काठमाडौं, २३ वैशाख । सरकारले कोभिड १९का संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डरहरु अझै पनि उद्योगधन्दाहरुमा प्रयोग भइरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वित्रप्ति निकालेर सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिण्डरहरु प्रयोग भइरहेकोले त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उद्योगधन्दाहरुमा प्रयोग भईरहेका अक्सिजन तथा सिलिण्डरहरु तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेका हुन्।
‘अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खालि रहने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकोले सम्बन्धित सबै उद्योग व्यवसायीहरु र सरोकारवालामा त्यस्ता अक्सिजन सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिनुहुन, धेरै भन्दा धेरै सिलिण्डरहरु भरी नेपाली नागरिकहरुको ज्यान बचाउने उपायहरुका लागि अस्पतालहरुमा उपलव्ध गराउने कार्य गरिदिनुहुन हार्दिक अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारको यस निर्णयको उल्लेघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने चेतावनी दिँदै मन्त्रालयले अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ।
