अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्तका सम्मानित राष्ट्रपति विद्या भण्डारीमाथि अपमानपूर्ण हमलाको यो चौथो भेरियेन्ट अर्थात् वेभ हो । यो हमलाको पहिलो भेरियन्ट सायद तिन वर्ष पहिले सरकारले तयार पारेर पढ्न दिएको नीति तथा कार्यक्रम संसदमा उहाँले पढ्नु भएको “मेरो सरकार” शब्दावलीलाई लिएर बेपत्तासँग आयो । त्यसबेला उहाँमाथि क्रूर हमला भयो, यद्यपि त्यो राष्ट्रपतिको दोष थिएन, किनकि उहाँमाथि अपमानका अस्त्र वर्षाउनेहरू सबभन्दा बढी कोही थिए भने आफूलाई लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाका मसिहा र तान्त्रिक ठेकेदार ठान्ने केही बूढा र तन्नेरी निर्मलबाबा र कोही बूढी अथवा तरुनी माताजीहरू थिए, जसले संविधान तयार पार्दा सरकारले लेखेर दिएको नीति र कार्यक्रम जस्ताको तस्तै पढेर सुनाउने बाहेक तत्सम्बन्धी थप केही आधिकार राष्ट्रपतिका भागमा राखैकै थिएनन् ।
हुनत राष्ट्रपतिले मेरो सरकार भन्ने प्रचलन सामान्य र प्रचलित परम्परा नै थियो । यद्यपि अर्को सालको नीति तथा कार्यक्रममा ‘मेरो’ शब्द परेन । अर्थात् सरकारले अर्को साल त्यो शब्द राखेन र राष्ट्रपतिले पढ्नु भएन । दोषै दिनु पर्ने भए सरकारलाई दिनु पर्नेमा राष्ट्रपतिमाथि बित्थामा हमला गरियो ।
राष्ट्रपतिमाथि हमलाको दोस्रो भेरियन्ट जोरजबर्जस्तीका साथ फेरि आयो । त्यो दोस्रो ठुलो हमला त हेलिकप्टर र गाडी मार्फत मात्र होइन, कार्पेटबाट समेत गरियो । डेढ अर्बको हेलिकप्टर, अठार करोडको गाडी र डेढ करोडको कार्पेट भन्दै पेटकै जुका झर्ने गरी चिच्याएर हावादारी कोकोहोलो गरियो । अझैँ, राष्ट्रपति भवन राष्ट्रपतिको निजी घर होइन र उहाँ कार्यकाल पूरा गरेर जाँदा त्यही छाडेर जानुहुने हो भन्ने कखरा पनि नजान्ने स्वाठ स्वाँठिनीहरू चण्डाल शैलीमा बर्बराए । राम्रा गीत मार्फत उसै चर्चित भएका एक राम्रा लोक गायक समेत कुरै नबुझी चिप्लिएर सोरसोरैमा “लुट्न सके लुट्” भन्ने गीतै रचे र त्यसमा “ डेढ अरबको हेलिकप्टर चढ्छिन् राष्ट्रपति” भन्ने पङ्ति राखे । भलै, पछि उनले क्षमा याचना त गरे । खैर, बाँदर मुढेमा निर्दोष मान्छे सोत्तर पारेर माफ माग्नेले आफूलाई बडो लचकदार, लोकतान्त्रिक भनेझै लच्कने शैलीको प्रयोग जो थियो, यी गायकले पनि गरे ।
पछि के गाइँगुइँ सुनियो भने यी सबै मध्ये केही किनकान गर्ने निर्णय त अघिल्लै राष्ट्रपतिको कार्यकालमा भएका रहेछन् । भनिन्छ, हेलिप्याड बनाउनका लागि अघिल्लै राष्ट्रपतिका पालामा तालिम केन्द्र सार्ने भएको निर्णयको कुरो कोट्याउँदा बबन्डर मच्चाइयो । पछि थाहा भयो, कार्पेट डेढ करोडको होइन, सत्ताईस लाखको मात्र रहेछ । अनि अहिलेका राष्ट्रपतिले चढ्ने सवारीसाधन त झन् त्यै साठी सत्तरी लाख पर्ने विद्युतीय गाडी पो रहेछ । त्यो भन्दा महँगो गाडी त हिजो जनयुद्ध र आज धनयुद्धमा लागेर दिव्य आयस्रोत मार्फत अकूत सम्पत्ति आर्जन गर्न पाउने तर स्रोत खुलाउनै नपर्ने हवाइचप्पलेहरू नै पो आज चड्छन् त ! अर्को कुरो, राष्ट्रपति कार्यालयको हेलिकप्टरले मुगुमा सुत्केरी हुन नसकेकी महिलाको उद्धारमा प्रयोग भएको देख्दा त्यसो भन्ने मौसमी र परिचालित र परिपोषितहरूले जब देखे । हेलिकप्टर हमलाकारीहरूले राष्ट्रपति विरुद्ध विषवमन गर्न चार्ज गरेको त्यो अदृश्य रिचार्ज पनि सकिएछ क्यार । त्यो भैरियन्ट क्रमशः मत्थर हुँदै गयो भने हमलाकारीहरू राष्ट्रपतिमाथि हमला गर्ने अर्को वेभ वा भेरियेन्ट ढुकेर बसे ।
राष्ट्रपतिका विरुद्ध विशेष गरी संसद् विघटनपश्चात् आएको जुन कडा खालको विरोधको भेरियेन्ट छ त्यो झनै विकृत रूपमा आएको छ । प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिबाट संसद्विघटन भयो । दोष त सरकारको होला नि, राष्ट्रपतिमाथि केको हमला ?
गत साल कोरोनाले मुलुकलाई आक्रमण गरेका बेला केही समयपछि राष्ट्रपतिमाथि अर्को हमलाकारी भेरियेन्ट आयो । नेकपामा देखिएको मतभेद र विग्रहबारे राष्ट्रपतिले जनताको अपेक्षा अनुसार मुलुककमा राजनैतिक स्थिरता कायम होस् भनी कतिपय सन्दर्भमा गर्नु भएको सौहार्द्रपूर्ण भेटघाटलाई पनि दुराग्रहपूर्ण तवरले हेरियो । केटाकेटी तर्साए झै महाभियोगको हाउगुजी देखाइयो । सरकारलाई कामै गर्न नदिएपछि जब संविधानले दिएको सुविधाको उपभोग गरेर सरकारले एसिड विरुद्धको अध्यादेश लगायतका अध्यादेश ल्यायो, त्यसपछि त झन्, राष्ट्रपतिले स्वीकृत गर्नु हुँदैनथ्यो भनेर जात्रा देखाए । लोकतन्त्र मार्न त्यसका सारथिहरूका घाँटी रेट्नेहरूका मुखबाट “सयौँ मुसा खाएर काशी हिडेको बिरालो”ले झै लोकतन्त्रको रामनामी गुन्जिन थाल्यो । अनि तिनैले अध्यादेश ल्याउँदा लोकतन्त्र छटपटाएको देखे । संविधान बनाउँदा चाहिँ राष्ट्रपतिलाई अधिकार दिने बेलामा ( “ कटवाल काण्ड”बाट गलहत्तिनु परेको घाउको माम्री कोट्याउँदै ) कनकन गर्ने र सरकारले ल्याउने अध्यादेशमा छाप लगाउने बाहेकको अधिकार दिन कन्जुस्याइँ गर्ने अनि राष्ट्रपतिलाई दोष दिन अलिकति लाज त हुनु पर्ने हो ।
राष्ट्रपतिका विरुद्ध विशेष गरी संसद् विघटनपश्चात् आएको जुन कडा खालको विरोधको भेरियेन्ट छ त्यो झनै विकृत रूपमा आएको छ । प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिबाट संसद्विघटन भयो । दोष त सरकारको होला नि, राष्ट्रपतिमाथि केको हमला ? यो भेरियन्टमा त उहाँमाथि उहाँले पदमा रहेर गरेको कामको विरोध गर्न उहाँको यौनिकता, लैङ्गिकता, मानवीय संवेदनशीलता र व्यक्तिगत जीवनमाथि पटकपटक हमला भयो । अझै एउटा आमसभामा त एउटीले नग्न पाराले राष्ट्रपतिको विरोधका नाममा झाक्रो फिजाउँदै उहाँमाथि लगाएको जघन्य आरोप त लाज पनि लजाउने खालकै थियो क्यार । त्यति मात्रै होइन श्रीमान् गुमाएर टुहुरा दुई चिचिला छोरीसहित रहँदा लगाएको सेतो सारी माथि प्रश्न उठाउँदै हेवीवेट भनिने नेताहरूलाई साक्षी राखेर थप जुन निर्घृणी शैलीमा आरोप लगाउने काम भयो र साक्षीहरूले ताली पिट्दै लाखे देखाउने जुन जात्रा भयो त्यो भेरियन्टको के कुरा गर्नु र खै ?
अझै, संविधानको धारा ७६-५ अनुसार दलीय व्यसस्थाको धज्जी उडाउने गरी बहुदलीय लोकतन्त्रलाई नै बिस्ट्याउने गरी निर्दलीय पाराले दावी गरिएको लोभीपापीहरूको जात्रालाई लोकतान्त्रिक गभणतन्त्रका राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यता मात्र होइन २७५ सदस्य भएको प्रतिनिधि सभामा ३०० भन्दा बढी सांसद्को गणित देखेपछि बहुमत प्राप्त गर्ने आधार नदेख्नु र दावीकर्ता दुवैलाई राष्ट्रपतिमा नियुक्त नगर्नु स्वभाविकै थियो । बिहानसम्म दावी पेश गर्न गरिएको राष्ट्रपतिको आह्वानलाई नै असंवैधानिक भन्नेहरूले आफैले असंवैधानिक पाराले अर्काका भकाराबाट वस्तुभाउ चोरेर आफ्ना हुन् भन्दै डोर्याएर पुगेको अवैध सङ्ख्याले जोगाउने लोकतन्त्र(!)को अनुहार कस्तो पो हुने होला !
यही मुद्दासँग आगो भएर सामाजिक सञ्जालमा सरकार प्रमुख र राष्ट्र प्रमुखलाई जोडेर यौनिक हमलाको हर्कत देखाउने अपराधीहरूका सङ्क्रामक भाइरसहरू सलबलाए ? शपथग्रहण समारोहमा राष्ट्रपतिले हल्का हाँसेको कुरोलाई लिएर सञ्जाल र कतिपय पोष्य मिडियामा जुन निकृष्ट, नीच र तुच्छ टीका टिप्पणी गरियो र गरिँदै छ, त्यस्तो टीकाटिप्पणी गर्नेहरू खोज्दै जाँदा त्यहाँ कुनै महिला उच्चपदमा पुगेको देखिनसहने कतिपय स्वनामधन्य घगडान बुद्धिजीवी, प्राज्ञ, वकिल, पत्रकार र नेता भन्नेहरूको ताँती पनि पो देखिँदो रहेछ । अतः राष्ट्रपति विरुद्धको यो भेरियेन्टलाई कुण्ठाको चीत्कार, नग्नता र मर्यादाहीनताका विस्टाको भाइरस पो भन्नु पर्ने देखियो त !
दृश्य वा अदृश्य रूपमा जानीजानी सम्मानित संस्थामाथि विषवमनको राँकोमा जजसले निरन्तर ऊर्जा प्रदान गरिरहनु भएको छ उहाँहरूले पनि एकपल्ट ऐनामा आफ्नो अनुहार हेरौँ । हजारौँको लाशको खेती गरेर आफ्नो धनसार भर्नेहरूले लोकतन्त्रका नाममा गोहीका आँसु नचुहाउँ ।
संवैधानिक राष्ट्रपतिका रूपमा सीमित अधिकारको चौघैराभित्र रहँदा पनि उहाँ नेपालका महिला र बालबालिकाका क्षेत्रमा निरन्तर लागिरहनु भएको, सार्वजनिक विद्यालयमा विद्यार्थीहरूको व्यक्तित्व विकासमा निररन्तर चासो दिइरहनु भएको, बालबालिकाका हितमा बालएकेडेमी स्थापनामा गम्भीर चासो दिइरहनुभएको, सरोकारवालासँग निरन्तर जिज्ञासा राखिरहनु भएको र किशोरी शिक्षा र महिला हिंसाका विरुद्ध निरन्तर खबरदारी गरिरहनु भएको छ । तर उहाँमाथि आफै भूत भैसकेका विभिन्न भूतपूर्वहरू जो आआफ्नो पालामा आफूले केके न खोरिया फाडेझैँ र मुलुकलाई रामराज्य बनाउन योगदान गरेझैँ एकोहोरो रूपमा उहाँमाथि बर्सिहेछन् र राष्ट्रपति माथिको विषवमनको सङ्क्रमण महामारीका रूपमा फैलाउन उद्यत भैरहेछन् । राष्ट्र वैश्विक कोरोना महामारीको सङ्कटले घेराबन्दीमा परेको बेला र राष्ट्रपतिमाथि लोकल भाइरसहरूद्वारा सङ्क्रामक, दानवीय र निर्मम हमला भैरहेका बेला राष्ट्रपतिमा चाहिँ राष्ट्रवासीप्रति असीम ममता उर्लेर आएको प्रमाण आजै मात्र चिनियाँ राष्ट्रपतिसँग फोन वार्ता गरी दसलाख मात्रा कोरोना खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाउनु भएको सन्दर्भले पुष्टि गर्दछ ।
आफ्नो अनुकूल निर्णय नआएकै भरमा राष्ट्रपति विरुद्ध नन्दीभृङ्गी परिचालन गरेर लैङगिकताका कोणबाट विभेदपूर्ण हमला गर्ने अमानवीय आचरण सुधारौँ । महिला अधिकार लैङगिक विभेदका नाममा डलर पचाउनेका कुरा त के गर्नु र महिला सङ्गठन र आयोगहरूले यसलाई गम्भीरतासाथ नोट गरौँ ।
त्यसैले गणतन्त्रको सिसाको घरभित्र बसेर गणतन्त्रको गजुरमाथि ढुङ्गा हान्दा सबभन्दा पहिला त्यो ढुङ्गाले केको क्षति गर्छ भन्ने बुझौँ ! दृश्य वा अदृश्य रूपमा जानीजानी सम्मानित संस्थामाथि विषवमनको राँकोमा जजसले निरन्तर ऊर्जा प्रदान गरिरहनु भएको छ उहाँहरूले पनि एकपल्ट ऐनामा आफ्नो अनुहार हेरौँ । हजारौँको लाशको खेती गरेर आफ्नो धनसार भर्नेहरूले लोकतन्त्रका नाममा गोहीका आँसु नचुहाउँ । लोकतन्त्रको शाकाहारी वस्त्रधारीहरू मांसाहारी भोजभतेरको भान्साबाट सकेसम्म बचौँ । आफ्नो अनुकूल निर्णय नआएकै भरमा राष्ट्रपति विरुद्ध नन्दीभृङ्गी परिचालन गरेर लैङगिकताका कोणबाट विभेदपूर्ण हमला गर्ने अमानवीय आचरण सुधारौँ । महिला अधिकार लैङगिक विभेदका नाममा डलर पचाउनेका कुरा त के गर्नु र महिला सङ्गठन र आयोगहरूले यसलाई गम्भीरतासाथ नोट गरौँ । स्मरण रहोस् ! राष्ट्रपतिविरुद्धको पाँचौ भेरियन्ट ल्याउन खोज्दा त्यसको भाइरसले आफै सङ्क्रमित र सखाप भइएला सतर्क बनौँ ।