पहिरोले बगाएको सपना

पहिरोले बगाएको सपना

  • शनिबार, असार १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 35.3K
    SHARES

आमा हिजो राति मात्रै घर ढलेको सपना देखेँ, सुन्दैछु गाउँमा बाढी–पहिरो के–के पो बिपत्ति आयो रे । सपनाको कुरामा बिश्वास गर्ने मान्छे त म होईत तर किन खै त्यो सपनाले सारै छाति पोलेकै थियो । मिठो सपना देख्दा कहिलै पुरा नहुने तर यसपल्टको त्यो नमिठो सपना भने एकदमै मिल्न गएको छ आमा ।
आज एकाबिहानै सुन्दै छु मेरो प्यारो गाउँको त्यो पुरानो रुप रेखा पुरै बदलियो अरे । रुपरेखा बदलिनुमा कुनै विकास होईन विनासको पो कारण रहेछ । मेरो त्यो प्यारो बाह्रैमास हरियाली हुने मनै लोभ्याउने गाउँ त पुरै बगरमा परिणत भएर मन नै नभुल्ने पो भएछ आमा । आमा हाम्रो पसिनाको त्यो प्यारो सानो घरलाई पापि बाढीले पो बागायो रे हो ।
जुन सपनाको सुन्दर बगैचा निर्माण गर्न बुवाले आफ्नो जिवनको मध्यमकाल नै खर्चनु भएको थियो त्यो सपना क्षणभरमै बिलिन भएछ आमा । कस्तो बिडम्बना तपाई १२ घण्टादेखी अस्पतालको बेड्मा अचेत अनि बाबा भने तपाईको स्याहार गर्दै फुटेको त्यो सपनाको केही अंशका साना–साना टुक्रा बटुल्दै । तर आमा म कति अभागी आज यस्तो अवस्थामा बुवालाई काँध र तपाईलाई साथ र सान्त्वना दिनसमेत असमर्थ ।
अनि आमा यो पनि सुन्दै छु कि घर छेउँका हर्के काका रहनु भएन अँझ दुःखको कुरा त झनै के भने नि उहाको सास, लास र आश अब केहि पनि बाँकी रहेन रे । उद्धारकर्ताहरु हर्के काकाको परिवारलाई सान्त्वना पो दिँदै छन् रे, हामीले खोजिरहेका छौं नआत्तिनुस् भन्दै ।
पोहर साल मात्रै बैंकबाट १० लाख रिण लिएर घर बनाएका बिजय काकाको त झनै उठिबास नै पो भएछ है । अब यस्को जिम्मा पो कस्ले लिन्छ अँझ उहाँको त झनै बैंकमा रिन तिरेर नै सकिएको पो छैन रे । उहाँले नै मलाई हेर केटा पैसा भन्दा ठुलो केही होईन यसरी आबारा बनेर हिँड्नु भन्दा लाहुर गएर पैसा कमा एकपल्ट भन्नुभएको पनि त थियो नि है । सम्झना मानस्पटलमा अँझै ताजै छ आमा ।
पैसा हुने मान्छे नै संसारमा पावर फुुल हुन्छ उहाँले भनेको त्यो कुरा मेरो मनस्पटलमा अँझै पनि ताजै छ आमा । तर यदि पैसा हुने मान्छे नै सबैभन्दा शक्तिमान हुन्थ्यो भने त्यो पापी वाढीको प्रहारबाट किन बचाउन सक्नुभएन आफ्नो सपनाको त्यो सुन्दर संसारलाई । उहाँले त पैसाको शक्ति प्राकृतिक विपत्तिलाई देखाउनै सक्नु भएनछ किन आमा । हो पैसाले त उहाँकै आफ्नै घर समेत बचाउन सकेनछ ।
आमा घर मुनिको रामेको त झनै पुरै परिवारलाई नै लगेछ है वाढीले । आजमात्रै देखेको रामेको फेसबुकवालमा । आमा रामे त सात समुन्द्रपारी घरमा भएका ति परिवार आमा, बुवा, श्रीमती र बालबच्चालाई सुख दिन्छु भनेर ५–६ बर्षदेखी नै खाडिको यो गर्मिमा दिनरात खटिपो रहेको छ त । तर अब कस्का लागी र किन आमा ।
उता हरि काकाले छोरीको बिहेका लागी जोगाएर राखेको सपनाको त्यो पोको पनि बगाएछ । छोरीको बिहेका लागी राखेको २५ लाख रुपैयाँ बगेसंगै काकाको छोरीको बिहे धुमधामका साथ गर्ने सपना नै चकनाचुर भएछ । अनि आमा सुन्दै छु तिम्रो प्राथना र बाबाको २० बर्षको मेहनत त्यो दैबले मरिगए सुनेन अरे । यति मात्रै होईन आमा जस्ता तमाम जनताले जस्लाई तिमि पुरा विश्वासका साथ भोट दिएर सरकारमा पुर्याएउ उनिहरुत झनै सत्ता लुछाचुँडिको खेल खेल्नमै पो बेस्त छन् रे । आमा अबत हाम्रा हजुर–बाको चिनो केहिपनि हामीसंग बचेन है । गाउँमा भएको यत्तिठुलो विपत्तित मैले युट्युवमा पो देखेँ मलाई त घरबाट खबर नै आएन आओस पनि कसरी सबैलाई दुःख परेको छ यहाँ अरुको बारेमा कस्ले पो सोचेर बस्छ त ।
आमा यो पनि सुन्दै छु राहतका नाममा विभिन्न मनकारी अभियन्ताहरु पनि आउँछन् रे नि २–४ किलो चामल, एक पोका तेल अनि एक प्याकेट नुन र केहि प्याकेट चिउरा–चाउचाउ बोकेर । साँच्चै आमा हाम्रो गाउँमा त पर्यटकहरु पनि आउन थालेका छन् रे नि हो तर हाम्रो दुःख र आँसुलाई भिडियोमा रेकर्ड गरेर लैजानलाई भ्याईनभ्याई पो छ अरे त उनिहरुलाई । हाम्रा गाउँका गाँउलेहरु त आजभोली झनै सेलिब्रेटि नै पो बनेछन् नि । हिँजोमात्रै युट्युवका तिमिलाई पनि देखेको नि आमा । आमा फरक यत्ति होकि रिलका सेलिब्रेटिले हाम्रा जिवनमा आईपर्ने अनेकौं घटनामा कृतिम आँसु झारेर फेमस हुन्छन् तर आमा तिम्रा ति आँसु र चित्कार कुनै कृतिम होईनन् ।
बिभिन्न युटुवर, पत्रकार, र बिभिन्न अन्जान व्यक्तिहरुलाई आफ्ना दुःख पिडा सुनाउन भ्याईनभ्याई पो छ रे । तर आमा हाम्रो दुःख, पिडा र हाम्रो अवस्थालाई गहिरीएर बुझ्ने त कोही पनि आएन रे हो आमा । अँझ यो नि सुनेको कि बिभिन्न जिल्लाहरुदेखी हाम्रा नाम लिएर सरकारकालागी सरकारी बैंक खातामा कराडौं पैसा पो जम्मा हुँदैछन् रे । तर आमा मेरो सपनाको त्यो गाउँ त बग्यो रे अब कस्ले बनाई दिन्छ ति सुन्दर सपनालाई कस्ले फेरी बिपनामा परिणत गर्दिन्छ त आमा ।
मुलुकका यस्ता बाढी, पहिरो जस्ता पाृकतिक विपत्तिका कारण कयौं नागरिकले अनाहकमा ज्यान गुमाईरहेका छन् । पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । यस क्रममा ५० जना घाइते भएका छन् भने १३४ घर क्षति भएको छ ।
तर सरकारमा भने जहिले पनि विपदपुर्व भन्दा पनि बिपदपस्चात मात्रै तात्ने प्रचलनको अन्त्य हुन सकेन । जुन जोगि आएपनि कानै चिरेको भने झँै नेपालमा जुन सरकार आएपनि जनताका दुःख र पिडा भने पुरानै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी