झुठा बाचाका चाँङमाथि बसेर
लगौटी सम्हाल्न नसके पनि
पुराण वाचन गरिरहन्छ
आफ्नै महानताको ।
सुन्न चाहान्छ मात्र गुणगान
सुन्नदैन हरूवा, चरुवा, गोठाला
किसान र दुखी गरिबका पिडा !
ठूलाठूला जमघटमा ठूलै डिङ हाक्छ
आँपको बोटमा सुन्तला फलाउछ
किन्नु पर्दैन दूध तेल
धाराबाटै निःशुल्क पठाउछ ।
लुगा खोलेर आफैलाई पुरै नङ्ग्याउछ
लगौँटीसमेत नलगाइँ
सुन्दर पहिरनको व्याख्या गर्छ ।
शरिर ढाक्न सुझाव दिन्छ जस्ले
विभिन्न आरोप लगाउछ
थुन्छ, छेक्छ सकेकालाई मार्छ
सराप्छ, तथानाम गाली गर्छ
नाङ्गा खुट्टा, भोको पेट
गरिबको पीडा र चित्कार
रगतको आहाल देखेर खुसी हुन्छ ।
धारेहात लगाउछ दझिण तिर
राष्ट्रवादको नौटङ्की देखाउदै
लम्पसार पर्छ उसैको पाउमा ।
अघि पछि लागेका
धुपौरे र भजन मण्डली
आगोमा तेल खन्याएर
थपडी बजाउछन
देवत्वकरण गर्दै तारिफ गरिदिन्छन
हुक्के, चिलिमे, नातागोता
जुठो, पुरो चाट्न बानिपरेका
नन्दीभृङ्गी, दासहरूको झुण्ड ।
जनप्रतिनिधि हो या
रगतको आहालबाट उदाएको शाशक
सत्ता उम्मादले मातेको क्रुर तानाशाहा हो या
रोगले च्यापेर थलिएको रक्तपिपासु
सचेत मानव त हुनै सक्दैन
गिदी बन्धकी राखेको बुख्याचा हो या
कसैको ईसारामा हिड्ने यन्त्र मानव ।
बिरोधि तिर औला तेर्साउछ
सिन्को सम्म नभाँचेर
धेरै गरेको हुईया लगाउछ
निर्वस्त्र हिड्छ मैमत्त साडे
अझ हौसिदै !
अट्टहास हाँसोका साथ
ठूला ठूला डिङ हाँकीरहन्छ
एउटा सन्की नयाँ राजा !
सुन्दर पहिरन भिरेको भ्रममा
एउटा नाङ्गो बाद्शाहा ।