वैदिक हिन्दु सनातन परंपरा अनुसार हिन्दु अनुयायीहरुले अत्यन्त उल्लासमय ढङ्गबाट मनाउने पर्व हो होली पूर्णिमा । यो पर्व पूर्णिमा तिथिमा मनाउने भएकोले यसलाई होली पूर्णिमाको रुपमा बुझिदै आएको छ । होलीको सुरुवात फाल्गुन शुक्लपक्षको अष्टमी तिथिमा रङ्गी चङ्गी कपडा ,ध्वजा पतकाले सजाइएको चीर ठड्याए पछि हुन्छ । फाल्गुने पुर्णिमायां त दुग्धा भवति होलिका । पश्चात प्रातस् समुथ्याय होलिकात्सवः अर्थात फागुन महिनाको पुर्णिमा तिथिमा होलिका दहन गरिन्छ ।यसको समापन भने पूर्णिमाको रात्रि चिरदाहन गरे पछि समापन हुन्छ ।
विभिन्न जात जातिको अन्तरघुलित वस्ति बिकास रहेको नेपाली समाजमा होली लोकप्रिय पर्वको रुपमा सबैले मनाउन थालिएको छ । होली पर्वले समस्त जातिको सद्भाव र शहिष्णुताको पर्वको रुपमा राष्ट्रिय एकताको दिशा निर्देश गरेको छ ।
मीमांसा दर्शनका प्रणेता आचार्य जैमिनी र भाष्कर शवरले होली पूर्णिमालाई होलाका भनी परिभाषित गरेका छन् । रङ्ग संग संवन्धित भएकाले यस पर्वलाई होलाका भनिएको हो । समस्त मानव जातिमा हुने अन्याय ,अत्याचार शोषण उत्पिडनका विरुद्ध विजय हाँसिल गरि न्याय समानता , स्वतन्त्रताको खुसियालीमा मनाइने पर्वको रुपमा होली मनाइदै आएको विषयको रुपमा पनि होली पर्वलाई बुझिन्छ ।
काठकगृहासुत्रमा भएको राकाहोलाके भन्ने सुत्रले होलाका पर्वका देवता राका अर्थात पूर्णचन्द्र हुन् । उक्त सुत्रका टीकाकार देवपालले नारी जातिको सौभाग्यका लागि गरिने एक कृत्य विशेष भनी होलका पर्वको व्याख्या गरेका छन् । पूर्णिमा भनेको चन्द्रमा सर्वाधिक बलशाली हुने समय हो ।
वेदमा चन्द्रमा मनसो जात स् भन्दै चन्द्रमालाई मनको विधायक भनिएको छ । यहि विधायकले अर्थात मनको उद्वेगले प्रकृति र पुरुष तत्वलाई मेल गराउने हुदा नयाँ सुष्टिको उपक्रम सुरु हुन्छ । फागु पूर्णिमामा वसन्तोत्सव अर्थात मदनोत्सव मनाउने वैदिक परंपरा रहि आएको छ ।
कामसुत्रका रचनाकार वात्स्यानले फागुन र चैत्र महिनालाई मदनोत्सवका रुपमा परिभाषा गरेका छन् । मदनोत्सवका देवता कामदेवले प्रकृति र पुरुषलाई मेल गराई सृष्टिलाई गतिशील बनाउछन् ।
ब्रह्रावैवर्त पूराण अनुसार व्रहाजीबाट सृष्टिको प्ररम्भ फागु पूर्णिमा लगत्तै चैत्र मासबाट हुन गएको हो भन्ने भनाई छ । चैत्रे मासे जगदब्राहा ससर्ज प्रथमे ४हनि ।
प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यहि पूर्णिमाबाट सुरु हुने हुदा प्राकृतिक सौन्दर्य र रस रङ्गका उमङ्गले समस्त प्रणीजगत र मानवलाई समेत उमङ्गमय बनाउछ ।
महाशिवरात्री र वासन्तिक नवरात्रिको मध्यवर्ति समय भएको हुनाले होलिको मौसम प्रकृति र पुरुष तत्व सन्निकट हुने समयको रुपमा पनि बुझिन्छ । तसर्थ यसको बहुआयामिक महत्वा रहँदै आएको छ ।
फागु पूर्णिमालाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । तराई क्षेत्रमा यो पर्व अत्यन्त लोकप्रिय मानिन्छ ।
बराह पुराणमा फागुन पुर्णिमालाई पटवास विनाशनी भनिएको छ । पटवास भनेको अबीर जस्तो चुर्ण पदार्थलाई भनिन्छ ।
श्रीमद् भागवत पुराणमा उल्लेख भए अनुसार पुतना राक्षसीले ससना बान बालिकाहरुलाई दुध चुसाउने निहुँमा अनेकौ दुस्ख दिएको, मारेको र श्री कृष्णलाई समेत त्यसै गर्न लाग्दा श्री कृष्णले पुतनालाई नै मारिदिएको र नगरवासीले राक्षसको लाश जलाएर त्यसैको खरानीले नै होली खेलेको भन्ने किम्वदन्ति छ ।
हिमवत्खण्डमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रामले रावणसँग विजय हाँसिल गरे पछि अयोध्या वासीसँग रामले खुशियालीका रूपमा फागु खेलेका भन्ने किम्वदन्ति छ ।
फाल्गुने पौर्णमासी च सदा बालविकासनी । ज्ञेया फाल्गुनिका सा ज्ञेया लोकविभूतये ।।अर्थात फागु पुर्णिमा पर्व बालक्रिडा र बालविकासका लागि महत्वपूर्ण रपमा मनाइन्छ ।
सत्य तथा ज्ञानको प्रतीक प्रल्हाद र पापी हिरण्यकश्यपुको कथासँग यो पर्वलाई जोडेर बुझिने गरेको पनि छ । पौराणिक कथाअनुसार, प्रह्लादकी फागु होलिकालाई भस्म नहुने वरदान प्राप्त भएकाले आफ्ना दाइ हीरण्यकश्यपुको आज्ञाअनुसार उनी प्रह्लादलाई मार्नु उसलाई काखमा राखी आगोमा पस्दा मरिन् तर ईश्वरयुक्त प्रह्लादलाई केही नभएको सम्झनामा होलिकालाई जलाएर होलिकात्सव मनाइने गरिएको किम्बदन्ति छ ।
आयुर्वेद शास्त्रमा केशरी, अबीरजस्ता प्राकृतिक रङ्गको प्रयोगले मानव जीवनलाई स्वस्थ ,तन्दुरुस्त गराई जीवनमा खुशी उमङ्ग सिर्जना गर्छ भन्ने भनाई छ ।
कृषि विज्ञान शास्त्रका दृष्टिले होली पूर्णिमाको बारेमा उल्लेख गरेको छ । जहाँ भनिएको छ ( होलक लातीति होलिका अर्थात केराउ, चना आदिका बालालाई भूट्ने, पोल्ने कामलाई होलक भनिन्छ र चना, जौ, गहुँ आदि नयाँ अन्न अग्निलाई होम दिने समय जुन पर्वले ल्याउँछ, त्यो पर्व नै होलिका हो भन्ने मान्यता छ ।
होली पूर्णिमालाई मानिसहरुका बिचमा रहेका सबै प्रकारका राग, द्वेष मेटाएर सद्भाव , सहिष्णु र समताको पर्वको रुप हो भन्ने कुराको थप पुष्टि ‘होलान्ति समतापर्वः’ भन्ने श्लोकबाट पनि प्रष्ट हुन्छ । यसरी होली पूर्णिमाको बहुआयामिक तथा ऐतिहासिक महत्व रहिआएको छ । यही ऐतिहासिक महत्वको होली पूर्णिमा पर्व समस्त नेपालीको एकताको गुण पयार्य बनी निरन्तर प्रवाहित छ ।