सहिदको सम्झनामा

सहिदको सम्झनामा

  • शुक्रबार, माघ १६, २०७७
  • – अशोक कुँवर ‘नेत्र’

  • 19.2K
    SHARES

“हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरे नगए ।”

कवि भूपी शेरचनले भने जस्तै देश बदल्नु छ, राष्ट्र, राष्ट्रियता र जनजीविका दरो बनाउन जनतन्त्र ल्याउनु छ भने देशका असल छोराहरूले प्राणको बाजी लगाउनुपर्छ भन्ने कुरामा दुई मत छैन ।

जो कोही मानिसलाई स्वतन्त्रता प्रिय हुन्छ । स्वतन्त्रता प्राप्तिका निम्ति जिन्दगी नै समर्पण गर्नु चानचुने कुरा होइन । विश्व राजनीतिक परिवेशमा चाहे भियतनाम र अमेरिकाबिचको सङ्घर्ष होस्, चाहे फिजीमा भारतले लाद्न खोजेको औपनिवेशिक नीति होस् त्यसका विरुद्धमा स्वतन्त्रताप्रेमी वीर सपुतहरूले हाँसी हाँसी जीवन बलिदान दिएका छन् । नेपालमा पनि हजारौँका सङ्ख्यामा त्यस्ता सहिदहरू रहेका छन् । देश र जनताका खातिर जीवन उत्सर्ग गर्ने त्यस्ता सपुतप्रति प्रथमतः असीम सम्मान व्यक्त गर्न चाहन्छु ।
नेपाल एकीकरणको समयमा गोर्खालीले देखाएको पराव्रmम आज पनि स्तुत्य छ । यस समयमा विभिन्न बेलायती सेनाको पूर्वी एसिया अधीनमा पार्ने षड्यन्त्रलाई दूरदर्शी शासक पृथ्वीनारायण शाहले विफल तुल्याएका थिए । नेपाली राजनीतिमा उनको योगदानलाई मिश्रित रूपमा व्याख्या गर्ने गरिएको भए पनि उनी र नेपाल एकीकरणका निम्ति अहम भूमिका खेल्ने सपुतहरूको भूमिकालाई कम आँक्नु हुन्न । नेपाल एकीकरणका व्रmममा जीवनको बलिदान दिने ज्ञात अज्ञात सपुतहरूलाई यो स्तम्भकार सहिदका रूपमा व्याख्या गर्दछ ।
नेपाल कहिल्यै पनि पराधीनता स्वीकार नगरेको देश हो । सन् १८१६ मा नेपालमा व्यापारको बहानामा बेलायतले लाद्न खोजेको औपनिवेशिकताका विरुद्धमा वीर गोर्खाली सेनाले गरेको प्रतिकारबाट हामीले पराधीनतालाई पन्छाएका थियाँै । सुगौली सन्धिबाट नेपालले ग्रेटर नेपालको ठुलो हिस्सा गुमाए पनि नेपालको अस्तित्वलाई बेलायतले पनि उच्च मूल्यले स्वीकार गर्न बाध्य भएको थियो । गोर्खालीले नालापानी, सतलज, सिन्धुली गढी आदि क्षेत्रमा देखाएको बहादुुरीलाई बेलायती व्यापारिक कम्पनी इस्ट इन्डिया कम्पनीले समेत मुक्त कण्ठले प्रशंसा गरेको देखिन्छ । स्तम्भकार यही व्रmममा जीवन बलिदान दिने ज्ञात अज्ञात सपुतहरूलाई पनि सहिदका रूपमा व्याख्या गर्दछ ।
नेपालमा हरेक वर्ष माघ १६ लाई सहिद दिवसका रूपमा मनाउने गरिन्छ । यो चलन चाहिँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति जीवन उत्सर्ग गर्ने ४ सहिदहरू धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर, शुव्रmराज शास्त्री र गङ्गालाल श्रेष्ठको सम्झना गर्ने व्रmममा सुरु भएको हो । हरेक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म ७ दिन सहिद सप्ताह मनाउने गरिन्छ । नेपालको प्रथम सहिद भनी लखन थापालाई चिन्ने गरिन्छ । उनले जङ्गबहादुरको विरोध गरेकाले उनलाई वि.सं. १९३३ मा मनकामना मन्दिर परिसरको खिरिलोको बोटमा झुन्ड्याएर हत्या गरिएको थियो । यस्तै राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने ४ सहिदमध्ये शुव्रmराज शास्त्रीलाई वि.सं. १९९७ माघ १० गते टेकुको खरीको रुखमा झन्ड्याएर हत्या गरिएको थियो भने धर्मभक्त माथेमालाई वि.सं. १९९७ माघ १३ मा सिफलमा झुन्ड्याएर हत्या गरिएको थियो । यसै गरी दशरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई सोही साल माघ १५ गते शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । वि.सं. २००७ फागुन ७ गते आएको प्रजातन्त्र यिनै सहिदहरूको रगतको उपज मान्न सकिन्छ ।
नेपालमा शासक र शासन व्यवस्थाको विरुद्ध आबाज उठाएको र विरोध गरेको आरोपमा विभिन्न कालखण्डमा विभिन्न सपुतहरूले जीवन गुमाउनुपरेको छ । वि.सं. २०३६ को आन्दोलनमा होस्, २०४६ को बहुदलीय व्यवस्थाको स्थापनार्थ गरिएको जनआन्दोलन होस्, २०५२ फागुन २ गतेदेखि १० वर्षसम्म भएको माओवादी जनयुद्ध होस् वा २०६२÷६३ को जनआन्दोलन होस् सबैमा राष्ट्रवादी वीर सपुतले रगत बगाएर मातृभूमिलाई स्वतन्त्र तुल्याएका छन् । तीमध्ये कयौँ सपुतहरू त आजसम्म पनि बेपत्ता छन् । देश र जनताका निम्ति मर्नसमेत पछि नपर्ने त्यस्ता सहिदहरूको बलिदानबाट नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना भएको हो ।
राष्ट्र र जनताको मुक्तिका निम्ति जीवनको बलिदान दिने ज्ञात अज्ञात सहिदहरूको त्यागलाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन । हाम्रो स्वतन्त्रता, प्राप्ति, आत्मसम्मानमा सहिदको तातो रगत बगेको छ । वर्षमा ६/७ दिन मात्रै सम्झिएर सहिदको सम्मान हुन सक्दैन ।
आज देश संसद् विघटन र राजनीतिक अस्थिरताको भुमरीमा नराम्ररी फसेको छ । गरेर देखाओ, देश र जनताको जीवनमा सुख र समृद्धि ल्याओ भनेर मत दिई पठाएकाले काम नगर्नु, कोही संसद् विघटनको खेलमा लाग्नु त कोही सत्ताको लुछाचुँडीमा लाग्नुले देशमा गम्भीर सङ्कट ल्याएको छ ।

जबसम्म सहिदहरूका रगत र बलिदानको धज्जी उडाइन्छ र व्यक्तिगत स्वार्थमा लिप्त भइन्छ तबसम्म देशको न त राष्ट्रियता बलियो हुन्छ न त सुख र समृद्धि नै आउँछ ।

हाम्रा नेताहरूमा नैतिकता र इमानदारिता लोप भई सकेको छ । आफू भए सबै ठिक नभए बेठिक, आफूले भनेको माने ठिक नमाने जनताको नाम भजाएर मनलाग्दी गर्ने चरित्रले देश अनिर्णयको बन्दी बनेको छ । साँच्चै भन्नुपर्दा देशले अहिले असल अभिभावक पुगेको छ । जो अगुवा उही बाटो … भने झैँ र मन परेको केटा जेठाजुु प¥यो भने झैँ देशका असल नेतृत्व भन्नेहरूबाटै घात प्रतिघात सुरु भएको छ ।
नेतामा द्वैध चरित्र हाबी हुन थालेको छ । एकातर्फ तीव्र राष्ट्रवादको नारा लगाउने अनि अर्कातिर देश र जनताप्रति गद्दारी गर्ने परिपाटी विकास हुन पुग्दा गणतन्त्रप्रति नै प्रश्न चिह्न खडा हुन थालेको छ । हामीले चाहेको र ल्याएको गणतन्त्र यस किसिमको गणतन्त्र होइन । हामीले त राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मूल मुद्दाहरूलाई स्थापित गराउँछौँ भनेका थियौँ । राजालाई नाराणहिटीबाट बाहिर निकाल्दै गर्दा हामीले सहिदका सपना पूरा भएको, जनताको शासन आएको, एक युगको एक दिन आएको भनी गर्व गरेका थियौँ तर ती सब त हाम्रा भ्रम रहेछन् ।
हाम्रा नेताहरूले हामीलाई घाँस हाले । नेतामा देखिने सत्ता लिप्सा र त्यो लिप्सा पूरा गर्न गरिने विदेशी शक्तिको गुलामीले जनता आजित भइसकेका छन् । राष्ट्रवादलाई सत्ता जोगाउने दाउपेच र मोलमोलाइको आधार बनाउँदा पनि यस किसिमको समस्या निम्तिन पुगेको हो ।
हामीले माक्र्स पढ्यौँ, एङ्गेल्स पढ्यौँ, चे पढ्यौँ, लिन प्याओ, माओ, ख्रस्चेब पढ्यौँ तर नेपाल र नेपाली जनताको मनोविज्ञानलाई कहिल्यै पढ्न सकेनौँ । कोही तीव्र लोकतान्त्रिक बनेको नाममा देशलाई रसातलमा पुग्ने गरी पञ्चशीलका कुरा गर्छन् त कोही साम्यवादको धज्जी उडाउँछन् । खोइ त बुझ्न सकेको कि पञ्चशीलको सिद्धान्त गरिब देशले मात्र पालन गरिरहनुपर्ने सिद्धान्त होइन । खोइ त कुनै वाद र प्रणालीभन्दा माटोप्रतिको इमानदारिता महान् हो भन्ने बुझ्न सकेको ?
जबसम्म सहिदहरूका रगत र बलिदानको धज्जी उडाइन्छ र व्यक्तिगत स्वार्थमा लिप्त भइन्छ तबसम्म देशको न त राष्ट्रियता बलियो हुन्छ न त सुख र समृद्धि नै आउँछ ।
सहिदको रगत र बलिदानको अर्थ अनि हाम्रो त्याग र आस्थाको अर्थ व्यक्तिवाद, व्यक्तिगत स्वार्थ, नातावाद र कृपावाद होइन । यो बुझ्नका निम्ति युवाहरू एकताबद्ध भएर आफ्नै नेतृत्वका विरद्धमा समेत प्रश्न चिह्न उठाउन सक्नुपर्दछ । प्रश्न चिह्न उठाउनका लागि हामी स्वयंमा प्रभुवाद र हीनता हट्नु जरुरी छ । जसका लागि विद्यालय तहदेखि नै बालबालिकामा देश र जनताप्रतिको उत्तरदायित्व बोध गराउन आवश्यक छ । यस निमित्त नेपाल आमाका सपुतहरू नै विकल्पका रूपमा आउन सक्दछन् । आजैबाट देश र जनताको निःस्वार्थ सेवामा वचनबद्ध भएर लाग्न सके र अरूलाई पनि लाग्न अभिप्रेरित गराउन सके सहिदहरूप्रति पनि वास्तविक सम्मान गरिएको ठहरिने छ ।
आउनुहोस् युवाहरूमा जोस भर्दै नेपालित्व विकास गर्न लागौँ । जय जननी ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी