जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै

जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिनुभयो । विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।

यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण सो कार्यक्रम स्थगित गरिएको छ । उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भने जुम प्रविधिबाट आयोजना गरिएको छ । दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्थाले दुई बजे हीरक जयन्ती शुभारम्भ गर्दैछ । कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जयतु संस्कृतम् आन्दोलनका सहभागी एवं पूर्वमन्त्री अच्युतराज रेग्मीलगायतले सम्बोधन गर्नुहुनेछ ।

जुम प्रविधिबाट दिवसको कार्यक्रममा सहभागी हुन नसक्नेलाई घरघरमै बसी संस्कृत श्लोक वाचन गरी मनाउन आह्वान गरिएको जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले बताउनुभयो । घरघरमा वाचन गरिएको संस्कृत श्लोकलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न पनि संस्थाले आह्वान गरेको छ । संस्थाले यसै वर्ष हुन लागेको जनगणनामा संस्कृत भाषा बोल्नेहरुलाई त्यसको अभिलेख दर्ज गराउन पनि आह्वान गरेको छ ।

हीरक जयन्तीका अवसरमा संस्थाका प्रदेश समितिले पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी सातै प्रदेशमा दिवस मनाउन लागिएको छ । नेपालको पहिलो विद्यार्थी आन्दोलनका साथै यही आन्दोलनबाट विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनामा सहयोग पुगेकाले जयतु संस्कृतम्लाई महत्वपूर्ण घटनाका रूपमा मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी