राजनीतिक सेयर बजारमा अहिले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको सेयरभाउमा अस्वाभाविक उछाल आइरहेको छ । राजनीतिको सेयर बजारका एकदुईजना दलालहरूले सेटिङमार्फत् बुलिङ्तर्फ धकेलिरहेको माधव नेपालको सेयरलाई राजनीतिको बजारमा कुन दिन कौडीको भाउमा नबिक्ने बनाएर छाड्ने हुन् भन्ने चिन्ता र पिरलो लाग्नु स्वाभाविकै हो । कामरेड नेपालको यो बुलिङ् ट्रेन्ड देख्दा मलाई उहाँकै थरराशिसँग मिल्ने उहिलेको एक जमानाको चर्चित “ नेपाल विकास बैङ्क” को सेयर डुबेको झल्झली याद आइरहेछ ।
राजनीतिको प्राइमरी सेयर बजारमा खासै चासो नराख्ने र सेकेन्डरी सेयरबजारमा विशेष गरी अर्काको पूँजीमा फ्वाँ फ्वाँ गर्दै सेयरबजारमा अस्वाभाविक उछाल ल्याउने एउटा गिरोहको उदय २०६३ सालदेखि भयो भनिन्छ ! यो गिरोहको मुख्य काम एउटा कम्पनीका सञ्चालकका ढाडमा टेकेर अर्को कम्पनीको सेयर डुबाउने नै थियो । यसरी अर्काका ढाडमा टेक्ता टेक्ता आफ्नो टेक्ने जमिन नै विलीन हुँदै गएको र आफ्नो राजनीतिक कम्पनीको सेयर चाहिँ धराशयी भएको भने उसलाई होसै थिएन !
यस गिरोहले यस बिचमा राजनीतिका येमानका कतिपय महारथीहरूको उच्चतम विन्दुमा पुगेको सेयरलाई कौडीका भाउमा पनि नबिक्ने पार्नु र ती सेयरजति आफ्नै परिवारका सेरोफेरोका आसेपासेमा मात्र सीमित राख्ने काम मात्र गर्यो । जबर्जस्ती डर,धाक र त्रासबाट आर्जेको आफ्नो राजनीतिक सेयरलाई आर्थिक सेयरमा रूपान्तर गरी सम्पत्तिको शिखर खडा गर्नु र अकूत सम्पत्ति अर्जन गर्नु यसको मूल ध्येय रह्यो । नयाँ दिल्लीको नब्बे प्रतिशत सेयर रहेको भनिने गरेको र नेपाली जनतामा खासै साधारण सेयर जारी नगरेको गणतन्त्र नामक कम्पनी मैले मात्र ल्याएँ भनेर नाकका पोरा फुलाउने यो गिरोहका नाइकेहरू नेपाली राजनीतिको सेयर बजारलाई ध्वस्त पार्न उद्यत छन् । र नेपाली राजनीतिको सेयर बजारमा निश्चित स्थिर पूँजी भएका माधव कामरेड जस्ता नेतामा हावा भरेर बडेमानको बेलुन जत्रो आकारमा पुर्याई सेयरबजारमा खेल्ने काम गरिरहेछन् । र कुन दिन बेलुन फुलेझैँ फुलेको माधव नेपालको सेयरलाई निज गिरोहले आफ्नो निजी स्वार्थको सियोले च्वास्स घोचेर फ्वास्स पार्ने हो, त्यो दिन आउन सक्नेतर्फ पुराना सेयर खेलाडी माधव नेपालले पक्कै पनि सचेत हुनै पर्ने हो ।
वास्तवमा राजनीतिको सेयर बजारमा माधव नेपालको ‘सेयर मूल्य’ न घाटा न नाफको स्थितिबाट हिँडेको अवस्था थियो तर २०६४ को संविधान सभाको चुनावमा कम्पनी करिबकरिब डुब्ने अवस्थामा पुगेर उहाँले आत्तिँदै राजीनामा पनि दिनु भाकै हो । उहाँको कम्पनीका केही सेयर होल्डरहरूमध्येका केही सञ्चालकहरूले विगत तिस वर्षदेखि निरन्तर लाभकापदका बोनस खाँदै राइट सेयर मार्फत पार्टीमा आफ्नो राजनैतिक जिमिदारी जमाउँदै आइ रहेका भए पनि आम जनताको लगानीले चाहिँ खासै प्रतिफल प्राप्त गर्न सकेको थिएन । आफ्नो रगत पसिना र सङ्घर्षको चुक्तापूँजीबाट बनेको नेकपा एमालेको सेयरको बोनस केही सञ्चालकहरूका लागिमात्र नाफाको खेल भइरहेकामा आम कार्यकर्ता र जनतामा एक प्रकारको हीनताबोध त छँदै थियो । आफूले लगानी गरेको कम्पनी मानसिब मुनाफामा नजाँदा र अरू कम्पनीका सेयरहरू मुनाफामा गइरहँदा जनतामा जुन निराशा थियो त्यो २०७१ मा भएको कम्पनी महाधिवेशनको साधारण सभाबाट केपी ओली नयाँ अध्यक्ष चुनिए पछि भने एमाले नामक कम्पनीको सेयर एक्कासि उकालो लागेर आम चुनावमा विजय दिलाई त्यसको प्रतिफल आम जनताले प्राप्त गर्ने बिन्दुमा समेत पुग्यो । नेकपा एमाले राजनीतिको सेयर बजारको धुरी बन्यो, भने यसका भाइरल ब्रान्ड बन्नु भो- केपी ओली ।
कुन दिन बेलुन फुलेझैँ फुलेको माधव नेपालको सेयरलाई निज गिरोहले आफ्नो निजी स्वार्थको सियोले च्वास्स घोचेर फ्वास्स पार्ने हो, त्यो दिन आउन सक्नेतर्फ पुराना सेयर खेलाडी माधव नेपालले पक्कै पनि सचेत हुनै पर्ने हो ।
कामरेड केपी ओलीले आफ्नो नाफामा गएको कम्पनीसँग माओवादी नामक ( लिक्विडेसन विघटन ) को सँघारमा पुगेको कम्पनीलाई आस्वभाविक अर्थात् चालिस प्रतिशत सेयर मूल्य प्रदान गरी नेकपा एमालेमा समायोजन गर्ने जुन कार्य गर्नु भो त्यसबेला लामो समयदेखि आफ्नो प्यारो पार्टी एमालेमा सेयर लगानी गरेका साधारणसेयर होल्डरहरूको मन सारै कुँडिएकै हो। मदन भन्डारीको बहुदलीय जनवादको सिर्जनात्मक ब्रान्डेड कम्पनीलाई लगेर ध्वशात्मक र रक्तरञ्जित एवम् बदनाम कम्पनीसँग मिलाउनु भो । एउटा कुहेको फलले अरु सद्दे फललाई पनि सखाप पार्छ भनेझैँ कुहेको कम्पनीलाई सद्दे र नाफामा गएको कम्पनीलाई झैँ गरी सेयरभाउ दिएका कारण एउटा अनुशासित कम्युनिस्ट पार्टीवृक्षमा मिसिन आइपुगेको ऐजेरु कम्पनी तीनवर्षसम्म पार्टीको पूँजीलाई निष्क्रिय पारी सञ्चालकहरूबीच भाँडभैलो मच्चाई जनताको साझेदार कम्पनीलाई निजी पारिवारिक प्रा।लि।मा रूपान्तर गर्न ज्यान छाडेर लागेको कुरो जगजाहेर भएकै हो । कैयौँ पार्टी कम्पनी खोल्दै र तिनलाई डुबाउने र आफू र आफ्नो परिवार र नातागोता र गणेशमार्गीहरूलाई पोस्दै जनयुद्धमा बगाएको सर्वसाधारण गरिब जनताको सेयर समेत आफ्ना नाममा नामसारी गर्ने र लगानीकर्ता डुबाउनेका पछाडि केही राम्रो जनाधार पूँजी भएका कम्पनीका सञ्चालकहरू समेत लहैलहैमा लागेको देख्दा भने दुनियाँ दङ्ग परिरह्यो ।
उता आफू पार्टी-कम्पनी सञ्चालक हुँदा सो कमपनीको सेयर आक्रामक रूपमा बढाउन नसके पनि केपी ओली प्रमं हुँदा पार्टी र देशको इज्जतको सेयर समेत बढेकामा माधव कमरेड खुसी हुनु पर्नेमा खै किन उहाँमा बेला बेला झाँक्री उत्रिरह्यो कुन्नि ? यता हिजो मुलुकमा मच्चिएको जातीय, क्षेत्रीय लगायतका राष्ट्रियतालाई घाटामा पुर्याउँदै चुर्लुम्म डुबाउन स्थापना भएका विभिन्न हिंसात्मक पार्टी कम्पनीहरूका सेयरलाई शून्यमा झार्ने काम केपी ओलीकै अडानबाट भएको हो ! केपीकै कारण ‘मान्छे पोल्ने ईटा भट्टा कम्पनी’का कारोबारीहरू जेलपरे ! केपीकै कारण मधेश र पहाडका नाममा घृणाको कारोबार गरी हिँसामञ्चन गर्ने कैयौँ कम्पनी धराशयी भए र तिनका विषाक्त उत्पादन बन्द भए । सिके राउतको हिंसात्मक र विभाजक कम्पनीमा रहेको अराष्ट्रियताको सेयर पूँजीलाई राष्ट्रियताको सेयर पूँजीमा रुपान्तर गर्ने काम पनि केपी ओलीबाटै भयो । जनयुद्धमा बगेको जनताको सेयरलाई निजी गुठीमा रूपान्तर गरेको पटक्कै चित्त नबुझी पुनः विद्रोहपथमा बरालिएको विप्लव समूहको कम्पनीलाई पनि संविधानकै मूल धारको नेप्सेमा सूचीबद्ध गर्ने काम पनि केपीकै चातुर्यका कारण भयो ।
‘हँसिया हथौडा छाप कम्पनी’को तन्त्रजालमा पसी आफ्नो कम्पनीका तेइस कित्ता सेयर चोरेर प्रतिस्पर्धी ‘रूख छाप कम्पनी’मा अवैध रूपमा गाँसेर उहाँले गम्भिर गल्ती गरिसक्नु भएको छ । जतिबेला पनि ड्याम्म फुटाल्ने गरी बनावटी रूपमा उच्चतम बिन्दुमा पुर्याइएको बेलुनजस्तो उहाँको कृत्रिम सेयरलाई शून्यमा झार्ने गरी उहाँमाथि भैरहेको षडयन्त्रबारे उहाँ जानकार हुनुहोस् भन्ने शुभेच्छा प्रकट गर्नु जरूरी छ ।
संविधान निर्माण हुँदै गर्दा दशगजामा बसेर ढुङ्गा हान्ने र शिशु संविधानको गला निमोठ्न, वर्तमान संविधान जलाउन र संविधान दिवसलाई कालो दिन भन्न तम्सिने एकथरी समूहको कम्पनी र त्यस कम्पनीका सदस्यलाई सिंहदरबारभित्र जुलुसकै रूपमा प्रवेश गराएर नेपालको संविधान बमोजिम संविधान मान्ने गरी मन्त्री पदको सपथ ख्वाएर संविधानको सेयर पूँजीतर्फ आकर्षित गर्ने काम पनि केपी ओलीकै नेतृत्वबाट भयो । लिम्पिया धुरामा अभूतपूर्व राष्ट्रिय सहमति जुटाई मुलुकको इज्जतको सेयर वृद्धिलाई आफ्नो एकमात्र ध्येय ठान्दै पार्टी र सरकारको सेयरभाउलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा ल्याउने काम पनि केपी ओलीबाटै भयो । यसरी केपी ओलीको माध्यमबाट पार्टी र मुलुककै सेयरले प्रतिष्ठा पाइरहेको कारण नेपाली राजनीतिको सेयर बजारका एक आक्रामक खेलाडीका रूपमा केपी ओली देखा पर्नुभयो भने उहाँको चर्चाको सेयरले पनि शिखर छुँदा सेयर बजारका दुष्ट ब्रोकर र केही सहकर्मीहरूले सर्किट ब्रेक गर्दै उहाँको वेगलाई पटकपटक रोक्ने र भाँजो हाल्ने काम भने गरिरहे ।
जेसुकै होस्, माधव कामरेड राजनीतिको बजारका मध्यम स्तरका सेयर खेलाडी हुनुहुन्छ उहाँका पालामा कम्पनी नाफामा पनि कहिल्यै गएन । यद्यपि उहाँका वरिपरिका केही सञ्चालकहरूले मनग्गे बोनस र राइट सेयर लिए होलान् र अहिलेको पाँच वर्ष त्यो बोनस र नाफाहरू र आम जनतामा जान थाले पछि कम्पनीको सञ्चालक भै निजी नाफामा रमाएका ती सञ्चालकहरूलाई बेचैनी र छटपटी भयो होला । तिनैले उचालेका भरमा र नेपाली राजनीतिमा प्रवेश गरेका केही दलालहरूले हावा भरेका भरमा कामरेड माधव नेपाल अहिले राजनीतिको सेयरबजारमा बेलुन उडेझैँ फुरफुर उडेर आकाशमा पुग्नु भएको छ र आफुलाई सबैभन्दा उँचो ठान्नु भएको छ । ‘हँसिया हथौडा छाप कम्पनी’को तन्त्रजालमा पसी आफ्नो कम्पनीका तेइस कित्ता सेयर चोरेर प्रतिस्पर्धी ‘रूख छाप कम्पनी’मा अवैध रूपमा गाँसेर उहाँले गम्भिर गल्ती गरिसक्नु भएको छ । जतिबेला पनि ड्याम्म फुटाल्ने गरी बनावटी रूपमा उच्चतम बिन्दुमा पुर्याइएको बेलुनजस्तो उहाँको कृत्रिम सेयरलाई शून्यमा झार्ने गरी उहाँमाथि भैरहेको षडयन्त्रबारे उहाँ जानकार हुनुहोस् भन्ने शुभेच्छा प्रकट गर्नु जरूरी छ ।
माधव कामरेडले दर्जनौँ कम्पनी खोलेर तिनलाई डुबाउँदै फेरि नयाँ नयाँ कम्पनी खोल्ने फ्रड व्यक्तिसँगको अवैध सम्बन्ध अर्थात् डीपलभ मार्फत चलेको लिभिङ टुगेदरबाट उहाँ निस्कनै पर्छ र “नाइ मलाई तीती पद चाहिन्छ भन्ने विधि र पद्धति ( !)” को उहाँको कुन्ठापूर्ण मौलिक भाष्य नै त्रुटिपूर्ण छ भन्ने बुझ्नै पर्छ । उहाँले कम्पनीको साधरणसभा नै नगरी त्यसको अध्यक्ष मलाई नदिए यो कम्पनी डुबाएरै छोड्छु भन्ने बालहठ त्याग्नु पर्छ अनि आफ्नो बास्तविक लगानी र सेयर मूल्यअनुरुप र वास्तविक विधि र पद्धति अनुरूप उहाँ र उहाँससँग भौतारिएका केही कित्ता कित्तीहरू मूल कम्पनीमा फर्कनै पर्छ र गम्भिर आत्मसमीक्षा र मन माझामाझ गरी कम्पनीको हिस्सेदारीमा आबद्ध हुनु जरुरी छ ।