मदन भण्डारीको चिट्ठी विद्यादेवी भण्डारीलाई !

मदन भण्डारीको चिट्ठी विद्यादेवी भण्डारीलाई !

  • सोमवार, जेष्ठ ३, २०७८
  • -उमेश बिष्ट बझाङ

  • 25.7K
    SHARES

प्रिय विद्या कमरेड !

म तिमी सहितको पहलमा निर्मित दासढुंगाको सालिकमा आश्रितको साथमा छु । तिम्रो प्रगति र उन्नतीको अथाहा उत्कर्ष देखेर असाध्य खुशी छु । बेलाबेला हर्षका आँशु बगाउँछु । कतिवेला त लाग्छ मलाइ जसले हत्या गरेको हो ठिकैपनि गरेछ । नत्र तिम्रो राष्ट्रपति हुनेसम्मको यतिठूलो प्रगति मेरो जीवनकालमा सायद असम्भव हुनसक्थ्यो । तिमीले मलाइ सहयोग गर्दागर्दा तिम्रो उच्च उर्जाशिल जीवन कस्तो अवस्थामा गुज्रन्थ्यो होला भनेर कल्पना नै गर्न सक्तिन ।

जतिबेला मेरो हत्याको योजना बन्दै थियो, त्यतिनै बेला देश र जनताको सर्वांगिण विकाशका लागि सपनाहरुको एउटा व्यवस्थित श्रृंखला निर्माण हुदै थियो । जनताको वहुदलिय जनवादको रुपमा पार्टी भित्र अत्याधिक मत सहित खाका तयार भएको थियो । देशको विकाश एउटा कुरा रहेछ । तर हरजनताको जीवन विकाशलाइ वेवास्ता गरेर हुने विकाशले अन्तत खुशी मिल्दैन । यहि कुराले मलाइ पोलिराख्थ्यो ।

देशको भौगोलिक विकाशको साथमा मुख्यतः जनताको अनुहारमा खुशी हेर्ने असाध्य ठुलो सपना थियो । एक–एक व्यक्ति मार्फत, एक–एक परिवारहरु सहित, प्रत्येक गाउँहरुलाइ सचेत पारेर नविन समाज निर्माण गर्न सक्दामात्रै देश बलियो हुन्छ भन्ने मलाइ लाग्थ्यो । तर देशमा सामन्तवादको नाइके राजा र त्यसलाई टिकाउने राजसंस्था कायम रहेसम्म केहि हुदैन भन्ने भित्रैदेखीको आत्म–विश्वास थियो । सामन्तवादको जरो–किलो उखेलेर फ्याक्न समग्र परिस्थिति तयार भएको थिएन । परिस्थिति तयार पार्नपनि समय लाग्थ्यो । जनतालाइ शिक्षित र सचेत पार्नुपथ्र्यो । उपयुक्त समयको प्रतिक्षारत संक्रमणकालका लागि वहुदलिय जनवाद प्रतिपादन गरिएको हो । ताकि जनताका असलि दुश्मनमाथी उपयुक्त समयमा अचुक निशाना लगाउन सकियोस् र गरिव जनताको मुहारमा खुशीको मुस्कान देख्न पाइयोस । तर म अकस्मात मारिएँ । त्यसको दुइवर्ष पछि तत्कालिन माओवादी पार्टीले शसस्त्र जनयुद्ध गर्ने हिम्मत गरे । त्यसको दशवर्ष पछि तपाईहरु सबैजना मिलेर जनआन्दोलन श्रृजना गर्नुभयो । जसको परिणाम सामन्तवादको किल्ला ध्वस्त भयो । म मारिएपनि मेरो सपनाको असाध्य गहन र कठिन खुड्किला पार गर्दै देशमा संघीय गणतन्त्र निर्माण भयो । देशको राजनैतिक संरचनामा गरिएको आमुल परिवर्तनका लागि तपाई मार्फत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्रिय विद्या, म २८ वर्षदेखी यो दासढुंगामा तिमीलाइ पर्खिरहेको छु । तिमीलाई मात्रै होइन सबै नेकपा एमाले पार्टीका नेता कार्यकर्ता र आम न्यायप्रेमी जनसमुदायलाइ पर्खिरहेको छु । त्रिशुलिको पानीले सुन्निएको मेरो लास निकालेर आर्यघाटमा जलाइयो । तर जुनदिन आश्रीत र मेरो सालिक दासढुंगामा निर्माण भयो, हामी यहीं छौं । हो, हामी अमुक ढुंगाको शालिकका रुपमा छौं । वर्षौदेखीका हजारौं हजार प्रश्न लिएर आश्रितले मलाइ हेर्छ । केही उत्तर दिने र केही प्रश्न गर्ने मनसाय राखेर म आश्रितलाई हेर्छु । तर हामी बोल्न सक्दैनौं ।

लागेको थियो पाँचवर्ष, दशबर्ष, विसवर्ष जति समय जान सक्छ जाओस । तर कुनै न कुनै दिन त देशमा एमालेको राज हुनेनै छ । त्यसपछी षडयन्त्रकारी हत्याराहरुको व्यापक खोज हुनेछ र खासमा हामी मारिनुपर्ने के त्यस्तो गलत काम गरेका रहेछौं भन्ने यथार्थ पत्ता लाग्नेछ । त्यसदिन हाम्रो आत्मालेपनि शान्ति पाउनेछ भन्ने प्रतिक्षामा थियौं । पछिल्ला बर्षहरुमा त झनधेरै आशा र विश्वास जागृत भएको थियो ।

प्रिय विद्या, तिमी दोश्रो कार्यकालका लागि राष्ट्रपति भयौ, केपी कमरेड ३ पटक प्रधानमन्त्री हुनुभयो । देशमा नेकपा एमाले पार्टी इतिहासमै नभएको ठूलो भयो । तर हाम्रो हत्या किन भयो रु यसको कहिं कतै प्रश्न भएन । आजभोली त हरवर्ष हाम्रो सम्झनामा बगाइने आँशु र हाम्रा शालिकमा चडाउने फुलहरु नक्कलि लाग्छन् । कताकति तिमिनै नक्कली लाग्छ । र प्रत्येक कमरेडहरुसंग हराएका शंकाहरु पुर्नजागृत हुन्छ । अन्यथा नमान विद्या आहात भएर मैले तिमी माथी नै शंका गर्न थालेको छु । हर व्यक्तिहरुलाई दोषि देख्न थालेको छु । हत्या गर्ने कार्यमा संलग्न देखिने एउटै पात्र थियो हाम्रो ड्राइभर–अमर लामा । त्यसलाई पनि माओवादीले मारियो । त्यसलाइ किन मारिएको थियो ? देखिने एउटै प्रमाणलाई नष्ट पार्नुको कारण के थियो ? त्योपनि त खोज्यो भनेत भेटिन्छ होला नि प्रिया ।

सायद अब तिमीलाइ पनि यसो गर्नुको खासै मज्जा छैन जस्तो लाग्दैछ । होस, यी सब गन्थन मन्थन ले तिमीलाइ पिडा हुन सक्छ । आउ बरु म तिमीलाइ केही सुझाव गर्न चाहन्छु । तिमीलाइ याद छ विद्या, हामीले चियापत्ति सकिएको बेला अलिकति चिनी डढाएर कालो चिनीपानीको चिया खाएको ?, हाम्रो स्टोपमा मट्टितेल सकिएर कतिपटक यतिकै वसेको ? मलाइ त एकदमै याद छ । यो याद भइराख्नुपनि पर्छ । मलाइ लाग्छ आजभोली यी सारा कुरा तिमीले भुल्दै गएकि छौ । मैले अघिपनि भनेनि, मेरो लक्षको सामन्तवादी पर्खाल तिमीहरु सवै मिलेर ढालिदियौं । तर समस्या पर्खालको होइन, सोचको रहेछ । राजावादी सामन्ती सोच अहिले तिमीहरुमा देखेर मलाइ दिक्क लाग्छ । राजतन्त्रात्मक परम्पराको ढर्रा तिमीलाई सुहाउँदैन । हामी राजाहरुको आलिशान जीवनको कुण्ठाले एमाले भएका होइनौं । तिमीलाइ थाहा छ उनीहरु किन रथमा सवार हुन्थे ? ‘म भनेको राजा हुँ, तिमीहरु सबै रैति हौ, मेरा लागि तालि पड्काउ, मेरो जयजयकार गर, दायाँवायाँ नगर, म आउँदा बाटो छाड, अरु कोही मेरो वरीपरी नहिँड, किनभने राजा र राजपरिवार भनेको अभिजात कुलिन हौं’ भनेर देखाउँथे । के तिमिलाइ यस्तो सुहाउँछ ?, यस्ता वाहियात परम्पराको दास वन्न तिमीलाई सहाउँदैन । यसलाइ तोड्न सक्नुपर्छ ।

खासमा आजपनि दुइ छाक टार्नका लागि इटाभट्टामा काम गर्ने महिलाहरुको शोषणको कल्पना गर्ने गर । आफ्नो शरिर वेचेर वेश्यावृति गर्न वाध्य किशोरीहरुलाइ हेर । विदेशमा गएर ज्यान फाल्ने लाखौं लाख नेपालीलाई हेर । तिम्रो लवाइ खुवाइले तिमीलाइ आफ्नो राष्ट्रपति ठान्दैनन् उनीहरु । तिमी लुंगि लगाएर ती जनताको वीचमा जान सक्नुपर्छ, सानासाना बालबालिकहरुसंग तिनका निर्दोष प्रश्नका मायालु उत्तरहरुसंग रमाउन सक्नुपर्छ । र फेरीपनि ती दिन सम्झ, जुनदिन हाम्रो घरमा चियापत्ति थिएन, स्टोपमा मट्टितेल सकिएको थियो, छोरीहरु भोकाएका थिए रपनि जनताका लागि हामी लडिरहने प्रण गरेका थियौं । लाखौं जनताको मुहारलाई सम्झेर आफूलाई उर्जाशिल वनाएका थियौं । बस मेरो कामना यति हो ।

–तिम्रो प्रिय,  मदन भण्डारी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी