सरकारले शुक्रबार दिँउसो स्वास्थ्य मन्त्रालयका नाममा एउटा वक्तव्य जारी गर्यो । उसले २२ वटा जिल्लाको नाम लिएर भन्यो, कोरोना डरलाग्दो तरीकाले फैलिरहेको छ । थेग्न नसक्ने अवस्था छ अस्पतालमा बेड उपलव्ध गर्न सकिदैन । त्यसैले संवेदनशील बनिदिनुस् । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीको नाममा उक्त वक्तव्य प्रेशित थियो ।
यसले सरकारले अब कोरोना संक्रमितको उपचार गर्न हामी सक्दैनौ भन्ने स्पष्ट सन्देश दिएको हो । पहिलो संक्रमणका बेला कुनै पनि नागरिकको ज्यान जान दिईने छैन भन्दै शुरुमै कडा लकडाउन गरेर श्रमजीवी जनताको हाल बेहाल बनाएको सरकारले यस पटक निषेधाज्ञा लागू गरेको छ । यसमा केही काम गर्न पाउने तर यातायात लगायतका क्षेत्र बन्द गरेको छ । यसो भए पछि नागरिकलाई पहिलो लकडाउनमा जस्तो राहतका नाममा केही चामल वितरण गर्नु परेन ।
पहिलो संक्रमणको चरणका बेला पनि एकै दिनमा ६ हजार बढी सम्म नागरिकहरु संक्रमित भएका थिए ।
तर अहिले करीब त्यही हाराहारीमा संक्रमित पुग्दैछन् । अहिलेको संकमण दर उच्च छ भने मृत्युदर पनि ह्वात्तै बढेको छ र सक्रिय संक्रमित करीब ४० हजार पुगिसकेको छ । मृतक ३२ सय भन्दा धेरै भईसकेका छन् ।
भारतीय सीमाना नाका र हवाई उडान बेलैमा नियमन र बन्द नगरिदा अहिले भारतको हालत करीब करीब नेपालमा देखा पर्ने स्थिति आउदैछ । भारत जस्तो शक्तिशाली देशमा कोरोना अनियन्त्रित बनेको छ । सरकार निरीह बन्न पुगेको छ । संसारभरबाट सहायता लिन उ बाध्य बनेको छ ।
नेपालमा पनि दिनहँु बढीरहेको संक्रमण र मृत्युदरले जनता झस्किएका छन् । उनीहरुले सरकारी आदेशको पालना गरीरहेका छन् । तर अस्पतालहरुमा पर्याप्त बेड र आईसियु एवं अक्सिजनको अभावको खतरा महसुस गरिदैछ । अहिले केही दृष्यहरु भेरी अस्पताल,दागंको अस्पताल र टेकुमा देखिएको दृष्यले नेपालमा पनि नयाँ संकटहरु देखा पर्दै गएको देखिन्छ ।
ठूला ठूला घोषणा र भाषण गर्ने सरकारले आफै हात झिकिसकेपछि उपचार गर्न सकिदैन, बेड दिन सकिदैन भने पछि बिरामी को सँग गुहार माग्न जाने ?
त्यसैले नागरिक आफै सतर्क र सचेत बन्न जरुरी देखिन्छ । त्यसका लागि न्युनतम स्वास्थ्य मापदण्ड पालना गरौँ । नियमित साबुन पानीले हात धुने, व्यायाम गर्ने, भीडभाडमा प्रवेश नगर्ने, काम नपरी घरबाट ननिस्कने, मास्क अनिवार्य लगाउने, स्यानीटाईजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, प्राकृतिक र स्वास्थ्यवद्र्धक खानपानमा जोड गर्ने आदि कामलाई निरन्तरता दिँऔ । स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो ।