प्रत्येक नयाँ बर्ष वैशाख महिनाको कृष्ण औंसीका दिन मातातीर्थ औंसी पर्दछ । यस दिन आमाप्रति अहिपछिको तुलनामा अझ विशेष ढङ्गबाट श्रद्धाभक्ति भाव प्रकट गर्नु पर्छ । जननी जन्मभूमि स्वर्गादपी गरियसी’ अर्थात् आमा र जन्मभूति स्वर्गभन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ । यस्तो उच्च सम्मान तथा भक्तिभाव प्रकट गर्न सकेमा छोरा छोरीहरुलाई अाशिर्वाद एवं पुण्य प्राप्त हुने गर्दछ भन्ने शास्त्रीय मान्ता रहि आएको छ ।
मातातृथ अाैंशी तथा मातृऔँशी जन्म दिने आमाप्रति भक्तिभाव प्रकट गर्ने विशेष दिन भएकोले आमालाई भेटेर विशेष आदर सम्मान गर्ने नयाँ बस्त्र दिने आ-आफ्नो सापेक्षतामा मिठो भोजन तथा परिकार खुवाउने र प्रसन्न गराउने गर्नु पर्छ । संसारको पहिलो संस्कृत भाषा वर्णमाला , स्वर वर्ण अक्षर भनेकै ‘अ’ हो । संस्कृत भाषा शब्दको स्रोत ओम हो । अ, उ र म तीन अक्षर मिलेर यो बनेको छ । ‘अ’ यसको पनि पहिलो अक्षर हो । अन्तिम उच्चारण ‘अ’ मै पुगेर टुगिंन्छ । अपराजित मातृशक्ति आमा श्रृष्टि कर्ता हुन् । मातृशक्ति तथा आमा अ बाटै आरम्भ भएको हो । हाम्रो वैदिक शास्त्र तथा जीवनमा आमालाई उच्च कोटिमा राखेर सम्मान गरिन्छ । मातातृथ अाैंशीमा मात्र होइन सदैव आमालाई उचित हेर बिचार ,स्याहार सुसार ,माया ,भक्तिभाव गर्नु पर्छ । आमालाई कहिल्यै पनि हेला गर्नु हुदैन ।
संस्कृतमा मातृ शब्दबाट माताको अर्थ लाग्दछ । मान् पूजायां तृच् भई न कोलोप भएपछि माता शब्द बन्ने गर्दछ । जसको अर्थ पूज्य भन्ने हुन्छ ।
हाम्रो धर्म ,संस्कृतिमा जन्म दिने अामा तथा नारीलाई सर्वश्रेष्ठ ब्यक्तित्वको रुपमा पुजिन्छ । भनाई छ ” यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।’ (मनुस्मृति) अर्थात् जहाँ नारीको पूजा , सम्मान तथा उनीहरु प्रति भक्तिभाव संप्रेषण हुन्छ त्यहाँ देवता सबै भन्दा बढी खुशी हुन्छन् । यसबाट बुझ्न सकिन्छ मातृशक्ति आमाको महत्व ।
मातृशम्ति आमाका थुप्रै पर्यायवाची नामहरु छन्: जनयित्री, मातृ, मातृका, अम्बा, सावित्री, अम्बिका, अम्बाला, अम्बाली, अम्बालिका, प्रसू, प्रसविनी, जननी, प्रसवित्री, अल्ला, जनिका, अम्बिदा, अम्बि, अरणि, करवीरी, गुर्वी, जनि, जनित्री, जनित्वा, जन्मप्रतिष्टा, जानी, जातृ, धात्री, पिण्डदा, प्रकृति, प्रजनिका, प्रसवस्थली, विजाता, अम्बया, अरणी, गोः, जननि, अम्बा आदि ।
हाम्रो वैदिक शास्त्रले आमालाई प्रथम गुरुको उपमा दिएको छ । घर पहिलो पाठशाला हो भने आमा पहिलो गुरु । मानिसलाई प्रकृतिमा सृष्टि गरी उसलाई बाँच्च, हाँस्न र खेल्न र सभ्यता संस्कार ,संस्कृति सिकाउने गुरु आमा नै हुन् ।
सृष्टिकर्ताका रूपमा ऋग्वेदमा आमाबारे भनिएको छ – ‘अस्येदु मातुः सवनेषु सद्योमहः ।।’ (ऋग्वेद, १।६१।७) अर्थात् आमा संसारकी सर्जक तथा सृष्टि कर्ता हुन् भनिएको छ । य यजुर्वेदमा आमाका बारेमा यसो भनिएको छ – ‘अम्बेअम्बिकेम्बालिके नमानयतिकश्चन । ससश्त्यश्वकः सुभद्रिकां काम्पिलवासिनीम् ।।’ आमालाई शास्त्रले देवताको रुपमा मान्यता दिएको छ ।
वेदमा भनिएको छ – ‘आमावाजस्यजगम्यादेमे द्यावापृथिवीविश्वरूपे । आमागन्तां पितरा मातरा चाममा सोमोऽअमृतत्वेन गम्यात् ।।’ (यजुर्वेद) । ‘मातृदेवो भव’ (तैत्तिरीयोपनिषद्, १।११) अर्थात् आमालाई देवता समान मान्नु पर्छ । आमा देवता हुन् ।
‘सहस्रं तु पितृन् मातागौरवेणातिरिच्यते’ भन्नुको ताात्पर्य पनि यही नै हो । यसैगरी आमालाई पिताको तुलानामा हजार गुणा माथिको महत्व तथा स्थानमा राखिएको छ ।
ब्रहृमवैवर्त पुराणमा आमा तथा माताबारे यसरी वर्णन गरिएको छ – ‘स्तनदात्रीगर्भधात्रीभक्षदात्री गुरुप्रिया । अभीष्टदेवपत्नी च पितुःपत्नी च कन्यका ।। सगर्भजा या भगिनीपुत्रपत्नीप्रियापसूः । मातुर्मातापितुर्माता सोदरस्य प्रियातथा ।। मातुःपितुश्चभगिनीमातुलानी तथैव च । जनानां वेदविहितामातरः षोडशस्मृताः ।।’ (ब्रहृमवैवर्तपुराण गणपति खण्ड, कार्तिकेय संवाद, १५ अध्याय) अर्थात् गुरुपत्नी, राजपत्नी, छोराबुहारी, ठुलीआमा वा सानीआमा, फुपू, शिष्यपत्नी, मित्रपत्नी, माइजू, सौतेनी आमा,भाइबुहारी, सासू, बहिनी, छोरी, जन्मदिने आमा र इष्टदेवीलाई आमाको रुपमा चित्रण गरिएको छ ।
साथै मातृशक्ति आमालाई सात प्रकारमा विभक्त गरिएको पनि पाउछाै । :‘आदौ माता गुरोः पत्नी ब्राहृमणी राजपत्नीका । गावीधात्रीतथापृथ्वी सप्तैतामातरः स्मृताः ।।’
सोह्र मातृकाको विधान पनि पाइन्छ: गौरी, पद्मा, शची, मेधा, सावित्री , विजया, जया, देवसेना, स्वधा, स्वाहा, शान्ति, पुष्टि, धृति, तुष्टि, आत्म देवता, कुलदेवता ।
विशेष गरेर स्वर्गवास भएकी आमाको श्राद्ध गर्ने उपयुक्त दिनको रुपमा औंसीलाई बुझिने गरिन्छ । तथापी यो आजकल आमाको मुख हेर्ने दिनको रुपमा पनि प्रख्यात छ । मातातृथ औंसीका दिन पितृलोकमा समुज्वल दिन हुन्छ भन्ने शास्त्रिय मान्यता छ । एक महिना (चान्द्रमास) बराबर पितृका निम्ति एक दिनरात हुन्छ । यस अर्थमा कृष्णपक्ष पितृका निम्ति दिनको रुपमा बुझिन्छ भने शुक्लपक्षलाई रातको रुपमा लिइन्छ ।
आदि गुरु शंकराचार्यका अनुसार – ‘कुपुत्रो जायेत क्वचिदपिकुमातानभवति ।’ पुत्र खराव हुन सक्छ तर पुत्री अर्थात माता कहिल्लै पनि खराव हुन सक्दिनन् भन्ने मान्यता छ । अर्थात् संसारमा मातृस्थान सर्वोपरी छ । हामीले नित्य जप्ने गायत्रीमन्त्र भनौं या अर्धनारीश्वर शिवजी भनौं जहाँ पनि मातृशक्तिको प्रमुख महत्व रहि आएको छ । त्यसैले आमाको महत्व सनातन देखि रहि आएको छ । आमा अपराजित मातृशक्ति हुन् । आजको यस अवसरमा अपराजित मातृशक्ति मलाई जन्म दिने आमा र समस्त मातृशम्ति प्रति उच्च सम्मानकोसाथ भक्तिभाव तथा शुभकामना प्रकट गर्दछु ।