शिवप्रसाद शिवाकोटी र बुटन चौधरी एउटै वडाका बासिन्दा थिए । त्यसैले उनीहरूको प्रायः सम्पर्क भइ नै रहन्थ्यो । कहिले बुटन चौधरी शिवप्रसादका घर जान्थे त कहिले शिवप्रसाद बुटन चौधरीका घर आउँथे । शिवप्रसाद बुटनलाई दाइ भन्थे र बुटनले शिवप्रसादलाई भाइ भन्थे । वास्तवमा उनीहरू एकअर्कालाई कदर गर्न पनि जान्दथे । बुटन वडाध्यक्ष र शिवप्रसाद किसान जागरणका नेता हुनुको तात्पर्यले उनीहरूमाझ छलफल पनि भइरहने गर्थ्यो । वास्तवमा शिवप्रसादचाहिँ अन्यायको बिरोधमा लडिरहन्थे । त्यसैले स्थानीय सोझासाझाहरू शिवप्रसादले नै निसाफ दिन्छन् भनेर उनका छेउ पुगेर आफ्नो मन पनि खोल्ने गर्थे ।
२०२८ सालको कुरा हो— त्यस बेला सीफल सतारले शिवप्रसादलाई भनेका थिए— ‘म मर्छु होला । त्यसपछि मेरो जग्गा अरूले नै खान्छन् होला । तपाईंबाट मेरो जग्गाजमिन बच्छ भन्ने मैले आशा गरेको छु ।’ शिवप्रसादसँग रोएको एक महिना नपुग्दै साठी वर्षीय सीफल दिवङ्गत भएका थिए । त्यसपछि शिवप्रसाद सीफलको जग्गाको संरक्षणमा पनि लागेका थिए ।
सीफलको निधन भएपछि उनका बाह्र बिघामा रोपिएको धान पाक्न थाल्यो । अनि भगवान् गिरीको नेतृत्वमा गिरीको चिया बगानका मजदुर आई धान काटेर गिरीका खमारमा पुर्याएका थिए । त्यो डरलाग्दो लुटपाटले शिवप्रसादहरू चिन्तित भएका थिए । त्यसपछि उनीहरूले पनि योजना बनाए र किसानहरू भेला पारेर सीफलका खेतमा असारमा धान रोपिएको थियो । अनि धान पाक्न थालेको मात्र थियो, किसानहरूले सतारको धान माडेर बुटन चौधरीको संरक्षण भएको धर्म भकारीमा थुपारेका थिए । पछि जाली, फटाहाहरूले अर्काको धान फलानाहरूले लुटे भनेर आरोप लगाउछन् भन्ने डरले सम्पूर्ण धानको हिसाबकिताप गरेरै बुटनकै संरक्षणमा शिवप्रसादहरूले धान राखेका थिए । तर केही दिन नबित्तै त्यो सबै धान बुटनले धर्म भकारीबाट निकाल्न लगाई गिरीलाई नै सुम्पेका थिए । त्यति मात्र होइन सीफलकी पत्नी रानी सतार्नीलाई समेत ललाइफकाई गरेर बाह्र बिघा खेत गिरीबन्धुकै हातमा पुगेको थियो । यस मामलामा पनि बुटनकै हात थियो भन्ने आरोप पनि लगाइयो । साथै रानीको बाह्रै बिघा खेत गिरीकै चिया बगानमा रूपान्तरित पनि भयो । आफ्नो घरजग्गा पूरै गुमेपछि रानी सतार्नी र उनका छोराछोरीले अरूहरूकै मजदुरी गरेर ज्यान पाल्ने गरेको बेहोरा दधिराम उप्रेतीले म (नरेन्द्रराज प्रसाई) लाई बताएका थिए । हुने खाने रानी सतार्नी सुकुमबासी भएपछि बुटन चौधरी स्थानीय किसानहरूका ठूलै आँखी भएका थिए ।
स्थानीय विचारी पुण्यप्रसाद कोइरालाका कारण जोडिनाले पनि बुटन चौधरी किसानहरूका लागि खराब तत्वमा देखिएका थिए । विचारी भन्नु पहिला अदालतमा काम गर्थे । उनी लेखापढीको काममा पारङ्गत थिए । त्यही पेसाबाट उनी गरिबलाई जालझेल र अनेक प्रपञ्च गरेर कज्याउन सिपालु थिए । त्यसैले झापामा उनी जाली फटाहा विचारी कोइराला भनेर प्रसिद्ध पनि थिए । तर उनका सहोदर भाइ ढुण्डिराज कोइराला भने इमान, जमानका पक्का अनि मिलनसार र सरल मान्छेका रूपमा परिचित थिए ।
झापामा बुटन चौधरीले काटिनुपर्ने कारकमध्ये विचारी पुण्यप्रसाद कोइराला पनि एक जना थिए । कोइराला र चौधरी खुबै मिल्थे । बुटनको सोझोपनाको कोइरालाले एक सय प्रतिशत फाइदा उठाएका थिए । धर्म भकारीमा भएको धान पनि बुटनलाई फकाएर कोइरालले सापट लिएर जान्थे । अनि उनले त्यही धान महङ्गो भाउमा किसानलाई बेच्ने गर्थे साथै उनले समयमा धर्म भकारीमा आफूले लिएको धान सापट बुझाउन आलटाल गरिरहने गर्थे । त्यही कारणले स्थानीय किसानहरू बुटनसँग क्रुद्ध थिए । त्यसै प्रसङ्गमा शिवप्रसाद शिवाकोटीले बुटन चौधरीलाई बराबर भन्ने गर्थे— ‘तपाईं वडाको सम्पत्ति विचारीको भकारीमा नपुर्याउनुहोस् । तर जति सम्झाए तापनि बुटनचाहिँ विचारीको कब्जाबाट उम्कन सक्तैन थिए । बुटन काटिनु धेरै पहिलादेखि नै शिवप्रसादले उनलाई बराबर भन्ने गर्थे— ‘बुटन दाइ ! विचारी कोइरालादेखि गिरीहरूसम्मको सङ्गत छाड्नु भएन भने तपाईलाई धेरै अप्ठ्यारो पर्न पनि सक्छ है !’ तर बुटनले शिवप्रसादको सल्लाहमा कहिले ध्यान पुर्याएका थिएनन् ।
२०२९ वैशाख २८ गतेको कुरा हो— शिव दाइकै निर्देशनमा हाम्रो छिमेकी अथवा सालबारीकै बुटन चौधरीको भौतिक चोला समाप्त पारेको समाचार मैले काठमाडौँमा नै सुनेको थिएँ । चौधरी शनिश्चरे गाउँ पञ्चायत वार्ड नम्बर ६ का वडाअध्यक्ष थिए । किसानउपर अन्याय गरेको, रानी सतार्नीको बिजोग हुनुमा सहभागिता जनाएको र सामुदायिक सम्पत्तिको दुरूपयोग गरेको अभियोगमा उनको भौतिक चोला समाप्त पारिएको थियो ।
मेरो प्यारो भूमिमा बुटन चौधरीको हत्या भयो । त्यस घटनाले झापाको आकाशै डरले थरथर कामेको थियो । अनि त्यसै बेला मेरी आमाले मलाई एउटा चिठी लेखेकी थिइन्—
‘मेरो प्यारो छोरा नरेन्द्रराज प्रसाई
तँलाई शुभाशिष् छ; बाबू !’
तँलाई बिदा गरेपछि मैले यता निरासिलो जीवन बिताइरहेकी छु । तँ यहाँ थिइस् र मसँगै सबै थोक थियो । तँ हिँडेपछि म शून्य भएकी छु, रित्तो भएकी छु ।
बुटन चौधरीलाई अस्ति वैशाख २८ गते काटेर मारेछन् । अहिले सालबारी कोकोहोलोमा छ । यता सबैतिर डर र रुवावासी छ । तँ धन्न हिँडिछस्; मेरो छोरा ! यदि तँ पनि यतै भएको भए तँलाई पनि थुन्थे । तेरो साथी खड्ग दाहाललाई पनि जेलमा हुलिसकेका छन् भन्ने सुनेँ । उसलाई पनि जेलमा कुवाउँछन् क्यारे ! शिवप्रसादको खुट्पत्तो छैन । यदि तँ यहाँ भएको भए तँलाई रूखका टुप्पामा झुन्ड्याएर गोली हान्थे होला । तँ बेलैमा काठमाडौँ गइस् र बाँचिस्; बाबै ! यता जे हुनु भयो, भइ नै सक्यो । तँचाहिँ घर नसम्झी राम्ररी पढ् है बाबू; मेरो छोरा !
तँलाई माया गर्ने तेरी दुःखी आमा
(भागीरथा प्रसाई)’
२०२९ साल असार ५ गते
मेरी आमा निरक्षर थिइन् । तर उनी मलाई चिठी लेखी पठाइरहन्थिन् । मेरो भाइ हरि रानामगरका अक्षरमा मैले मेरी आमाको यो चिठी पाएको थिएँ । त्यतिखेर रानामगर ६ कक्षामा पढ्थे र अहिले उनी झापाको अर्जुनधारा महानगरपालिकाका प्रमुख (मेयर) भएका छन् । त्यतिखेर हरि भाइले नै प्रायः मेरी आमाको चिठी लेखिदिने गर्थे ।
त्यतिखेर म पद्मोदय हाईस्कुलमा पढ्थेँ । नौ कक्षाको परीक्षा दिएपछिको स्कुल छुट्टीमा म झापा गएँ । बुटन चौधरीको हत्याको अभियोगमा मेरा साथी खड्ग दाहाल पनि जेल परिसकेका रहेछन् । उनलाई भेट्न म चन्द्रगढी जाने क्रममा थिएँ । त्यतिखेर मेरी आमाले मलाई भनेकी थिइन्— ‘छोरा ! तैँले त्यहाँ केही पनि नबोल्नु, भेटेर मात्र आउनु ।’ अनि म सरासर जेलमा गएँ । जेलको दैलाछेउमा एकछिन कुरेपछि खड्ग दाहाल म भएठाउँमा आए । त्यस घडी हामी दुवै जना रोएका थियौँ । त्यतिखेर उनले मलाई भनेका थिए— ‘पुलिसले कुटेर मेरा त घुँडाका पाङ्ग्रा पनि तल सारिदिएका छन् ।’ त्यस घडी खड्गको कुरा सुनेर म एकाएक झोक्राएको थिएँ । वास्तवमा म काठामाडौँ आउन चार महिना मात्र ढिलो भएको भए मेरो हालत पनि खड्गको जस्तो नै हुने रहेछ भनेर मेरा मनमा कुरा खेल्न थालेको थियो । त्यसै बेला मैले सोही काण्डमा जेल बसेका दधिराम उप्रेतीलाई पनि भेटेको थिएँ । ती दुई भाइको त्यस्तो अवस्थाको दृश्य हेरेर म भित्रभित्रै धेरै दुखेको थिएँ । वास्तवमा त्यो दिन मेरो मन बेजोडले रोएको थियो ।
बुटन चौधरीको हत्याले पूर्वी नेपाल नै आतङ्कित भएको थियो । त्यसपछि घरघरमा शिवप्रसाद शिवाकोटीको नाउँ छ्यापछ्यापती भएको थियो । त्यस घटनापछि खास गरेर धनीमानी र किसानमाराहरू दुलोदुलोमा पस्न थालिसकेका थिए । त्यसअघि झापाका हुनेखानेका घरहरूमा पनि बार्दली खुला नै हुन्थ्यो । त्यस घटनाले प्रायः प्रत्येकका घरका बार्दली छडले घेरिन थालेका थिए । किनभने रात परेपछि विद्रोहीको सिकार हुने तिनीहरूमा डर थियो । साथै त्यसपछि हुनेखानेहरूको शौचालय पनि घरभित्रै बन्न थालेको थियो ।
बुटन चौधरीको हत्याले झापामा मात्र होइन देशैभरि कोहोलो मच्चिएको थियो । त्यस बेला सञ्चारको साधन न्यून भए तापनि त्यस घटनाले नेपालभरि झ्याली पिटेको थियो । अनि त्यस्तो घटना घटाउने झापा विद्रोह थियो भने बुटन चौधरी अनाहक मारिएका थिए । उनको हत्या भएपछि विद्रोहीमध्ये धेरैले पश्चात्ताप पनि गरेका थिए । त्यस हत्याकाण्डपछि शिवप्रसाद शिवाकोटीको टाउको खोजिएको बेहोराले झापा छ्याप्छ्याप्ती भएको थियो । त्यस हत्या काण्डमा सीपी मैनाली, राधाकृष्ण मैनाली, खड्गप्रसाद शर्मा ओली मङ्गलमर्दी सतार, मसला धिमाल, भूसा धिमाल, दधिराम उप्रेती, खड्गप्रसाद दाहाल, छविलाल राजवंशी, भोगेन राजवंशी, हर्कबहादुर खड्का, टङ्कप्रसाद घिमिरे, खड्गबहादुर मगर, जगतबहादुर कुमाल, अमृतबहादुर कुमाल, रामदेव चौधरी, शेरबहादुर निरौला, ज्ञानबहादुर कार्की, गङ्गाप्रसाद भारती, हरि मैनाली, अमरबहादुर गिरी, तुलसी सिलवाल र शेरबहादुर श्रेष्ठ, देगनाथ दङ्गाल, कालीबहादुर बन र हरिभक्त गिरीलाई दण्ड दिने फैसला भएको थियो ।
‘शिवप्रसाद शिवाकोटीको जीवनी− १२ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको आग्रह छाड्दा बुटन चौधरीको हत्या- दुई’ पढ्नुहोला ।