दाँतको उपचार महङ्गो, रोकथाम सस्तो !

दाँतको उपचार महङ्गो, रोकथाम सस्तो !

  • आइतवार, साउन ३, २०७८
  • – नारायण अधिकारी

  • 10K
    SHARES

नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो कमाइले उपचार गर्न नसकेपछि उपचारकै लागि नेपाल आउने गर्दछन् ।

दाँतको उपचार र सरसफाइ बच्चा जन्मेको एक वर्षदेखि शुरु गर्नुपर्ने भए पनि समस्या आएपछि मात्रै उपचारमा लाग्ने बानीका कारण समस्या जटिल र महङ्गो पर्ने गरेको हो । भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने समय–समयमा परीक्षण र नियमित सरसफाइ गर्न सके दन्त समस्याको समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिनमा दुईपटक ब्रस गर्ने र एकपटक डेन्टल फ्लस ९एक प्रकारको धागोले दाँतको कापमा रहेको खाना सफा गर्ने प्रविधि० गर्ने हो भने दाँतको धेरै समस्या समाधान हुन्छ ।”

बच्चा जन्मिएको एक वर्षपछि वर्षमा दुईपटक दाँतको परीक्षण गर्न उहाँको सुझाव छ । प्रत्येक दिन बिहान र बेलुका १०÷१० मिनेट समय दिन आग्रह गर्दै उहाँले थप्नुभयो, “दैनिक दाँतका लागि २० मिनेट समय दिनुहोस्, कहिल्यै दाँतको समस्या आउँदैन ।” बच्चाको हकमा फ्लोराइडयुक्त पेष्ट प्रयोग गर्न र वयस्कले मेडिकेटेड पेष्ट प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो ।

नब्बे प्रतिशत नेपालीले बिहान मात्रै दाँत माझ्ने गरेको भन्दै उहाँले जटिल समस्या भएपछि मात्रै अस्पताल आउने गरेको अनुभव सुनाउनुभयो । दाँतहरुको कापमा अड्किएर बसेका खानेकुराले गर्दा किटाणु उत्पन्न भएर दाँत किराले खाने उहाँको भनाइ छ । फ्लस अर्थात् धागोले नियमित सफा गर्ने र दुईपटक ब्रस गरेमा छ वर्ष मानिसको आयु बढ्ने अन्तर्राष्ट्रिय तथ्य रहेको न्यौपानेले जानकारी दिनुभयो ।

दाँतभित्र रक्तसञ्चार बढी हुने र टाइटेनियमजस्ता महङ्गा धातुबाट बनेका उपकरण प्रयोग गर्नुपर्दा दन्त उपचार महङ्गो हुने गरेको हो । एउटालाई प्रयोग गरेको उपकरण अरुलाई प्रयोग गर्न मिल्दैन । दाँत उपचारमा प्रयोग हुने उपकरणलाई कस्मेटिकमा राखेर राज्यले कर छुट नदिने हुँदा पनि महङ्गो पर्ने गरेको उहाँको भनाइ छ ।

दाँतको नियमित परीक्षण गर्न नआउने गरेको उहाँको गुनासो छ । भरतपुर अस्पतालमा मात्रै १० दन्त चिकित्सक छन् । उनीहरुले नियमित सेवा दिने भए पनि अन्य बिरामीको तुलनामा न्यून मात्रै बिरामी आउने गरेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा नियमित परीक्षण गर्ने संस्कार नै छैन ।”

भरतपुरको चौबीसकोठीमा रहेको श्री डेन्टलका कन्सल्टेन्ट अर्थोडेन्टिष्ट, डेन्टल सर्जन डा पूजा कोइराला पोखरेल उपयुक्त विधिबाट ब्रससमेत नगरेका कारण दाँतमा समस्या आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माथि–तल र गोलाकार ९सर्कल० तरिकाले ब्रस गर्नुपर्छ ।” यस विषयमा आफूले विभिन्न विद्यालयमा गएर प्रत्यक्ष सिकाएको जानकारी दिनुभयो ।

अन्य रोगको तुलनामा दाँत रोगको बारेमा जनचेतना अत्यन्त कम भएको भन्दै उहाँले आम नागरिकलाई दाँतको सुरक्षाका बारेमा जानकारी दिन सकेमा समस्या कम हुने बताउनुभयो । नियमित परीक्षण गर्ने बानी नै हामीकहाँ नभएको उहाँको बुझाइ छ । सुखी जीवन जिउन थालेसँगै घर बाहिरका खाना ९जङ्क फुड० को प्रयोग बढेर दाँतको समस्या पनि सँगै बढेको उहाँको भनाइ छ । हिजोआज दाँत किराले खाएर सहनै नसक्ने गरी दुखेर आउने, बुद्धिबङ्गारा निस्किएर आउने बिरामी बढी भएको उहाँले जानकारी दिनुभयो ।

कोभिडका कारण दुख्दासमेत खपेर घर बसेका कारण दाँतको सङ्क्रमण फैलिएर बिरामी आउन थालेको भन्दै उहाँले भन्नुभयो, “दाँतको उपचार समयमै गरे कम खर्चिलो र दुःख कम हुन्छ ।” साइराम डेन्टल केयरका सञ्चालक दन्तरोग विशेषज्ञ डा सरु थापा दाँत सफा गर्न हुँदैन भन्ने भ्रमका कारण पनि समस्या आएपछि मात्रै बिरामी आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गिजामा समस्या हुँदैमा उपचार गरेमा सहज हुने भए पनि हड्डीसम्म पुगेपछि थप जटिल बन्दछ ।” समयमा उपचार गर्न आएमा यो समस्या सामान्य अवस्थामै हल गर्न सकिने उहाँको भनाइ छ ।

बालबालिकालाई गुलियो मिठाइलगायतका वस्तु खान दिएपछि मुख कुल्ला गर्न सिकाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामीमध्ये ९० प्रतिशत बालबालिका छन् ।” पछिल्ला वर्षमा बजारका तयारी खाना खाने र मुख सफा नगर्दा समस्या बढेर गएको भन्दै उहाँले अभिभावकले जागरुकता देखाउनुपर्ने सुझाव दिनुभयो ।

तीन वर्षभित्र बच्चाले जानेका सीप जीवनभर गर्ने भन्दै उहाँले भन्नुभयो, “बच्चालाई बिहान बेलुका ब्रस गर्न सिकाउनुपर्छ, जसले गर्दा उसले जीवनभर यो सीप प्रयोग गरेर दाँतलाई बचाउन सक्छ ।” दाँत दुखेपछि मात्रै अस्पताल आउने परम्पराको अन्त्य गर्दै छ÷छ महिनामा नियमित परीक्षण गर्नुपर्ने डा थापाले सुझाव दिनुभयो ।

विदेशमा दाँतको उपचार महङ्गो हुने हुँदा नेपालबाट विदेश जानुअघि र आएका बेला परीक्षण गर्न धेरै आउने गरेको उहाँको अनुभव छ । नारायणगढ, भरतपुर र रत्ननगरमा क्लिनिक सञ्चालन गर्दै आउनुभएकी डा थापाले दाँतको उपचार नेपालमा धेरै सस्तो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकसित मुलुकको तुलनामा नेपालमा ८० प्रतिशत सस्तोमा दाँतको उपचार हुन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी