सन् २०१९ को नोभेम्बर १७ मा पहिलोपटक चीनमा देखिएको कोरोनाभाइरस सन् २०२१ मे को तेस्रो हप्तासम्म आइपुग्दा विश्वभर कोरोना संक्रमितको संख्या करीब १६ करोड ८० लाख नाघिसकेको छ भने ३४ लाख ८८ हजारभन्दा बढीले जीवन गुमाएका छन् ।
नेपालमा भने यो पहिलो पटक चीनको वुहान विश्वविद्यालयमा अध्ययनरत ३१ वर्षिय विद्यार्थी २०२० जनवरी ५मा आएका थिए, उनीसँगै यसले नेपाल प्रवेश आधार भेट्टायो र नेपाल आयो । सन् २०२१ मे २५सम्ममा नेपालमा कोराना संक्रमितको संख्या ५ लाख २० हजार नाघिसकेको छ । यसबीचमा ६ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
अहिले कोभिडको दोस्रो लहर जुन वि।सं। २०७८ वैशाखबाट शुरू भएको थियो, यो दोस्रो लहरले एकातिर सामान्य स्वास्थ्य सेवाको अभावमा संक्रमितले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर ठूलो मानवीय संकट निम्तिएको छ ।
नेपालले पहिलो पटक वि।सं। २०७६ चैत ११ गते देखि २०७७ साउन ६ गतेसम्म घोषित रूपमा देशव्यापी बन्दाबन्दी गर्यो । यसैगरी वि।सं। २०७८ वैशाख १६ गते देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । बन्दाबन्दीले उद्यमी व्यवसायी, मजदुर, कृषक, विभिन्न पेशा व्यवसायी लगायत सबै वर्ग तथा क्षेत्रका व्यक्तिलाई प्रत्यक्ष रूपमा असर पारेको छ । यस अवधिमा नागरिक समाज संस्थाले पनि विभिन्न समस्या भोगिरहेका छन् ।
कोरोना नियन्त्रणको लागि खोप पत्ता लागि सकेको छ । अधिकांश सम्पन्न देशले आफ्ना नागरिकलाई खोप लगाइरहँदा नेपाल भने यसको नियन्त्रणका लागि बन्दाबन्दी मै फर्किएको छ ।
महाव्याधिमा नेपालका एनजीओहरु
यो महाव्याधिमा नेपालका एनजीओहरु रनभुल्लमा परेका देखिन्छन । आफ्नो विशिष्ट उद्देश्यमा काम गरिरहेका नेपालका एनजीओहरुले कोरोना महामारीमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आम सञ्चार माध्यममा विभिन्न समाचार सार्वजनिक भइरहेका छन् ।
यसै सन्दर्भमा विभिन्न तहमा एनजीओहरुका प्रतिनिधि तथा अभियान्ताहरूका बीचमा छलफल गरिरहेका त छन् । तर खासै ठोस परिणामहरु देखिएका छैनन ।
यो लेखमा मूलतस् कोभिड– १९ ले निम्त्याएको संकटपूर्ण समयमा एनजीओहरुले गरिरहेका काम भोगिरहेका समस्याहरू र अब के गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेको छ ।
पछिल्लो समय कोभिड– १९ ले निम्त्याएको संकटको समयमा वार्षिक ठूलो रकम खर्च गर्ने एनजीओ हराएको, सरकारलाई सहयोग नगरेको जस्ता विभिन्न टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । सँगै यस्ता संस्थाले कोभिड– १९ सँग जुध्नका लागि सरकारलाई विभिन्न तबरले सहयोग गरिरहेका समाचार पनि सार्वजनिक भइरहेका छन् । समुदायस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एनजीओले आफ्नो ल्याकत अनुसारको सहयोग गरेका छन् । यद्यपि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाको बीचमा एनजीओ आफैँ पनि विभिन्न समस्यामा घेरिएका छन् ।
कोरोनाको संकटपूर्ण अवस्थाबाट उन्मुक्तिमा एनजीओको काम
अहिले कोरोनाको कारणले देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । देशको अधिकांश भूभागमा निषेधाज्ञा जारी छ । मानिसको आवागमनमा अवरोध छ । नागरिक आर्थिक तथा सामाजिक समस्याको दुष्चक्रमा फसेका छन् । मानिसहरू रोग सँगसँगै भोकले मर्ने स्थिति बनिरहेको छ । अघिल्लोपटक थोरै भएपनि राहत पाएका नागरिक अहिले कुनै राहत नपाउँदा समस्यामा परेका छन् ।
यस विषम परिस्थितिमा नागरिक समाज संस्थासँग विशिष्ट दायित्व र जिम्मेवारी छन् । संविधान र लोकतन्त्रको रक्षा, नागरिकको बाँच्न पाउने लगायतका अधिकारको संरक्षण, नागरिकलाई चेतनशील बनाउने, राजनीतिक तथा सामाजिक जवाफदेहिता अभिवृद्धि गर्ने, कोरोनाको महाव्याधिले निम्त्याएका आर्थिक, सामाजिक लगायतका समस्यासँग जुध्ने काममा नागरिक समाज संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ । यसर्थ यस विषम परिस्थितिमा एनजीओले निम्नानुसारका काममा आफूलाई केन्द्रित गर्नुपर्ने आजको आवश्यकता देखिन्छ ।
क. संविधानको मर्म र जनताको चाहनाविपरीत कोरोनाको महामारीको बीचमा भएका गैरजिम्मेवारीपूर्ण कार्य र त्यसले निम्त्याउने परिणामको बारेमा खबरदारी तथा जिम्मेवार बनाउन आवश्यक पहल र निगरानी गर्ने ।
ख. यस विषम परिस्थितिमा संस्थाले आफ्नो सम्बन्ध, सम्पर्क, स्रोत साधन सबै प्रयोग गरेर कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु जरुरी छ ।
ग. यस विषम परिस्थितिमा के कसरी काम गर्न सकिन्छ रु भन्ने बारेमा स्वयं यसका अभियान्ताहरू पनि स्पष्ट छैनन् । कसरी काम गर्ने के कस्तो तयारी गर्ने भन्ने बारेमा नागरिक समाज संस्थाकै अभिमुखीकरण गर्नु आवश्यक देखिन्छ । जसले विषम परिस्थितिमा नागरिक समाज संस्थाले पुर्याउन सक्ने योगदानको बारेमा उनीहरूमा प्रस्टता आउँछ र सरकारी योजनामा थप योगदान समेत पुग्दछ ।
घ. कोभिड प्रतिकार्य तथा खोपको व्यवस्थापनको लागि आवश्यक बजेटको माग गर्ने र त्यसको सही र समयमा नै कार्यान्वयनका लागि वकालत गर्नु आवश्यक छ । यसैगरी गरीब तथा बेरोजगार र अन्य जोखिममा रहेका समुदायको जीविकोपार्जन र अन्य सहयोगी योजनाका लागि स्रोत व्यवस्थापनको वकालत र पहल गर्नुपर्दछ ।
ङ. एनजीओको प्रमुख दायित्व भनेको सरकारलाई नागरिकप्रति थप जवाफदेही र जिम्मेवार बनाउने हो । स्थानीयस्तरदेखि केन्द्रीय स्तरसम्मका विभिन्न तहका सरकार र यसका निकायहरूलाई नागरिकप्रति थप जवाफदेही र जिम्मेवार बनाउनका लागि भौतिकरूपमा सम्भव नभएपनि भर्चुअल माध्यमबाट जवाफदेही र जिम्मेवार बनाउने काममा योगदान गर्नु आजको आवश्यकता हो ।
च. एनजीओले देशभरका विभिन्न भागमा गरिरहेका कामहरूको बारेमा प्रादेशिक तथा संघीयरूपमा व्यवस्थित विवरण संकलन र त्यसको विश्लेषणमार्फत प्रकाशन तथा प्रचारप्रसारको काम गर्नु आवश्यक देखिन्छ । यतिबेला संस्थाले काम नगरेको भन्दा पनि गरेको कामको विवरण राख्ने र त्यसलाई एकत्रित गरि सार्वजनिक गर्ने व्यवस्थित प्रणाली नहुनु समस्या हो ।
छ. संकटको समयमा नागरिकलाई सरकारको आवश्यकता बढी पर्दछ । कोरोनाले सिर्जना गरेको संकटको समयमा सरकार र यसले गरिरहेका गतिविधिप्रति नागरिकको व्यापक गुनासा छन् । सरकार तथा सार्वजनिक निकायका अधिकारीहरू यसबेलमा गैरजिम्मेवार बनेका छन् ।
ज. कोभिडको प्रतिकार्य, सुरक्षा र अत्यावश्यक सेवाको उपलब्धताको बारेमा सूचना सम्प्रेषण र निरन्तर अद्यावधिक गर्ने कार्य पनि आजको प्राथमिकतामा रहनु आवश्यक छ ।