शिवप्रसाद शिवाकोटीबाट झापा विद्रोहको नेतृत्व- २

शिवप्रसाद शिवाकोटीबाट झापा विद्रोहको नेतृत्व- २

  • शनिबार, असार १९, २०७८
  • नरेन्द्रराज प्रसाई

  • 12.7K
    SHARES

शिव दाइले मेरी आमासँग विदा मागेको भोलिपल्ट सालबारीकै घुरन बस्तीबाट बच्चा मरेको खबर आयो । त्यस बच्चालाई गाड्न सरेडाँगीतिरको जङ्गलमा लाने कुरा भयो । शिव दाइ पनि त्यस बच्चाको मलामी गएका थिए । बच्चाको संस्कार सकेपछि सबैलाई ‘लालसलाम’ भनेर उनी चारआलीतिर लागेका थिए । अनि उनीसँग सालबारीसितको उज्यालोमा हुने प्रत्यक्ष सम्पर्क त्यसै दिन समाप्त भएको थियो । तर रातिरातिचाहिँ उनी प्रायः सालबारीतिर पनि आइरहने गर्थे ।

शिव दाइले ‘लालसलाम’ भनेको भोलिपल्ट शिव दाइलाई खोज्न सालबारीमा प्रहरीहरूको ओहोरदोहोर भइरहेको थियो । साथै शिव दाइका घरमा पनि प्रहरीहरू टन्नै बसेका थिए । भाउजू कृष्णा शिवाकोटीसँग प्रहरीले अनेक केरकार गर्न थालेका थिए । भाउजूले शिव दाइ कहाँ छन् भन्ने विषयमा आफू अनभिज्ञ भएको जानकारी प्रहरीसमक्ष दिएकी थिइन् । त्यसपछि उनीहरूले भाउजूलाई ‘हामी खसी काटेर खान आएका हौँ, खसी निकाल्’ भनेका थिए । अनि भाउजूले उनीहरूलाई जबाफ फर्काएकी थिइन्— ‘ऊ त्यो सुतेको कुकुर काटेर खाओ । तिमीहरूले खाने खसी त्यही नै हो !’

कृष्णा भाउजूको तीतो जबाफ पाएर पनि पुलिसहरू हाँसीमजा गर्दै शिव दाइका आँगनमा बासिरहेका थिए । साँझ परेपछि म घर फर्कें । भोलिपल्ट बिहानै म शिव दाइका घरमा पुगेँ । त्यतिखेर मैले त्यहाँ फेरि उति नै प्रहरी देखेँ । उनीहरूले मसँग शिव दाइकै प्रसङ्गमा केरकार गर्न थाले । मैले ‘मेरी ठूलीआमाको घरमा खान आएको’ भनेर म तर्केको थिएँ ।

डम्बरबहादुर डाँगी, अम्बरबहादुर पौडेल र आफूलाई पुलिस प्रशासनले पक्रने  शिव दाइले सङ्केत पाइसकेका थिए । त्यसैले उनीहरू तीनै जना हठात् रूपमा नै भारतको पश्चिम बङ्गालको नक्सलबारीतिर पुगेका थिए । त्यति बेला उनीहरू दिउँसो नक्सलमा नै बस्थे र रात परेपछि नेपाल आउने गर्थे ।

शिव दाइले औपचारिक रूपमा घर छाडे । घर छाडेर बेघर पुगेपछि शिव दाइहरूले झापामा विद्रोह मच्चाउने योजना बनाए । त्यस योजनामा रामनाथ दाहालको पनि सल्लाह थियो । सामन्तका भौतिक चोलामाथि प्रहार गर्न शिव दाइको योजनामा धेरै क्रान्तिकारीहरूले समर्थन गरेका थिए । शिव दाइ दिउँसोदिउँसो मेचीपारि भारतको पानीट्याङ्की, नक्सल र शिलिगुडी बस्ने र रातिराति सङ्गठन विस्तार गर्न झापा आउने क्रम भइरह्यो । त्यतिन्जेलमा उनले झापामा निकै ठूलो किसान सङ्गठन बनाइसकेका थिए । त्यसै बेला शिव दाइले दधिराम उप्रेती र खड्ग दाहाललाई लडाकू दस्तामा भर्ना गरेका थिए । उनीहरू शिव दाइका सबैभन्दा ठूला विश्वासपात्र थिए । उनीहरूमध्ये उप्रेती शिव दाइका मामाका छोरा र दाहाल साला थिए । त्यतिखेर उनीहरू दुवै शिवगृहमा नै बस्थे । सालबारीमा बसाइँ सरेपछि मैले पनि आफूलाई शिव दाइको योजनामा समाहित गरेको थिएँ ।

शिव दाइले चिनियाँ सांस्कृतिक क्रान्तिको समर्थन गरेर अघि बढेको सन्दर्भ कम्युनिस्टहरूका लागि प्रेरक थियो । त्यसैले पछि, पछि र पछिसम्म पनि मोहनचन्द्र अधिकारीले शिव दाइलाई ‘झापा विद्रोहका कमान्डर’ भनिरहे । कम्युनिस्टको चरण छुट्ट्याउनुपर्दा रामनाथ दाइ सैद्धान्तिक कम्युनिस्ट थिए, यूके दाइ बौद्धिक कम्युनिस्ट थिए र शिव दाइ व्यावहारिक कम्युनिस्ट थिए । शिव दाइको नीति नै बुर्जुवालाई छप्काउनुपर्छ भन्ने थियो । उनकै नीतिको अडानबाट नै झापा विद्रोहको आरम्भ भएको थियो ।

 अम्बरबहादुर पौडेल, शिव दाइका अति नै आज्ञाकारी थिए । शिव दाइ उनका आदर्श व्यक्ति थिए । उनीझैँ भीष्म धिमाल, खड्ग मगर, अमृत कुमाल, जगत कुमाल, मसला धिमाल, मङ्गलसिंह सतार आदि पनि शिव दाइका विश्वासिला कार्यकर्ता थिए । साथै मङ्गलसिंह सुनुवार, ज्ञानबहादुर कार्की, डम्बरबहादुर बानियाँ, हरिभक्त गिरी, हर्क खड्का, षडानन्द वाग्ले आदि पनि शिव दाइसँगै भूमिगत रूपमा नै काम गर्थे । यी सबै जना प्रायः शिव दाइकै घरमा भेला हुन्थे । उनीहरू सबैले शिव दाइकै सल्लाहमा काम गर्थे ।  २०१९ देखि २०२७ सालसम्म रामनाथ दाइको घर झापा क्रान्तिकारीको केन्द्रीय कार्यालय थियो । त्यतिखेर मोहनचन्द्र अधिकारी, शिवप्रसाद शिवाकोटी, राधाकृष्ण मैनालीको रासोबासो नै त्यही घरमा थियो । त्यस घरको भान्सामा रातोदिन आगो बल्थ्यो । रामनाथ दाइलाई जनसम्पर्क र खुवाउने खुबै सोख थियो । त्यसैले त्यो घर धर्मशाला हो या होटेल हो भनेर अरूहरूले थाहा पाउँदैन थिए । त्यति मात्रै होइन, रामनाथ दाइका घरमा प्रायः सांस्कृतिक कार्यक्रम पनि भइरहने गर्थ्यो । रामनाथ दाइ नाच्न, गाउन, बजाउन जे कुरामा पनि पारङ्गत थिए ।

 सुरुमा झापा क्रान्तिकारीको कार्यालय रामनाथ दाइका घरमा सञ्चालन हुन्थ्यो भने २०२७ सालदेखि सालबारीको शिव दाइका घरबाट झापा विद्रोहको कार्यालय सञ्चालन हुन थालेको थियो । अथवा भनौँ, शिवगृह झापा सङ्घर्षको अर्को प्रमुख कार्यालयमा रूपान्तरित भएको थियो ।

 शिव दाइका घरमा रामनाथ, राधाकृष्ण, चन्द्रप्रकाश, मोहनचन्द्र, यूके, नेत्र घिमिरे, नारद भारद्वाजआदि विद्रोहीको उपस्थिति देखिन्थ्यो । त्यस बेलाको त्यो रौनकबारे शिव दाइका पुराना सहकर्मी राधाकृष्ण दाइले सधैँ भनिरहे— ‘शिवप्रसाद शिवाकोटीको घर हाम्रो अड्डा थियो । झापामा किसानका लागि उभिने एक मात्र नेता कोही थिए भने ती शिवप्रसाद नै थिए । उनी झापा विद्रोहका नायक नै थिए ।’ त्यसै गरेर चन्द्रप्रकाश मैनालीले पनि भन्ने गरेका थिए— ‘शिव दाइ भन्नु झापा विद्रोहका जगढुङ्गा थिए । सालबारी भन्नु किसान आन्दोलनको प्रमुख केन्द्र नै थियो ।’

सालबारीबाट साइकल चढेर म शनिश्चरे हाईस्कुलमा पढ्न जान्थेँ । म आठ कक्षा पढ्दै भएको बेला पुलिसले प्रायः मलाई भेटेर खेरिरहने गर्थे । त्यतिन्जेलसम्ममा स्थानीय सामन्तीलाई छिनाउने भन्ने शिव दाइबाट जारी मौखिक परिपत्र मेरा कानमा पनि घुसिसकेको थियो । त्यसपछि मेरो मनमा अनेक द्वन्द्वले मलाई भरङ्गै पार्न थालेको थियो । पुलिसको हप्काइदप्काइ एकातिर छँदै थियो । स्कुलछेउमा पनि पुलिसले हेर्दा मलाई नै पक्रिन हेरेको हो कि भनेजस्तै मलाई भान हुन्थ्यो । मभित्र घट्न थालेका ती सबै बेहोरा मैले मेरी आमालाई बताउन थालेँ । आमाले पनि घरमा दिनरातैजसो मेरो बास हुन छाडेका कारण ‘पुलिसले तँलाई झुन्ड्याउँछन् छोरा ! बुद्धि पुर्‍याएर पाइला सार’ भन्ने गर्थिन् ।

मेरी आमा, ठुल्दाजु विष्णुभक्त प्रसाई र दिदी नीरा सिटौला भएर मेराबारे छलफल गर्न थालेको मैले थाहा पाउँदै जान थालेँ । उनीहरू तीनै जनाको एक स्वरका कारण मैले झापा जिल्ला छाड्नुपर्ने अवस्था आएको थियो । त्यतिखेरसम्ममा मैले आठ कक्षा पढिसकेको थिएँ । एकातिर पुलिसको छापा, अर्कातिर विद्रोहइतर मान्छेको मप्रतिको दृष्टिकोण र शिव दाइको मान्छे छिनाउने कामको मन्त्रको आन्तरिक योजना मेरो मनले धान्नै सकेको थिएन । त्यसैले मेरी आमा भागीरथा प्रसाई र दिदी नीरा सिटौलाको आशीर्वाद थापेर २०२८ साल माघ ६ गते मेरा भिनाजु नीलकृष्ण सिटौलाको साथमा म भद्रपुरको हवाइ मैदान पुगेको थिएँ । डकोटा विमान चढेर म त्यसै दिन काठमाडौँतिर हान्निएको थिएँ ।

‘शिवप्रसाद शिवाकोटीको जीवनी− ११  अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको आग्रह छाड्दा बुटन चौधरीको हत्या- एक’ पढ्नुहोला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी