जीवनसँग,
मुक्तिको विनिमय गरेर
यो समय आज
अनेकोट फक्रिएको छ— गुराँसका थुँगाहरूमा !
यतिखेर,
इतिहासको नाभीमा कुल्चिएर
उत्सर्गका नदीहरू
निष्ठा बगिरहेछन्— आस्थाका थवाङहरूमा !
सत्ताको रूग्ण कवज भिरेर
निरीह कारिन्दाहरू
अँध्यारोको कर्खा सुनाइरहेछन्— श्रीपेचको शीरमुनि !
र उद्दाम सपना बोकेर
मालचरीका सहस्र बथानहरू
कोरस गाइरहेछन्— वलिदानका मैदानहरूमा !
यस्तो लाग्छ
यतै कतै एकहुल मूर्दाहरू
जीवनको भिख माग्दै मसानघाट धाइरहेछन् !
अँह, थाहा छैन मलाई !
यी मूर्दाहरू
किन यति विघ्न डराउँछन्— मृत्युदेखि ?
जव चढ्छन्
बलिवेदीमा धर्तीका छोराहरू
तब बौरिँदारहेछन्
पुस्तौंदेखि निदाइरहेका सीमान्त आवाजहरू !
र आइफल टावरलाई होच्याएर
बेफिक्री अग्लिँदोरहेछ
विचारको नदी रसाउने जलजला पहाड !
ठिक यो बेला,
आफ्नै दृष्टि लम्बाई वरिपरि
स्वयम्भूका आँखाहरू
एकतमासले नियालिरहेछन्
दरवारले कुल्चिएका सुत्केरी आमाहरू !
कुँडो पिएर
भर्खरै सुटुक्क छिरेका छन्
एकहुल हल्काराहरू विश्वविद्यालयको ओढार
र विद्यार्थीलाई घोकाईरहेछन्
धातु रोगले ग्रस्त सम्राटको मैथुनको इतिहास !
आँखामा पट्टी लगाएर
हुकुम तामेली गरिरहेका यी दासहरू
सायद,
देख्न सक्दैनन् होला
जङ्गली फूलका पत्रदलभरि
आलो रगतले लेखिएका जिउँदा कथाहरू !
उनीहरू नै थिए
जीवनको मूल्य सिकाउने सुदामाहरू
उनीहरू नै थिए
सपना जगाउने विचारका कालिगढहरू
उनीहरू नै थिए
फूललाई छापामार बनाउने दार्शनिकहरू
उनीहरू नै थिए
समरको नदी पार गराउने माझीहरू
उनीहरू नै थिए
अँध्यारो विरूद्ध लड्ने जुनकिरीहरू
र उनीहरू नै थिए
आफ्नै जीवन मेटाएर— अजेय बन्ने योध्दाहरू !
भकभकी उम्लिएर
आगो ओकलिरहेको लाभाको गुन्द्रीमाथि
जीवनको बिस्कुन सुकाएर
देश खोज्न निस्किएका थिए— योध्दाहरू !
आणविक रिएक्टरभित्र
भर्खरै समिकरण मिलेको एटमिक धुलो
आफ्नै मष्तिस्कमा भरेर
अग्निकुण्डमा नुहाउन हिँडेका थिए— योध्दाहरू !
र गुलावको फूल टिपेर
दुश्मनको बधशाला अघाडि
प्रेमको सारङ्गी रेट्न आएका थिए— योध्दाहरू !
त्यही बेला,
डोकामा भूगोल बोकेर
अगणित वसन्तहरू लुरूलुरू रोल्पा झरिरहेथे !
वर्षौंवर्षदेखि,
खग्रासले खर्लप्पै निलेर
भरोसा गुमाएको मनको आकाशमा
आज उदाएको छ— सपनाको बाटुलो घाम !
सन्नटाले निलेर
आतङ्कित बनेको समय
आज फेरि गाउन थालेको छ— स्वतन्त्रताको गीत !
शासकले निचोरेर
कुरूप बनेको यो देशको अनुहार
सायद,
यही गीतको अन्तरा सुनेर
अब मुस्कुराउँछ होला— एक थुँगा गणतन्त्र !