छम्पिमायाको छाउनी

छम्पिमायाको छाउनी

  • शनिबार, असार १२, २०७८
  • प्रथा

  • 8.4K
    SHARES

कथा सुनाएर
खुसी पार्न त सजिलै हुन्छ
तर कसलाई थाहा र
एउटा कथाको निर्माण हुन
कति सपनाको हत्या गरिएको हुन्छ ?

युद्ध हारेपछि
फूलका माधुर्यताभरि
दुष्टहरूले प्लेग फैलाइदिएछन्
र त्यो बस्तीका भवँराहरूको मृत्यु भएछ !
सिमाना भत्काएर
वैरीले स्वाधीनता लुटेपछि
माछाहरूले छापामार युद्ध थालेछन्
घमासान युध्दमा डढेर
खाक भएपछि
उनीहरूले पानीमा बिष मिसाइदिएछन्
र त्यो आदिम नदीका
विद्रोही माछाहरूको कविलै नासिएछ ।

ठुलो हुल देखेपछि
दुश्मनहरूले हमला गर्ने आँटै गरेनन्
कायर बनेर
अकस्मात् ! वनडढेलो सल्काइदिए !
चराहरू युद्ध लडिरहे
छातीमा डढेलो दन्किएर
जलिरहेको देशलाई सलामी ठोकेपछि
आफ्नै जिन्दगी मेटाएर
चराहरूले शाहदातको अलश्का ठड्याए !
र त्यो युध्दको ढिस्कोमाथि
दुश्मनहरूले आफ्नो झण्डा फहराए !

सा–साना नानीहरू च्यापेर
बृद्ध-अशक्त चराहरू
यो पहाडमा आएर बस्न थालेछन् !
सायद,
त्यहीँबाट शुरू भएको हुनुपर्दछ
अहिलेसम्म नलेखिएको
मेरी छम्पिमायाको अलिखित आत्मकथा पनि !

हो, छम्पिमाया !
तिमी समयको त्यही पुनरावृत्ति हौ
जो सल्लिपीरका भारीहरू
ढाडमा बिसाएर
यो देशको आयतन नापिरहेछ्यौ !
यस्तो लाग्छ
तिमी त्यही कथाकी अपुरो अंश हौ
जो काफल-डालीमा बसेर
आफ्नो वैंस वेहिसाब आफैँ काटिरहेछ्यौ !

साँच्चै छम्पिमाया !
तिम्रो श्रमको सुन्दर रङ
म कुन इन्द्रधनुषमा देख्न सक्छु र ?
तिम्रो सार्वरीको उचाई
म कुन हिमालमा चढ्न सक्छु र ?
तिम्रो सिर्जनाको देश
म कुन मानचित्रमा भेट्न सक्छु र ?
तिम्रो खुसीको वुकीफूल
म कुन बृक्षको डालीमा पाउन सक्छु र ?
भन न छम्पिमाया !
कुन जमिनको गर्भमा छ होला
तिम्रो अव्यक्त पीडाको त्यो गहिरो तलाऊ ?

नि:सन्देह छम्पिमाया !
तिमी त्यही क्याराभानकी दृष्य हौ
जहाँ कयौं थिन्लेहरू
आरूका दाना पोको पारेर
यो देशका सहस्र विपन्नताहरू बेचिरहेछन् !
तिमी त्यही अँधेरी गल्लि हौ
जहाँ कयौं मैच्याङहरू
लाँकुरी स्याँउलासँगै जिन्दगी घिसारिरहेछन् !
साँच्चै छम्पिमायाँ,
तिमी त्यही काव्यकी निष्कर्स हौ
जहाँ सिँगाने नोर्बुहरू
भत्किएको माटेघरभित्र बसेर
सिंहदरवारका दन्ते कथाहरू सुनिरहेछन् !

यतिखेर,
झ्याम्के फूल फक्रिएर
त्यो पहाड पनि गुराँस फुलेको छ !
तर किन होला
यो छाउनीमा मनहरू मनजस्तै छैनन् ?
आकाश निदाएर
शरदका ताराहरू जगमगाएका छन्
तर कहाँ हरायो होला
यो छाउनीको खुसीको पूर्णचन्द्रमा ?
झ्याउँकिरी बासेर
वनैभरि वनेली गीत गुञ्जिएको छ
तर कसले टुटायो होला
यो छाउनीमा सारङ्गीका जिउँदा तारहरू ?

जीवनको मूल्य गुमाएर
वर्षौंदेखि निर्जन बनेको छ— यो छाउनी !
सायद,
सन्नाटा सङ्केत हो
एउटा भयङ्कर महाप्रलयको
जो बारूद बनेर पड्किन सक्छ— कुनै दिन !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी