काठमाडौँ, १२ चैत । सरकारले कोरोना संक्रमणबाट थप जोखिम बढ्ने सम्भावना देखिएको भन्दै शिक्षण संस्थालाई कडा निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सन्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले स्वास्थ्य मन्त्रालय तथा प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शमाले एक विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउनु होला ।