अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू !

अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू !

  • बुधबार, बैशाख २९, २०७८
  • –नारायण अधिकारी

  • 6.1K
    SHARES

विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू ।

जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ । अस्पतालहरूले बिरामीका लागि श्यया पु¥याउन धौधौ भइरहेको बेला जहाँ खाली ठाउँ छ त्यही श्यया तयार गरेर सङ्क्रमितको उपचार गरिरहेका छन् । मुख्य रूपमा चौबिसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै । विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ । जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन् ।

भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै आउनुभएकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताउनुहुन्छ । अस्पतालले सञ्चालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उहाँ ३० जना जनशक्तिले १४५ जना सङ्क्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको गुनासो गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “हाम्रा लागि नर्सिङ दिवस बिरामीको सेवा गर्न पाउनु रहेको छ ।” अस्पतालमा ड्युटीमा रहेका नर्सहरूले वार्डमा छिरिसकेपछि पानी पनि नखाई सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “गर्मीको समय छ । पिपिई लगाएर भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो ।” बिरामीको कठिनाइ देखेर आफूहरुको दुःख हराउने गरेको अनुभव उहाँले सुनाउनुभयो । नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको उहाँको भनाइ छ ।

यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड सङ्क्रमितको उपचार गर्न पाउँदा खुशी लागेको बताउनुहुन्छ । सुरुआतको समयमा केही कठिनाइ भएको भए पनि अहिले त्यस्तो नरहेको उहाँको अनुभव छ । अहिले अस्पतालको क्वारेन्टिनमा रहनुभएकी उहाँले भन्नुभयो, “एक साता १२ घण्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन ।”

बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिन्जेल सामान्य तय पिपिई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्क्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ ।”

नेपाल नर्सिङ सङ्घ जिल्ला शाखा चितवनका सचिव विष्णुमाया अधिकारी अहिले देशभरका नर्सहरूले खाईनखाई उच्च जोखिम मोलेर सेवामा समर्पित भएको बताउनुहुन्छ । यद्यपि नर्सहरूप्रति आम सर्वसाधारण जनता, सरकार र व्यवस्थापकहरू सकारात्मक रूपमा नलिएको उहाँको गुनासो छ ।

कोरोना सङ्क्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार सुरक्षा कवज नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको उहाँको दुःखेसो छ । बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरु खट्ने अधिकारी बताउनुहुन्छ ।

सङ्घकी जिल्ला अध्यक्ष मथुरा सापकोटा उत्पादनको अनुपातमा रोजगारी कठिन भएको बताउनुहुन्छ । बिरामी सङ्ख्याका आधारमा न्यून नर्सहरूबाट काम गर्नु परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “थोरै सङ्ख्यालाई धेरै काम लगाइएको छ । यो नेपाल सरकारको नीति विपरीत पनि हो ।” आवश्यक मात्रामा तालीम पाउन नसक्दा गुणस्तर बढाउन नसकिएको उहाँको भनाइ छ ।

दैनिक १२र१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आफू बिरामी भएर पनि बिरामीको सेवामा हाम्रा नर्सहरू लागिरहेका छन् ।” जिल्लामा मात्रै चार सयभन्दा बढी नर्सहरू कोभिड सङ्क्रमणमा परेको भन्दै उहाँले यसरी जोखिममा काम गर्दासमेत सरकार र अस्पताल सञ्चालकहरूले नर्सहरूका माग सम्बोधन गर्न नसकेको बताउनुभयो ।

अस्पताल स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ ९संशोधन० मा शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रतिश्यया कम्तीमा एक शल्यचिकित्सक, एक एनेस्थेटिक्स, एक इन्चार्ज, एक शल्यक्रिया सहायक र एक नर्स हुनुपर्ने, जनरल कक्षमा प्रतिचारदेखि ६ श्ययामा एकजना स्टार्फ नर्सको व्यवस्था भएको हुनुपर्ने व्यवस्था छ ।

यस्तै, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रतिदुई श्ययामा एक स्टार्फ नर्सको व्यवस्था हुनुपर्ने, सघन उपचार कक्ष ९आइसियु, एनआइसियु, सिसियु आदि० मा प्रतिश्यया एकजना नर्सको व्यवस्था हुनुपर्ने र प्रसूति कक्षको लेबर श्ययामा प्रतिबेड दुई एसबिए तालीम प्राप्त नर्स वा मिडवाइफरीको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी कोरोनाका बिरामीको उपचारमा नर्सहरुको भूमिका प्रशंसनीय रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन् ।” एउटा बिरामीको उपचारमा ९० प्रतिशतत भूमिका नर्सहरूको रहने उहाँको भनाइ छ । कोरोना सङ्क्रमितहरूको छुट्टै औषधि नहुने, अक्सिजन र सेवाबाटै उपचार हुने हुँदा नर्सहरुको भूमिका थप महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनका अवसरमा यो दिवस मनाउने गरिएको छ । नेपालमा २०१३ सालदेखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी