शिवप्रसाद शिवाकोटीका खेतीपाती गुरु रामनाथ दाहाल थिए । रामनाथ दाइको चारपानेकै छेउ लालमिट्टीमा पनि जग्गा थियो । त्यहाँको पाँच बिघा जग्गामा खुर्सानी मात्र उब्जाउ गरिन्थ्यो । त्यतिखेर खुर्सानी व्यापार पनि भनेजस्तै भएर सप्रेको थियो । साथै रामनाथ दाहाल राइस मिलबाट हुने आयस्ता पनि राम्रो थियो । वास्तवमा नै रामनाथ दाइ इलमी थिए । उनको त्यही खेतीपाती गर्ने शैली रइलमका चाहिँ शिव दाइ विद्यार्थी थिए ।
शिव दाइले रामनाथ दाइको सङ्गतबाट घरेलु ज्ञान, सीप र व्यवहारहरू सिके । त्यही क्रममा उनले खुर्सानी व्यापारदेखि धानचामलसम्मको व्यापार गर्न थाले । चारपानेको बेल्डागीमा शिव दाइको व्यापारिक थलो थियो । बेल्डागीहाटमा हप्ताको दुई दिन बजार लाग्थ्यो । तर त्यो अति सानो बजार थियो । त्यसै बजारमा पनि शिव दाइले धान, सुनपाट, तोरीको व्यापार पनि गरे । व्यापारबाट उनी शुभलाभतिर डोरिएका थिए । वास्तवमा शिव दाइ र कृष्णादेवी भाउजू त्यस काममा खुबै खट्ते । त्यसैले रात दुई गुना दिन चार गुनाले उनीहरूको व्यापार पनि फस्टाउँदै जान थालेको थियो ।
शिव दाइको व्यापारमा बढोत्तरी हुनथालेपछि उनले केही ठूलो बजारको ठाउँ रोजे । अनि घैलाडुब्बामा पनि यस कामको आरम्भ गरे । त्यहाँ गएर पसल थाप्ता पनि उनी यस काममा अधिकतम सफल हुँदै गए । क्रमशः उनले यो काम शनिश्चरे बजारमा पनि कायम गरे । त्यहाँबाट पनि यी धूमधामले उस्के । उनको त्यस व्यापारले उनी चाँडोभन्दा चाँडो त्यस ठाउँमा परिचित साहूजी नै हुन थाले । उनको मिहेनत र कार्यशैली जन्मजात व्यापार गर्नेहरूभन्दा कम्तिको थिएन ।
• • • • •
रामनाथ दाइ भनेका शिव दाइका आदर्श थिए । अथवा दाहाल उनका रोल मोडेल थिए । त्यसैले रामनाथ दाइले भनेपछि शिव दाइलाई ढुङ्गाको अक्षर हुन्थ्यो । त्यसैले रामनाथ दाइले शिव दाइलाई ‘वन फँडानी’ गर्ने र जग्गाजमिन जोड्ने तरिका सिकाए । त्यहीअनुरूप शिव दाइले पनि त्यस्तो खाले वनजङ्गल हेर्दै गए । त्यही क्रममा उनी शनिश्चरेस्थित सालबारी पुगे । त्यति बेला त्यहाँ रेखाङ्कन भएर महेन्द्र राजमार्ग बन्ने क्रममा थियो । अनि त्यही राजमार्गबाट तीनचार सय मिटर उत्तरतिरको जङ्गलमा शिव दाइले आँखा लगाएका थिए । स्थानीय समाजसेवी बलिराज इङनामको हार्दिक इच्छाबाट नै उनी त्यस ठाउँमा पुगेका थिए । शिव दाइ सालबारी पुग्नुको खास कुरा के थियो भने— बलिराज इङनाम हाम्रा पहाडे मामा थिए । साथै इवामा शिव दाइ र बलिराज मामाको घर पनि सँगसँगै थियो । हामी झापा पुग्नु दशकअघि नै बलिराज मामाले सालबारीमा आफ्नो वर्चस्व कायम गरिसकेका थिए ।
सालबारी मनोरम स्थल मानिन्छ । त्यो ठाउँ तराइ भए तापनि पहाडैजस्तो सितल, चिसो र रसिलो ठाउँ मानिन्छ । त्यो ठाउँ मन पराएपछि सर्वप्रथम शिव दाइले कमाएको पैसासमेत र रामनाथ दाइको सहयोगले उनले त्यहाँ पाँच बिघा जग्गा किनेका थिए ।
२०२४ सालको कुरा हो— शिव दाइले सालबारीमा जग्गा किनेपछि उनीहरू चारपानेबाट सालबारीमा बसाइँ सरेका थिए । सुरुमा उनले आफू बस्ने त्यहाँ सानो छाप्रो बनाएका थिए । त्यतिखेर शिव दाइले वन फडानी गरेको जग्गाको धनीपूर्जा पनि सजिलेसाग पाएका थिए । क्रमशः त्यहाँ उनको पन्ध्र बिघा जग्गा कायम भएको थियो । त्यसपछि त्यहाँ उनको एउटा भव्य घर पनि बनेको थियो । सालबारीका आकर्षक र राम्राराम्रा घरहरूमध्ये शिव दाइको घर पनि दरिने गर्थ्यो।
कृष्णा भाउजू मनकारी थिइन् । शिव दाइका घरमा पुगेका मान्छेले जुठो मुख नलगाई फर्केर आँगन काट्न पाइँदैनथ्यो । भाउजू सधैँ हँसिली हुन्थिन् र उनलाई बोलिरहनुपर्थ्यो । उनका हँसाइमा मानवजीवनको सग्लो प्रतीक भेटिन्थ्यो । किनभने उनी जनताको भोकतिर्खा बुझ्ने गर्थिन् । उनको बोलाइमा पनि आत्मीयता हुन्थ्यो । त्यसैले हामी शिव दाइसँग कम्युनिस्टको पाठ पढ्नुभन्दा भाउजूले पकाएको खान प्रायः शिवगृहमा पुग्ने गर्थ्यौं ।
• • • • •
‘शिवप्रसाद शिवाकोटीको जीवनी− ५ अन्तर्गत आगामी शनिबार ‘शिवप्रसाद शिवाकोटीको किसान जागरण’ पढ्नुहोला ।