नेकपाका वरिष्ठ नेता कमरेड माधव नेपाल आफू पनि आर्जेको, कमाएको र दुःख गरी निर्माण गरेको पार्टीसँग केपी ओलीसँगका जुँगाका लडाइ गर्दै क्रुद्ध भई आफ्नो पार्टी भत्तकाउन र पार्टी बचाउन जससँग लडाइँ र सङ्घर्ष गरियो उसैका आँगनमा अकिञ्चन याचकको रूपमा देखापर्नु आम एमाले कार्यकर्ताका लागि दुर्दान्त पीडाको विषय हो । लोकतन्त्रका लागि लडेको सहकर्मी प्रतिगामी हुने र २०५२ सालदेखि संसदीय प्रजातन्त्रलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल भन्दै हत्या गर्न हतियार उठाइकाहरू र मुलुकका जहिल्यै अस्थिरताको खेतीगर्नेहरू आज उहाँका लागि लोकतन्त्रका सबैभन्दा ठूला मसिहा हुन पुगेको देख्ता निकै दुःख लाग्नु स्वाभाविकै हो । उहाँले आज आफ्नै पार्टीभित्र असुरक्षित महसुस गरेर हो वा आफ्नै विगत एक वर्षका केही कर्मले तर्सेर हो ! उहाँभित्रको वास्तविक माधव नेपाल बेपत्ता भएको छ र मणि बिनाको सर्प जस्तो माधव नेपाल बन्नु भएको छ । वास्तवमा आज उहाँमा नेकपा (एमाले) का विरुद्ध त्यसका विरोधीहरूसँग साँठगाँठ गरी आफ्नो घर भत्काउने भूत सवार भएको छ, त्यो भूत नउत्रिकन उहाँ नेकपा (एमाले) को वास्तविक माधव नेपाल बन्न गाह्रै छ । पन्ध्र वर्षसम्म नेकपा (एमाले) को कमाण्डर बन्नु भएका माधव नेपाल एक कार्यकालसम्म पनि आफ्ना एक सहकर्मीलाई कार्यकाल पुरा गर्न नदिई जुन खुमलटारको खेती र बुढानिलकण्ठमा ध्वजापताका चढाउने काम गर्नु भएको छ त्यसबाट फरक्क फर्केर उहाँ पुरानै लयमा आउनै पर्छ । त्यसो भयो भने उहाँ नेकपा (एमाले) को अध्यक्ष बन्न कसैले रोक्न सक्दैन । उहाँ एमालेको अध्यक्ष बन्नका लागि यी सर्तहरू उहाँले निसर्त पुरा गर्नै पर्छ:
(१) माधव नेपालसँग प्रचण्ड कमरेडको डिप लभ परेको र त्यो झ्याङ्गिएको कुरो खुलेआम आइसकेको छ । नेकपा (एमाले) को वरिष्ठ नेताको वरमाला पहिरिएर अर्को पार्टीको अध्यक्षसँगको लसपस अवैध सम्बन्धलाई उहाँले वैध र प्रस्ट रूपमा (उहाँले नै हुर्काएको स्कुलिङका आम कार्यकर्ताको चित्त बुझ्ने गरी) सम्बन्ध विच्छेद गर्नु पर्छ ।
(२) माधव नेपालभित्रको संयोजनकारी छविको पुनर्जागरण हुनै पर्छ, उहाँभित्र जसले विभाजनको तान्त्रिक जादु छरेको छ त्यो प्रेत उहाँभित्रबाट निस्कनु पर्छ उहाँले लोकतान्त्रिक मूल्य मान्यता बमोजिम के.पी. ओलीका गल्ती र कमजोरीहरूको आलोचना गर्दै के.पी. ओली नै अर्को महाधिवेशनसम्मका लागि अध्यक्ष हो भनी सार्वजनिक रूपमा र खुला हृदयले भन्नै पर्छ ।
(३) उहाँका खुट्टा बुढानिलकण्ठ र खुमलटार तर्फ किन जबरजस्ती कुद्न खोज्छन्, उहाँले आफ्ना खुट्टालाई आफ्नो अतीतको छवि र भद्रपनको डोरीले (दुध दुहुँदा लात्ती हान्ने गाईको खुट्टो बाँधे जस्तै) आफ्ना खुट्टामा आफै न्यान्नो लगाउनु पर्छ ।
(४) कामरेड प्रचण्डमा चटके जादु र सम्मोहन गर्ने जुन शक्ति छ त्यसले उहाँलाई अहिले अठ्याएको अनुभूत भएको छ । वास्तवमा मान्छेलाई सम्मोहन गर्ने त्यो शक्ति एक प्रकारको भ्रम हो भन्ने कुरा २०५२ सालदेखि २०७८ सालसम्मका अनेकौँ भ्रमपूर्ण परिघटनाहरूले सङ्केत गरेका छन् । मदारीले चटके जादुका भरमा तान्त्रिक शक्तिको प्रयोग गरी मान्छेलाई जनावर र जनावरलाई मान्छे बनाएको भ्रम जस्तै व्यक्तिको मनमस्तिष्कलाई दिग्भ्रमित गरिदिने अद्भुत ताकत कामरेड प्रचण्डमा छ । तर मदारीले मान्छेलाई जनावर बनाएको कुरा केही बेरमा असत्य भए जस्तै अहिले माधव नेपाल पनि जनावरी भ्रमबाट त्यसरी नै मुक्त हुनु जरुरी छ । जसरी यस अघि उहाँको सङ्गतबाट उच्छिट्टिएर र छुट्टिएर भौतारिरहनु भएका वैद्य, विप्लव र बाबुरामहरू भ्रम मुक्त हुनु भयो , जनयुद्धका तमाम घाइते, अपाङ्ग र अयोग्य लडाकुहरू भ्रम मुक्त हुनु भयो । नेकपा (एमाले) को वरिष्ठ नेता माधव नेपालले आफूभित्र पसेको चटके जादुको तान्त्रिक जनावरी शक्तिको पहिचान गरी त्यसबाट मुक्त भएको घोषणा गर्नै पर्छ ।
(५) वास्तवमा दुःख गरेर आर्जेको आफ्नो दललाई र पार्टीको कमाण्डर भएर हुर्काएको आफ्नो बालिनालीमा विरोधी साँढेहरूलाई दाइँमाडो गर्ने गराउने र बालीनाली राम्रो फल्ला भनी आश गरेका जनतामा विश्वासको सञ्जीवनी छर्नै पर्छ । किनकि उहाँले मनग्गे मात्रामा पार्टीको प्रमुखको स्वाद र केही मात्रामा प्रधानमन्त्रीको अनुभव गरिसक्नु भएको छ ।
(६) उहाँले अब दिल खोलेर के.पी. ओलीसँग कुराकानी गर्नु पर्छ । उहाँले खुलेआम के.पी. ओलीको एक कार्यकाललाई कसैले डगमगाउन सक्दैन भनी घोषणा गर्नु पर्छ र के.पी. ओलीले पनि माधव नेपाललाई विश्वासमा लिन कुनै कसर बाँकी राख्नु हुन्न ।
(७) के.पी. ओलीलाई सिध्याउने नाममा आफू पनि सिद्धिने र पार्टीलाई गम्भीर क्षति पु¥याउने गतिविधि तुरुन्त रोक्नु पर्छ । किनकि के.पी. ओलीको नाम नेपालको इतिहासमा शक्तिशाली अध्यक्षको रूपमा पार्टीलाई मुलुकको एकमात्र नेतृत्वदायी शक्तिका रूपमा स्थापित गरेको इतिहास स्वर्णाक्षरलेअमिट रूपमा लेखिसकिएको छ ।
(८) हिजोसम्म नेकपा (एमाले) अरू पार्टीको मियो ओरिपरी घुमथ्यो तर आज नेकपा (एमाले) को मियो ओरिपरी मुलुकका अरू पार्टीहरू घुमिरहेका छन् र सिङ्गो देश घुमि रहेको छ । नेकपा (एमाले) लाई मुलुकको यस्तो नेतृत्वदायी शक्तिका रूपमा स्थापित गरेको गौरवशाली इतिहास र वाम गठबन्धनको नेतृत्व गरी मुलुकलाई दुई तिहाई हाराहारीको बहुमत दिलाएको केपोलीको इतिहास कसैले टिपेक्स लगाएर वा इरेजरले घोटेर मेटिने विषय होइन । यो तमाम एमाले कार्यकर्ताका मन र मुटु भित्र कहिल्यै नमेटिने गरी अङ्कित भएको विषय हो ।
(९) के.पी. ओलीले पाउनु जति पाइसक्नु भयो । उहाँलाई गुमाउनु केही छैन भनी उहाँलाई सिध्याउँछु भन्नु आपूmले आँखा चिम्लेर दुनियालाई मैले अँध्यारो पारिदिएँ भने जस्तै हो ।
(१०) कमरेड माधव नेपाललाई पनि मलाई कसैले सिध्याउँछ कि भन्ने भय छ तर उहाँलाई कसैले पनि सिध्याउन सक्दैन । उहाँ सिद्धिने भनेको आफ्नै समकालीन कर्म र गतिविधिले नै हो । त्यसैले माधव नेपाल खुलेआम घोषणा गरेर के.पी. ओलीसँग हात मिलाउन आउनु भयो भने उहाँका गतिविधिबाट कुँडिएका आम कार्यकर्ताहरूको हृदयमा नयाँ बहार आउने छ । किनकि राजनीतिमा असम्भव भन्ने कुरा केही छैन ।
(११) हिजो नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा सहमतिको महाधिवेशन गर्ने भनिएको थियो र त्यसमा वास्तवमा कमरेड माधव नेपालका लागि स्पेश नराखिएको अनुभूत भएकै हो । तर नेकपा माओवादी केन्द्रले काँचै कचिलै सत्ताको बाली बाँदरलेझैँ फाँडेर खान खोज्दा उसलाई अपच भएको छ र उपर्तली मच्चिएको छ, एमाले विभाजनको हजमोला खान पाए पखाला निको होला कि भन्ने उहाँहरूको आशा होला ! अहिले माधव नेपाल र के.पी. ओली मिलेर सहमतिको महाधिवेशन गर्ने भनी दस वर्षे रोडम्याप सहित आउनु जरुरी छ । त्यहाँ पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई जिम्मेवारीको अभियान चलाउनु जरुरी छ । कमरेड माधव नेपाललाई महासचिव भएको भए पनि अध्यक्ष नभएको हुँदा एकपल्ट अध्यक्ष हुने रहर भए सहमतिको महाधिवेशन मार्पmत त्यसका लागि रूपरेखा तयार पार्नु पर्छ ।
(१२) जोगीदेखि भैँसी डरा र भैँसीदेखि जोगी डरा भनेभैmँ जोगी र भैँसी दुवैजना नेकपा (एमाले) को लहलहाउँदो बाली माड्दै उफ्रिदै जाने हो भने नेकपा (एमाले) का लागि सिङ्गो जीवन अर्पण गरेका कार्यकर्ता र एमालेप्रति ठूलो भरोसा लिएको आम जनता राजनीतिक भोकमारीले पीडित हुने छन् ।
(१३) के.पी. ओलीले पनि नेकपाको दोस्रो अध्यक्ष कमरेड प्रचण्डसँग बढी लहसिँदा कमरेड माधव नेपालको मन दुखेको सबैले जानेबुझेकै कुरो हो । त्यसैले माधव नेपालको मनमा परेको के.पी. ओलीप्रतिको आशङ्काले सिङ्गो नेकपा (एमाले) को लङ्का डढाउन कदापि हुँदैन ।
(१४) कमरेड माधव नेपालले आपूm एक शैक्षिक सत्र नपुग्दै कक्षा चढ्न पाउनै पर्छ भन्ने हठ त्याग्नै पर्छ र कमरेड के.पी. ओलीले पनि कमरेड माधव नेपाललाई आगामी महाधिवेशन सहमतिका आधारमा निर्वाचित हुने वातावरण तयार गर्दा खासै आपत्ति हुने देखिन्न ।
कमरेड माधव नेपाल शक्तिशाली नेकपा (एमाले) को वरिष्ठ नेता भएर लुरे दलको कनिष्ठ कार्यकर्ताका रूपमा आम रूपमा जसरी देखिनु भएको छ उहाँले त्यो घेराबाट तोड्नै पर्छ । आफ्नै पार्टीका नेतासँग एक भएर संयोजनकारी भूमिका निर्वाह गर्नु पर्छ ! उहाँले त्यो काम पक्का गर्नु हुन्छ, उहाँलाई त्यसो गर्ने वातावरण अध्यक्ष कामरेड केपी ओलीले आवश्य तयार पार्नुहुन्छ !