलाई भनेका थिए — ‘ज्यामिरगढी गाउँ पञ्चायतको अर्को एउटा आम्दानीको श्रोत निन्दा खोला पनि थियो । त्यस खोलाको माछाबाट पञ्चायतलाई प्रशस्त आम्दानी हुन्थ्यो । अनि त्यो खोलो वडा नम्बर ३ मा पर्थ्यो । त्यस वडाका अध्यक्ष गौतमलाई वीरेन्द्र राजवंशीले उनको जलारी ल्याएर यसैलाई ठेक्का दिनु भनेका थिए । अनि गौतमले राजवंशीलाई त्योभन्दा धेरै पैसा तिरेर माछा लाने जलारीको पनि निवेदन परेको छ भनेका थिए । त्यति बेला वीरेन भनिने वीरेन्द्र राजवंशीचाहिँ झापा जिल्ला पञ्चायत कार्यालयका जागिरे थिए । त्यसैले पनि उनले आफन्त जलारीलाई ठेक्का पार्न अड्डी लिइरहे । अनि गौतमले उनको कुरा नमानेपछि उनले गौतमलाई मार्ने नै योजना बनाएका थिए ।
गौतम मारिएपछि उनलाई जारले काटेर मारे भनेर हल्ला पिटाइयो । त्यही बखत राजवंशीचाहिँ जिल्ला पञ्चायत कार्यालय जान छाडेका थिए । कार्यालयबाट बिनासूचना हराएको बेहोराका कारण जिल्ला पञ्चायतको उजुरीमा उनलाई अदालतले तीन महिनाको जेल तोकिदिएको थियो । उनी भागिरहेकै समयमा उनलाई वामपन्थी राजनीतिज्ञ गोपालकृष्ण प्रसाईले ‘तोकिएको अवधिसम्म जेल बसेर आऊ’ भनेर सम्झाएका थिए । त्यसपछि वीरेन आत्म समर्पण गरेर जेल बसेका थिए । त्यस बेलासम्ममा गौतमबारेको अनुसन्धान पनि पूरा भइसकेको थियो । अनि त्यस अभियोगमा वीरेन राजवंशी नै प्रमुख पात्र भएको ठहर भएको थियो । जेलमा त्यसै बेला रघुवीर बुढाथोकीका छोरा केशवकुमार बुढाथोकीको वीरेनसँग भेट भएको थियो । बुढाथोकीचाहिँ नेपालमा सशस्त्र क्रान्तिहेतु हातहतियार बोकेका अभियोगमा पक्राउ परेका थिए । बुढाथोकीचाहिँ विकासवादी पनि थिए । शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च, झापा जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य, सहायक मन्त्री हुँदै उनी गणतान्त्रिक व्यवस्थामा मन्त्री पनि भएका थिए ।
वीरेन्द्र राजवंशीको योजनामा कणर्बहादुर गौतमको हत्या भएको थियो । त्यस अभियोगमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, भोगेन राजवंशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । त्यतिखेर त्रिलोकप्रताप राणाको एक सदस्यीय विशेष अदालतबाट सो फैसलाको निणर्य भएको थियो ।
२०२८ मङ्सिर १६ गते झापामा अर्को हत्याकाण्ड भएको थियो । त्यस दिन लप्टन हरिराज आङ्दम्बेका खेतबाट पाकेको धान काटी लान विद्रोहीहरू खेतमा पसेका थिए । त्यस घटनाको योजनाकार गोपाल शिवाकोटी थिए भने नेतृत्वचाहिँ करुणकुमार लिम्बूले गरेका थिए । धान लुट्नका लागि चालीस जनाजति विद्रोही धूलाबारीस्थित माउरमारी पुगेका थिए । त्यस घटनामा शिवाकोटी र लिम्बूलगायत केही विद्रोहीले जेल सजायँ पनि भोगेका थिए । जेलमा रहेका बेला कैदी साथी दधिराम उप्रेतीलाई लिम्बूले भनेका थिए— ‘हाम्रो जत्था धान काटेर त्यो धान किसानलाई बाँड्न गएकै हो । त्यो समाचार सुनेर दिउसो बाह्र बजेतिर हरिराज आङ्दम्बे बन्दुक भिरेर घोडामा आएका थिए । उनले हामीलाई ‘तिमीहरू भाग, होइन भने तिमीहरूलाई म गोली ठोक्छु’ भन्दै हामीमाझ एक फायर हानेर पनि देखाइदिए । त्यसपछि हामीले पनि उनलाई घोडाबाट झारेर लाठीमुङ्ग्री र रोल खुकुरी जेजे हातमा छ त्यहीत्यहीले हान्यौँ । यसै प्रसङ्गमा हरिराजका छोरा कमलराज आङ्दम्बेले म नरेन्द्रराज प्रसाईलाई भनेका थिए— ‘नक्सलाइटले हाम्रा बुबालाई कुटेर छेदविच्छेद पारेरै मारे । मेरा बुबाले आफ्नो सम्पत्तिको संरक्षण गरेको मात्र न हो, बुबाबाट मोहीहरूलाई अन्याय त भएको थिएन नि १’ हरिराज आङ्दम्बे भन्नु राणाकालीन लप्टन थिए ।
झापा विद्रोहले तेस्रो हत्या बुटन चौधरीको गरेको थियो । त्यो घटना २०२९ वैशाख २८ गते सालबारीमा भएको थियो । त्यस काण्डमा जम्मा पच्चिस जना विद्रोहीलाई दण्ड सजायँ दिने फैसला भएको थियो ।
विद्रोहीले विचारी भनिने सालबारीका पुण्यप्रसाद कोइरालालाई पनि मार्ने योजना बनाएका थिए । विचारी भन्नु बुटन चौधरीका अभिन्न मित्र थिए । विचारीचाहिँ झापाका जाली, फटाहा र शोषकमा गनिन्थे । चन्द्रगढीमा पनि उनको घर थियो । तर धर्म भकारीको कुरा उठ्न थालेपछि उनी चन्द्रगढीमा नै बस्न थालेका थिए । उनी सालबारीमा आउन छाडेपछि घानमा बुटन चौधरी परेका थिए । त्यही बुटनकाण्डमा झापा प्रशासनले शिवप्रसाद शिवाकोटीको टाउको ल्याउनेलाई दस हजार रुपियाँ इनाम दिने झ्याली पिटाएको बेहोरा जयप्रसाद यूकेले भनेका थिए । ९बुटन चौधरीको पूर्ण प्रसङ्ग ‘शिवप्रसाद शिवाकोटीको आग्रह छाड्दा बुटन चौधरीको हत्या’ शीर्षकमा आवद्ध भैसकेको छ० ।
‘-शिवप्रसाद शिवाकोटीको जीवनी− १४ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटी, झापा विद्रोह र गणतन्त्र( २’ पढ्नुहोला ।