प्रिय बहिनी लासिमित राई
शुभकामना !
लासिमित बहिनी ! हाम्रो भेट नभएको पनि धेरै भएछ । आआफ्ना काममा अल्झँदा आफ्ना मान्छेहरूसँग भेट्ने क्रम पनि सुस्ताउन थाल्दो रहेछ । जीवनले आफ्नै बाटोमा निरन्तरता दिँदा भेटघाटको दूरी लम्बिएको हुन सक्तो रहेछ; तर म सुन्दै छु बहिनी क्याम्पसको अध्यापनमा पनि व्यस्त रहेकी छौ रे ! बास्तवमा तिम्रो बहुआयामिक व्यक्तित्वलाई जता ढल्काए पनि ढाल्किहाल्छ नै ! तर मेरो विचारमा तिम्रो जीवनको मुख्य यात्रा त गायन नै हुनुपर्छ । त्यस गायनले गर्दा नै नेपाली साङ्गीतिक आकाशमा तिमी सुपरिचित भएकी छौ । मैले मात्र होइन अरुले पनि तिम्रो सशक्त गायनको प्रशंसा गर्ने गरेका छन् । त्यसैले तिमीले गायनको लागि नै कम्मरमा बाह्रहाते बलियो पटुका कस्नुपर्छ । तिमी ट्राजिडी क्वीन भयौ भने नै त ओझेलमा परेका मेरा यस्ता गीतहरू पनि जनसमक्ष पुग्न सक्छन् नि :
अँध्यारोमा बाटाभरि काँडा रोपिएछन्
हेर्दाहेर्दै आफ्ना खुसी सबै छोपिएछन् ।
मैले पनि २०४० सालदेखि गीत लेख्न थालेँ । लेख्तै जाँदा मैले लेखेका अधिकांश गीतहरू वेदनामा नै आधारित भए । मैले केही रोमान्टिक गीतहरू पनि लेखेँ तापनि मलाई मन पर्ने आफ्ना मन परेका गीतका सूचीमा ट्राजिडी नै रहे । वास्तवमा म एउटा दुर्गम गाउँबाट आएको मान्छे पनि परेँ । त्यो मेरो गाउँ पनि झापाबाट कस्सेर दिनभरिभरि हिँड्दा पाँच दिनमा पुगिन्थ्यो । ताप्लेजुङको हाङपाङमा जन्मेर खोलेफाँडो खाएर हुर्कँदै जीवनका बाटाघाटामा ठेस खाँदै यस स्थितिमा उभिँदा मेरा अधिकांश समय दुक्ख, कष्ट र पीडामा पछारिएका मात्र भेट्छु । हुनत मैले अब ट्राजिडी गीत लेख्छु भनेर चाहिँ कहिले पनि गीत लेखिनँ । मैले जति गीत लेखेँ, लेख्तै जाँदा नै लेखेँ । यसै परिप्रेक्ष्यमा तिमीले पनि मेरा गीत गाएर मलाई कृतार्थ तुल्यायौ । तिम्रो मीठो स्वरमा त्यति छिट्टै मेरा गीतले ठाउँ लिन्छन् भन्ने मैले सोचेको पनि थिइनँ । जीवनका विभिन्न घुम्तीहरूमा ठेस लाग्दै जाँदा मनभित्रका भावना आफै उब्जेर कागजमा बिस्कुन लाग्दा
रहेछन् । वास्तवमा मलाई मन पर्ने शैली, ढाँचा र गतिको सङ्गीतमा तिमीले पनि मेरो गीत गायौ :
कठिन भयो एक्लै बाँच्न हाँस्न गारो भयो
बाँकी मेरो जिन्दगानी गाँस्न सारो भयो ।
हुनत मेरी एक जना बहिनी जुनु श्रेष्ठले पनि मेरो एउटा मन पर्ने गीत डुबेर नै गाएकी थिइन् । मुलुकमा भर्खरै राजनीतिक व्यवस्था फेरिएपछि मैले त्यसै परिवेशमा लेखेको गीत नै जुनुले गाएकी थिइन् । त्यसबखत जुनुलाई ट्राजिडी शब्दको गीत गाउने इच्छा नहुँदानहुँदै पनि उनले मेरो लागि नै भए पनि सो गीत गाएकी थिइन् । वास्तवमा म शिथिल भएको बेला, मेरो छातीभरि चीत्कार भरिएको वेला र मेरो दिमागभरि सङ्घर्ष, क्रान्ति र असन्तोष फैलेका वेला लेखिएकोले होला यो गीत पनि मेरा मन पर्ने कोटिमा परेको छ । त्यसबेलाको मेरो मर्म जुनुले पनि प्रत्यक्ष देखेकी थिइन् । त्यसैले उनले नै मेरो यो गीत गाइन् र यो गीत उनको जीवनको पनि पहिलो ट्राजिडी गीत बन्यो :
यो शहरमा एक्लै डुलेँ मनभित्रै दुक्ख बोकी
आँसुभित्रै यात्रा गरेँ ओठभित्रै सुक्ख छोपी ।
जुनुले गाएको त्यस गीतमा मेरा मित्र कमल परियारको सङ्गीत पनि राम्रो थियो । जुनुको स्वर त मलाई मन पर्ने नै भयो । मैले जुनुको स्वरको तारिफ पहिल्यै गरिसकेको छु । त्यसवेला पनि मैले उनको स्वरलाई हेमलतासँग दाँज्न पुगेको थिएँ । जुनुको कर्णप्रिय स्वरका कारणले नै उनका आवाजले नेपालका डाँडाकाँडा ढाकेको छ । उनको सबैभन्दा राम्रो खुवी- उनी जीवनलाई एउटा पाठको रूपमा स्वीकार्ने गर्छिन् । त्यसैले जेजस्तो अवस्थामा पनि आफ्नो कलात्मक व्यक्तित्वलाई उनी हाँसेर नै बोकीबोकी हिँडिदिन्छिन् । म त भन्छु- भगवानले उपहार दिएको स्वरको जुनुले सधैँ सदुपयोग गरिरहनुपर्छ । हुनत हिँड्दै जाँदा कहिलेकाहीँ त्यही भगवानले वज्रपात पनि गराउँदो रहेछ । कुनैवेला जुनुप्रति घटेको त्यो परिस्थिति, त्यो समय र त्यस घटनाबाट मलाई पनि गहिरो चोट पुगेको थियो । त्यसैले मैले उनलाई अर्पित गरेर एउटा गीत पनि लेखेको थिएँ; जुन गीत निकेतिका प्रसाईले गाउने रहर गरिन् । रत्नबहादुरको सङ्गीतमा मेरी छोरी निकेतिकाले गत वर्ष यो गीत गाइन् पनि । उनको स्वरमा पनि मैले रोमान्टिक र ट्राजिडीको मिश्रण भेटेको छु । निकेतिकाले यस ट्राजिडी गीतलाई उनको गीतिएल्बम ‘प्रियतम’मा पनि समावेश गराइन् :
निष्ठुरी त्यो आकाशमा मेरो जून रोयो
मेरो भाग्य एकै रातमा टुक्राटुक्रा भयो ।
रत्न दाइ मलाई मन पर्ने सङ्गीतकार हुनुहुँदो रहेछ । साँच्चै भन्ने हो भने मलाई रत्न दाइबाट सिर्जना हुने मेलोडी धुमधाम मन पर्छ । उहाँले मेरो गीतिएल्बम ‘शिखा’को निर्माण गरेपछि म उहाँको सङ्गीतमा झनै भुतुक्कै भएँ । लासिमित बहिनी ! हुनत तिम्रै करबल, जबर्जस्ती र ढिपीले मात्र म सुरुमा रत्न दाइकोमा पुगेको थिएँ । त्यसवेला मैले तिम्रो खुसी, तिम्रो चाहना र तिम्रो उत्साहलाई समेट्न खोजे तापनि पछि गएर म आफैलाई रत्न दाइ एउटा आवश्यक व्यक्तित्वमा रूपान्तरित हुनुभयो । त्यसवेला म रत्नबहादुर खड्गीको घरमा पुग्दा तिमीले पहिलो दिन रत्न दाइकै सङ्गीतमा तिम्रो सुरिलो स्वरमा मेरै गीत सुनाएकी थियौ । यस गीतले धेरै दिनसम्म मलाई नसा लगाइराख्यो । बास्तवमा मेरो ‘शिखा’ गीतिएल्बम प्रकाशनमा आउन यही गीतले नै शीर्षस्थ भूमिका खेलेको थियो :
आफन्त नै जति देख्छु सबै पर लाग्यो
धेरै सोचेँ मेरा लागि मृत्यु घर लाग्यो
मर्न पनि सकिएन बाँच्न डर लाग्यो ।
हुनत तिमीले पहिला नै मेरो एउटा अर्को पनि ट्राजिडी गीत गाएकी थियौ । त्यसैवेला मैले तिमीलाई भनेको पनि थिएँ- “तिमी रोमान्टिक गीत अत्यन्तै थोरै गाउ । तिम्रो स्वरभित्र ट्राजिडीले नै साम्राज्य चलाएको छ ।” साँच्चै हो तिम्रो स्वरभित्र करुणा, व्यथा र दुक्ख मात्र वसेको झैँ मलाई लाग्छ । तिम्रो स्वर जति सुने पनि म अघाउँदिनँ । तिम्रो मधुर, रसिलो र कर्णप्रिय स्वरको म तारिफ गर्दै आइरहेको छु । त्यसमाथि मेरो पहिलो गीत त तिमीले यसरी गायौ कि तिम्रो स्वरभित्रको मिठासबाट सङ्गीतकार बुलु मुकारुङ नै छक्क परे । लासिमित बहिनी ! तिमी आफै रचनाकार र सङ्गीतकार पनि भएकोले मलाई लाग्यो- तिमी गीत र सङ्गीतको भावमा डुवेर गीत गाउने सीप भएकी कलाकार हौ । त्यसैले तिम्रो स्वर प्रस्फुटित भएपछि म आफ्नै गीतमा चुर्लुम्मै भएको पनि थिएँ :
तिमीसँग त्यही घाटमा जल्नुपर्ने थियो
एउटै चिता भित्रभित्रै बल्नुपर्ने थियो ।
तिम्रो स्वरभित्र प्रशस्तै ट्राजिडी लुकेको मैले पहिला नै थाहा पाएको छु । तिम्रो स्वर मैले मात्र मन पराएको होइन अरुणा लामा पनि मन पराउनुहुन्थ्यो । बास्तवमा जो पनि तिम्रो स्वर र तिमी झन्नैझन्नै उस्तैउस्तै छ भन्छन् ! अरुणा दिदीले तिमीबारे भन्नुभएको कुराको सम्झना मलाई अझै छ- “यहाँ ट्राजिडी गीत गाउने मान्छे छैनन् भन्छन्, लासिमित बहिनीको कस्तो मीठो स्वर छ त !” तिमीलाई पनि थाहा छ नि ! अरुणा दिदी मलाई पनि कस्तो माया गर्नुहुन्थ्यो । दिदीले आफ्नो जीवनको अन्तिम समयमा पनि मेरै गीत गाउनुभयो । दीपक जङ्गमको सङ्गीतमा दिदीले गाउनुभएको यो गीत मलाई नै पनि मन पर्छ:
मायाको डोरी बाट्तैथेँ पराई आँखाले काटेछ
हुरी र बतास छेक्तैथेँ बीचैमा पर्दा फाटेछ ।
अरुणा दिदीले त्यसभन्दाअघि नै मेरा चारवटा गीत गाइसक्नुभएको थियो । दिदीले गाउनुभएका मेरा सबै गीतहरू प्राय: ट्राजिडी नै थिए; तर तीमध्ये एउटा गीतचाहिँ मैले मेरा आँसुहरूको सङ्ग्रह गरी प्रस्तुत गरेको थिएँ । वास्तवमा ती गीतको रेकर्डिङ हुँदा नै मेरो छाती पट्ट फुट्ला झैं भएको थियो । गीतको रिकर्डिङ भएको समयमा मेरा आँखा रसाएका थिए र त्यस्तो घटना मेरो जीवनमा प्रथमचोटि घटेको थियो । गीतको रेकर्डिङ हुँदा सङ्गीतकार कुन्दनराज सुब्बा पनि ज्यादैज्यादै हर्षित थिए । गीत गाइसकेपछि अरुणा दिदीले रेडियो नेपालको स्टुडियोकक्षमै मेरा पाखुरा समाउँदै भन्नुभएको थियो- “भाइ ! गीत त सोलिट नै भयो नि !” दिदी त्यसघडी ती शब्दसँगसँगै मजाले हाँस्नुभएको थियो; तर म भने भित्रभित्रै केही विह्वल थिएँ । मेरा गीतले दिदीको स्वर र कुन्दन भाइको सङ्गीत भनेजस्तै भेटेपछि शब्दहरू उत्कृष्ट कोटिमा उक्लेको मैले महसुस गरेको थिएँ । अरुणा दिदीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको ठूलो प्रेक्षालयबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा पुन: त्यो गीत गाउँदा तिमी पनि त त्यस प्रेक्षालयमा थियौ नि ! :
मरिदिँदा मात्र रोयौ बाँच्ता एक्लै आतिएथेँ
ज्यूँदो हुँदा रोईरोई जिन्दगानी चलाएथेँ ।
मेरो विचारमा अरुणा दिदीले मेरो गीत गाउन थालेपछि मेरो गीतियात्रा चम्केको हो । मलाई ट्राजिडी गीत नै मन पर्ने हुँदा त्यस्तो स्वर मैले अरुणा दिदी बाहेक कसैको पनि सुनेको थिइनँ । त्यसैले म मेरो यात्रामा हिँडेको पनि बेशै गरेछु कि जस्तो पनि लाग्छ । हुन पनि मान्छेले आफ्नो मन जस्तो छ त्यस्तै कुरा नै त रोज्दो रहेछ नि ! त्यसैले रत्नबहादुर दाइको सङ्गीतमा तारा दिदीले गाउनुभएको मेरो अर्को गीतले पनि मलाई अहिलेसम्म छोइरहेको छ । यसै पनि तारा दिदी हाम्री एउटी ओजस्वी गायिका हुनुहुन्छ; त्यसमाथि तारादेवीको स्वरमा पनि त्यतिकै मेलोडी, त्यतिकै मिठास र त्यतिकै वेदना पाइन्छ । त्यति मात्र होइन तारा दिदी त मलाई अत्यन्तै माया पनि गर्नुहुन्छ । तारा दिदीले पनि २०४६ सालपछि पहिलोचोटि २०५६ साल फागुन १३ गते यही गीत गाउनुभएको थियो :
जिन्दगीको भोकतिर्खा मैले धेरै भोगिसकेँ
अनगिन्ती आशा थिए एकएक गर्दै छोपिसकेँ ।
हृदययमा नअटेका बोझहरू कहाँ फालौँ
जता हिँड्छु काँडै टेक्छु पाइला अब कहाँ चालौँ ?
मेरो जीवनका विभिन्न घुम्तीहरू हेर्ने हो भने तापैतापले भरिएका कथाहरूको जमघट मात्र हुने गर्छ । म जेजस्तो स्थितिमा आबद्ध भए तापनि बहिनी ! तिमीले मलाई ठाउँठाउँमा ढाडस दिएका पक्षहरू पनि मैले सँगालेको छु । मैले तिमीलाई नेपालीभाषाकी एउटी गायिका मात्र सम्झेको छैनँ; तिमीलाई मैले एउटा असल मान्छेमा पनि गणना गरेको छु । मलाई थाहा छ- तिमी पनि आफ्नो मनभित्रका पीरहरू लुकाएर यस महाजाली संसारमा हाँसेर नै आफ्ना निर्दोष पाइला बढाउँदै छौ । एउटा मान्छेले अर्को मान्छे हाँसेको देख्नासाथ रमायो भनी भन्छन् होला; तर मेरो हकमा हृदयबाट व्यथाहरूको पर्खाल कहिल्यै भत्कन सकेका छैनन् । त्यसैले शम्भुजित बाँसकोटाको सङ्गीतमा देविका प्रधानको सुमधुर स्वरबाट मेरो यो गीत प्रस्फुटन हुँदा मैले आफुलाई एकपटक पुनः त्यही बिरही संसारमा पुर्याएको थिएँ :
तिमीलाई भेट्न मैले थुप्रै नदी तरिसकेँ
तिम्रै तापमा पलपल भित्रभित्रै मरिसकेँ ।
मैले आजसम्म जताबाट र जसको स्वर सुने पनि मेरो ट्राजिडी गीतका हकमा मलाई भने लासिमित बहिनी र सपनाश्रीकै स्वरका गीतहरूले मात्रै राम्ररी रत्याउन सकेका छन् । म चाहन्छु तिमीले चाहिँ प्राय: ट्राजिडी गीत मात्रै गाइरहनुपर्छ । स्वरमा टमक्कै मिलेका कुनैकुनै रोमान्टिक सङ्गीत र शब्दहरू पनि तिम्रो गलाबाट जनसमक्ष पुग्नुपर्छ भन्ने मेरो धारणा छ । वास्तवमा रोमान्टिक र ट्राजिडी स्वरहरू कुनैकुनै गायकगायिकामा मात्रै मिलेको पाइन्छ र ट्राजिडी स्वर भईकन पनि रोमान्टिक स्वरको कोटिमा तिमी पनि परेकी छौ । सपना बहिनीको ट्राजिडी र रोमान्टिक गला त म उस्तोउस्तै पाउँछु । उनले मेरा केही रोमान्टिक र केही ट्राजिडी गीतहरू पनि गाएकी छिन् । उनले मेरा गीत गाएमध्ये रत्न दाइद्वारा सङ्गीतवद्ध दुईवटा गीतचाहिँ मलाई बिछट्टै मन परेका छन् :
जिन्दगानी हुत्त्याइदिने कस्तो हुरी आयो
पाखैभरि फुल्ने फूल डढेलोले खायो ।
मेरा सबै खुसीहरू तिमी राखिदेउ
तिम्रा सबै व्यथाहरू मलाई राख्न देउ ।
नेपाली गायनमा ट्राजिडी स्वर मुख्य अरुणा लामाको नै पाइन्छ । तारादेवी, नारायणगोपाल, बच्चुकैलाश, ध्रुव के.सी., दिलमाया खाती, शान्ति ठटाल, हीरादेवी वाइवा पुराना पुस्ताका रोमान्टिक र ट्राजिडी स्वरका धनीहरू भए तापनि नयाँ पुस्तामा लोचन भट्टराईसम्मका स्वरमा पनि त्यही स्वरूप चाहिँ पाइन्छ । लोचन बहिनीको स्वर पनि मलाई उत्कृष्टताको नमूना लाग्छ । नारायणगोपालले पनि मसँग लोचन बहिनीको स्वरको प्रशंसा गर्नुभएको थियो । तिनै राम्री गायिकाले मदन दीपविमको सङ्गीतमा मेरो पनि एउटा गीत गाएकी थिइन् । साथै यो गीत मैले लिली थापामा समर्पण गरेर लेखेको थिएँ, किनभने लिली मिसको जिन्दगीमा पनि एउटा कठोर, निर्दयी र कालो वज्र परेको थियो । पछि उहाँले पनि यो गीत सुनेर आफ्ना आँखाबाट सप्तकोसी बगाउनुभएको थियो :
यो जिन्दगीको दुखेको ठाउँ कसरी खोलूँ म
भक्कानो छुट्छ जलेछ छाती कसरी बोलूँ म ?
लासिमित ! एकताका म कस्तो विक्षिप्त भएर बाँचेको थिएँ ! त्यसवेला मुलुकमा राजनीतिक व्यवस्थामा परिवर्तन आउँदा म पानीभित्र थिएँ कि आकाशबाहिर पुगेको थिएँ; त्यो कालो, चाम्रो र चिप्लो घटनाको सही रूप मलाई आफैलाई थाहा थिएन । त्यसवेला मैले आफुभित्रभित्रै सङ्घर्ष गरी वसेँ । साँच्चै भन्ने हो भने मैले मेरा दाजु ईश्वरवल्लभको प्रेरणा पाएर पनि आफ्ना भावना लेखेर घरमै बसिरहेँ । त्यसैवेला लेखेमध्येको एउटा गीत सुशील विश्वकर्माले सङ्गीत गरेका थिए र बहिनी सङ्गीता शाक्यले गाएकी थिइन् :
वनको भन्दा मनको चोखो लालीगुराँस वैलाइगयो
कर्म थियो भन्ठानेथेँ सिसा रैुछ फुटिगयो ।
आफैलाई बेच्न राख्ता भन्छन् तेरो मूल्य छैन
यति ठूलो संसारमा आफै अट्ने ठाउँ छैन ।
त्यसैताकाको मेरो गीतियात्राको अर्को एउटा उपज पनि ममता दीपविमले आफ्ना बुबाको सङ्गीतमा डाँडापाखा पुर्याएकी थिइन् । त्यसवेला मैले लेखेको यो गीत पनि मलाई मन पर्ने कोटिमा आउँछ । छोरी ममताले यो गीत गाएको छ वर्षपछि अर्थात् यसै महिना यही गीत मनोज सेवाले अर्को बेग्लै पारामा गाएका थिए । यस गीतलाई रत्न दाइले नै सङ्गीत दिनुभएको थियो । त्यसै गीतका अघिल्ला तीन शव्दबाट नै नामाङ्कन गरी मेरो गीतसङ्ग्रह ‘पुग्नुपर्ने टाढा थियो’ २०५४ सालमा नेपाल राजकीय अज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको थियो :
पुग्नुपर्ने टाढा थियो साइतले रोकिदियो
गाग्री थियो भरिएको कुन पापीले पोखिदियो ।
मेरा गीतहरूको रेकर्डिङ जारी रहेकै वेला मैले दिलमाया खातीसँग पनि सम्पर्क बढाइसकेको थिएँ । त्यसवेला दिलमाया दिदीलाई मेरो गीत गाउन दिएको थिएँ । पहिलापहिला त दिदी गीत गाउनै मान्नुहुन्नथ्यो र भन्नुहुन्थ्यो- “छि: म गीत गाउँदिनँ, जबरजस्ती नगर न भाइ ! पच्चीस वर्ष भइसक्यो मैले स्टुडियोमा गीत नगाएको; अब गाउँदा कस्तो होला, मान्छेले पनि के भन्लान् ? तिमी स्टेजमा गाउ भन बरु गाइदिन्छु” । अनि मेरो जोडदारको फर्माइसमा दिदीले गीत रेकर्डिङ गराउनुभयो । गीत गाइसकेपछि उहाँले आफै भन्नुभयो- “भाइ ! अब म गीतियात्रामा लागिरहन्छु । मैले थाहा पाएँ मेरो स्वरमा केही फरक परेको रहेनछ ।’ साँच्चै हो लासिमित ! दिलमाया दिदीले गाएको मेरो गीत सारै राम्ररी रेकर्डिङ भयो । त्यो गीत सुनेर म्यूजिक नेपालका प्रबन्धनिर्देशक सन्तोष शर्मा पनि दङ्ग पर्नुभएको थियो :
छल गर्यौ हेर्दाहेर्दै मलाई एक्लै पार्यौ
रमाएर बाँच्तै थिएँ रुदै हिड्ने पार्यौ ।
साहित्यिक यात्राका सिलसिलामा मेरो गीतलेखन एउटै पाटो मात्र भएन । त्यसैले चारैतिर कुदेर सङ्गीतकार र गायक समाउन पनि म त्यति समर्थ हुन सकिनँ । यति हुँदाहुँदै पनि मेरा गीतहरू जनसमक्ष आइरहेका छन् । यसै परिप्रेक्ष्यमा रामकृष्ण ढकालको स्वर पनि मेरो ‘शिखा’ एल्बममा परेको छ :
मेरो माया पिरतीलाई आँखा चिम्ली भुलिदियौ
सागर थियौ एक्कैचोटि खहरे भई सुकिदियौ ।
मेरा ट्राजिडी गीत गाउने क्रममा म डाँडामाथि उभिएर मेरा गीतहरूको अवलोकन गर्दा म कुन्ती मोक्तानमा पनि पुगेको छु । उहाँले मेरा केही गीत गाइसक्नुभए तापनि खास गरेर मलाई मेरा दुईवटा भाबुक गीतहरूले उहाँप्रति सधैँ तान्ने गर्छन् । मैले मात्र ती गीत मन पराएको होइन सङ्गीतकार दाजु शिलाबहादुर मोक्तान र कुन्ती भाउजू स्वयंले पनि मन पराउनुभएको रहेछ :
छातीभित्र दियोहरू निभ्न थालेका छन्
सघैँसधैँ बग्ने खोला सुक्न थालेका छन् ।
खुसीहरू नलुकाउ न उत्साहलाई नलुकाउ न
रमाइला क्षणहरू कहिले पनि नलुकाउ न !
ज्ञानु राणाको स्वरमा पनि मैले धेरै भजनहरू सुनेको छु, आधुनिक गीतहरू पनि सुनेको छु र लोकगीतहरू पनि सुनेको छु । उहाँका पिता जनकविकेशरी धर्मराज थापाले मलाई भन्नुभएको थियो- “नरेन्द्र भाइको गीतमा म सङ्गीत दिन्छु र ज्ञानुले गाउँछिन् ।” तर धर्मराज दाइको त्यो भनाइको सार्थकता शायद यस जन्ममा जुरेको छैन । यति हुँदाहुँदै ज्ञानु दिदीले चाहिँ मेरा मित्र शम्भुजित बाँसकोटाको सङ्गीतमा एउटा गीत मजाले गाइदिनुभयो । त्यस गीतका शब्दहरूले पनि कहिलेकाहीँ मलाई मीठो आक्रमण गर्ने गर्छन् । किनभने यो गीत मैले चलचित्रकी नायिका नवीना श्रेष्ठलाई समर्पण गरेर लेखेको थिएँ । अनि यो गीत रेकर्डिङका लागि उनी पनि मसँगै रेडियो नेपाल गएकी थिइन् । त्यसैले पनि होला यस गीतका शब्द पनि मेरा लागि प्रिय भए :
बस्तीहरू उजाड छन् तिम्रा पाइला नभेट्नाले
आशाहरू कैदी भए तिमीलाई नदेख्नाले ।
लासिमित बहिनी ! मैले आज तिमीलाई मेरा गीतहरूमा मात्र घुमाइरहेँ । मेरा भावना कता पोखूँ कता पोखूँ भन्दाभन्दै म एक्कासि तिमी छेउ पुगेछु । तिम्रो जीवनभित्रको सुक्खदुक्खमा बाँडिन थाल्दा आफ्नो मनलाई शान्त, सङ्ग्लो र निर्मल पार्न मैले तिमीलाई झर्को लगाउने धृष्टता पनि गरेँ हुँला । के गर्नु र ! जीवनमा आफ्नो मनका कुरा कहिलेकाहीँ कतैकतै लगेर विसर्जन पनि त गर्न मन लाग्दो रहेछ नि ! त्यसै भाकाको मेरो एउटा गीत उदय सोताडले गजबसित गाएका थिए । मेरो दु:खात्मक शब्दलाई उदय भाइले पनि दुःखात्मक स्वर प्रस्तुत गरेर मलाई कृतार्थ तुल्याएका थिए :
हुन सक्छ तिम्रो जीवन बल्ल अब सुरु होला
पर्दा लाग्यो खेलपछि अर्को खेल सुरु होला ।
मैले गीत कसरी लेखेँ आफैलाई अचम्म लाग्छ; किनभने म गीत लेख्न जान्दिनथें । मेरा कविताहरूलाई गीत बनाउने सङ्गीतकार बुलु मुकारुङलाई म गीतकार हुनुको श्रेय दिन्छु । वास्तवमा बुलु मुकारुङ नभएको भए शायद म यस जुनीमा गीतकार हुन्नथेँ । बुलुकै आग्रहमा गीत लेख्तै जाँदा आज मेरो गीतले
आफुभित्र नै सानो भए पनि सन्तोष प्राप्त गर्न सक्यो । त्यही दुक्खसुक्खका सासहरू सङ्कलित भएर मेरा भावनाहरूमा, अक्षरहरूमा र शब्दहरूमा, गीतिक्यासेटहरू, अनि गीतिसीडी पनि प्रकाशमा आएका छन् । तर मेरो दुःखात्मक गीतको बिटलाई छाडेर वेलावेलामा म स्वच्छन्दतामा उडेको पनि छु । कहिलेकाहीँ मान्छेहरू आफ्ना दुक्ख पनि बिर्सँदा रहेछन् भन्ने एउटा प्रमाण म पनि हुँ जस्तो मलाई लाग्छ ।
गीत लेख्ने मुडमा आएपछि र लेखेपछि त्यो गीत जनसमक्ष पुगोस् भन्ने जसलाई पनि चाहना त भइहाल्छ ! मेरो त्यो चाहना बुझेर निकेतिकाले मलाई थाहै नदिई मेरो एउटा गीत ह्न्यू वज्राचार्यसमक्ष पुग्याइछन् । भाइ ह्न्यूको सडगीतले मेरा अरु गीत पनि सिँगारिएका थिए । तर यस गीतलाई पनि उनैले कसी लगाइदिएका छन् । यो गीत गाएपछि निकेतिका दङ्ग पनि परेकी थिइन् :
घामजून केही छैन मेरो आकाशभरि
कस्तो कालो रात पर्यो मेरो जीवनभरि ।
गीत लेख्ने क्रम समाउँदै जाँदा मैले ट्राजिडी गीतसँग नै धेरै मितेरी लाउन पुगेको रहेछु । वास्तवमा मान्छेले आफु जस्तो छ त्यस्तै रूप प्रस्तुत गर्छ भन्नुको एउटा सग्लो प्रमाण म पनि भएको छु । जिन्दगीमा हिँड्दै जाँदा जतिपल्ट ठेस लाग्यो त्यतिपल्ट नै मेरा भावनाले दुक्खसँग साक्षात्कार गर्ने मौका पाएका छन् । तर ठेस लाग्नुको अर्थ मेरो लागि खुट्टाको बूढी औंला ढुङ्गामा जाक्किनु मात्र होइन; भावना नै रक्ताम्मे भएपछि मात्र म रुने गर्छु, विक्षिप्त हुने गर्छु र ज्यूँदै मर्ने गर्छु । मेरो दुखाइको परिभाषाले मभित्र साम्राज्य स्थापना गरेपछि नै म मेरो दुःखात्मक संसारको हृदयबाटै अवलोकन गर्न थाल्छु र त्यसै परिवेशमा घुँडा टेकेर आफ्ना भावना एकएक गरी फुकाउन थाल्छु । मेरो भावनाको कदर गर्ने जनार्दन शर्मा (मेरा गुरु पूर्णप्रसाद ब्राह्मणका छोरा) मेरो सामु आइपुग्छन् र ह्न्यू भाइकै सङ्गीतमा आफ्नो सुमधुर कण्ठले कर्णप्रिय स्वर जनसमक्ष पोख्छन् :
तिमी त गयौ छाडेर एक्तै म बसूँ कसरी
बतास बनी कता हो कता हरायौ कसरी !
गीत लेख्ने क्रममा उनिदै जाँदा प्रेमध्वज प्रधानका हातमा पनि मेरो गीत पुग्न सकेछ । बास्तवमा प्रेमध्वज दाइबाट मेरो गीत सङ्गीत बन्छ र स्वराङ्कन हुन्छ भनेर मैले झट्टै सोचेकै थिइनँ । एक्कैचोटि उहाँले मेरो गीत गाएपछि ममा हर्षका अनुभूति जन्मनु स्वभाविकै थियो । वास्तवमा पुरानो पुस्ताका गायक
भएर पनि प्रेमध्वज दाइले नयाँनयाँ गायकको पनि प्रतिनिधित्व गरिरहनुभएको छ । प्रेम दाइको गायनबाट के बुझिन्छ भने कुनै पनि गायकले निरन्तरता दिन सक्यो भने गीतियात्रामा उ सधैँ तन्नेरी भइरहन्छ । प्रेमध्वज दाइ जस्ता बौद्धिक, तन्नेरी र सुप्रसिद्ध गायकबाट पनि मेरो गीत जनसमक्ष आयो :
मायालुका बाचा सुन्ने साक्षी चाहिँदो रै’छ
कसैसँग माया गर्दा लिखित चाहिँदो रै’छ ।
लासिमित नानी ! आज म आफ्नै ट्राजिडी गीतियात्रामा बेस्सरी बगेछु। मानवीय स्वार्थी चोलाभित्रको एउटा चोला म पनि परेछु, तर तिम्रो गायनको प्रेरणालाई छुँदै म झन्नैझन्नै यहाँसम्म आइपुगेको रहेछु । खास गरेर म झोक्राएर बसेका वेला तिमीले मलाई आत्मीयता दियौ । साथै तिमीले मेरा गीत गाएर र मप्रति
एकनासले आफन्तको भूमिका खेपेर मलाई नजिक राख्यौ । म त्यस क्षणको गीत सबैँ गाइरहन्छु । अरुणा लामा जस्ता, तारादेवी जस्ता र तिमीजस्ताको आत्मीयता, समीपता र घनिष्ठता पाएर नै म गीतलेखनबाट नथाकेको हुँ । मेरो आजसम्मको अविराम यात्रा दुखेकैले होला शायद म रोमान्टिक धारामा त्यति सारो वग्न सकिरहेको छैनँ । वास्तवमा ट्राजिडी गीत नै मेरो ज्यूँदो गीतिसंसार भएको छ :
फक्रँदैथ्यो मेरो भाग्य भुइँमा झरिसकेछ
हाँसौँ भन्दा शरीरभरि आँसु परिसकेछ ।
तिमीलाई माया गर्ने दाइ
(नरेन्द्रराज प्रसाई)
मितिः २०४७ चैत २९ गते