बढदो सामाजिक सञ्जालले केही विकृतिहरू निम्त्याए पनि रुचि र चाहना हुँदा धेरै ज्ञानका कुराहरू भेट्टाउन सकिन्छ। त्यसै गरी हाम्रो धर्म, संस्कृति र परम्पराहरू लोप हुँदै गई रहेको मा यही सामाजिक सञ्जालको माध्यम बाट अहिले प्रवर्द्धन समेत भैरहेको देखिन्छ। हाम्रा मान्यता तथा प्रचलनहरू चाहे जानेर बुझेर होस या रमाइलोको लागी होस यस्ता पर्व उत्सवहरू मनाउन अहिले घर परिवार समाज भित्र भन्दा सामाजिक सञ्जालमै बढी भिड देखिन्छ। कलात्मक तस्बिर होस या सङ्गीत भरिएका शुभकामना सन्देश अचेल आफन्तलाई मात्र होइन आफ्ना सबै सञ्जालमा जोडिएका साथीहरूलाई हरेक हरेक चाड पर्व र उत्सवमामा पठाउने गरिन्छ।
यस्तै चाड पर्व र उत्सव मध्ये कै एउटा पर्व हो अषाढ पन्ध्र अर्थात् दही चिउरा खाने दिन। यसलाई अहिले राष्ट्रिय धान दिवसको रूपमा पनि मनाउने गरिन्छ। हाम्रा यस्ता चाड पर्वहरू धार्मिक तथा सांस्कृतिक रूपमा फरक फरक महत्वका साथ मनाइए ता पनि यस्ता पर्वहरूमा कुनै खाना विशेषलाई सांस्कृतिक महत्त्व समेत दिने गरिएको छ। अषाढ पन्ध्रमा दही चिउरा, साउनमा खिर, भदौमा घ्यू, जनपूर्णिमामा क्वाँटी, माघे सङ्क्रान्तिमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा रहेको छ ।
अषाढ पन्ध्रमा कहिले देखि दही चिउरा खाने परम्परा सुरु भएको हो भन्नेमा कहीँ खासै तिथी मिति नपाइएता पनि यो पर्व नेपालको प्रमुख खाद्यान्न बाली धान खेती सँग जोडिएको ले धान खेतीको सुरु भए देखि मनाउन थालेको भन्ने भनाई रहेको छ। यस पर्वमा दही चिउरा खानुको धार्मिक रूपमा विशेष महत्त्व नरहे पनि एउटा परम्परा लाई सांस्कृतिक रूप धारण गरेको मान्न सकिन्छ।
विशेष गरी खेतीको समयमा सबै व्यस्त हुने हुँदा छिटो छरितो स्वास्थ्यकर सजिलो खानाको रूपमा दही चिउरालाई लिएको हुन सक्छ। खाद्यान्नको प्रमुख बाली धान खेती लामो अवधि सम्म हिलो पानीमा खेतमा काम गर्नु पर्ने र खेती किसानी गर्ने सबैमा जोस जाँगर रही रहोस् भनी त्यो दिनलाई विशेष रूपमा दही चिउरा खाई हिलोमा खेली उत्सव मनाइएको भन्ने भनाई हाम्रो संस्कृतिका जानकारहरूको रहेको छ।
यथार्थमा दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ र यसमा रहेका ब्याक्टेरियाले पाचन क्रियामा सघाउ पुर्याउँछ । त्यसै गरी गर्मीमा यो पेयले शरीरलाई शीतलता प्रदान गर्दछ।
त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ जसले हाम्रो शरीरलाई फुर्तिलो बनाइ राख्न सहयोग गर्छ । यसरी भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर आयुर्वेद विज्ञानका अनुसार उपयोगी औषधी पनि मानिन्छ र धार्मिक दृष्टिकोणले यसलाई शुभ संकेतको रुपमा लिईन्छ।
त्यसै गरी चिउरा स्वास्थ्य वर्द्धक खानेकुरा र यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनै पनि किसिमको सङ्क्रमण सहजै हुन सक्दैन। चिउरा र दहीको सम्मिश्रण स्वादिलो हुन्छ साथ साथै सुपाच्य पनि मानिन्छ। अहिले दही चिउरा विशेष गरी गर्मी याममा पाहुनाहरूलाई स्वागत गर्ने परिकारको रूपमा पनि लिइन्छ।