खोई केभाको छ आजभोली
जताततै नराम्रो मात्र देख्छु
आखा विग्रेका हुन की ! म ?
या गुमेको हो मानसिक सन्तुलन ?
नयाँ व्यवस्था, नयाँ संविधान
नयाँ नयाँ ठूला योजना
ठूलै बजेट
ठूलाठूला सभा सम्मेलन
बजेट अनुशारको ठेक्का पट्टा
ईच्छाशक्ति भएका
मनकारी
दर्जा अनुशारका ठेकेदार
साथमा
देशी–विदेशीहरूको गतिलो भिड ।
भिडमा नियाल्छु, खोज्छु
काखीमा पुस्तक च्यापेर
तुईनमा झुन्डिएका बिद्यार्थी
आँखा रसिलो पारेर खाडी हिडेका युवा
पिठ्युँमा लादेको अर्धचेत बिरामी ।
देखिएन कतै पनि !
जेलको चिसो छिडीले बढाएको बाथ
प्रहरीले बजारेको कठबाँसको निलडाम
नमिता–सुनिता, निर्मला र
सम्झनाका पीडा र चीत्कार
आमाको झुत्रो पछ्यौरी
श्रीमतीका चिरिएका पैताला
देखिएन
सुकेनास लागेको नाबालकको रुवाइ ।
जता हेर्याे उस्तै देख्छु
भुडी सुम्सुम्याउदै
मुख मिठ्याउदै
सुकीला पहिरनमा
पुटुस्स जुम्रा, उडुस र
किर्ना जस्तै मान्छे
साथमा देख्छु
कठोर काराबास खेपेर
नाफाको जिन्दगी बाँचेका
हामीले नै जिताएका
जनप्रतिनिधि भनौ या नेता !
जे जे भने पनि
धनी उग्राई रहदा
गरिब नटोलाओस रित्तो थालमा
नपरोस सामुदायिक विद्यालय
निजि क्षेत्रको ओसमा
नगुमोस घरखेत
अस्पताल धाउदा !
नदेखियोस अन्तर हुनेखाने र
हुदाँखानेका बीचमा
चाहेको यति नै त हो ।
घाम–जुन छर्लङ्ग देखिने छाना मुनी
सँगैबसेर खाएको ढिडो र गुन्द्रुक
सुखको कल्पनामा रमाउँदै
देखेको क्षितिज पारिको मिठो सपना
जनतासामु गरेको बाचा
फगत नाटक जस्तो लाग्न थाल्छ ।
अझ बढी खरानी घसेर
बर्ग दुस्मनसँग जोडेको घाँटी
जोगीको भेषमा थपिएको अर्को लुटेरा ।
पुनः चोरलाई चावी सुम्पेको आभास हुन्छ ।
धिक्कार्न मनलाग्छ आफैलाई
झनक्क रिस उठ्छ धैर्यको बाध फुट्छ
मुठ्ठी कसिएर आउछ
अनि
कुटौँ कुटौँ लाग्छ सबैलाई एकैठाउँ बाँधेर ।
हो
आलस्य ओढेका उदास अनुहारलाई
निराशाको बादल च्यातेर
हक र अधिकारका लागि लड्न सिकायौ ।
माक्र्स, लनिन, माओ पढायौ
विपी, पुष्पलाल चिनायौ
सपनालाई आशा,
आशालाई भरोषामा बदल्ने
लामालामा प्रवचन सुनायौ ।
राणा, पञ्च र राजाले सबै सिद्याए भन्यो
सामन्तवादको अवशेष रहुन्जेल
देश बन्दैन भन्थ्यौ
विभेद रहित लोकतन्त्रिक, गणतन्त्र
अनि विधिको शासन भन्यौ ।
तिम्रा हरेक शव्दलाई मनन गर्दै
आफु घाइते भएर पनि
तिमीहरूलाई जोगाएकै हो !
गाँस काटेर खुवाएकै हो !
दुश्मनलाई छक्याएर
कति दिन सम्म लुकाएकै हो !
छोराछोरीको पढाइ शुल्क काटेर
बाटो खर्च दिए कै हो !
व्यवस्था परिवर्तनसँगै
निर्वाचित पनि त गराएकै हो ।
तर
जस्का विरुद्धमा लड्न सिकायौ
बेच्यौ सपना, पसिना र भरोषा
आशाको बिस्कुनमा
भँगेराका बथान छोडेर
नोट र भोटका पछाडि
वेदनाको भारीले थिचिएका
निर्वस्त्र ढाडहरू कुल्चिदै हिडेका
सपना र भरोषाका मलामी देख्दा
उज्यालोको खोजिमा बालेको
धिपधिपे टुकी
झ्याप्प निभे जस्तो लाग्छ
चारै तिर अँध्यारो देख्छु
जसलाई भरोषा गरियो
रछ्यान चाट्दै सर्वाङ्ग
लडिबडि खेलेको देख्छु
अनि
यिनको अनुहारमा
कालो मोसो दलौं दलौं लाग्छ
कठालो समाएर बिच चौराहमा
थेचारौं थेचारौं लाग्छ ।
टाउको माथि मडारिएको
कालोबादललाई
लाचार, विवश
चुपचाप सहि रहनु ।
देश डुवाएर बनेका निजि महल
टाउकोमाछि थोपरेको
ऋणको भारी बोकेर
टुलुटुलु हेरिरहनु ।
सुन्दर पहिरनमा सजिएका
बारुला र अरिङ्गालका
निर्बस्त्र नाईकेलाई
निर्विकल्प मौरीको रानी मानेर
स्वागत गरिरहनु !
अति भो !
लोकतन्त्र, गणतन्त्रको आवरणमा
सामन्तवादका नयाँ अवतार
निगम पुजीवादी दलाल
विदेशी गुप्तचरका प्रतिनिधि
स्वाधिनता, समृद्धि र
राष्ट्रियताको खोक्रो प्रवचन !
भरोषा गरेर मानेका हात्ती
जब देखिन थाल्छन्
हात्तीछाप चप्पल
जुनै जोगी आए पनि
कानै चिरिएका भने झै
फेरि पनि लुट र झुटलाई
अङ्गालेको देख्दा
सपना मरेको आभास हुन्छ
सोझा सुलीमा, चोर चौतारोमा देख्छु ।
फरक छुट्याउन खोज्छु
हिजो र आज
सम्झन्छु
सहिदका सपना
बेपत्ता योद्धाका अठोट
तत्कालीन राज्यसत्ताले
मचाएको नर संहार
विगतले झक्झक्याउछ
छाति चसक्क दुख्छ
शरीर थरथरी काप्छ
दिमाग शून्य हुन्छ
उठाउ उठाउ लाग्छ
ती बिसाएका हतियार !
दागौ दागौ लाग्छ यिनका छातिमा
अनि
पुरौ पुरौ लाग्छ यिनलाई
एउटै खाल्डो खनेर ।
खोई केभाको छ आजभोली
जताततै लोभी पापीको भिड मात्र देख्छु
आखा विग्रेका हुन की ! म ?
या गुमेको हो मानसिक सन्तुलन ?