काभ्रे । काभ्रे बनेपाका रवी खड्का करीब सात बर्ष बैदेशिक रोजगारीको शिलसिलामा बहराईनमा बसे । बहराईनमा उनले काम गर्दा कम्पनीले नै केही समयका लागि साउदी अरब पठाएको थियो । सोही समयमा साउदीमा ६ महिना जति रहँदा रविले दुबईबाट माटो ल्याएर एयर कन्डिसनको सहायतामा सुन्दर फुलहरु फुलाएर महंगोमा बिक्री भएको देखे । उनले त्यसमा कम्पनीले लाएको केही काम पनि गरे । माटै नभएको ठाँउमा ५० डिग्रीको तातो मरुभूमिमा त यसरी फुल फुलाएर व्यवशायी चल्छ भने नेपालमा त किन नहोला रविले यस्तै सोच्दै गए ।
मिर्मिरेसँगको कुराकानीका क्रममा उनले अगाडी भने, विदेशमा सबै भन्दा दयनीय र गएगुज्रेको श्रम नेपालीलाई लगाउने गरिन्छ । विदेशमा ९ बर्ष बस्दा उनले यही कुरा मात्रै सोच्ने गरे । उनले बहराईनमा बसेर कमाएको पैसाले छोराछोरी पढाउने, परिवार पाल्ने बाहेक केही बचाएर राखे ।
त्यही रकम र सरसापट गरेर उनले विभिन्न सल्लाह लिएर फुलखेती गर्ने निधो गरे ।
त्यसपछि उनले १० वर्ष अघि आर एन ए फ्लोरा फर्म दर्ता गरेर १९ रोपनी जग्गा लिजमा लिएर काभ्रे बनेपा १० जनगालमा उनले टनेलहरु बनाएर फर्म शुरु गरे । त्यस फर्ममा शुरुमा उनले १५ लाख रुपैया लगानी गरे । उनले हल्याण्डदेखि कार्वेसन लगायतका फुल लगाए । जुन फुल पानीमा वा घाममा जहाँ राखेपनि एक महिना सम्म ज्यूँका त्यूँ रहन्छ ।
कार्वेसन लगायतका ८ प्रकारका फुलहरु रविले फुलाउने गरेका छन् । रविले फुलाएका फुलहरु सन् २०२० मा बंगलादेशमा समेत राम्रो निर्यात भएको थियो । रविले फर्म शुरु गर्नु अघि काठमाण्डौं भक्तपुर लगायतका जिल्लाका विभिन्न फर्महरुमा अनुभव लिन जान खोज्दा फर्म भित्रै छिर्न नदिएको रवि सुनाउछन् ।
त्यही भएर मेहेनत गरेर आफ्नै फर्मबाट फुल उत्पादन र वितरण मात्रै हैन अहिले उनले ट्रेनिङ सेन्टर पनि चलाएका छन् । त्यसमा विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरु तालिम र अध्ययनका लागि आउने गरेका छन् उनले प्रमाण पत्र समेत दिएर पठाउने गरेका छन् ।
यही व्यवशाय प्रवद्र्धनका लागि उनले युवा तथा साना व्यवशायी स्वरोजगार कोषबाट रिण लिए । थोरै भए पनि कोषले दिएको क्रृणले उनले व्यवशायमा लगानी बृद्धि गरे । कोषको दुई लाख क्रृणको साँवा व्याज उनले चुक्ता गरिसकेका छन् । यही फुलखेतीबाट उनले मनग्गे कमाई गरेर बनेपामा ५ आना भन्दा बढी घडेरी पनि किनिसकेका छन् र छोराछोरीको शिक्षा र परिवारको लालनपालनमा खर्च मनग्गे गरिरहेका छन् ।
त्यति मात्र हैन उनले आफ्नो फर्ममा ५ जना भन्दा बढी युवाहरुलाई रोजगारी पनि दिएका छन् ।
रवि भन्छन् , विदेशी भूमिमा गएगुज्रेको काम गरेर रगत पशिना बगाउनु भन्दा स्वदेशमा धेरै पैसा कमाउने स्रोत र स्थान भएको भन्दै उत्पादन र रोजगारका लाग्नु आवस्यक छ , मैले धेरैलाई यही भन्ने गरेको छु ।
स्वरोजगार कोष छ, सर्टिफिकेट राखेर क्रृण दिने भनिएको छ, अरु विभिन्न रोजगार र स्वरोजगारी व्यवशायका लागि अुनदान र क्रृण दिने निकायहरु रहेकाले त्यही अवसरलाई सदुपयोग गर्दै देशलाई उभो लगाउन र आफ्नो पनि भविष्य निर्माण गर्न लाग्नु पर्ने उनको सुझाव छ ।
लकडाउनका कारण फुल नबिकेर खाल्डोमा हालेर मल बनाएर अस्थायी रुपमा तरकारी फलाउदै रवि
७२ सालमा नेपालमा विनाशकारी भूकम्प आयो । भूकम्पका कारण व्यवशायमा केही नोक्सानी भयो । फेरी पनि हिम्मत नहारी रविले व्यवशाय प्रवद्र्धन गरे । अहिले पटक पटक कोरोना महामारीका कारण भएको लकडाउनका कारण भने रविको फुलखेती चौपट बनेको छ । उनले १५ लाख लगानी गरेर विदेशबाट समेत बिरुवा मगाएर र लाखौँ खर्च गरेर फुलको माउबोट जोगाएर फुल फुलाउदा पनि अघिल्लो लकडाउन र अहिलेको लकडाउनमा पनि फुल १५ रुपैयाको पनि बेच्न नपाएको गुनासो गरे ।
उनी भन्छन्, लकडाउन हामीलाई मात्रै हैन सबैलाई भएको छ , क्षति सबैलाई भएको छ त्यही सोचेर अहिले फुलको मार्केट नभए पछि फुललाई खाल्डोमा हालेर मलमा परिणत गरि अस्थायी रुपमा तरकारी उत्पादन गरीरहेको बताए । अहिले उनले फुलखेतीको ठाँउमा तरकारी जस्तै क्याप्सिकन, टमाटर, अकबरे खोर्सानी जस्ता तरकारी उत्पादन गरीरहेका छन् । त्यही तरकारी पनि राम्रो सँग बिक्न नसकेकाले अहिले अलि चिन्तित बनाएको रविको भनाई छ ।
त्यति हुँदा पनि रविले हिम्मत हारेका छैनन् , उनी फेरी पनि आफ्नो फूलखेतीलाई अझ अगाडी बढाउदै लैजाने तयारीमा छन् । सधैँ लकडाउन त नहोला, विस्तारै खुल्दै जाला फेरी पनि राम्रो होला भन्ने आशा गरिरहेको छु । रवि भन्छन् ।
आफ्नो श्रमको कमाई र स्वरोजगार कोषको सामान्य क्रृणले व्यवशाय विस्तार गरेर राम्रो आमदानी गर्न सफल रविबाट धेरैले शिक्षा लिन सक्ने देखिन्छ ।

फोटो सौजन्यः मनीष ढुंगाना स्वरोजगार कोष, काभ्रेका सहजकर्ता ।