पूर्व ‘भूत’हरूको बुख्याँचा विज्ञप्ति गैरजिम्मेवारीको पराकाष्ठा

पूर्व ‘भूत’हरूको बुख्याँचा विज्ञप्ति गैरजिम्मेवारीको पराकाष्ठा

  • सोमवार, जेष्ठ १७, २०७८
  • प्रा.डा.ऋषिराम शर्मा

  • 13.2K
    SHARES

नेपाली राजनीतिमा भूतहरूका बुख्याँचाविज्ञप्तिद्वारा अहिले राजनीतिको बजार रन्काउन खोजिएको छ । बहुदलीय व्यवस्थालाई निर्दलीय रूपमा परिभाषित गर्न तम्सेका भूत पूर्वहरू जीवित न्यायालयलाई तर्साउन विज्ञप्तिको नाङ्लो ठटाइरहेछन् । यस्तो देखिँदै छस उनीहरू पहिले आफू बसेको पदको डकार अहिले डकारिरहेछन् र राज्यमा अराजकता मच्चाउनेहरूको अग्निमा वितण्डाको चरु होमिरहेछन् । त्यतिबेलाको पदीय सत्ताका मादको ह्याङोभरको ऐठनले अहिले यिनीहरूलाई अँठ्याइ रहेछ ।
अहिलेसम्म भूतपूर्व भैसकेका अर्थात् पहिलेका वर्तमान र अहिलेका भूतहरूका चारथरी बकपत्र विज्ञप्तिको आवरणमा आइसकेछ । ट्रेड युनियन नै निर्माण गर्न सुरिएको शैलीमा सङ्गठन नै निर्माण भएजस्तै गरी चारथरी विज्ञप्ति निकाल्दै राष्ट्रप्रमुखको कर्तव्यक्षेत्रमाथि धावा बोल्ने नशा सवार भएछ । यो क्रम यसैगरी बढ्दै गयो भने उहाँहरूले कुनै दिन माइतीघर मण्डेलामा हामी यहाँ छौँ भन्दै भूतजात्रा निकाल्न पो बेर छैन ।

अहिले यी भूतपूर्व र केही वर्तमानहरू मिलेर वर्तमान राष्ट्रपतिको विरोधको सहनाई फुकिरहेछन्, नरसिंहा बजाइ रहेछन् । ७६-५ को धाराबाट बहुदलीयताको सङ्लो र स्वच्छ जल होइन, निर्दलीयताका ढलको दूषित, दुर्गन्धित एवम् हैजा फैलाउने पानी झार्ने टुटी खोल्न उक्साइरहेछन् । लाग्दैछ, घरमा बस्दाबस्दा हत्तुहैरान हुनुभएका भूतहरू जो आफू वर्तमान हुनुहुँदा आआफू टाँस्सिएको कुर्सीमा विराजमान हुनुहँदा न्याय, समानताको ठुलै मन्जिल खडा गर्नु भाको थियो बल लगाउनू भाको थियो र मुलुकमा रामराज्य स्थापना गर्न नाइटादेखिको बल लगाउनु भएको थियो झैँ गरी पो लाखेजात्रा देखाउँदै हुनुहुन्छ त गाँठे ।

अझै यस्तो पनि पो लाग्दैछ, विश्वविद्यालयका भूतपूर्व उपकुलपतिले समेत विज्ञप्तिको बुख्याँचा निकालेछन् । सायद भूतपूर्व उपकुलपति मोर्चा नामक पार्टी पो दर्ता हुन लाग्या पो हो कि ? आफू उपकुलपति हुँदा के के न खोरिया फाँडेझैँ फुईँ देखाउँदै यतिबेला उहाँहरू ‘अजासु’ शैलीमा बडो संविधानको व्याख्याता झै गरी अराजकताका जरामा अस्थिरताका फोहरको मल किन खन्याउँदै हुनुहुन्छ ? । जतिबेला उहाँ नियुक्त हुनु भो त्यतिबेला थुप्रै सिनियरहरूका टाउकामा कुल्चँदै अमुक पार्टीको कार्यालयमा गएर उपकुलपति नियुक्तिपत्रको बिलो बुझे लिएर हिँड्नु भएकै त होला क्या र ? अनि नियुक्ति भए पछि ‘दिन कटाउनु मानु पचाउनु’ भनेझैँ हाइ काढ्दै विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक समुन्नयनमा माखो नमारेका बरु धुलो पिठो पार्न चाहिँ केही प्रतिशत योगदान गरेका उदाहरण बग्रेल्ती भेटिने भूपूहरूको चुरीफुरी पनि जाद्रै जो हेर्न लायक छ र पो हौ ।
पहिले भूत न्यायाधीशहरूकै कुरा गरौँस अहिले जोजो विज्ञप्तिका नाममा वक्तव्यबाजी गर्ने होडमा हुनुहुन्छ, उहाँहरूका पालामा दराजमा थन्किएका केकति मुद्दा के कसरी किनारा लगाउनु भो १ उहाँहरूले न्यायका क्षेत्रमा केकस्ता क्रान्तिकारी कार्य सम्पन्न गर्नु भो । उहाँहरूका पाला गरिएका फैसलाहरूले केकति अपराधीहरूले सजाय पाए रु अनि अहिले उहाँहरूमा एउटै मोर्चा बनाएर यसरी विज्ञप्ति निकाल्ने चार्ज कुन कम्पनीको बेट्री बाट भयो । बहुदलीय र लोकतान्त्रिक व्यवस्था र संविधानको प्रस्ट व्यवस्था विरुद्ध दलको हाँडीबाट उछिट्टिएका ठेट्नाहरूलाई बटुलेर हिँड्ने र लोकतान्त्रिक आचरणको घाँटी निमोठ्नेहरूको पक्षमा यतिविधि उरालिनुको अन्तर्य के हो रु अदालतमा बहस चलिरहेको विषयमा प्रभाव पार्ने गरी फुटपाथबाट जोजो बोले पनि न्यायमूर्ति भैसकेकाहरूले पनि त्यसरी फुटपाथे शैलीमा बोल्न मिल्छ रु यदि मिल्दैन भने त्यसो गर्न हौस्याउने र उत्प्रेरित गर्ने मूर्त वा अमूर्त तत्व के हो ?
निर्वाचन आयोगमा आयुक्त भैसकेका अर्थात् भूतहरू पनि अहिले हुँचिल झै अशुभ बोल किन बोलिरहेछन् रु भूतपूर्व आयुक्तहरूको मोर्चा बनाउन पो लाग्या हो कि रु हुँदा हुँदा अहिले आएर पूर्वप्रदेश प्रमुखको विज्ञप्ति पो अरे । रातारात टीका लगाएर प्रमुख बनेका टीकाराम र टीका कुमारीहरूको चुरीफुरी हेर्दा अब यसको बाढी पो आउला जस्तो पो छ त ?
अर्को कुरो अहिले वरिष्ठ भन्ने शब्द बिचरा टोलाएर चौबाटामा भिख मागे जस्तो पो देखिन थाल्यो त । केही वरिष्ठ अधिवक्ताहरूले राजनैतिक दलहरूलाई अराजकता तर्फ लैजान बुरुकबुरुक उचाल्दै थचक्क थचार्दै गरेको गाइजात्रा पनि यहाँ देखिँदो छ । नेकपा फैसलाको पुनरावेदनका नाममा उचालेर पुष्पकमललाई लगेर पुनर्मूषिको भव भने झैँ हिलोमा पछारेको सन्दर्भ यहाँ स्मरणीय छँदै छ । अहिले कहिले सभामुखलाई “संसद डाक” भन्दै संविधानमाथि डकैती गर्न सुर्याइ रहेछन् त कहिले फलानो न्याधीश र ढिस्कानु न्यायाधीश भन्दै अदालतको इजलास भित्र विचित्रको रत्यौली खेलिरहेछन् । विचरा सभामुखलाई पनि यिनले कुन दिन पासोमा पो पार्ने हुन् बरै ।
वरिष्ठ नामको पछिल्लो गाइजात्राका भाइरल पात्र हुनुहुन्छ, नेकपा एमालेबाट साधारण सदस्यसमेत बाट निष्कासित गरिनुभएका नेपालज्यू !  पेरिस डाँडाको सुपारी लिएर आफैले समेत जोरजाम गरेको पार्टी भत्काउन गैँटी र कोदालो लिएर कुँदिरहनु भइको छ । अझै नेकपा एमालेको वरिष्ठ नेता लेखेर जात्रा र चटक देखाइरहनु भएको छ । कोटेश्वर बुढानीलकण्ठ एक्सप्रेस जो अहिले चलिरहेछ । कुन दिन उहाँले ने काँ का वरिष्ठ नेता लेख्न बेर छैन । देउवा निवासमा यस्तै गुइँया बढ्दै जाँदा “जय नेपाल” भन्ने अभिवादन शब्दका सट्टामा अबदेखि ‘जय नेपाल’ का सट्टा निज वरिष्ठकै नाम अगाडि राखैर “माधव नेपाल” भन्ने भनी पदाधिकारी बैठकले निर्णय गर्न पो बेर छैन ।
लाग्दो छ, अबका केही दिनसम्म थप भूतपूर्वहरूका थप बुख्याचा विज्ञप्तिहरू आउने छन् र मुलुकका वर्तमानहरूको उछित्तो काढ्दै संविधानको दोहोलो काङ्ने जात्रा जारी राख्ने छन् ।
र अन्त्यमा राष्ट्रपतिले असँवैधानिक काम गर्नु भो भनेर कोकोहोलो मच्चाउनेहरूले राम्ररी बुझनु जरूरी छ । राष्ट्रपतिका पनि आँखा हुन्छन् र विवेक हुन्छ त्यसैले त्यो दुरुपयोग होला कि भन्ने कुरा बुझेर संविधान बनाउँदा नै राष्ट्रपतिका आँखा र कान बन्द गरिदिने अनि अहिले आएर राष्ट्रतिले हेर्नुपर्थ्यो, विवेक प्रयोग गर्नु पर्थ्यो र यसो वा त्यसो गर्नु पर्थ्यो भन्दै आफूलाई उत्कृष्ट ठान्नेहरूले निकृष्ट शब्दका साथ हमला गर्न मिल्छ ?
तसर्थ, हे भूतज्यूहरू हो ? पूर्व पदका धाकका आडमा विज्ञप्तिका बुख्याँचा देखाएर मुलुकलाई अस्थिरताको गर्तमा धकेल्ने गैरजिम्मेवारीका क्रियाकलाप बन्द गर्दा नै उपयुक्त होला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी