प्रा.डा.कविता लामाको परिचय
जन्म : १९६५ नोभेम्बर २२ (दार्जिलिङ, भारत); शिक्षा : एमए, पिएचडी (भानुभक्त आचार्यविषयक प्रथम विद्यावारिधि); कृति : ८ पुस्तक (समालोचना, बालकथा, व्याकरण); सम्पादित पुस्तक : १० वटा; पुरस्कार : भानुभक्त प्रज्ञा पुरस्कार (नेपाल सरकार), भानुभक्त स्वर्णपदक (नेपाल सरकार), कमला राई स्मृति पुरस्कार, विश्व नारी नेपाली साहित्य पदक, भवानी मश्रि अन्तर्राष्ट्रयि साहत्यिकि पुरस्कार, डीके श्रेष्ठ स्मृत साहित्यिक पुरस्कार आदि पुरस्कारका साथै अनेकौँ सम्मान; डीन : सिक्किम विश्वविद्यालय (भारत) ।
समालोचनाका अनेकौँ सम्प्रदायहरू अनि समालोचक अध्येता इलियट, रिचर्ड अनि लेभिसदेखि यता एकपछि अर्को अवधारणा रूपवाद (नवआलोचना), रसियाली रूपवाद, संरचनावाद, उत्तरसंरचनावाद, विनिर्माण, पाठक प्रतिक्रिया सिद्धान्त, नारीवाद, माक्र्सवाद, मनोविश्लेषणात्मक समालोचना, नवइतिहासवाद, लैङ्गिक अध्ययन, समलैङ्गिक सिद्धान्त अनि उत्तरऔपनिवेशिक सिद्धान्तका अनेकौँ दृष्टिले साहित्यिक पाठको अस्तित्वमाथि अहिले धेरै प्रश्नहरू उठाउँदै आएको पाइन्छ । इलियट र रिचर्डले समालोचनाको उद्देश्य लेखकदेखि पाठमा हुन्छ भन्ने विचारमा जोड दिए । नवआलोचकहरूले पाठ शब्दलाई लेखक अनि पाठकबाट एक झट्कामा उठाइदिए । पाठक प्रतिक्रिया सिद्धान्तले भन्छ— एउटा पाठ तब मात्र पाठ रहन्छ जब त्यसलाई पढ्ने पाठक हुन्छ नत्र यसको कुनै अस्तित्व रहँदैन । समालोचनाका विभिन्न अवधारणा, विविध सम्प्रदायले एउटा साहित्यिक पाठका अनेकौँ अर्थ र व्याख्याहरू दिँदै आएको पाइन्छ । ‘डेथ अव् अथर’ लेखमा रोलाँ बार्थले लेखकको मृत्युको घोषणा गरे । एउटा कृति जन्मेपछि त्यसमाथि सर्जकको कुनै हस्तक्षेप वा अधिकार रहँदैन भन्ने अवधारणाले साहित्यिक परिवेशमा चर्चा पाइरहेको समयमा लेखकमा जीवनी लेख्ने सोच पलाउनु त्यो पनि उन्नाइसौ शताब्दीका कवि भानुभक्त आचार्यको, आजको सन्दर्भमा जोखिमपूर्ण कार्य देखिन्छ । कृतिमाथि कृतिकारको प्रभाव रहे त्यो प्रभाववादी समालोचना हुन्छ भन्ने एक खाले तर्क रहेको साहित्यिक सङ्कथनमा अर्का खाले तर्कले लेखकको जीवनीबारे जान्ने आवश्यकता बोध पनि उत्तिकै प्रखरतासाथ गराउँछ ।
ठूलो जोखिम उठाउँदै लेखिएको नरेन्द्रराज प्रसाईकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ (सन् २०१५) अध्ययन गरेपछि पुस्तकले यही आवश्यकताबोध गराउँछ । पुस्तक हात लाग्नसाथ यसमा भानुभक्तसम्बन्धी के नयाँ कुरो होला ? भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक हो । त्यही जिज्ञासाले पाठक मनलाई पुस्तकतर्फ आकर्षित गर्छ । नेपाली साहित्यको जीवनीपरक समालोचनात्मक अध्ययनपरम्परामा मोतीराम भट्टको ‘कवि भानुभक्तको जीवनचरित्र’ (सं १९४८)ले एउटा बलियो घडेरी स्थापना गरेपछि यसै परम्परालाई समकालीन नेपाली साहित्यमा अनवरत रूपले लागिपरेर अघि बढाउने एक जना चिन्तक, अध्येता एवम् विद्वान् साहित्यकार हुन्— नरेन्द्रराज प्रसाई । बहुआयामिक सर्जक प्रसाई नेपाली साहित्यमा मुख्यतः नारी हस्ताक्षरलाई एउटा बलियो मञ्च प्रदान गर्दै नारी साहित्यकारको अस्तित्वका निम्ति डटेर काम गर्ने चिन्तकका साथै जीवनी लेखनमा असीम आनन्द प्राप्त गर्ने साहित्यकार हुन् ।
नेपाली साहित्यमा कवि भानुभक्तको जीवनीमाथि पहिलो चोटि लेखिएको मोतीराम भट्टको यस पुस्तकबाट थालिएको यस परम्परामा आजसम्म भारत र नेपालबाट कविका जीवनी एवम् कृतिबारे प्रशस्तै पुस्तकहरू प्रकाशित भएका छन् । तीमध्ये केही प्रमुख यस प्रकार छन्— ब्रह्मशमशेरको ‘कवि भानुभक्त’ (सन् १९३८), पारसमणि प्रधानको ‘भानुभक्त ग्रन्थावली’ (सन् १९५१), भाइचन्द प्रधानको ‘आलोचनात्मक ग्रन्थ आदिकवि भानुभक्त आचार्य’ (सन् १९५१), हृदयचन्द्रसिंह प्रधानको ‘भानुभक्त : एक समीक्षा’ (सन् १९५६), बालचन्द्र शर्माको ‘भानुभक्त’ (सन् १९५७), नारायण दत्त शास्त्रीलिखित ‘भानुको सम्झना’ (सन् १९६०), नरनाथ शर्माको ‘आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ (सन् १९६१), मुक्तिनाथ आचार्यको ‘भानुको भावना’ (सन् १९७१), सुमन ढकालको ‘कवि भानुभक्त र उनका केही साहित्यिक पक्ष’ (सन् १९८८), जुननाथ शर्माको सम्पादनमा प्रकाशित ‘भानुका लघु कृतिहरू’ (सन् १९६६), इन्द्रबहादुर राईको सम्पादनमा ‘भानुभक्तका कृति : अध्ययनहरू’ (सन् १९६९), गुमानसिंह चामलिङद्वारा सम्पादित ‘कविवर भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न’ (सन् २००१) तथा सत्यप्रकाश तिवारीको सम्पादनमा हिन्दीमा प्रकाशित पुस्तक ‘तुलसीदास और भानुभक्त : सामाजिक और सांस्कृतिक परिदृश्य’ (सन् २०१२) आदि । उल्लिखित पुस्तकहरू पाठकमा पुगेपछि, ती पुस्तकहरूको गहन अध्ययन भएपछि फेरि प्रसाईले यो पुस्तक लेख्नुको औचित्य किन रह्यो र भन्ने प्रश्नको ठोस र सन्तोषजनक उत्तर यो पुस्तक पढ्नसाथ थाहा भइहाल्छ । कारण कविसम्बन्धी लेखिएका यी पुस्तकहरूले समेट्न नसकेका कतिपय मुख्य आयामहरूलाई प्रसाईलिखित यस पुस्तकले समेट्न सकेको छ ।
कवि भानुभक्तले नेपाली समाज र साहित्यमा आफ्ना उत्कृष्ट कृतिमार्फत जतिको धेर लोकप्रियता प्राप्त गरे त्यसको श्रेय केही मात्रामा यिनको जीवनी र कृतिसम्बन्धी समयसमयमा उठेका विवादहरूलाई पनि दिन सकिन्छ । भानुभक्त अध्ययनपरम्परामा विवाद उठाउने कलम, समस्या देखाउने हात र मस्तिष्क अनेक देखिए तापनि त्यसका निराकरणतर्फ जाने र सोच्ने मनहरू कविले कमै पाएका छन् । तीमध्ये जीवनी लेखक नरेन्द्रराज प्रसाईले कवि भानुभक्तसम्बन्धी यस्ता भ्रम फैलाउने केही प्रसङ्ग, अनि अपत्यारिला चर्चाले कविको व्यक्तित्व धमिल्याउने कतिपय प्रयासहरूलाई तथ्यका आधारमा र सत्य घटनाको खोजी गरी ठोस उदाहरणसहित सही कुरा प्रस्तुत गरेका छन् । भानुभक्तका अन्य जीवनीकारले अघि गर्न नसकेका अथवा गरेर पनि काँचो स्थितिमा छोडेका, अपूर्ण प्रसङ्गहरूको स्पष्टतः खण्डन गर्दै प्रसाई यस पुस्तक लेखनकालमा खूबै सचेत, विवेकीपूर्ण, विनयशील रही सुन्दर ढङ्गमा कुराहरूको बिट मार्न सक्षम देखिन्छन् । जस्तै, भानुभक्तको जन्ममिति, घाँसी र भानुको प्रसङ्ग, ‘वेश्या’ शब्दको प्रयोगबारे स्पष्टीकरण, भानु जागिरे हुनुको प्रसङ्ग, कविका मौलिक तस्बिर तथा उनका अन्य फुटकर कविताहरूका सम्बन्धमा गरिएका प्रासङ्गिक अनि समसामयिक कुराहरूले कवि भानुलाई यी विवादहरूबाट मुक्त गर्ने महत् कार्य गरेको छ । भानुभक्त अध्ययनपरम्परामा कविलाई विवादहीन, भ्रमहीन बनाएर यिनको सही मूल्याङ्कन हुन नितान्त जरुरी थियो जो यस पुस्तकले पूरा गरिदिएको छ । कवि कसैको पेवा होइन यिनी नेपाली साहित्यका अमूल्य धरोहर हुन् र यिनका कृतिहरूलाई ससमय साहित्यिक तथा काव्यिक उचाइ प्रदान गर्नु प्रसाईलिखित यो पुस्तक सफल भएको छ ।
नरेन्द्रराज प्रसाई स्पष्टवादी जीवनीकार हुन् । यिनको कलमले कुनै पूर्वाग्रह नलिई साहित्यिक न्याय दिने आग्रह राख्छ । त्यही आग्रह प्रस्तुत जीवनवृत्तमा पनि विद्यमान रहेको छ । उदार मनका धनी र दृढ सङ्कल्पी यिनले आफ्नो अध्ययनको मूल आधारग्रन्थ मोतीराम भट्टलिखित कवि भानुभक्तको जीवनचरित्रलाई मानेका छन् । अग्रज तथा समकालीन लेखकका सटीक अनि विश्वस्त स्रोतलाई पनि यिनले सन्दर्भअनुरूप आधार लिएका छन् ।
कुमार प्रधान भानुभक्तीय रामायणलाई नेपालीको जातीय महाकाव्य अनि हाम्रो साहित्यको एउटा प्रमुख कृति मान्छन् । उक्त भनाइलाई पुष्टि गर्नाका निम्ति प्रधानले संस्कृत अध्यात्म रामायण र वाल्मीकि रामायणको तुलनात्मक अध्ययन गर्दै कवि भानुभक्तले आफ्ना महाकाव्यमा के कति मौलिकता ल्याएका छन् त्यसबारे विस्तृत एवम् गहन चर्चा गरेका छन् । कुमार प्रधानको भनाइलाई प्रसाई यसरी समर्थन गर्छन्— “भानुभक्तको ‘रामायण’ नेपाली साहित्यको प्राथमिक कालमा रचिएको पहिलो पूणर् लोकप्रिय महाकाव्य बन्यो । ‘अध्यात्म रामायण’को भावानुवादका रूपमा भानुभक्तले आफ्नो शैलीमा खिपेर छन्द र रामकथा रसको मीठो चास्नीमा ‘रामायण’ महाकाव्य प्रस्तुत गरे । यही ‘रामायण’मा भानुभक्तको सृजनात्मक काव्यसामथ्र्य पनि सबभन्दा बृहद् आयाममा टड्कारो रूपमा देख्न सकिन्छ ।” (पृ. ११६—११७)
नेपाली साहित्यमा जीवनी लेखन विधाले त्यति ध्यान आकर्षित गर्न र महत्त्व पाउन नसकिरहेको स्थितिमा नरेन्द्रराज प्रसाई यस पुस्तक लेखनबाट त्यसै विधालाई एउटा थप उचाइ प्रदान गर्न सक्षम देखिन्छन् । काम गर्नेले गर्दै जान्छन् त्यसको मूल्याङ्कन स्वतः समयले गर्छ भन्ने अटुट विश्वासका साथ अघि बढ्ने सर्जकहरूमा अग्रपङ्क्तिमा देखिने नरेन्द्रराज प्रसाईको मूल विधा नै जीवनी लेखन हो । पारिजात, लैनसिंह बाङ्देल, दौलतविक्रम विष्ट, कोइलीदेवी, ललितत्रिपुरसुन्दरी, देवकोटा, वानीरा गिरी आदिका सुन्दर जीवनगाथा लेख्न प्रसाई सफल छन् । त्यसैले नरेन्द्रराज प्रसाईलाई नेपाली साहित्यका जीवनी लेखनका ‘सम्राट्’ माने हुन्छ । प्रसाईको यो पुस्तक खोजमूलक, शोधमूलक, अन्य जीवनी पुस्तकहरूको गहन र तुलनात्मक अध्ययन गरी बडो इमानदार, मेहनत र परिश्रमपूर्वक तयार गरेको प्रमाणित हुन्छ । आउँदा दिनहरूमा कवि भानुभक्त आचार्यमाथि शोधकार्य गर्ने हरेक विद्यार्थी, शोधार्थीका निम्ति कविसम्बन्धी जे जति सामग्री चाहिनेछन् ती सबै यस पुस्तकमा उपलब्ध हुनेछ र यो पुस्तक सन्दर्भग्रन्थ बन्नेछ । जीवनीकार नरेन्द्रराज प्रसाईले यति सुन्दर, उत्कृष्ट एवम् उपयोगीमूलक कृति नेपाली साहित्यमा चढाएबापत हार्दिक बधाई टक्य्राउँछु । कवि भानुभक्तलाई नयाँ आयाम एवम् नवीन दृष्टिबाट चिन्नलाई उनको यो पुस्तक समालोचनाको विकासयात्रामा एउटा माइलखुट्टी साबित भएको छ ।
स्पष्ट विचारसहित लेखिएको यस पुस्तकमा यिनको प्रस्तुतीकरण शैली नितान्त मौलिक छ । प्रयुक्त सरल भाषाले यो जीवनवृत्त खूबै ताजा र चाखलाग्दो भएको छ ।