अहिलेको आवश्यकता दिनानु दिन परिवर्तन हुँदै गइरहेको समाजमा आफ्नो प्रतिष्पर्धी अस्तित्व स्थापित गराउनु हो। आफू र आफ्नो सन्तानलाई समय अनुकुल शिक्षा, स्वास्थ्य र रहन सहनको व्यवस्था गर्नु अहिलेका पुस्तालाई ठूलो चुनौती बनेको छ। मानिसले समाजमा जहिले पनि आफ्नो बलियो उपस्थिति खोज्ने गर्छ। जब बदलिंदो समाजमा समय अनुसार चल्न नसकेर अन्यौल मा पर्छ अनि राजनीतिको असर, व्यवस्थाको असर र राज्यको उपस्थिति, राज्यको नीति जस्ता विषयमा मानिसको ध्यान जाने गर्दछ। यसरी आफ्नो अस्तित्व स्थापित गराउने बाटो खोजिरहेको युवा हरुलाई राज्यले सही दिशामा निर्देशित गर्न सक्यो भने राजनीति जनताको लागि हुने हुन्छ र राज्य पनि चाँडै विकसित र सभ्य बन्छ भने आफ्नो अस्तित्व खोजीको क्रममा बरालिएको युवाहरुलाई गलत स्कूलिङ गरेर राज्य उदासीन बनिदियो भने देश सँधै अन्यौल मा फस्छ।
अहिले नेपालको राजनैतिक अवस्था कुनै पनि हिसाबले जनतालाई सही हिसाबले मार्ग निर्देश गर्ने प्रकृतिको छैन। आफ्नो र आफ्ना सन्तानको सामाजिक अस्तित्व बचाउन संघर्षरत जनतालाई अनेक पार्टी, दल, गुट, झुण्ड, समुह, अभियान बनाएर गलत तरिकाले प्रयोग गरिंदै छ भने जनतामा निराशा को पहाडले अन्धकार ल्याइदिएको छ। आज शिप र क्षमता भएका मानिसहरू देशको यस्तो अस्तव्यस्त व्यवस्था सँग विरक्तिएर विदेशिएका छन् भने शिप र योग्यता नभएका हरु शारीरिक श्रम गर्न खाडी देशहरूमा भासिएका छन्। जो सँग शिप र क्षमता पनि छैन र विदेशी भूमिमा श्रम गर्न पनि जान सकेका छैनन् तिनीहरू तिनै पार्टी, गुट र अभियानको कार्यकर्ता बनेर भौंतारिएका छन् भने केही टाठाबाठा हरु पार्टीका नेता, गुटका नेता वा अभियन्ता बनेर तिनै देश भित्र र विदेशमा श्रम गर्ने हरुलाई लुटिरहेका छन्।
यति भन्दै गर्दा देश भित्रै केही राम्रो गर्ने उद्येश्यले लागि परेका कर्मठ युवाहरु पनि नभएका होइनन तर देशको राजनैतिक स्थिरता, बन्द, जुलुस देखि कतिपय नीति नियमको परिबन्द र राज्यको निकम्मापनले गर्दा आफ्नो समय र लगानीको प्रतिफल पाउने सुनिश्चितता नभएर निराश छन् भने कति त केही गर्छु भनेर लागेका हरु पनि राज्यको निर्लज्ज नीतिको कारण फेरि विदेशिन बाध्य भएका छन्।
मानिसको जीवनस्तर समाजको गतिसँगै अघि बढाउन आर्थिक रुपमा हरेक नागरिक सवाल हुनै पर्छ। हरेक नागरिक आर्थिक रुपमा सबल हुन राज्यले रोजगारीलाई आधारभूत आवश्यकता स्थापित गराई हरेक नागरिकलाई राज्यले अनिवार्य रुपमा रोजगारी दिनै पर्ने व्यवस्था हुनुपर्छ। जव सम्म राज्यले हरेक नागरिकलाई रोजगार दिने र बेरोजगार बस्ने नागरिकलाई कारबाही गर्ने व्यवस्था हुँदैन तवसम्म शासन प्रणाली जुनसुकै भए पनि र जो सुकै शासक भए पनि जनस्तर परिवर्तन हुने छैन। जब आर्थिक रुपमा नागरिक सबल हुन्छन् अनि समाज आफैं सभ्य र सक्षम हुँदै जान्छ। हाम्रा बाजे जिजु बाजेको पालादेखि जीवनस्तर उकास्न भन्दै राजनीतिक परिवर्तनको लागि लड्दै आए र अनेक पटक राजनीतिक व्यवस्था, शासन प्रणाली र शासक हरु परवर्तन भए तर जनजीवन परिवर्तन भएन। आर्थिक समानता, गरिवी, शिक्षाको पहुँच, श्रमको मूल्यांकन केहीमा पनि सुधार भएन। पहिले देखि नै जसरी आर्थिक रूपमा सम्पन्न हरुको पहुँचमा राज्यका सबै श्रोत हुने र बिपन्न हरुले जहिले पनि श्रम मात्र गरिरहनु पर्ने अवस्था अहिले पनि जस्ताको तस्तै छ। अहिले तपाईं हामी देश वा विदेशमा रहेर परिवारको आर्थिक अवस्था सुधार गर्न श्रम गरिरहेका छौ तर हाम्रो कमाइमा अनेकौं कोण बाट कर उपकर र शुल्क लिएर उनै सम्भ्रान्त हरु राज्यका सुविधाहरु उपभोग गरिरहेका छन्।
आजको आवश्यकता भनेको हरेक नागरिक आर्थिक रुपमा सबल हुनु हो। हिजोको जस्तो पूर्वजन्मको कर्मले गरीब भइयो भन्ने समय यो होइन, व्यापार व्यवसाय र उद्योग उत्पादन आजको आवश्यकता हो। अहिले राजनीतक परिवर्तनका नाममा बन्द आन्दोलनमा जनतालाई अल्मल्याएर आर्थिक रूपमा जनतालाई अरूको भर पर्नु पर्ने स्थितिमा राख्ने अनि प्रलोभन देखाएर राजनीतिक फाइदा लिने प्रवृत्ति छ। यदि तपाईं हामी आर्थिक रूपमा सक्षम भयौं भने नेताहरुले राजनीतिको लागि दिने प्रलोभनमा पर्नु पर्ने बाध्यता हुँदैन। आज तपाईं हामीलाई जीवनस्तर उकास्न आर्थिक गति लिनै पर्ने वाध्यता छ। आफ्नै अनिश्चित भविष्य लिएर आफ्ना सन्तानको उज्ज्वल भविष्य खोज्न भौंतारिएका छ नेपाली समाज।
यी सबै भए यावत् समस्याहरू जुन हाम्रो दिनचर्या बनिसकेको छ। समस्या देखाएर वा औंल्याएर मात्र समस्याको समधान हुँदैन। कुनै पनि राष्ट्र समृद्ध हुन कुनै व्यक्ति, संस्था वा समूहको प्रयासले मात्र हुँदैन समस्यालाई राजनीतिले या राज्यको नीतिले सम्बोधन गरिनु पर्दछ। यहाँ यो प्रसंग सान्दर्भिक होला, नेपालमा सर्वसुलभ र गुणस्तरीय शिक्षा दिने भनेर उत्तम सञ्जेलको नेतृत्वमा समता शिक्षा परिकल्पना ल्याइयो र देशको विभिन्न ठाउँमा सो अनुरूपको विद्यालय पनि स्थापित भएर सञ्चालन भए केही वर्ष उत्तम सञ्जेलमा जोश र जाँगर हुन्जेल यसले राम्रै गति लियो तर यसलाई राज्यको नीतिले समेटेन र अहिले त्यो प्रयास नाकाम बन्दै छ। यदि यो परिकल्पना लाई राज्यले अंगीकार गर्दिएको भए आज शिक्षा क्षेत्रमा ठूलो परिवर्तन हुने थियो। महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र को अवधारणा लिएर प्रविधि विकासलाई संस्थागत गराउन प्रयत्नरत छन् र उनले उनले समाजमा सकारात्मक ऊर्जा विकास त गरेका छन् तर राज्यले उनको प्रयासलाई सबोधन गरेर राज्यको नीति भित्र ल्याउन चाहेका छैनन्। यदि उनको विचारलाई राज्यले सम्मान गरेर राज्यको नीतिले नै सम्बोधन गर्ने हो भने नेपाल प्रविधिमा अब्बल बन्न समय लाग्दैन। तर राज्य सञ्चालकहरु यी सब गर्न चाहँदैनन् किन भने राजनीतिको हण्डी बोकेर मागिखाने यो राजनीतिक पार्टी नामका दलालका संगठनहरू राज्यलाई जहिले पनि अस्थिर र जनतालाई अन्योलमा राखेर तिनै अस्थिरता र अन्योलता माथि भाषण ठोकेर सत्ता चलाउन चाहन्छन्। त्यसैले अबको युवाहरुले राज्य रूपान्तरण गर्ने सोच, परियोजना, बौद्धिकता र व्यक्तित्वलाई राज्यको नीतिले नै स्थापित गराउने राजनैतिक नेतृत्वको निर्माण गर्न जनता राजनीतिक रुपमा सचेत हुनु जरुरी छ।
दैनिक नेता र नेतृत्वलाई गाली, असन्तुष्टि सुनिनु सामान्य भयो तर न कहिल्यै समस्याको समाधान निस्कियो न समाधान उन्मुख बहस नै भयो। यहाँ यदि एउटा सामान्य गधा बाट हामी टनको भारी बोकाउन खोज्छौं भने गधा होइन हामी गलत हुन्छौं। त्यो गधा ले टनको भारी बोकेन भनेर गधालाई गाली गरेर केही हुँदैन जुन गधाको क्षमता भन्दा माथि छ। टनको भारी बोकाउन नै छ भने गधा त्यागेर गाडी अपनाउनु पर्छ अनि मात्र सम्भव छ। त्यसैले अहिले नेपालको राजनीति भनेको पाल्दै आएको गधाको विकल्प खोज्नुको सट्टा हामी गाधा लाई रङ्ग दलेर, चिल्लो दलेर फेरि उही टनको भारी बोकोस् भन्ने अपेक्षा गरिरहेका छौं। अब साँच्चै समृद्धि स्थापित गर्ने हो भने गधा छोडेर गाडी अपनाउने बेला यानिकी अहिलेको नेतृत्व परिवर्तन गर्नु पहिलो शर्त हुनेछ। देशको नेतृत्व भिजिनरी युवाले लिनु पर्दछ। अहिलेको नेतृत्व जस्तै केपी ओली, माधव नेपाल, प्रचण्ड, शेरबहाुर देउवा या यस्तै हरु बाट समृद्धि खोज्छौं भने उहीहरु होइन जनता गलत हुन किन की ओलीहरुमा देश परिवर्तन गर्न सक्ने क्षमता नै छैन भने उनको क्षमता भन्दा बाहिरको अपेक्षा गरेर उपलब्धि हुनै सक्दैन जस्तै कि जति रङ्ग दले पनि गधाले टनको भारी बोक्नै सक्दैन गाडी नै चाहिन्छ। त्यसैले देशलाई विश्वको पिछडिएको मुलुकबाट प्राकृतिक सम्पदाले पूर्ण विकसित राष्ट्र चाहन्छौं भने युवा सोचलाई र युवा शक्तिलाई अंगीकार गर्ने नीति भएको राजनीतिको लागि नेतृत्व परिवर्तन गरौँ।