पाठकलाई भावविह्वल पार्ने राधिका शाक्यका अनुभूति  

पाठकलाई भावविह्वल पार्ने राधिका शाक्यका अनुभूति  

  • सोमवार, चैत्र १६, २०७७
  • प्रा.डा ऋषिराम शर्मा

  • 30.2K
    SHARES

गाडी दायाँ लैजा, यो बाँचोस् सई मोहनप्रसाद अधिकारीले एक्कासि दिएको निर्देशनले मार्न ठिक्क पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मरिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो (पृ. ८)

उहाँले मसँग बेलाबेला भन्नुभएको छ, १४ वर्ष जेल बसाइको क्रममा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला (पृ. ९)   

यी हुन् राधिका शाक्यको “मेरा अनुभूति” कृतिभित्रका मार्मिक हरफहरू ! जीवनका विभिन्न कालखण्डमा भोगेका केही रोचक र अधिकांश कूरतम र पीडादायी क्षणहरूका अनुभूतिहरूलाई समेटेर राधिका शाक्यले एउटा सुन्दर संस्मरण कृति सिर्जना गर्नु भएछ  “मेरा अनुभूति” । आफ्ना जीवनसाथी केपी ओलीलाई प्रमुख पात्र बनाई रचिएको यस संस्मरणात्मक सिर्जनामा केपी ओलीको व्यक्तित्वको पाटाका अनेकौँ कायाका साथै लेखक स्वयम्‌को त्याग र निष्ठाको छायाँ समेत प्रतिविम्बित रहेछ ! यो कृति हरेक पाठकका लागि पठनीय त छँदै छ त्यसमा पनि श्रीमान् राज्यको सत्तामा पुगेका श्रीमतीहरूले त पढ्न छुटाउनै नहुने यस कृतिको आफ्नै महत्व देखिन्छ ।

राधिका शाक्यले केपी ओलीसँग विवाह गर्दा त्यतिबेला उहाँले ठूलो जोखिम मोल्नु भएको उहाँको कथन यस्तो छ  तत्कालको समयमा १४ वर्ष जेल जीवन बिताएर भर्खर रिहा भएको, फरकजातको र धनसम्पत्ति पेसाव्यवसाय केही पनि नभएको, भित्रैदेखि जीर्ण भएको शरीर र बाहिर हेर्दा फु गर्दा ढल्ला जस्तो…, पुन; गिरफ्तार गरेर थुन्न सक्ने र मार्न पनि सक्ने व्यक्तिसँग विवाह गर्ने आँट गर्नु पनि तत्कालका लागि जोखिम मोल्नु जस्तै थियो, तर मैले त्यो जोखिम मोलेँ (पृ.१२)।

एक आदर्श पत्नी, कुशल परिचारिका र सफल धाइका रूपमा प्रस्तुत हुनु भएकी शाक्यले सानैमा मातृविहीन भै टुहुरो बनेको,  मुलुकमा लोकतन्त्र प्राप्तिका लागि १४ वर्ष बर्बर यातनामय जेलजीवन भोग्दा पाएका बर्बर यातनाका कारण ठुलाठुला रोगहरूले हमला गरी जिउ थिलोथिलो परेको व्यक्तिसँग विहे गरेर उपचार र सेवाको जिम्मा लिनु भो !  यो चानचुने जोखिम थिएन । मातृवात्सल्यका अभावमा चहरायाई रहेको केपी ओलीको  घाउमा मलहम लगाउनु भो र घाउ पुरिदिनु भो ! कुशल परिचारिकाको भूमिका निर्वाह गर्दै निरङ्कुश शासकले कारावासभित्र दिएका क्रूर यातनाका कारण बल्झिएका र क्रोनिक भैसकेका विभिन्न प्रकारका  घाउको ड्रेसिङ गरिदिनु भो ! वामपन्थी अर्गानिक विचार र व्यवहारले समेत पार्टीकी इमानदार कार्यकर्ताका रूपमा खरो उत्रिनु भो ! धाइले जस्तै जस्तै नित्यनिरन्तर सेवा गरेर अनि माया, स्नेह र पोषणाभावले कङ्कालजस्तो फू गर्दै ढल्ने शरीर भएको व्यक्ति केपी ओलीमा दरो आत्मविश्वासका लहरा लहराउन निरन्तर थाँक्रो बनेर ऊभिनु भो ! यो जोखिम मोलनाको रहस्यबारे उहाँको आत्म कथ्य यस्तो छ; शैशवावस्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी सङ्घर्षले र जीवनका आधा समयहरू त्रासद यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने सङ्कल्प मैले गरेँ (पृ. १२)

शत्रुले पनि कल्पनै गर्न नसक्ने गरी र भन्नै नसक्ने गरी आफ्नै अन्तरङ्ग भनिएका र आफ्नै पार्टीभित्रका मित्र(!)हरूले केपी ओलीको स्वास्थ्य जस्तो संवेदनशील विषयमा पटकपटक हमला गरेका, मानसिक यातना दिई पीडैपीडा समेत थपिदिएका कारण शाक्यको मुटु कसरी  चर्चरी चिरिएको रहेछ र हृदय भत्भती पोलिरहेको रहेछ भन्ने उनको यो ‘ मेरा अनुभूतिहरू’ पढ्दा सहजै बुझ्न सकिन्छ । लोकतन्त्रका  लागि लड्दा पञ्चायती शासकले गोलघरमा दिएको शारीरिक पीडा भन्दा कैयौँ गुना ज्यादा मानसिक पीडा दिइरहेका आफ्नै मित्र(!)हरू र चहर्याइरहेको घाउमा अन्तरङ्ग पीडाको कडा नुनचुक र खुर्सानी समेत थपिदिएका मुखपात्रहरूले दिएका उहाँका पीडाका कारुणिक अनुभूति पढ्दा भने हरेक पाठकको मुटु भने द्रवीभूत भै हाल्दो रहेछ ! नवौँ महाधिवेशनमा उमेदवारीको चर्चा चल्दै गर्दा केपी ओलीको शरीर जब बैककको अस्पतालको शैय्यामा उपचाररत थियो त्यसबेला कुरा कुरुवा बसेकी राधिका शाक्यले आफ्नै पार्टीका एक खतिवडाले केपी ओली मर्नमात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन (पृ.८८) ! भनेको कुरो सुन्दा उहाँका मन कस्तो भयो होला ! नवौँ महाधिवेशनमा अध्यक्षमा उठ्दा उहाँको स्वास्थ्यमाथि घृणित र अमानवीय राजनीति भएको रहेछ ! उहाँ लेख्नुहुन्छ, उहाँको स्वास्थ्यमा राजनीति गर्ने समूहहरूले कसैले आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष बनाउने भनेर प्रश्न गरे, कसैले आउँदै गरेको साउन देख्न पाउँदैन भने (पृ. ९४) ।

निरङ्कुश व्यवस्था र आफ्नै अन्तरङ्ग मित्रहरूले दिएका शारीरिक र मानसिक पीडासँग केपी ओलीले आफूभित्रको तीव्र जीजिविषा र अत्युच्च मनोबलका कारण नै प्राप्त भएको कुरा शाक्यले ‘मेरा अनुभूति’ कृतिभित्र विभिन्न सन्दर्भमा पटकपटक उल्लेख गर्नु भएको छ । उच्चमनोबल, दरो आत्मविश्वास र अद्भुत आँट भएका केपी ओलीका विरुद्ध अपवित्र गठबन्धन गर्दै कोही र केही जेहादी युद्धमा लागे पनि कार्यकर्ता पङ्क्ति र आम भुइँमान्छे अझै पनि केपी फ्यान नै छ !

जनताका लागि काम गर्ने तीव्र हुटहुटी भएको नेता,  मृत र मूर्छित सपना ब्युँझाइदिने नेता र समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्ने दृढ आठोट भएको नेताका रूपमा जनताले चिनेकाले उनीमाथि जनताको अपार माया छ र उहाँ निरन्तर नेपाल र नेपालीको समृद्धिका लागि जुटिरहनु भएको छ भन्ने कुरा यस कृतिमा साक्ष बनेर आएका छन्; उहाँ निरन्तर नेपाल र नेपालीको सुख र समृद्धिको लागि जुटिरहनु भएको छ । जनताको त्यही आशीर्वादले उहाँको अपरेसन सफल भएको हो (पृ. १२४) यसरी जटिल भन्दा जटिल रोगहरू लागे पनि उहाँको दृढ इच्छाशक्ति र सहन सक्ने क्षमता निकै उच्च कोटिको छ । लाखौँ नेपालीको विश्वास, माया र आशीर्वाद आदिले गर्दा उहाँ पटक पटक मृत्युको मुखबाट फर्कन सफल हुनुभएको छ (पृ. १३०) ।

मेरा अनुभूति’ पढ्दा यस्तो लाग्छ, शाक्यका जीवनको एक तिहाइ भागमा आँसु बाहेक केही परेको छैन ! अपरेसन थिएटर र विभिन्न जटिल रोगहरूका कारण अस्पतालमा भर्ना गर्दा उहाँका हातले केँयौँ पटक “ उपचारका क्रममा केही भएमा म मञ्जूर छु’ भनेर सही गरेर बाहिर कुरुवा बस्दा उहाँका मनमा मच्चिएको पीडा, दुख र दर्दलाई व्यक्त गर्ने शब्द नभएर कतिपय ठाउँमा उहाँले आसुको भाषा बोल्नु भएको छ ! ती मध्ये अपरेसन कक्षबाट बाहिर निकाले पछिका उहाँका यी अनुभूतिलाई हेरौँ ! जनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोजदा शरीरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो (पृ. ६९) । करिबकरिब माया नै मारिसकेको मान्छे फर्केर आउँदा उहाँका आँखामा बगेका खुसीका आँसुले पनि यो कृति भिजेको छ, उहाँ लेख्नुहुन्छ; धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौँको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन (पृ. ९२) ।

माओवादी युद्ध जुन ठाउँमा पुग्ने भनेर सुरू भएको थियो, त्यस ठाँउमा पुग्ने संभावना पूरै बन्द भएपछि र त्यहाँ पुग्नु भन्दा अगावै युद्धको जहाजका मूल पाइलट र कोपाइलटले यात्रुलाई थाहै नदिई दिल्लीमा बुझाएर आधाबाटो मै युद्धका सर्जाम हुर्याएर ज्यान जोगाउन के कसरी युद्ध बिसाइएको थियो भन्ने कुरो त इतिहासले भन्ला नै । तर शान्तिप्रक्रियामा आए पछि पनि उसले गरेका हर्कत र आतङकसँग मै हूँ भन्ने घगडान नेताहरू समेत थुरथुर काम्दा केपी ओलीबाट आतङ्ककको प्रतिरोध, विदेशीको डिजाइनमा नेपालमा विभिन्न प्रकारका क्षेत्रीय र जातीय द्वन्द्वमार्फत तवाहीका लागि छाडिएको आतङ्कको अश्वमेधको घोडालाई च्याप्प समात्ने काम जसरी भयो त्यसको पनि इतिहासले आलेख राख्ला नै !

आतङ्कको त्यसबेलाको चित्रण र त्यसलाई डिफ्युज गर्न केपी ओलीले गरेका केही आँटिला सन्दर्भसमेत यस कृतिमा पाइन्छन्; हतियार सहितको माओवादी कि चुनाव हुनै नदिने चुनाव हुन दिए, आतङ्कको बलमा आपूmले कब्जा गर्ने मनस्थितिमा थियो । (पृ. ५२) । यस परिस्थितिमा माओवादीका विसंगत विचार, अमानवीय व्यवहार, देशका लागि हानीकारक प्रवृत्ति र उसको नरसंहार विरुद्ध बोल्ने एक्ला नेता केपीजी हुनुभयो (पृ. २०) ।  

केपी ओलीले विगत दुई दसकसम्म काँधमा घाउ हुनेगरी माधव नेपाल लाई बोकिरहेको माधवले जहिल्यै धोका दिएको र कहिल्यै उँभो हुन नदिएका अनुभूति यस कृतिमा पोखिएका छन् । पराइसँग मिलेर साधारण सदस्यबाटै निष्कासन गर्ने अहिलेको उहाँको खजाञ्ची शैलीको नगदानगदी व्यवहारबाटै धेरै कुरो छर्लङ्ग भैसकेको छ  ! सिङ्गापुरमा उपचारका लागि जाँदा तपाईको आसीर्वाद चाहिन्न भनेर केपी ओलीले किन भन्नु भएको रहेछ भन्ने कुरो पनि अहिले औचित्यसहित पुष्टि पनि भयो नै ! अध्यक्षमा उठेर हार्ने र पाँच वर्ष पनि कुर्न नसक्ने नेताका हातमा परेर नेकपा एमाले विगत पन्ध्र वर्षसम्म कसरी खुम्चिएको, चाउरिएको र सुकुटी परेको रहेछ भन्ने बुझ्न केपी ओलीले पार्टी नेतृत्वमा पुगेको केही दिनमै एमालेका अगाडि अरु पार्टी लिलिपुट बनेको दृष्टान्तले नै पुष्टि गरेकै छ ! केपी ओलीप्रतिको माधव नेपालको यस्तो दृष्टकोणलाई प्रस्तुत कृतिका केही साक्ष्यहरूले यसरी प्रस्तुत गर्दछन्; आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहारहरू हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ. (पृ. ८८)  छैटौँ महाधिवेशनमा आफू माधव नेपालको सुरक्षाकवच बनेर उहाँले सघाउनु भएको थियो । तर महासचिवमा जितिसके पछि माधव नेपालले हरेक हिसाबले केपी ओलीलाई उठ्न नदिने कोसिस गर्नुभयो (पृ.९४)

केपी ओलीमा रहेको अभूतपूर्व नेतृत्व कौशल र आफूलाई ठिक र सत्य लागेको र जनताका लागि हित हुने कुरामा सम्झौताहीन ढङ्गले अघि बढ्ने केपी ओलीको स्वभावको चित्रण पनि यस पुस्तकमा छ; नेपालको इतिहासमा एउटा पनि गोली नचलाईकन देशमा शान्ति सुरक्षा कायम गरिएको थियो । यो स्थिति बनाउनको लागि गृहमन्त्रीको हैसियतमा केपीजीले यति दुःख र मेहनत गर्नुभयो कि ९ महिनामा दुईतीन पटक मात्र रातको १२ बजे अगाडि खाना खानुभयो (पृ. १६) ।

केपीको दृढ अठोट कहिलेकाहिँ जिद्दी बनेर हैरान पनि पार्दो रहेछ भनेर राधिका शाक्यले आफ्ना अनूभूतिहरू भित्र विभिन्न सन्दर्भहरूमा उल्लेख गर्नु भएको छ,….. यस्ता कुरामा उहाँको जिद्दीपनबाट म राम्ररी परिचित छु । उहाँलाई मोबाइल चलाउनबाट कसरी रोक्ने भन्ने कुरा मेरो मनमा खेल्न थाल्यो । केही समय रोक्न सफल भए पनि यस्ता कुराबाट उहाँलाई कहिल्यै बदल्न सकिएन (पृ. ३८) । उहाँको नेतृत्व कौशलको उपभोग त्यतिबेलै नेकपा एमालेले गर्न पाएको भए एमालेको हैसियत उतिबेलै कहाँको कहाँ पुगिसक्थ्यो होला भन्ने अनुभूति पनि उहाँले यस पुस्तकमा पोख्नु भएको छ । केपीजी नेतृत्वमा आउनु अघिसम्म एमालेजस्तो अनुशासित र इमान्दार कार्यकर्ता भएको पार्टीको पहिचान भने जता पनि मिल्ने पिँध नभएको लोटा जस्तो थियो । अरूको पछि लाग्ने पार्टीबाट एमालेलाई अरू पर्टाी एमालेको पछि लाग्नुपर्ने पहिचानमा केपीजी नेतृत्वमा आउनु भएपछि पुर्याउनुभयो पृ. ५८) ।

राधिका शाक्यले लेख्नु भएका यी अनुभूतिहरू साहित्यिक पाठकलाई विभिन्न रस र भावमा डुबाउने र इतिहासका अध्येताहरूलाई केपी ओलीको यो राजनैतिक उचाइमा पुर्याउन परोक्षरूपमा यस पुस्तककी स्रष्टाको केकस्तो भूमिका रहेछ भनेर अध्ययन गर्ने आधार सामग्री समेत बन्ने देखिन्छ । पतिपत्नी पालैपालो मन्त्री बन्दा र दर्जनौँ नेता दम्पतीहरू संसद भवन छिर्दा राधिका शाक्यले चाहनु भएको भए उहाँले त्यो अवसर नपाउने कुरै थिएन, तर समाजसेवालाई आदर्श ठान्ने राधिका यस्ती मैनबत्ती भन्नु भो जसले आफू पग्लेर केपी ओलीलाई निरन्तर बलिरहने ऊर्जा दिनु भो !  मुलुकमा निभ्नै लागेको राष्ट्रियतालाई चहकिलो पार्न परोक्ष भूमिका खैल्नु भो । केपी ओलीलाई यहाँसम्म लयाइ पुर्याउने आँट, साहस र त्याग गर्नु भयो !

र अन्त्यमा यो कृति पढ्दा  हरेक पाठक भावविभोर हुन पुग्छ ! कृति पढ्दै गर्दा लेखकका वेदनाहरूसँग साधारणीकृत हुँदै हरेक पाठक कृतिमा निमग्न हुन्छ । कृति पढिसकेपछि पनि बेलाबेला पाठकको हृदय उद्वेलित हुन्छ, यो कृति पढ्दा राधिका शाक्यका सबै अनुभूति यहाँ अझै आउन बाँकी छन् जस्तो लाग्छ । आगामी दिनमा ती अनुभूति अझै सशक्त रूपमा आऊन् । यति सुन्दर कृतिमार्फत आफ्ना अनुभूतिले पाठकहरूलाई भावमा डुबाउनु हुने र इतिहासका कतिपय क्रूर सत्यलाई उजागर गर्नु हुने राधिका शाक्यलाई हार्दिक बधाई !!!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी