शिवप्रसाद शिवाकोटीको किसान जागरण

शिवप्रसाद शिवाकोटीको किसान जागरण

  • शनिबार, जेष्ठ १५, २०७८
  • नरेन्द्रराज प्रसाई

  • 10.5K
    SHARES

२०२४ सालदेखि शिवप्रसाद शिवाकोटी प्रत्यक्ष रूपमा राज्यसरकारको विरोधमा अग्रसर भएका थिए । त्यसै बेलोदेखि उनी किसानहरूको हक, हित र सुरक्षाका लागि समर्पित थिए । उनी त्यस बेलादेखि नै सरकारी नीतिको विरोधमा ठाउँठाउँका पञ्चायत विरोधीहरूसँगको साठगाँठमा पुगिसकेका थिए । त्यस बेलादेखि उनले झापाका विभिन्न ठाउँमा साहूका खेत जोत्ने मोहीहरूको तथ्याङ्क राख्ने क्रमको समेत सुरुवात गरेका थिए । त्यसैअनुरूप उनले भित्रभित्रै मोही सङ्गठनको उचाइमा तीव्र रूप दिइरहेका थिए । जसको जोत उसैको पोतीय हक अथवा भनौँ, मोहीको सर्वोच्चता कायम गर्नका लागि उनको पूर्ण ध्येय थियो । त्यसैले खमारमा दाइँ गरेर प्रतिमन प्रतिबिघामा निश्चित धान खमारैबाट साहूलाई तिर्ने जस्ता क्रान्तिकारी जनसुधारका लागि झापा जिल्लाभरि शिव दाइले गुरुत्तर भूमिका खेलेका थिए ।

२०२४ सालकै कुरा हो- नेपालउपर भारतीय थिचोमिचो र हेपाहा नीतिको झापाली युवाहरूलाई चित्तै बुझेको थिएन । त्यतिखेर खगेन्द्र प्रसाईले रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी र विष्णुभक्त प्रसाईसँग सल्लाह गरेर शनिश्चरेमा विरोधसभाको आयोजना गरेका थिए । समारोहस्थलको व्यवस्थापन विष्णुभक्त दाइले गरेका थिए । त्यस दिन शिव दाइ र खगेन्द्र दाइले आकाश छेड्ने गरेर भाषण गरेका थिए । तर रामनाथ दाइले भाषण गर्ने बेलामा प्रहरीको प्रवेशले समारोहस्थल आतङ्कित भएको थियो । विरोध सभाका कारण त्यस दिनको शनिश्चरे हाटबजार पनि आतङ्कितै भएको थियो । खगेन्द्र प्रसाई भन्नु शिवप्रसादको किसान आन्दोलनका अर्का योद्धा थिए ।

शनिश्चरे बजारमा शिव दाइको भाषण निकै कडा थियो । आवश्यकता अनुसार शिव दाइ कडा मिजासका पनि हुन्थे । उनको शब्द जति कडा हुन्थ्यो जनतासँगको सम्बोधन त्यति नै नरम हुन्थ्यो । उनको भद्र, सरल र आत्मीय बोलीवचनका कारण उनी किसानहरूको नेतृत्वदायी भूमिकामा पनि सफल हुँदै गएका थिए । कतिसम्म भने कतै किसानलाई साहूले मर्का पारेको थाहा पाए भने उनी गाँस छाडेर पनि त्यहाँ पुगिहाल्थे । साथै उनी पुगेको ठाउँमा हरेक कसरत गरेर साहू र किसानमाझको मुद्दा पनि मिलाइदिने काम गर्थे । उनको लक्ष्य किसानहरूको संरक्षण, हित र उपकारमा नै सीमित हुन्थ्यो । त्यसैले उनी झापाका किसानका सर्वप्रिय नेतामा गणना भएका थिए ।

शिव दाइ राजनीति गर्ने, कृष्णा भाउजू कार्यकर्तालाई मकै, भटमासदेखि दहीच्यूरासम्म खुवाउने गर्थिन् । उनीहरू दुवै जनाको मन मिल्थ्यो । दुवैले प्रायः एउटै विषय चिताइरहेका हुन्थे । कहिलेकाहीँ यदि दुवैको मोतो नभएर काम भइहालेको थियो भने पनि दुवैले गरेको कामको प्रकृतिमा झन्नै एउटै प्रकारको नतिजा निस्कन्थ्यो । साना भन्ट्याङभुटुङ हेर्नेदेखि आफ्ना पतिका शत्रुहरूसँग भिड्ने काममा कृष्णा भाउजू सधैँ चनाखो देखिन्थिन् । शिवाकोटी दम्पती आफ्नो हरेक योजनाहरूमा सधैँ क्रियाशील देखिन्थे । अनि उनीहरूलाई सघाउपघाउ गर्ने हर्ताकर्ता र विश्वासपात्र खड्ग दाहाल र दधिराम उप्रेती नै प्रमुख थिए ।

शिव दाइ पद, पैसा र शक्तिभन्दा किसानको चाहनामा नै समर्पित थिए । राधाकृष्ण मैनालीका शब्दमा भन्नुपर्दा— ‘शिवप्रसाद शिवाकोटी किसानका भरथेक र आडभरोसा थिए ।’ भनौँ, उनी किसान नायक थिए । उनी आफ्ना कार्यकर्तालाई जनता भनेर सम्बोधन गर्थे । उनका हिसाबमा जनता भनेका प्राण थिए । उनी शासकले जनसेवा नै गर्नुपर्छ भन्थे । तर शासकले किसान दबाएको बेहोराले उनी विद्रोही थिए । उनको त्यो विद्रोह पहाडबाटै आएको थियो । उनको विद्रोही धाराले कहिले थकाइ मार्न पाउदैन थियो । युवावस्थाको शिखर आरोहण गरिन्जेलसम्ममा शोषक, सामन्तीको थिचोमिचो र अन्यायको विरोधमा कुर्लने उनी एउटा कुशल, सुरो र वीर जनप्रवक्ता भइसकेका थिए ।

शिव दाइले झापाका किसानलाई धेरै भरथेक गर्ने कसरत गरिरहे । स्थानीय सामन्त र व्यापारीहरूले किसानलाई सकेसम्म निमोठ्ने गर्थे । कतिसम्म भने त्यतिखेरसम्म पनि छलकपट गरेर व्यापारीबाट तौलिने काँटा, तराजु र लिटर प्रायः नक्कली नै राखिन्थ्यो । यसको सुधारका लागि प्रथम आवाज नै शिव दाइबाट उठेको थियो । ती मालको सुधारका लागि शिव दाइले जुलुसको समेत नेतृत्व गर्नुपरेको थियो । सधैँ किसानको उत्थानमा पसिना पुस्तै हिँड्दा जुलुस र पुलिसको कुटाइ उनका लागि सहोदरी नै झैँ भइसकेको थियो । तर पनि उनका पाइला कहिले पछाडि फर्केका थिएनन् ।

किसानलाई डेढीदेखि दोब्बरसम्म ब्याज लिने र अनेक बहानामा उनीहरूको मोहियानी हक हटाउने सामन्तका विरुद्धमा लड्नका लागि पनि शिव दाइले कम्मरमा पटुका कसेका थिए । उनले चर्को ब्याजमा ऋण लिनेका विरुद्ध, किसानको शोषण गर्नेका विरुद्ध र मोहीहरूका लागि मोहियानी हक कायम गर्न पसिना बगाएका थिए । यसबारे उनले दरो नारा लगाएर धेरै किसानलाई वामपन्थीको व्यावहारिक पाठ पढाएका थिए ।

पहिलापहिला झापामा नक्कली मोहीहरू भित्रभित्रै घुस्रिन्थे । सक्कली मोहीले थाहा नपाउँदै तिनैले अर्कोलाई मोहियानी बेचिदिन्थे । अनि यो कुरा जग्गाधनीलाई पनि थाहा हुँदैनथ्यो । तर शिव दाइले पुराना मोही कायम गर्दै हिँडे । जालसाजले थपिएका मोहीलाई कायम नगर्ने नीति ल्याउन प्रशासनमा उनैले दौडधुप गरे । तर झापाको प्रशासनले यसबारे ठाडो कान लगाउँदैन थियो । पछिपछि रामनाथ दाहालदेखि जयप्रसाद यूकेसम्म पनि यसै कामका लागि एकोहोरो भएर भिड्न थाले । अनि शिव दाइ यस कृत्यमा सफल भए । त्यसपछि पुराना अर्थात् सक्कली मोहीले धमाधम मोहियानी हकको प्रमाण लिन थाले । त्यसपछि सक्कली मोहीले मात्र जग्गा उपभोग गर्न थालेका थिए ।

शिव दाइले नै पहल गरेर वास्तविक सुकुमबासीका नाउँमा जग्गा दिने आन्दोलन तीव्र पारेका थिए । त्यतिखेर झापामा पुनर्वास कम्पनी पनि थियो । तर त्यसले पनि एकातिर जग्गाधनीलाई सुकुमबासी नै बनाउने कृत्य गरिरह्यो भने अर्कातिर जग्गाधनी नै सुकुमबासी बनेर जग्गा जोड्ने रीतको झापामा बडोत्तरी भइ नै रह्यो । उदाहरणका लागि मेरा मामा खगेश्वर उप्रेतीको खेतमध्ये दस बिघा खेतचाहिँ पुनार्वास कम्पनीमार्फत हराएको थियो । सरकारी कारिन्दाले कागतपत्र मिलाई नक्कली सुकुमबासी स्थापना गरेर तिनैलाई मेरा मामाको जग्गा बाँडेका थिए । त्यस्तो व्यवस्थालाई चकनाचूर पार्ने अभियानमा शिव दाइ नै रातोदिन भिडेका थिए । अनि यस काममा पनि उनले सफलता प्राप्त गरेका थिए । तर उनी पनि तिनै मामा खगेश्वर उप्रेतीको दोहोरो चरित्रउपर विद्रोही थिए । किनभने खगेश्वर मामा उनीहरूका विरोधमा प्रशासनसामु उजुरबाजुर गर्न पनि पछि पर्दैन थिए ।

 

शिव दाइले नेपालमा शिक्षाको सुधारका लागि समर्पित हुँदा भोकतिर्खा पनि बिर्सेका हुन्थे । त्यतिन्जेलसम्म आफ्नै गाउँ अर्थात् चारपानेको बेल्डागीमा तीन कक्षासम्म पढाइन्थ्यो । शिव दाइको नेतृत्वमा जयप्रसाद यूकेसमेतले त्यहाँ पाँच कक्षासम्मको स्कुलको व्यवस्थापन गरेका थिए । बेल्डागीमा स्कुल स्थापनाको काम सकेपछि यूके दाइ घैलाडुब्बाको आदर्श विद्यामन्दिर हाईस्कुलको शिक्षक भएका थिए । मेरा मामा देवीप्रसाद उप्रेतीले स्थापना गरेको र उनैको खर्चमा चलेको सो स्कुलमा दशौँ कक्षासम्म निःशुल्क पढाइन्यो । त्यति बेला त्यस स्कुलमा यूकेले खड्गप्रसाद वली शर्मालाई पनि पढाएका थिए । खड्गप्रसाद दाइ राजनीतिमा जति चनाखो, सक्रिय र भिजेका थिए तर पढाइमा चाहिँ उनी त्यति मिहेनत गर्दैन थिए ।

त्यतिखेर जयप्रसाद यूके कम्युनिष्ट सिद्धान्तका राम्रो व्याख्याता भइसकेका थिए । साथै उनी मार्क्सवाद, लेनिनवाद र माओविचारधारा अध्ययनविषयक मेचीकोसीको युवा महिला विद्यार्थी फ्रन्टको संयोजक थिए र झापाका किसानको फ्रन्टको संयोजक शिव दाइ थिए । उनीहरूको यस कार्यलाई स्थानीय प्रशासनले सामाजिक अपराध सम्झेको थियो । अनि क्रमशः पूर्व नेपालमा विद्रोहका स्वरहरूको चाङ लाग्दै जान थालेको थियो । अनि त्यो बेहोरा प्रशासनका लागि झन् सारो अपराधझैँ देखिन थाल्यो । त्यो राजनैतिक विद्रोह नै थियो । त्यस विद्रोहमा सर्वप्रथम शिवप्रसाद शिवाकोटीले नै घरेलु हातहतियारसहित हामफालेका थिए ।

 

शिवप्रसाद शिवाकोटीको जीवनी अन्तर्गत आगामी शनिबारशिवप्रसाद शिवाकोटीलाई माटोको माया पढ्नुहोला

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी