शिवप्रसाद शिवाकोटीको विष्णुभक्त प्रसाईसङ्ग संलग्नता

शिवप्रसाद शिवाकोटीको विष्णुभक्त प्रसाईसङ्ग संलग्नता

  • शनिबार, जेष्ठ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

झापा विद्रोहको आरम्भअघि शिव दाइसँग म (नरेन्द्रराज प्रसाई) कसरी नजिक हुन गएँ भन्ने बेहोराको पृष्ठभूमि पनि बेग्लै छ । मेरो बाल्यकाल अर्थात् म बाह्र वर्ष नपुग्दै मेरा दाजु नन्दकुमार प्रसाईले ताप्लेजुङको आठराई, हाङपाङमा मलाई कम्युनिस्ट बनाएका थिए । उनैले मदन भण्डारीलाई पनि त्यही कालखण्डमा कम्युनिस्टको बिल्ला टाँसिदिएका थिए । त्यति बेला नन्दकुमार दाइचाहिँ मेरा जेठा दाजु विष्णुभक्त प्रसाईका राजनैतिक चेला पनि थिए ।
त्यतिखेर आठराई क्षेत्र नै कम्युनिस्टमय थियो । खास गरेर हाङपाङ क्षेत्र माओ त्सेतुङको लाल किल्ला नै जस्तो भइसकेको थियो । ताप्लेजुङको हाङपाङस्थित सरस्वती हाईस्कुलमा मैले पाँच कक्षासम्म पढेको थिएँ । चारपाँच कक्षा पढेका बेलाचाहिँ माओको बिल्ला लगाएर मात्र म स्कुल जाने गर्थें । अरूहरू विद्यार्थी प्रायः धेरै जना माओको बिल्ला धारण गरेर मात्र पढ्न जान्थे । नन्दकुमार दाइले कताबाट हो कुन्नि भारीका भारी माओको मुहारअङ्कित बिल्ला लिएर घर आउँथे । त्यतिखेर हामी टोपीदेखि दौरा या कोट जे लगाएको छ त्यसैमा खापैखाप माओका बिल्ला लगाएर स्कुल जाने गर्थ्र्यौं । तिनै मेरा दाजु र राजनीतिक गुरु नन्दकुमार प्रसाई नेपालमा गणतन्त्र भित्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को कोटामा संसद्को माननीय सदस्य पनि भएका थिए ।

२०१६ सालको कुरा हो— मेरा जेठा दाजु विष्णुभक्त प्रसाईले तेह्रथुमको आठराई भेगमा प्रथम पटक नेपाल कम्युनिस्ट पार्टीको झन्डा फहराएका थिए । अनि त्यो कम्युनिस्ट झन्डा सङ्क्रान्ति बजारमा रहेको हाम्रै घरको आँगनमा गाडिएको थियो । त्यतिखेर मेरा दाजुले कम्युनिस्ट पार्टीको झन्डा गाड्दा चन्द्रमान कन्दङ्वादेखि शिवप्रसाद शिवाकोटीसम्मको उपस्थिति थियो । साथै त्यहाँ वामपन्थी धारामा आस्था राख्ने स्कुलका विद्यार्थी पनि आएका थिए । त्यति बेला शिव दाइले मेरा दाइको काममा खुलेर समर्थन गरेका थिए । त्यस बेला सङ्क्रान्ति बजारमा पनि रहेको हाम्रो घरमा नेपाल कम्युनिस्ट पार्टीको एरिया कमिटीको कार्यालय पनि थियो । त्यस कार्यालयका प्रमुख पनि मेरै दाजु थिए । त्यस कार्यालयमा सहयोग गर्नेमध्ये एक जना शिव दाइ पनि थिए । शिव दाइ त्यस बेला दार्जिलिङबाट माइला बाजे अर्थात् रतनलाल ब्राह्मणबाट कम्युनिस्ट सिद्धान्तको ट्युसन पढेर भरखरै मात्र नेपाल पसेका थिए । अर्को एक दिनको कुरा हो— त्यस बेला आठराईमा फरफराएको कम्युनिस्टको झन्डाबारे मेरा ठूल्दाजुले मेरा मामाका छोरा गङ्गाप्रसाद उप्रेती र मलाई एकै ठाउँमा राखेर भनेका थिए— ‘रातो कपडा मैले नै किनेँ र सेतो कपडा पनि किनेर सूचिकारलाई यसरी हँसिया र हथौडा बनाउनु भनेर सिकाएँ । अनि मैले कम्युनिस्ट पार्टीको झन्डा बनाएर घरमा ल्याएँ । मैले मेरो घरका आँगनमा कम्युनिस्टको लाल झन्डा गाडेपछि आठराईभरि नै ठूलै खैलाबैला मच्चिएको थियो । तर २०१७ सालको राजा महेन्द्रले राष्ट्रिय कदम चालेपछि कम्युनिस्ट पार्टीको झन्डामाथि प्रतिबन्ध भइहाल्यो ।’ तर त्यसपछिका दिनमा पनि मेरा दाजुको दिलबाट चाहिँ कम्युनिस्ट सिद्धान्तको प्रतिबन्ध लागेको मैले चाल पाइनँ । त्यस समय मेरा ठूल्दाजुकै नेतृत्वमा नन्दकुमार प्रसाईहरूको हुद्धा कम्युनिस्ट आन्दोलनमा अत्यन्तै सक्रिय भएको थियो । मेरा दाजुले हाम्रो घरमा झन्डा गाडेपछि जनार्दन सिटौलाबाहेक काङ्ग्रेसीहरूले दाजुको सङ्गतै छोडिदिएका थिए । त्यसबारे दाजुले मलाई भनेका थिए— ‘सिटौलाचाहिँ समाजसेवी भएकाले जुनसुकै विचारधाराका मान्छेको पनि उनी कदर गर्थे ।’

२०२६ सालको कुरा हो, म त्यतिखेर शनिश्चरे हाईस्कुलमा छैटौँ कक्षामा पढ्थेँ । अनि त्यति बेला म मेरा जेठा दाजु विष्णुभक्त प्रसाई र भाउजू भागीरथा प्रसाईसँग बस्थेँ । शनिश्चरे बजारमा दाजुभाउजूको हाङपाङ फोटो स्टुडियो थियो । त्यहाँ हामीले एउटा घर भाडामा लिएर बसेका थियौँ । त्यस बेला हाम्रो घर शिव दाइहरू आबद्ध भएको कम्युनिस्ट पार्टीको छहारी (सेल्टर) थियो । अथवा कम्युनिस्ट पार्टीको अघोषित कार्यालयजस्तै थियो ।
त्यतिखेरकै एक दिनको कुरा हो— मध्याह्नमा शनिश्चरे बजारमा नारा लगाउँदै एउटा जुलुस आएको थियो । वास्तवमा मैले मेरो जीवनमा सरकारविरुद्ध जुलुस देखेकै त्यो पहिलो चोटि थियो । जुलुसमा एक सय पचास जनाजति क्रान्तिकारी थिए । त्यहाँ उत्साहका साथ आक्रामक नारा लगाएर हिँड्नेहरू २०—२५ वर्ष उमेर घटीका कोही पनि थिएनन् । अनि त्यस जुलुसको अगुवाइ गर्ने शिवप्रसाद शिवाकोटी थिए ।
केही महिनापछि शनिश्चरे बजारमा त्यही प्रकृति र तिनै मान्छेहरूमध्येका मान्छे भएको अर्को जुलुस आएको थियो । सशक्त नारा लगाउँदै चम्केको जुलुस हाम्रा आँखै अगाडिबाट एकैछिनमा हराएको थियो । त्यतिखेर को कता गए को कता गए हामीलाई पत्तै भएको थिएन । तर हामी बसेको घरमा चाहिँ शिवप्रसाद शिवाकोटी, डम्बरबहादुर डाँगी, अम्बरबहादुर पौडेललगायतका कमरेडहरू स्याँस्याँ र फ्याँफ्याँ गर्दै आएका थिए । उनीहरू छिरेको आधा घण्टापछि हाम्रा घरमा पुलिस पसेका थिए । अनि म दौडेर शिव दाइहरू लुकेको कोठामा पसेँ र पुलिसहरू घरभित्र भित्रिएको बेहोरा शिवप्रसाद दाइलाई जानकारी दिएँ । त्यसपछि उनी कुदेर हाम्रो आँगनको पल्ला छेउमा रहेको पाइखानामा पसेका थिए । अरू तीन जनाचाहिँ दाजुभाउजू सुत्ने खाटमुनि पसेका थिए । तर केही छिनमा मेरा दाजुले आकाशपातालका कुरा गरेर त्यहाँबाट पुलिसलाई बिदा गरेका थिए । वास्तवमा मेरा दाजु तुक र उखान जोडेर मान्छेलाई गलाउन सिपालु पनि थिए । त्यसैले त्यतिखेर ती पुलिसलाई पनि उनले फस्याङफुसुङ गरेर फिर्ता पठाएका थिए । राति झमक्कै भएपछि चारै जना कमरेड त्यहाँबाट हिँडेका थिए ।
शिव दाइ सालबारीबाहिर प्रायः एक्लै हिँड्दैन थिए । उनका अघिपछि पन्ध्रदेखि पच्चिस जनासम्मका बलियाबाङ्गा कमरेडहरू पनि हुन्थे । शिव दाइका अघिपछि हिँड्ने कमरेडहरूलाई शिवसेना र शिव दाइलाई शिवसेनाका कमान्डर भनिन्थ्यो । तिनै शिवसेनाहरूले आह्वान गरेका भरमा किसानहरूका खेत पनि रोपिन्थे र दाइँ पनि गरिन्थे ।
शनिश्चरे बजार आएका बेला शिव दाइ प्रायः सधैँ मेरा दाजु विष्णुभक्त प्रसाईका डेरा पस्थे र एकाध घन्टा छलफल गरेर उनी फर्कन्थे । म पनि सुरुदेखि नै शिवसेनामा आबद्ध थिएँ । अनि त्यसको विश्वासिलो पात्र भएर पनि मैले काम गरेको थिएँ ।

‘शिवप्रसाद शिवाकोटीको जीवनी− ८ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको रेखदेखमा हाम्रो घर’ पढ्नुहोला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी