आमा : प्रश्न अनेक उत्तर एक

आमा : प्रश्न अनेक उत्तर एक

  • मङ्लबार, बैशाख २८, २०७८
  • प्रथा

  • 9.9K
    SHARES

आमा !
तिमीले बाती कातेर
बाटेको आस्थाको डोरोले
तिम्रै पीडाको आयतन नाप्छ कि नाप्दैन ?
तिमीले अर्घ दिएर
उमारेको विश्वासको तापले
तिम्रो निभेको चुल्हो धुवाउँछ कि धुवाउँदैन ?
तिमीले पात गाँसेर
कुँदेका फूलबुट्टे दुनाहरूमा
तिम्रै आँसुको सागर अटाउँछ कि अटाउँदैन ?
र तिमीले थान थापेर
भाकल गरेकी वनदेवी माताले
छाऊगोठमा बन्दि
तिम्रै छोरीहरू देख्छिन् कि देख्दिनन् ?

अब प्रश्न गर, आमा !
तिमीले ब्रत बसेर
बल्झिएको गानोको सोलाले
तिम्रै भोकको ब्याकरण मिलाउँछ कि मिलाउँदैन ?

साँच्चै आमा !
तिमीले धुप डढाएर
सल्काएको भरिलो भुङ्ग्रोले
तिम्रो दु:खको क्यान्सर सेकाउँछ कि सेकाउँदैन ?
तिमीले सिकुवा लिपेर
सुकाएको ओसिलो पोतेरीले
तिम्रो सपनाको इन्द्रेणी बोलाउँछ कि बोलाउँदैन ?
तिमीले लुङ उनेर
गलामा लाएको हरियो पोतेले
तिम्रै मुक्तिको सुरिलो गीत गाउँछ कि गाउँदैन ?
र तिमीले दियो बालेर
बोलाएको साँझको उज्यालोले
तिम्रै आँखाको तुवाँलो मेटाउँछ कि मेटाउँदैन ?

अब प्रश्न गर, आमा !
तिमीले दु:ख टालेर
सिलाएको जिन्दगीको थाङ्नोमा
तिम्रो आफ्नै इतिहास लेखिन्छ कि लेखिदैन ?

भन न आमा !
तिमीले ध्वाँसो पुछेर
टल्काएको भरोसाको ऐनाले
तिम्रो सक्कली अनुहार देखाउँछ कि देखाउँदैन ?
तिमीले तान हालेर
बुनेको समर्पणको गुन्द्रीले
तिम्रा जूनेली रहरहरू सुताउँछ कि सुताउँदैन ?
तिमीले दैलो खोलेर
उघारेको फराकिलो आकाशमा
तिम्रै खुशीहरूको घाम उदाउँछ कि उदाउँदैन ?
र आफ्नै वैँसालु उमेर फाँडेर
तिमीले सम्याएको जीवनको खोरियामा
तिम्रै सपनाका बिऊहरू उम्रिन्छन् कि उम्रिदैन्न ?

अब प्रश्न गर, आमा !
तिमीले गोडपानी पिएर
भगवान पुकारेको मलिन आवाजले
यो पृथ्वीको अदृष्य आयु लम्ब्याउँछ कि लम्ब्याउँदैन ?

आमा !
किन केही पनि बोल्दिनौं
र चुपचाप-चुपचाप ब्रतमात्र बसिरहन्छ्यौ ?
सायद,
तिम्रो यही मौनताभित्र
यो श्रृष्टिको तराजुमा अर्कैले डाँडी मारिरहेछ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी