डा.सत्यमोहन जोशी हाम्रा गौरव हुन् । सकारात्मक शैली उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । उनी जे कुरा पनि सहज पाराले अवलम्बन गर्छन् । उनको जीवनमा जतिसुकै हुरीबतास आए पनि र जतिसुकै खुसीयाली छाए तापनि ती बेहोरालाई सजिलो पारामा ग्रहण गर्ने नैसर्गिक शक्ति उनमा रहेको पाइन्छ । त्यसैले पनि उनी धेरैका हाईहाई भए, धेरैका प्रिय भए र धेरैका आदर्श पनि भए ।
संसारमा मान्छे पढेरभन्दा परेर ठूलो हुन्छ भन्नेको अर्को प्रमाण पनि सत्यमोहन जोशी नै भए । उनले आईएसम्मको मात्र शैक्षिक योग्यता हासिल गरे । तर काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गर्ने उनी प्रथम व्यक्तिमा दरिए । वास्तवमा नेपाली वाङ्मयमा उनको योगदान उच्च कोटिको रह्यो । त्यति मात्र होइन, उनले एक सय वर्षसम्मलाई सधैँ एकैनासले परिचालित गरिरहे । नेपाली धरामा सत्यमोहन जोशीझैँ दुक्ख पाउने मानिस पनि विरलै छन् र उनीभन्दा भाग्यमानी मानिस त छैनन् भने पनि हुन्छ । उनको कर्मको फल नै उत्कृष्ट साबित भयो । किनभने नेपालका वाङ्मय शताब्दी पुरुषमा उनी नै स्थापित भए ।
सुरुसुरुमा डा.सत्यमोहन जोशीलाई शताब्दी पुरुष भनिँदा सुन्नेहरूका लागि यो कुरा त्यति सहज मानिँदैनथ्यो । त्यस्तो शब्द प्रयोग गरेबापत प्रायः सुन्नेहरूले हामीसँग अचम्म मान्ने गर्थे । प्रायःले हाम्रो मनसायलाई त्यति पत्याएका पनि थिएनन् । त्योभन्दा अघि राज्यले पनि उनलाई त्यति महत्त्व दिइराखेको थिएन । जोशी राजसंस्थाले नै पनि त्यति पत्याएका मान्छे थिएनन् । भनौँ, उनी राजाले पनि त्यति मान्यता नदिएका मानिस थिए । तर उनी कट्टर नेपालवादी हुन् । उनको दिगो संसार नै नेपाल मात्र मानिन्छ र नेपालले चाहिँ उनको सही मूल्याङ्कन गरेको थिएन । यति हुँदाहुँदै पनि उनले कहिले फलको आशा राखेनन्, किनभने उनी निष्ठावादी नेपाली हुन् । अनि तिनै महान् व्यक्तिका लागि मैले ‘शताब्दी पुरुष’को परिकल्पना गरेको थिएँ ।
जोशी नेपालका कर्मवीर, ज्ञानवीर र धर्मवीर नागरिक हुन् । जतिसुकै हावाहुरीले पनि उनलाई उडाएन, जतिसुकै गहिरो पानीले पनि उनलाई डुबाएन, अनि जतिसुकै आँधीबेहरी र भुमरीले पनि उनलाई छोपेन । एउटा स्वाभिमानी, हिम्मती र वीर मानिसका लागि जीवनमा कति विघ्नबाधा आउँदा रहेछन् भन्नेको अर्को सग्लो प्रमाणका रूपमा डा.जोशी नै देखा परे ।
अन्ततः एक सय वर्षसम्मको जोशीको नेपाली धरामा लगानी सधैँका लागि सुरक्षित भइरह्यो । नेपाली वाग्देवीमा उनले समर्पण गरेको सुकीर्तिले नै उनी नेपाली वाङ्मयका अक्षरमा सधैँ, सधैँ र सधैँ अटल भइरहे र उनी यसैमा नै बाँचिरहनेछन् ।
जोशीलाई ‘शताब्दी पुरुष’का लागि रोज्नुपर्ने अनेक कारण थिए, तर पनि त्यस उपाधिका लागि उनको चयन गर्नुपर्ने मुख्य कारण यहाँ पनि उल्लेख गर्न उपयुक्त देखिन्छ— ‘उन्नाइसाð शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्यको लेखनयात्राले दुई शताब्दीको सेरोफेरो ढाकेको सन्दर्भमा वाङ्मयिक संस्कृतिको सुकीर्ति पैmलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा डा.सत्यमोहन जोशीकोे सफल यात्राको हार्दिक कदर गर्दै ‘शताब्दी पुरुष’को उपाधि समर्पण गर्न वाञ्छनीय थियो र यस कदमप्रति हामी नइ जागरूक भइरह्यौँ । अनि यस अभियानलाई पार नलगाइन्जेल हामी यसैमा केन्द्रित पनि भइरह्यौँ ।
सरकारले पत्याउनैपर्ने शताब्दी पुरुष
सत्यमोहन जोशीले नेपाली वाङ्मयका लागि अनगिन्ती काम गरे । नेपाली वाङ्मयमा उनले चढाएको ओजस्वी कृत्यका कारण उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिवसमेत भएका थिए । उनी त्यहाँ रहँदा उनले इतिहासमा नै कसैले नगरेको अनेक कार्य गरे । राजा महेन्द्र बाँचुन्जेल जोशीले आफ्नो सङ्गठनात्मक शक्ति देखाइरहे । महेन्द्र योग्य मान्छेको कदर गर्न पनि अति सिपालु थिए । तर उनी चाँडै स्वर्गीय भए ।
२०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपछि जोशीकै सम्पादनमा एक हजार पृष्ठको ‘महेन्द्र स्मृति ग्रन्थ’ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रकाशनमा ल्याएको थियो । राजा महेन्द्रलाई चिनाउने किताब नै त्यही हो । राजाका लागि जनताले त्योभन्दा थप अरू गर्ने ठाउँ केही थियो र ? थिएन; तर राजा वीरेन्द्रले उनलाई कहिल्यै हेरेनन्, उनलाई जतिसुकै कष्ट भए तापनि राजाका कानमा त्यो बेहोरा कहिल्यै पुगेन र उनी आर्थिक कारणले डुब्न लाग्दा पनि राजाले त्यो देख्तै देखेनन् । पछि निकै पछि उनै राजाका हातबाट यिनले एउटा तेस्रो दर्जासम्मको गोरखा दक्षिणबाहुचाहिँ पाएका थिए । तर त्यतिन्जेलसम्ममा उनीभन्दा तलका धेरैले दोस्रो दर्जाको नै त्यस प्रकारको तक्मा पाइसकेका थिए ।
नेपालमा गणतन्त्र आए पनि जोशीको मूल्याङ्कन गरिदिने कोही नेता देखा परेनन् । सरकार हाँक्ने र त्यसका वरिपरिकाले जोशीको साक्षात् उचाइको चाल नै पाएन । कतिसम्म भने २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री थिए । नेपालका राजनैतिक गुरु डा.मोदनाथ प्रश्रित र म सत्यमोहन जोशीका विषयमा कुरा गर्न प्रधानमन्त्रीलाई भेट्न त्यतिखेर बालुवाटार गएका थियौँ । हामी त्यहाँ पुगेका बेला त्यहाँ नेपालसँगै उनका राजनैतिक सल्लाहकार रघुजी पन्त पनि थिए । जोशीलाई नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति बनाइदिन अनेक तर्क दिएर नेपालसँग हामीले सशक्त आग्रह गरेका थियौँ । हाम्रो कुरा सुनेर प्रधानमन्त्री नेपालले भनेका थिए— ‘संस्कृति मन्त्री नेपाली काङ्ग्रेस दलका मिनेन्द्र रिजाल हुनुहुन्छ, त्यसैले कुलपति काङ्ग्रेसैका भागमा परेको छ । हामी जोशीलाई कुलपति बनाउन सक्दैनौँ । कुलपति पदका लागि काङ्ग्रेसले वैरागी काहिँलाको नाम दिइसकेको छ ।’ त्यसपछि तुरुन्तै पन्त पनि बोलेका थिए— ‘हाम्रो कोटामा उपकुलपतिको पद परेको छ, त्यो पदका लागि हामीले गङ्गाप्रसाद उप्रेतीको नाउँ पठाएका छौँ ।’ उनीहरूका कुरा सुनेर डा.प्रश्रित र म छक्क परेका थियौँ । किनभने हामीले उनीहरूसमक्ष नेपाली साहित्यका एउटा अर्को बलियो शिखरको नाउँ लगेका थियौँ; तर उनीहरूले त हाम्रा कानमा ठाँगे, डाँडो र थुम्काको नाउँ ओकलेका थिए । त्यतिखेर त्यहाँ हामीले सुनेका व्यक्तिका नाउँ अरूका मुखबाट सुनेका भए सायद हामी त्यो कुरा पत्याउँदैनथ्यौँ ।
मोदनाथ प्रश्रित र म ‘सरकार प्रमुखकै मेरो र तेरो’ भन्ने दुःखद कुरा सुनेर खिस्रिक्क भएका थियौँ । धेरै नरमाइलो मानेर त्यतिखेर हामी प्रधानमन्त्रीको निवासबाट फर्किएका थियौँ । अनि मैले त्यहाँ भएका सबै कुरा सत्यमोहन जोशीलाई पनि भनेको थिएँ । त्यस बेला केही नमीठो पारामा जोशीले मलाई उत्तर दिएका थिए—‘भैगो अब यस्तो काममा तपाईंहरू लाग्दै नलाग्नुहोस् ! यो नेपाल हो । सबैतिर यसरी नै पार्टीका मान्छे नै आउँछन्, जान्छन् । कसलाई दोष दिने ? कोसँग चित्त दुखाउने ? र कसलाई के भन्ने, खोइ !’
सत्यमोहन जोशीका प्रसङ्गमा (या दलबाहिर रहेर उचाइ प्राप्त गरेका मानिसको मूल्याङ्कनका प्रसङ्गमा भनौँ) व्यक्तिगत रूपमा प्रधानमन्त्री माधवकुमार नेपालको कुनै दोष देखिँदैनथ्यो । तर नेपालको राजनैतिक व्यवस्था हाँक्ने दृष्टिकोण बोकेको दलीय व्यवस्थाको चाहिँ खुबै ठूलो दोष देखिन गएको छ ।
नेपाल सरकारले सत्यमोहन जोशीजस्ता ज्ञान, गुन र अनुभवले भरिएका अमर प्राज्ञलाई नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको पदमा विराजमान गराउनुपर्ने थियो । सरकारले जोशीजस्ता शिखर व्यक्तित्व र कृतित्वलाई पत्याएर उच्चासन दिनुपर्ने थियो । अनि सरकारी स्तरबाटै जोशीजस्ता ऋषितुल्य मनिषीको उच्चस्तरीय इज्जत गर्नुपर्ने थियो । तर त्यस प्रकारको खुबी देखाउने मानिस सरकारी स्तरमा देखा परेको बेहोरा प्राज्ञिक जगत्ले चालै पाएन । वास्तवमा दलगत स्वार्थमा नै नेताहरू डुबेका कारण जोजो मान्छे प्रधानमन्त्री बस्ने कुर्सीमा पुगे तापनि नेपाल प्रज्ञाप्रतिष्ठानजस्तो पवित्र ठाउँ सधैँभरि दलको भातृसङ्गठनजस्तै भइरहेको नै देखियो ।
त्रिमूर्ति निकेतनबाट शताब्दी पुरुष
सत्यमोहन जोशीलाई राजतन्त्रदेखि गणतन्त्रसम्मले त्यति भाउ दिएको थिएन । त्यही कारणसमेत जोडेर मैले उनलाई सिङ्गो हीरा, मोती र जुहारतले सिँगार्न खोजेको थिएँ । अनि मेरो धेरै वर्षको चिन्तनको निष्कर्ष नै ‘शताब्दी पुरुष’ हो । यसलाई सजिलो नेपाली भाषामा भन्नुपर्दा मेरो मन, वचन र कर्मको सग्लो नतिजा नै सत्यमोहन जोशीलाई प्रदान गरिएको ‘शताब्दी पुरुष’ को उपाधि नै हो ।
२०७१ साल मङ्सिर १५ गतेको कुरा हो; नइ प्रकाशनको संयोजनमा त्रिमूर्ति निकेतनबाट हामीले एउटा विशेष कार्यक्रम गरेका थियौँ । सो विशिष्ट समारोहमा ‘शताब्दी पुरुष’को उपाधि उल्लेख गरेर सत्यमोहन जोशीकै उचाइको ताम्रपत्रसहित हामीले उनीसमक्ष पाँच लाख रुपियाँ समर्पण गरेका थियौँ । त्यस घडी जोशी खुसीले न रुनु, न हाँस्नु अवस्थाका देखिन्थे । त्यस बेला उनी अस्वस्थ्य थिए तापनि कार्यक्रम अवधिभरि उज्यालै देखिन्थे । समारोह सकिएपछि प्रमुख अतिथि उपप्रधानमन्त्री वामदेव गौतम र श्रीमती तुलसा गौतमसँग बिदा माग्दै उनले भनेका थिए— ‘मेरो शरीरले त्यति साथ दिएजस्तो लागेन, म जाऊँ होला ।’ इन्दिरा प्रसाई र मसँग पनि अलिक झोक्राएझैँ गरेर उनले फेरि तिनै शब्द दोहोर्याए । अनि उनले हामीमाझ फेरि भनेका थिए— ‘मेरा लागि जे गर्नुभयो, यहाँदेखि गर्ने ठाउँ अरू छैन ।’ त्यसपछि इन्दिरा र मैले एकअर्कामा मन बाँड्यौँ— ‘सत्यमोहन दाइलाई समयमा नै हामीले अर्चना गर्न सक्यौँ क्यारे ! दाइको स्थिति राम्रो देखिएन ।’
सत्यमोहन जोशीको वाङ्मयिक योगदानलाई राज्यबाट जुन किसिमको अन्याय भएको थियो, त्यो सबैको साँवाब्याज हो ‘शताब्दी पुरुष !’ वास्तवमा यो मेरो परिकल्पनालाई सुरुमा कसैले पत्याएका थिएनन् । त्यस बेलासम्म अथवा २०७२ सालको आरम्भमा नै उनको जीवनीमा आधारित ‘शताब्दी पुरुष ः सत्यमोहन जोशी’ नामक ग्रन्थ पनि प्रकाशित भइसकेको थियो । त्यस कृतिमा उनी आफैँले भूमिका लेख्ने क्रममा लेखेका थिए— ‘जीवनी लेखनमा सिद्धहस्त नरेन्द्रराज प्रसाईद्वारा मेरो जीवनीबारे लेखिएको ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ नामक कृति स्वयम् मेरै निमित्त एकातिर शाब्दिक अर्थमा आफ्नो अनुहार आफैँले नियालेर हेर्न सकिने ‘ऐना’ भइदिएको छ भने अर्कातिर लाक्षणिक अर्थमा मेरै अनुहारभित्रको आफूलाई उतारेर देखाइदिने ‘एक्स-रे’ नै बनेको छ ।’ मैले लेखेको यस कृतिलाई जोशीले आफ्नो जीवनको औपचारिक अभिलेखका रूपमा ग्रहण गरेका थिए । साथै सोही जीवनीकृति उनका जेठा छोरा अणुराज जोशीले Century Person : Satya Mohan Joshi नाउँ राखेर अङ्ग्रेजी भाषामा समेत अनुवाद गरे । २०७४ सालमा त्रिमूर्ति निकेतनबाट उक्त कृति पनि प्रकाशित भयो र शताब्दी पुरुषबाट नै सो कृतिको लोकार्पण भएको थियो ।
शताब्दी पुरुषमाथि प्रधानमन्त्री वलीको वक्रीसोच
निहीत स्वार्थ बोकेका साहित्यकारबाहेक नेता, उपनेता केही र कोहीका लागि त्यस बेला नरेन्द्रराज प्रसाईकृत ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ नामक कृति खुर्सानीको धूलोसरह पनि भइदिएको थियो । उदाहरणका लागि भन्ने हो भने नेपाल भाषा एकेडेमीद्वारा २०७२ साल फागुन २८ गते सत्यमोहन जोशीकै ‘अरनिकोकृत श्वेत चैत्य’ महाकाव्य लोकार्पणका अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री खड्गप्रसाद शर्मा वलीले भाषणकै क्रममा प्रश्न गरेका थिए— ‘शताब्दी पुरुष भनेको के हो ? यो शब्द कहाँबाट आयो ? मैले शताब्दी पुरुषको अर्थ बुझेको छैन ।’ प्रधानमन्त्रीले आफ्नै मुखबाट यस्ता कटु शब्द ओकलेर जोशीलाई पनि लाजमर्दो पार्न खोजेका थिए । प्रधानमन्त्रीको भाषण सुनेर त्यस बेला मञ्चमा बसिरहेका जोशी पनि खिस्रिक्कै देखिन्थे र म पनि थुक निलिरहेको थिएँ । त्यस बखत खड्गप्रसादले ‘शताब्दी पुरुष’ को शब्दावलीलाई नकारात्मक रूपमा उधिन्न छाडेका थिएनन् । वास्तवमा त्यस बेला खड्गप्रसादले पनि सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ भनेर सम्बोधन गर्छन् भन्ने हामीले आशा गरेका थियौँ । तर उनीबाट उल्टो कुरा सुन्दा हामीलाई सारै नमज्जा लागेको थियो ।
समारोहका आयोजक अथवा भनौँ, नेपाल भाषा एकेडेमीका पदाधिकारीमध्येका चान्सलर चित्तरञ्जन नेपाली र सदस्यसचिव मल्ल के. सुन्दरले समेत जोशीका लागि ‘शताब्दी पुरुष’ सम्बोधन गर्छन् भन्ने हामी नइले आशा गरेका थियौँ । तर प्रधानमन्त्रीद्वारा ‘शताब्दी पुरुष’प्रति गरिएको व्यङ्ग्यउपर पनि उनीहरूले कुनै प्रतिक्रियासमेत दिएनन् । त्यस साक्ष्यले मुलुक अक्षम राजनैतिक नेतृत्व, सरकार प्रमुख या सरकारी तन्त्रको गुलाम बन्दै गइरहेको र यस प्रकारको प्रक्रिया अझै झागिँदै जाने स्थिति रहने हो कि भन्ने बेहोराको चिन्ताले मलाई त्रास भइरह्यो । एउटा व्यक्तिको मन, सोच या दिमागी हालतले कुनै पल धोका नै पनि दिन सक्ला ! तर बौद्धिकसमेत मानिएका आयोजकबाट पनि लोभानीका कारण समारोहका प्रमुख अतिथिको हास्यास्पद कुराको सुधार नगरिनु र त्यस प्रकारका कटु वाक्य सुनेर पनि उनीहरू मौन हुनु चाहिँ मुलुक बौद्धिक खडेरीमा नै परेको तथ्य मैले त्यस घडी पनि महसुस गरेको थिएँ । वास्तवमा त्यस दिनको आयोजनालाई सत्यमोहन जोशीको ‘अरनिकोकृत श्वेतचैत्य’ महाकाव्य लोकार्पणको नाउँ दिइएको थियो । तर आयोजकहरू भने कृतिको सन्दर्भमा भन्दा प्रधानमन्त्रीसँग संस्थाका लागि आर्थिक मागको कुरामा मात्र नै एकोहोरो केन्द्रित देखिन्थे । सोही समारोहमा कार्यक्रम सञ्चालक स्रष्टा शशिकला मानन्धरले चाहिँ सत्यमोहन जोशीको नाउँ सम्बोधन गर्ने क्रममा पटकपटक ‘शताब्दी पुरुष’ भन्न बिराएकी थिइनन् ।
समारोहपछि घर आउने क्रममा इन्दिरा प्रसाईले मलाई भनेकी थिइन्— ‘शताब्दी पुरुष उपाधि अति ठीक छ । खड्गप्रसादको बौद्धिक भण्डारमा यी शब्द छिरेनन् या उनी कसैको इसारामा लागेर उनले शताब्दी पुरुषको अवमूल्यन गरे ।’ इन्दिराले मलाई सम्झाउन खोजे पनि वलीका कुराले मेरो मन घोचिरहेको थियो । राति घरमा आएर मैले यो सबै बेलीविस्तार खड्गप्रसादका राजनीतिक गुरु डा.मोदनाथ प्रश्रितसमक्ष पनि पेस गरेँ । मेरा कुरा सुनेर त्यस बेला प्रश्रितले आफ्नो चेलालाई नमीठो शब्दले धिक्कारेका थिए ।
खड्गप्रसादले शताब्दी पुरुषमाथि खिल्ली उडाएको भोलिपल्ट देशभक्त राजनेता कीर्तिनिधि विष्टसँग मेरो भेट भएको थियो । मेरा मनमा वलीका तिनै कुरा खेलिरहेका थिए । त्यसैले मैले अघिल्ला दिनका ती सबै कुरा विष्टलाई भनिदिएँ । मेरा कुरालाई छाता ओडाउँदै त्यस बखत कीर्तिबाबुले मलाई भनेका थिए— ‘अरू को कसले केके भन्छन् छाडिदिनुहोस् । जोशीजीका लागि योभन्दा राम्रो सम्मान र उपाधि अरू केही हुनै सक्तैन । ‘शताब्दी पुरुष’ तपाईंले राम्रो शब्द छान्नुभएको छ । जोशीजी त मेरो साथी पनि हो नि ! ‘शताब्दी पुरुष’ ठोकेरै तपाईंले किताब लेख्नुभएकोमा पनि मलाई सारै खुसी लागेको छ । साहित्यको इतिहासमा नै उहाँ ‘शताब्दी पुरुष’ भएर देखा परिसक्नुभयो । अब अरूले केके भन्छन् के मतलब र !’ नेपाल राष्ट्रका नैतिक, मर्यादित र बौद्धिक राजनेता कीर्तिनिधि विष्टका कुराले मलाई उत्साह दिए तापनि बहालवाला प्रधानमन्त्रीजस्तो जिम्मेवार मान्छेले ‘शताब्दी पुरुष’ भन्ने शब्दलाई नै खिसीटिउरीका साथ बौद्धिक समूहमाझ उडाएको प्रसङ्ग मेरा लागि अति नै तीतो भइरहेको चाहिँ थियो । राज्यबाट जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गराउने मेरो सपनाउपर वलीकै भाषणले फेरि बज्रपात पार्ने प्रयास गरिसकेको थियो । तर मेरो रोएको मन त्यस बखत मैले जोशीलाई पनि देखाउन सकिनँ ।
म घरीघरी सत्यमोहन जोशीलाई भनिरहन्थेँ— ‘हेर्दै जानु नि दाइ ! म तपाईंलाई राज्यस्तरबाटै ‘शताब्दी पुरुष’ नबनाई मर्दिनँ । तर यति हो यो उपाधि लिनका लागि भए पनि तपाईंले बाँच्नुचाहिँ पर्छ ।’ उनलाई मेरो कुरामा पूणर् विश्वास पनि थियो; किनभने नइकै निवेदन, पहल र सक्रियताबाट माधव घिमिरेले पनि २०६० सालमा राजा ज्ञानेन्द्रबाट ‘राष्ट्रकवि’ को उपाधि पाएका थिए । सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वकालमा सञ्चारमन्त्री कमल थापाको समेत सक्रियतामा घिमिरेलाई राष्ट्रकविको उपाधि प्रदान गराउने कार्य भएको थियो । त्यस घडी पनि हामी नइले माधव घिमिरेलाई राष्ट्रकविको सिंहासनमा पुर्याउन फलामको चिउरा चपाउनु परेको थियो । साँच्चै हो, जोशीलाई पनि राज्यस्तरबाट ‘शताब्दी पुरुष’ बनाउनका लागि हामीले फेरि अर्को फलामका चिउरा चपाउनु परेको चाहिँ थियो ।
म मेरो काममा एकचित्तले लागिरहेँ । तर सरकारी निकायबाट ‘शताब्दी पुरुष’ बन्नका लागि बाटोचाहिँ बन्द नै भएको थियो । खड्गप्रसाद शर्मा वलीका कार्यकालभरि राज्यस्तरबाट शताब्दी पुरुष बनाउने योजनाबाट मैले मौन नै बस्नुपरेको थियो । अनि खड्गप्रसाद हिँडेपछि म फेरि यस काममा तात्न थालेको थिएँ । त्यसपछि मेरा लागि केही वातावरण पनि सहज हुन थालेको थियो ।
खड्गप्रसादकै प्रधानमन्त्रित्वकालमा एउटा अचम्मको घटना पनि घटेको छ । उनकै पालामा नै अनेक कसरतपछि शताब्दी पुरुषको मुहार अङ्कित हुलाक टिकट छापिएको थियो । तर टिकट छापिएपछिचाहिँ त्यसतर्फ उनको पूर्ण ध्यान गएछ क्यारे । त्यसैले टिकटमा टाँचा लगाउने बेला उनले टाँचा लगाउनु हुँदैन भनेर रोकिदिएका थिए । अनि केही महिना टिकट भण्डारमा नै थन्किन गयो । पछिल्ला दिनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठहरु धुरिएपछि मात्र मन्त्रिपरिषद्ले सो टिकटमा टाँचा लगाउने बाटो खोलिदिएको थियो ।
शताब्दी पुरुषलाई सरकारी संरक्षण
सत्यमोहन जोशीलाई त्रिमूर्ति निकेतनले ‘शताब्दी पुरुष’को महासम्मान समर्पण गरेपछि उनी निकै ठूलो बिरामी परे । आवश्यकताअनुसार औषधिमुलो नगरी घरमा नै छ दिन सुतेपछि उनी झनै थला परेका थिए । त्यस बेला उनी मर्नु न बाँच्नुको हालतमा थिए । अनि उनी बयोधा अस्पतालमा भर्ना भए । उनी भर्ना भएकै साँझ सात बजे हामी नइले थाहा पाएका थियौँ । अनि आठ बजेतिर इन्दिरा र म अस्पताल पुगेका थियौँ । नेपाली वाङ्मयको यति ठूला साधक साधारण जनरल वार्डमा पल्टिरहेको हामीले देख्यौँ । त्यहाँ उनको उपचार पनि त्यति प्रभावकारी भइरहेको थिएन जस्तो हामीले महसुस गरेका थियौँ । साथै क्याबिनमा बस्ने खर्च पनि उनीसँग थिएन नै जस्तो हामीलाई लागेको थियो ।
मैले त्यसै घडी अस्पतालबाटै उपप्रधानमन्त्री वामदेव गौतमलाई फोन गरेँ; किनभने हामी धेरैले पत्याएका राजनीतिज्ञ उनी पनि एक जना थिए । सत्यमोहन जोशीको स्वास्थ्य अवस्था र आर्थिक अवस्थाबारे मैले गौतमलाई सविस्तार जानकारी गराएको थिएँ । स्वाभिमानी सत्यमोहन जोशीले आफ्ना लागि अहिलेसम्म छोराछोरीको पैसासमेत लिएका छैनन् भन्ने बेहोरा पनि गौतमसमक्ष मैले थप जानकारी गराएको थिएँ । अनि केहीबेरमा नै उपप्रधानमन्त्री वामदेव गौतम अस्पताल नै आइपुगेका थिए ।
अस्पताल आएर अरूहरू मन्त्रीले झैँ झाडा टार्ने या चिल्ला, चाम्रा र गुलिया कुरा गर्ने काम वामदेव गौतमले गरेनन् । उनी एउटा स्टेट फरवार्ड राजनीतिज्ञ भन्ने मलाई थाहा पनि थियो । उनी जस्ता पौरखी थिए, त्यस बेला उनले त्यस्तै विशिष्ट काम पनि गरेका थिए । अथवा भनौँ, उनले सत्यमोहन जोशीलाई विशेष उपचारका लागि क्याबिनमा राख्न अस्पतालका सम्बन्धित मान्छेलाई अह्राएका थिए । त्यस दिन उनले अस्पतालमै बसेर नै त्यो सबै काम गराएका थिए । त्यस बेला उनले भनेका थिए— ‘शताब्दी पुरुषको उपचारका लागि लाग्ने सम्पूणर् खर्च सरकारले बेहोर्छ ।’ त्यसपछि जोशीको भिआइपी उपचार सुरु भयो ।
त्यस बेला सुशील कोइराला प्रधानमन्त्री थिए । उपप्रधानमन्त्री वामदेव गौतमको प्रस्तावअनुसार ‘शताब्दी पुरुष सत्यमोहन जोशीको औषधि उपचारको सम्पूणर् खर्च नेपाल सरकारले बेहोर्ने’ भनेर मन्त्रिपरिषद्बाट २०७१ साल मङ्सिर २५ गते निणर्य भएको थियो । त्यति मात्र नभएर मन्त्रिपरिषद्को निणर्यमा गौतमले ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ भन्ने शब्दसमेत पारिदिएका थिए । त्यति बेला मन्त्रिपरिषद्को अभिलेखमा सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ भन्ने शब्द लेखिनु सामान्य कुरा थिएन । राज्यस्तरबाट ‘शताब्दी पुरुष’ को उपाधि औपचारिक रूपमा घोषणा नभए पनि सत्यमोहन जोशी ‘शताब्दी पुरुष’ मा अभिलेखित मात्र नै भएको बेहोरामा पनि जोशी र हामी नइले आन्तरिक खुसीयाली बाँडेका थियौँ । वास्तवमा त्यसपछि हाम्रा लागि वामदेव गौतम झनै प्रिय, श्रद्धेय र सम्मानित हुन थालेका थिए ।
सत्यमोहन जोशी ३७ दिन बयोधा अस्पतालमा बसे । उनको त्यहाँ राम्रो उपचार भयो । उनले वामदेव गौतमउपर घरीघरी कृतज्ञता ज्ञापन गरिरहे । उनी पूणर् रूपमा निको पनि भए । त्यसपछि उनको उपचारमा लागेको झन्डै बाह्र लाख रुपियाँ सरकारले अस्पताललाई बुझाएको थियो । अनि अस्पतालबाट निस्केपछि जोशीले भनेका थिए— ‘म शताब्दी पुरुष भएरै बाँचेँ । मेरा लागि यो उपाधि रामबाण भयो । यो उपाधि नपाएको भए म मरिसक्थेँ होला ।’
वाङ्मय शताब्दी पुरुषको घोषणा
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रित्वमा मन्त्रिपरिषद् बनेको थियो । त्यस मन्त्रीमण्डलमा कमल थापा उपप्रधानमन्त्री र दिलनाथ गिरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । त्यसपछि मभित्र फेरि आशा पलाउन थालेको थियो । वास्तवमा थापा र गिरीसँगको मेरो चालीस वर्षअघिदेखिको निरन्तर सङ्गतका कारण ‘शताब्दी पुरुष’ उपाधिका मामलामा हामीमाझ त्यति सवालजबाफै भएन भने पनि हुन्छ । त्यति बेला मलाई काम गर्न किन सजिलो भयो भने गिरी संस्कृति मन्त्री थिए । अनि उपप्रधानमन्त्री थापाको पनि मन्त्री गिरीउपर जोशीलाई ‘शताब्दी पुरुष’ बनाउनेबारे विशेष, शक्तिशाली र उच्चस्तरीय निर्देशन थियो ।
नइ प्रकाशन र त्रिमूर्ति निकेतनको सिफारिसमा सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गिरीबाट मन्त्रिपरिषद्मा लैजाने तयारी भएको थियो । यस कार्यका लागि मोदनाथ प्रश्रितको पनि विशेष भूमिका रहेको थियो । किनभने थापाले सम्मान गर्ने अर्का विशिष्ट पात्र प्रश्रित पनि मानिन्थे । जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गराउने कार्यमा प्रश्रित पनि नइ टिममा सक्रिय थिए ।
हामीले सरकारसमक्ष ‘शताब्दी पुरुष’ को उपाधि माग गरेका थियौँ । तर कमल थापाले ‘शताब्दी मात्र नभनौँ, साहित्य वा अर्को केही शब्द थपौँ— जसले गर्दा सत्यमोहन जोशीको शताब्दी पुरुषको अर्थ पनि खुलोस् ।’ थापाका कुरा सुनेपछि ‘वाङ्मय’ भन्ने शब्द मोदनाथ प्रश्रितले त्यहीँ झ्वाट्टै प्रस्तुत गरे । हामीसँगैको टिममा रहेका भाषाविज्ञ प्रा.डा.महादेव अवस्थीले ‘वाङ्मय शताब्दी पुरुष’ को शब्दउपर बलियो स्वीकृति जनाएका थिए । हाम्रो त्यस टोलीमा आबद्ध ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ का संयोजक प्रा.डा.उषा ठाकुरका साथै त्रिमूर्ति निकेतन र नइ प्रकाशनका पदाधिकारीहरू प्रा.राजेन्द्र सुवेदी, नाट्यभूषण मदनदास श्रेष्ठ, प्रा.डा.गार्गी शर्मा, उषा शेरचन, प्रा.डा.रामप्रसाद उप्रेती, प्रा.डा.सुमन ढकाल, केके कर्माचार्य सबैले ‘वाङ्मय शताब्दी पुरुष’ भन्ने उपाधि मन पराएका थिए । अनि त्यसपछि त्रिमूर्ति निकेतन र नइ प्रकाशनले सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिको माग राखेर नेपाल सरकारसमक्ष हामीले अर्को निवेदन त्यसै बेला प्रस्तुत गरेका थियौँ ।
‘वाङ्मय शताब्दी पुरुष’ को प्रस्ताव मन्त्रिपरिषद्मा जाने दिन नै राजनीतिक कारणले कमल थापा र दिलनाथ गिरीले अकस्मात् राजीनामा दिएका थिए । अनि फेरि वाङ्मय शताब्दी पुरुष घोषणा गर्ने प्रयास धरापमा परेको थियो । यस बेहोराले मलाई केही निराश बनाउन खोजेको पनि थियो । तर यसबारे मन्त्रालयको सबै दस्तावेजको फोटोकपी मसँग पनि थियो । त्यसैले अनेक तरहले मैले त्यो प्रस्ताव मन्त्रिपरिषद्सम्म पुर्याउन पहल गरेँ । त्यसपछि पनि सो प्रस्ताव पारित कसरी गराउने भन्ने विषयमा ठूलै समस्या आइपरेको थियो । त्यस बेला मुख्य सचिव सोमलाल सुवेदी थिए । उनी प्रा.राजेन्द्र सुवेदीसँग घनिष्ठ भएका कारणले मलाई त्यो कठिन अवस्थामा काम गर्न केही राहतको आशा पनि जागेको चाहिँ थियो ।
‘वाङ्मय शताब्दी पुरुष’लाई सरकारी मान्यता प्रदान गर्ने फेरोमा पूर्व शिक्षामन्त्रीद्वय मोदनाथ प्रश्रित र दीनानाथ शर्मालाई मैले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोमा पनि पुर्याएको थिएँ । त्यसपछि सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गर्नेबारे प्रधानमन्त्री प्रचण्ड पनि मन्जुर भए । यस मामलामा मुख्य सचिव सोमलाल सुवेदीसमेतको सकारात्मक भूमिका जोडिएकैले पनि मन्त्रिपरिषद्मा यसबारे कुनै प्रकारको झमेलाका प्रश्नहरू पनि तेर्सिएनन् । तसर्थ मन्त्रिपरिषद्बाट सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिको प्रस्ताव स्वीकृत भयो ।
२०७४ साल वैशाख २१ गते डा.सत्यमोहन जोशी सरकारी लाहाछापद्वारा ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट विभूषित भएका थिए । त्यसपछि उनले सार्वजनिक सभामा फेरि भन्न थाले— ‘नइ नभए म बाँच्ने थिइनँ । नइले मेरो शरीरलाई पनि बचायो र कर्मलाई पनि बचायो । यस जुनीमा फेरि मलाई अब केही पनि चाहिँदैन । म वाङ्मय शताब्दी पुरुष भएँ, अब मलाई पुग्यो ।’