सेकन्ड लेवलका नेताको थर्डक्लास दाउ !

सेकन्ड लेवलका नेताको थर्डक्लास दाउ !

  • बिहिबार, जेष्ठ २७, २०७८
  • प्रा.डा. ऋषिराम शर्मा

  • 25.5K
    SHARES

उता हाकाहाकी नेकपा एमालेमा एकथरी नेताहरू दुखले आर्ज्याको नेकपा एमाले नामक सुन्दर ठुला घरमा आगो लगाइ रहेछन् र यता सेकेन्ड लेभलका नेताहरू पाँचतारे होटल एसी रूममा बसेर पार्टी एकताका नाममा टाइमपास गरिरहेछन् । उता आफ्नो सरकारका विरुद्ध, आफ्नो दलका विरुद्ध र आफूले समेत ठड्याएको घर भत्काएर धुन्धुकारीका हातमा गँजडी तालले उक्त घर सर्लक्क सुम्पिन नसके पछि चोक्टाचोक्टा लुछेर हिस्रकका पाउमा पार्टी किस्ताबन्दीमा भेटी चढाइरहेछन् । ‘पार्टीध्वंशयज्ञ’मा घिउ र तेलसहितको चरु होम्ने र हस्ताक्षरसहितको भेटी चढाउने मध्येकै केही थर्डक्लास व्यवहार देखाउने सेकेन्ड क्लासका केही नेताहरू यता पार्टी एकताको वार्ताको गायत्री जपिरहेछन् ।

उता कर्णाली र सुदूर पश्चिममा गरेका निर्घृणी क्रियाकलापले लोकतान्त्रिक बहुदलीय व्यवस्थाकै हुर्मत लिएको हुर्मतजात्राको अग्निदहन जारी छ । पार्टीमा डढेलो लगाएर “यी हाम्रो तागत देख्यौ ?” भन्दै शत्रुका आँगनमा पुगेर आफ्नातर्फ चोर औँला देखाउँदै  धमास र धम्की देखाउने कायरतापूर्ण बहादुरीको डुक्राइ पनि उस्तै छ । पार्टीका विरुद्ध जेहाद छेड्दै बहुदलीय व्यवस्थालाई “बहुलादलीय” व्यवस्थाका रूपमा दुर्गन्धित पार्ने बीभत्स जात्रा निरन्तर जारी नै छ  । उता १५ वर्ष सम्म पार्टीका ससाना मूसा भोजन गरेर जुँगा मुठ्याएको ढाडेले डाहाडे पाराले वनढाडेका आडमा पार्टीका कुँढेको दूध खर्लप्पै रित्याउने सपना देखेको देख्यै छ  यता भने सेकेन्ड लेभलका नेताहरू बिरालीको चालमा  वार्ताको म्याउँम्याउँ गर्न छाडेका छैनन् ।

गणतन्त्रका सत्रहजारे साहुजीसँग डीपलभमा फस्नु भएका र एमाले सिध्याउन गोत्र परिवर्तन गरी  डीपलभका नाममा वितण्डा मच्चाउनु भएका कामरेडसँगको अवैध गर्भबाट राष्ट्रिय सभामा एक सांसदको जन्म भो ! निज सांसदको पिता “कुन दल हो ?” भनेर डिएनए छुट्याए मात्र निजका दलीय बाबुको ठेँगान लाग्ला नत्र बहुदलीय व्यवस्थाको चरम विकृतिको विधि र पद्धतिका सूत्रधार कामरेड यता दलीय गर्भबाट जन्मिनु पर्ने राष्ट्रिय सभा सांसदहरू निर्दलीयताको सामूहिक बलात्कारका अवैध गर्भबाट भटाभट जन्माउन किन जम्मजमाउनु भो ?   एउटा राष्ट्रिय सभा साँसद जन्माउन  “दुईदुई विपक्षी दल र एउटा पेन्डुलमहरूको जत्था” मिलेर दलीयताको सतीत्व लुट्दै निर्मम र दारुण बलात्कार किन गरियो ? सग्लो र सुन्दर पार्टीलाई मुलुकको जनधन, संस्कृति, मूल्य र मान्यता भस्म पार्ने भस्मासुरका हातमा जिम्मा लगाउन नाइटादेखिको बल लगाएर वितण्डा मच्चाएका नेताहरू ह्वासह्वास्ती र डुङडुङती किन गनाइरहेछन् ?

हाल डीपलभमा फस्नु भएका कामरेडको बानीबेहोरा किन यसरी छचन्नियो भनेर हेर्दै जाँदा “ सङ्गत गुनाको फल” भन्ने उखान पो झलझलती याद आयो  ! मदन भण्डारीको सङ्गतले सिर्जनात्मक हुनुभएका कामरेडलाई ध्वशशिरोमणि सँगको डीपलभसहितको अन्धोप्रेमले पक्कै विध्वंशतिर धकेलेकै हुनुपर्छ । त्यसैले रगतमा ढाडिएर भुनभुनाएका फोहोरी पुराना झिँगाको सङ्गतमा दुबेको नयाँ झिँगालाई ल्याएर पार्टीमा औँस्याहा किरा पार्ने काम कदापि नगरियोस् ।  अब त्यसरी घरमा मट्टितेल छर्केर आगो लगाउने कामरेडलाई समेत पार्टीमा भित्रयाउने नाममा यो सेकेन्ड क्लासेले  गरेको थर्ड क्लासको गाइजात्रा हो भने यो जात्राको तुरून्त अन्त्येष्टि गरियोस् । सेकेन्डक्लासका भनिनेहरू आउने सम्भावना छ भने उहाँहरूलाई उच्च सम्मान र गहन जिम्मेवारीसाथ यथाशीघ्र मूलघरमा समावेश गरियोस्, तर आउन खोजेको र ल्याङल्याङ मात्र गर्न खोजिएको हो भने यस्तो थर्डक्लासको वार्ताको हर्कतको पटाक्षेप गरियोस् ।

दोस्रो तहका नेताहरूले आफ्ना केही गुनासा र असन्तुष्टि भए तिनको समाधान हुने गरी ढिला नगरी मूलघर बलियो पारियोस् । जमिन नै नभएका र भविष्य नै नभएकाहरूका पछि लागेर दोस्रो तहाका नेताहरू अन्योल र दोधारमा कदापि नपरून् । चोइट्याएर जानेहरूले अलिअलि चिथोरचाथर पारेको पार्टीको अनुहारलाई तत्काल सर्जरी गरी निको पारियोस् । पार्टीका कारण सत्ता आएको हुँदा पार्टी सङ्लो हुनु र जोगिनु जरुरी छ । पार्टी नै लगेर हुँडारका पेटमा हुल्न खोज्नेहरूसँग जेजे सम्बन्ध गाँस्न वा जेजसरी सम्बन्ध विच्छेद गर्नु पर्ने हो त्यो तुरुन्त गरियोस् ।

सेकेन्ड लेभलका नेताले मूल घर बलियो पार्ने फस्टक्लासको व्यवहार देखाउनुहोस्, झिँगे र च्याखे दाउ थाप्ने थर्डक्लासको बानीबेहोरा पटक्कै नदेखाउनुहोस् !  अस्तु !!!!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी